स्विट्जरल्यान्डसँग अर्जेन्टिनाको संघर्ष

स्विट्जरल्यान्डसँग अर्जेन्टिनाको संघर्ष
सुन्नुहोस्

एजेन्सी /मिसौरी: साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गर्दै अर्जेन्टिनाले सातौंपटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो। 

अर्जेन्टिनालाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरेका थिए। स्विट्जरल्यान्डका डान न्डोयेले एक गोल फर्काएका थिए। 

निकै प्रतिस्पर्धात्मक खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। कप्तान लियोनल मेसीले कर्नरबाट उपलब्ध  गराएको बललाई एलिस्टरले हेडरमार्फत पोस्टको जाली चुमाएका थिए। पहिलो हाफमा १–० गोलले पछि परेको स्विट्जरल्यान्डले ६७औं मिनेटमा बराबरी गोल फर्काएको थियो। रिकार्डाे रोड्रिगको पासमा डान न्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काएका थिए।

बराबरी गोल गरेपछि निकै हौसिएको स्विट्जरल्यान्ड खेलको ७२औं मिनेटमा निरास बन्नु परेको थियो। ब्रिल एम्बोलोले दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो। ब्रिल एम्बोलो मैदानबाट बाहिरिएसँगै स्विट्जरल्यान्डको बलमाथिको पक्कड पनि कम भएको थियो। तर, १० खेलाडीमा सीमित भए पनि स्विट्जरल्यान्डले अर्जेन्टिनालाई लगातार दबाबमा राखेको थियो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ११२औं मिनेटमा जुलियन अल्भारेजले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाएका थिए। सातौंपटक विश्वकपको सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इङ्ल्यान्डसँग खेल्नेछ। तीन पटकको विश्वविजेता अर्जेन्टिना तीन पटक नै उपविजेता बनेको छ।

इङ्ल्यान्ड सेमिफाइनलमा

इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको रोमाञ्चक क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अमेरिकाको मायामीस्थित मायामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा इङ्ल्यान्डलाई जित दिलाउन जुड वेलिङ्घम नायक बनेका थिए। उनले इङ्ल्यान्डका दुवै गोल गरेका थिए। 

खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक शैली अपनाएका थिए। नर्वेले एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा इङ्ल्यान्डमाथि दबाब सिर्जना गरेको थियो। खेलको पहिलो हाफमै नर्वेले अग्रता लिएको थियो। ३६औं मिनेटमा आन्द्रियास स्केल्डेरुपले गरेको गोलसँगै नर्वे १–० ले अघि बढेको थियो। सो गोलपछि इङ्ल्यान्ड केही समय दबाबमा देखिए पनि टोलीले संयमता अपनाएर जवाफी गोल फर्काएको थियो। पहिलो हाफ सकिन केही समय बाँकी छँदा वेलिङ्घमले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरेका थिए। वेलिङ्घमको यो गोलले इङ्ल्यान्डलाई खेलमा फर्काउने मात्र काम गरेन, टोलीको मनोबल पनि उच्च बनाउन मद्दत गरेको थियो। 

दोस्रो हाफमा भने नर्वेले उत्कृष्ट प्रदर्शन गरेको थियो। इङ्ल्यान्डको रक्षापंक्तिमाथि लगातार दबाब बनाएको नर्वेले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। इङ्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले केही महत्वपूर्ण बचाउ गरेका थिए। 

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा मोर्गन रोजर्सको प्रहार नर्वेका गोलरक्षक ओर्यान नाइलान्डले नियन्त्रणमा लिन नसकेपछि रिबाउन्डमा पुगेका वेलिङ्घमले सहज रूपमा गोल गर्दै इङ्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए। 

त्यही गोल अन्ततः निर्णायक बनेको थियो। खेलको अन्तिम समयमा नर्वेले बराबरी गोलका लागि सबै शक्ति लगाएको थियो। हालान्डसहितका खेलाडीले लगातार आक्रमण गरे पनि इङ्ल्यान्डको रक्षापंक्तिले संयमित प्रदर्शन गरेको थियो। प्रशिक्षक थोमस टुचेलको टोलीले खेलभर उत्कृष्ट लय कायम राख्न नसके पनि कठिन परिस्थितिमा नतिजा निकाल्ने क्षमता देखाएको छ। खेलपछि टुचेलले टोलीले अझ सुधार गर्नुपर्ने स्वीकार गर्दै व्यक्तिगत प्रतिभाले मात्र हरेक खेल जित्न नसकिने बताएका छन्।

नर्वेको ऐतिहासिक यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ। यस विश्वकपमा ब्राजिललाई हराउँदै सनसनीपूर्ण प्रदर्शन गरेको नर्वेले इङ्ल्यान्डविरुद्ध पनि प्रभावशाली खेल खेलेको थियो। तर, अवसरको सदुपयोग गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। 

प्रतियोगिताभर उत्कृष्ट गोलकर्तामध्ये एक रहेका एर्लिङ हालान्डले यस खेलमा भने खासै प्रभाव जमाउन सकेनन्। अब इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.