सस्तोमा डलर साट्ने प्रलोभन देखाएर लाखौँ ठगी गर्ने एक जना पक्राउ
धादिङ :अमेरिकी डलर सस्तोमा साटिदिने र ठूलो नाफा हुने प्रलोभन देखाएर एक वृद्ध सुनचाँदी व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पीडितबाट ११ लाख ७५ हजार रुपैयाँ नगद र डेढ तोला सुनका गहना ठगी गरेको आरोपमा बुद्धि बहादुर योञ्जन पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ का ६९ वर्षीय सुनचाँदी व्यवसायी थमान सिंह विश्वकर्मालाई योजनाबद्ध रूपमा फोन गरेर ठगी गरिएको हो। अभियुक्तहरूले ६५ हजार अमेरिकी डलर सस्तोमा साट्न सकिने भन्दै उनलाई धुनिवेशी नगरपालिका–८ चुलेडाँडाको एकान्त स्थानमा बोलाएका थिए।
पीडित विश्वकर्मा आइपुगेपछि उनीसँग रहेको ११ लाख ७५ हजार रुपैयाँ नगद, एक तोलाको सुनको बेरुवा औँठी र आधा तोलाको बक्स औँठी लिएर अभियुक्तहरूले डलर भएको भन्दै एउटा पोका थमाएका थिए। तर, उनीहरू हिँडेपछि पीडितले पोका खोलेर हेर्दा डलरको सट्टा खाली कागजका बन्डल मात्र भेटिएको प्रहरीले जनाएको छ।
घटनालगत्तै पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको समन्वयमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–३ बस्ने ३७ वर्षीय बुद्धि बहादुर योञ्जनलाई धुनिवेशी नगरपालिका–९ झ्याप्लेखोलाबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार पक्राउ परेका योञ्जनको साथबाट ठगीमा प्रयोग गरिएको मोटरसाइकल र डलरको पोका जस्तो देखाउन प्रयोग गरिएका खाली कागजका बन्डलहरू बरामद गरिएको छ।
पक्राउ परेका योञ्जनविरुद्ध ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !