‘थोरै पानी पर्दा पनि डुब्न थाल्यो काठमाडौं’

‘थोरै पानी पर्दा पनि डुब्न थाल्यो काठमाडौं’
सुन्नुहोस्

काठमाडौं : थोरै वर्षामा पनि काठमाडौं डुब्न थालेको छ। शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको बाढीलाई यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ।  यस घटनाले काठमाडौं आगामी दिनमा बाढीको जोखिममा रहेको थप प्रष्ट्याएको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाका हाइडोलोजिस्ट सौहार्द जोशीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा ३० देखि ४० मिलिलिटर मात्रै वर्षा हुँदा पनि डुबान हुन थालेको छ। ४–५ वर्ष यतादेखि काठमाडांैमा यस्तो समस्या देखिएको उनले बताए। 

जोशीका अनुसार ५ वर्षभन्दा पहिला ६० मिमि पानीलाई सामान्य भनिन्थ्यो। त्यसले त्यति धेरै जोखिम गर्दैनथ्यो। तर, काठमाडौंको उत्तरी क्षेत्रमा बस्ती बढेसँगै थोरै पानीमा पनि काठमाडौं बाढीको थप जोखिमा परेको बताए। शुक्रबारदेखि यता उपत्यकामा ५० देखि ६० को हाराहारीमा वर्षा भएको छ। ‘उपत्यकाको उत्तरी क्षेत्रमा वनस्पति र वनजंगल मासिएर बस्ती बस्यो। सबै कंक्रिट थपिए,’ जोशीले भने, ‘त्यसले पानी जमिनमा सोसिनुपर्नेमा बगेर जान थाल्यो। 

बागमती र विष्णुमतीको प्रमुख उद्गम स्थलबाट आएको पानी यता खोलामा मिसिने भयो। सबै कंक्रिटका कारण पनि यस्तो भएको हो। ढल होस् या अन्य कुनै माध्यमबाट पानीको मात्रा खोलामा पुग्ने समय छिटो भएको छ।’

पहिला प्रतिघण्टा ६० मिमि पानी पर्दा मात्रै काठमाडौंमा डुवान होला, बाढी आउँदा जस्तो हुन्थ्यो। तर, अहिले त्यस्तो रहेन। उता सुन्दरीजल, शिवपुरीतिर पानी पर्नेबित्तिकै विष्णुमती, बागमतीतिर पानीको सतह बढ्न थालेको जोशीले बताए । पहिलाभन्दा बाढी छिटो आउन थालेको पनि बताए। मनोहरा, हनुमन्तेमा पनि त्यही समस्या देखिन्छ। जोशीले भने, ‘अन्य जिल्लामा ६० मिमि पानी पर्दा मात्रै पूर्वसूचित गर्न मोबाइलमा सूचना पठाउने गरिन्छ। तर, काठमाडौंमा उत्तरतिर ३० देखि ४० मिमि पानी पर्ने बित्तिकै अलर्ट मोडमा बस्ने गरेका छौं।’ 

खोलाका छेउछाउका अतिक्रमण तथा अव्यवस्थित बसोबासले समुदाय नै बढी जोखिममा देखाएको  छ। १०० मिमिभन्दा धेरै पानी परेमा विकराल समस्या ल्याउन सक्छ। त्यसैले क्षति झन्–झन् बढ्दै जाने देखिन्छ। 

त्यसै अनुसारका पूर्वाधार तथा  व्यवस्थापन गरिएन भने समस्या थप विकराल हुने जोशीले बताए। त्यसका लागि पुल तथा करिडोरहरूको उचाइ  बढाउनुपर्ने हुन्छ। कुनै विशेष क्षेत्रहरू (कम उचाइका)  छुट्टै हिसाबले व्यवस्थापनको आवश्यक गर्नुपर्ने हुन्छ। सरकारले यस विषयमा अध्ययन गर्न आवश्यक  देखिएको छ। 
जोशीका अनुसार प्रायजसो दुईवटा खोलाहरू मिसिने ठाउँमा अझ धेरै जोखिम हुन्छ किनभने ब्याक फलो हुन्छ। तीनकुने दोभान, शखंमूल त्यसका उदाहरण हुन्।

 विभागका मौसमविद्, विनु महर्जनका अनुसार बूढानीलकण्ठ र सुन्दरीजलतिर धेरै वर्षा भएको भएकाले उपत्यकामा बाढी र डुबान आएको बताइन् ।  हिजोआज दिउँसो घाम लाग्ने र राति पानी पर्ने क्रम दोहोरिएको छ।  मनसुनको चरित्र अनुसार यस्तो भएको बताइन्। 
महर्जनले भनिन्, ‘दिउँसोभन्दा बढी राति पानी पार्ने सिस्टमहरू सक्रिय हुन्छन्। मनसुनको न्यूनचापीय रेखा यताउता सरिरहेको हुन्छ । रातिको समयमा ठ्याक्क नेपालतिर पर्ने हुँदा पानी पर्ने संभावना बढी हुन्छ।’ 

उनका अनुसार यतिबेला मधेस प्रदेशमा अलि कम पानी परिरहेको छ। साथै उपल्लो क्षेत्रमा पनि पानी मजाले छरिएर पर्न सकेको छैन। अन्य क्षेत्रमा भने पानी परिरहेको छ। तर, अहिलेको वर्षा एक ठाउँमा भारी वर्षा भए पनि अन्यत्र छिटफुट मात्रै हुने गरेको बताइन्। ‘पूरै छरिएर वर्षा भएको छैन। एकदमै खण्डित वर्षा भइरहेको छ,’ मजर्हनले भनिन्। विभागका तथ्यांकअनुसार गत शुक्रबारसम्म २२.९ प्रतिशत वर्षा भएको छ। तर, यति बेलासम्म कम्तीमा ३० प्रतिशत पानी पर्नुपर्ने थियो। पर्नुपर्ने जति वर्षा भएको छैन। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.