दक्षिण कोरियामा एक नेपाली श्रमिकको मृत्यु

दक्षिण कोरियामा एक नेपाली श्रमिकको मृत्यु
सुन्नुहोस्

दक्षिण कोरिया : कोरियामा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा स्थायी घर भएका ३७ वर्षीय पासाङ तामाङ रहेका छन्। अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको भए पनि मृत्युको यकिन कारण भने अझै खुल्न सकेको छैन।

कोरियास्थित नेपाली राजदूतावासका अनुसार तामाङ चार वर्षअघि रोजगारीका लागि दक्षिण कोरिया आएका थिए। उनी छुङछङनाम्दोस्थित एक पशुपालन फार्ममा कार्यरत थिए।

शनिबार साँझ करिब ८ बजे तामाङ फार्म परिसरमा अचेत अवस्थामा फेला परेका थिए। सहकर्मीले आपत्कालीन सेवामा खबर गरेपछि उद्धार टोलीले उनलाई हृदयगति रोकिएको अवस्थामा अस्पताल पुर्‍याएको थियो। चिकित्सकले अस्पतालमै उनलाई मृत घोषणा गरेका थिए।

सहकर्मी र फार्म सञ्चालकका अनुसार बेलुकाको खाना खाने समयमा उनी नफर्किएपछि खोजी गर्दा फार्म परिसरमै ढलेको अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। सामान्य टाउको दुखाइबाहेक विगतमा उनीमा कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको पनि खुलेको छ।

घटना भएको दिन उक्त क्षेत्रमा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो। प्रहरीले अत्यधिक गर्मीका कारण हुन सक्ने हीटस्ट्रोकसहित अन्य सम्भावित कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन राष्ट्रिय वैज्ञानिक अनुसन्धान संस्थामार्फत शव परीक्षण गरिएको छ, जसको प्रतिवेदनपछि मात्र मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ।

नेपाली राजदूतावासका द्वितीय सचिव जेनिम अधिकारीले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकलाई कामसँगै आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। कुनै समस्या देखिए वा अप्ठ्यारो परिस्थिति उत्पन्न भए ढिला नगरी राजदूतावासलाई जानकारी गराउन उनले अनुरोध गरेका छन्। साथै, कतै नेपाली समुदायका सदस्य समस्यामा परेको जानकारी भए तत्काल सम्बन्धित निकाय वा राजदूतावासलाई सूचित गर्न पनि उनले सबैमा अपिल गरेका छन्।

दक्षिण कोरियामा पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी क्षेत्रमा कार्यरत विदेशी श्रमिकहरू उच्च जोखिममा परिरहेका छन्। राजदूतावासले पर्याप्त पानी पिउन , नियमित विश्राम गर्न , अत्यधिक गर्मीको समयमा श्रमको तीव्रता घटाउन तथा कार्यस्थलमा तापजन्य जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनसमेत आग्रह गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.