प्रहरीले बिलबिजक भएको ‘खरबुजाको बीउ’ गोदामबाटै उठायो, प्रहरीको कार्यशैलीप्रति व्यवसायीको आपत्ति
झापा : तेस्रो मुलुकबाट कानुनी प्रक्रिया पूरा गरी आयात गरिएको ‘चाइनिज खरबुजाको बीउ’ झापा प्रहरीले गोदामबाटै उठाएर लगेपछि व्यवसायीहरूले झापा प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
एलसीमार्फत आयात गरिएको उक्त खरबुजाका बीउको आवश्यक बिलबिजक सम्बन्धी कागजात हुँदा हुँदै प्रहरीले गोदाममा पुगेर बीउ बरामद गरी लगेको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्का आफैं सादा पोसाकमा पुगेर बीउ जफत गर्न लगाएकोप्रति यहाँका व्यवसायीहरूले घोर भर्त्सना गरेका छन्।
घटना विवरण अनुसार आइतबार बेलुका करिब साढे ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले भीमलाल सुवेदीको घरको दुईवटा सटर गोदाममा राखिएको ९४८ बोरा चाइनिज खरबुजाको बीउ छापा मारेर बरामद गरेको थियो।
प्रहरीले ३७ हजार ९२० केजी बीउ भद्रपुर भन्सार कार्यालयमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाले जानकारी दिएका छन्। प्रहरीले बरामद गरेको बिउ चोरी तस्करी गर्ने उद्देश्य राखेर भन्सार बुझाएको छ। गोदामबाट उठाइएको बीउको माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरले खरिद गरी ल्याएको अनलाइन बिल रहेको छ। कुबेर एक्जिम काठमाडौंले शाखा कार्यालय वीरगन्जले वैशाख १३ गतेको मितिमा माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरको नाममा १८ सय किलो (४५० बोरा) को भ्याटसहित ३२ लाख ५४ हजार ४०० रुपैयाँ मूल्य बराबरको बिल काटेको रहेछ।
त्यस्तै पशुपति एक्जिम काठमाडौंले जेठ १३ गतेको मितिमा माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरको नाममा २१ सय किलो (५२५ बोरा) को भ्याटसहित ३७ लाख ९६ हजार ८०० रुपैयाँ मुल्य बराबरको बिल काटेको रहेछ। यी दुवै बिल राजस्व अनुसन्धान विभागबाट अनलाइन गरेर ल्याएको माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरका सञ्चालक राजु थापामगरले बताए।
आधिकारिक बिलबिजक भएको र त्यो पनि वडा कार्यालयमा दर्ता भएको गोदामबाट प्रहरीले सामान जफत गर्नु कानुन विपरीतको काम भएको उनको भनाइ छ। भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको जेठ महिनामै ‘मेलन सिड’ को नाममा ३ अर्ब रुपैयाँभन्दा बढीको करिब १९ हजार टन खरबुजा–तरबुजाको बीउ तेस्रो मुलुकबाट नेपाल आयात भएको छ। जबकी गत वर्ष २०८१/८२ को सोही अवधिमा १४ करोड रुपैयाँ बढीको मात्रै आयात भएको थियो।
व्यवसायी भन्छन्-प्रहरीको शैली गुण्डागर्दी
प्रहरी टोली गोदाममा छापामा मार्नु अघि सम्बन्धित बीउ धनी अर्थात् माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरका सञ्चालक राजु थापामगरलाई फोन गरेका थिए। प्रहरी चौकी आपगाँछीका प्रहरी सहायक निरीक्षक (असई) विशाल श्रेष्ठले ३ बजेर ५० मिनेटमा सञ्चालक थापामगरलाई फोन गर्दै गोदामको चाबी मागेका थिए।
आफू भद्रपुरभन्दा बाहिर रहेको र त्यहाँ (गोदाम) पुग्न ३/४ घण्टा समय लाग्ने भन्दै असई श्रेष्ठलाई फोनमै जानकारी गराएको सप्लायर्सका सञ्चालक थापामगरले बताए। ‘असई श्रेष्ठलाई मैले यतिसम्म भने कि तपाईंहरू गोदाम शील गरी प्रहरी परिचालन गरी राख्नुहोस्। म आएपछि गोदाम खोलिदिन्छु। ‘त्यति भन्दा पनि प्रहरीले कुरा मानेन,’ उनले भने, ‘प्रहरीले बजार क्षेत्रमा रहेको घरको गोदामबाट गुन्डागर्दी शैलीमा सटर खोलेर सामान लगियो, सामान जफत त दशगजाबाट तस्करी भइरहेको बेला गर्नुपर्ने होइन र ?, गोदामबाटै सामान उठाउन पाउँछ ?’ प्रहरीले अनलाइन बिजबिजक भएको सामान जफत गरी भन्सार बुझाइएकाले ‘यो हर्कत कानुन सम्ंवत कर तिरेर व्यवसाय गर्नेमाथि अङ्कुश लगाउनु खोजेको हो ?,’ उनले भने।
सोमबार बिलबिजक बोकेर जिल्ला प्रहरी कार्यालय पुग्दा पनि एसपी मेडमले हामीलाई भेट्न चाहिनु भएन। बिहान र दिउँसो गरी दुई पटक जाँदा पनि भेट्न नमानेपछि मैले आफै एसपी मेडमलाई फोनमै बिलबिजक भएको बारेमा जानकारी गराउन बाध्य भए। एसपी मेडमले मेरो कुरा सुन्नु भयो, तर, वास्ता गर्नुभएन। ‘चोरी तस्करीको उद्देश्य भन्दै प्रहरीले पत्र काटेर सामान भन्सार बुझाइदिनु सरासर गलत भयो,’ उनल थपे।
झापा उद्योग वाणिज्य संघका प्रतिनिधि लिएर सामानको बिलबिजक भएको प्रमाणित प्रतिलिपि बोकेर सोमबार बिहानै भन्सार प्रमुख प्रभुनारायण मेहतालाई भेटेर छाडेका थियौ। तर, भन्सारले पनि प्रहरी, प्रशासनको दबाबमा परेर सामान बुझ्नु, त्यो कानुन सम्मत भएन। ‘अब प्रहरी र भन्सारविरुद्ध न्यायका लागि अदालत जान्छु,’ उनले भने। यता झापा उद्योग वाणिज्य संघका महासचिव सुमन्त मैनालीले बिलबिजक भएको सामान गोदामबाटै जफत गरी भन्सार बुझाउनु प्रहरीको नियतमै खोट देखिएको बताएका छन्।
सीमा वा दशगजा क्षेत्रमा नरहेको गोदामबाट सम्बन्धित व्यवसायीको उपस्थिति बिना सामान जफत गर्नु प्रावधान कानुन विपरीत भएको बताउँदै उनले भने, ‘सबैको रोहबरमा गोदाम खोलिनु पर्थ्यो, तर प्रहरीले कसैको कुरा सुनेन, आफूखुसी गोदाम खोलेर सामान भन्सार लगियो।’ अब यस विषयमा व्यवसायीले कानुनी लडाई लड्नुबाहेक अन्य विकल्प नरहेको उनको भनाइ छ।
त्यस्तै मेचीनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमियाले, बधाई दिऊ कि आपत्ति प्रकट गरौँ ? होइन हौ काम देखाउने त अरू पनि छ ठाउँ ? चाइनाबाट ल्याएको सामान भद्रपुरमा कसरी अवैध हुन्छ ? गोदाममा बोरामा राखेको सामानलाई लुकाइछिपाइ भनियो अनि भन्सार तिरेर ल्याएको समान अवैध भनियो ! हिजो र आजमा के फरक भएछ ! सरकार, त्यो गोदाम कसको हो उसलाई बुझ्ने कोसिस गरियो कि गरिएन ? कि आफै ताला फोडेर काम देखाइयो ?झापा उद्योग वाणिज्यसँगलाई थाह छ कि छैन ? सामाजिक सञ्जालमा लेखेका छन्।
भन्सारले बुझियो सामान
तेस्रो मुलुकबाट कानुनी प्रक्रिया पूरा गरी आयात गरिएको ‘चाइनिज खरबुजाको बीउ’ भन्सारले कसरी बुझ्यो भन्दै चौतर्फी आलोचना सुरु भएको छ। बिलबिजक भएको सामान भन्सारले कसरी बुझियो, यस्तो सामान भन्सारले बुझ्ने अधिकारभित्र नपर्ने व्यवसायीहरू ठहम्याई छ। भन्सार प्रमुख प्रभुनारायण मेहताका अनुसार प्रहरीले राति नै सामान ल्याएर भन्सारको गोदाममा राखिदिएको र आज पत्र ल्याएपछि सामान बुझ्नु परेको बताए।
भन्सार मुद्दा शाखाका कर्मचारी प्रेम लामाले प्रहरीले चोरी निकासी गर्ने उद्देश्य राखेर ल्याएको प्रतिवेदनको आधारमा सामान बुझेको बताए। प्रहरीले ८९ लाख ७७ हजार ४० रुपैयाँ तोकेर सामान बुझाएको हो। सामान बुझे पनि भन्सारको अनुसन्धानको पाटो भने बाँकी रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !