गणेश नेपाली आत्मदाह प्रकरणः सरकार र पीडित पक्षबीचको वार्ता निष्कर्षविहीन
मुगुः त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी वार्ता टोलीबीच भएको वार्ता निष्कर्षविहीन भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा करिब १४ घण्टा लामो वार्ता भए पनि कुनै सहमति हुन नसकेको पीडित पक्षले जानकारी गराएका छन्।
शुक्रबार साँझदेखि शनिबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि पीडित पक्षले सरकारले घटनाप्रति अपेक्षित जिम्मेवारी नलिएको आरोप लगाएको छ। सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहाल, प्रधानमन्त्री सचिवालय सदस्य सन्दीप पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरीका प्रतिनिधि तथा काठमाडौं महानगर प्रहरी प्रमुख सहभागी थिए।
वार्तामा सरकारले मृतक परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने, न्यायिक छानबिन समितिलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने तथा प्रशासनिक तहबाट काठमाडौं महानगरपालिकामार्फत छानबिन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेको पीडित पक्षले जनाएको छ।
तर, पीडित परिवार र आन्दोलनरत पक्षले नेपाल सरकारले औपचारिक रूपमा घटनाको जिम्मेवारी स्वीकार नगरेसम्म कुनै सहमति हुन नसक्ने अडान राखेका छन्।
पीडित पक्षका अनुसार वार्तामा परिवारलाई उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी, छोराछोरीको शिक्षाको सम्पूर्ण जिम्मेवारी, आत्मदाह गर्न बाध्य बनाएको र आरोप लागेका नगर प्रहरीमाथि निलम्बन तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउने विषयमा सरकार स्पष्ट रूपमा प्रतिबद्ध हुन तयार नदेखिएको पीडित पक्षको दाबी छ। नेपाल सरकारले प्रत्यक्ष जिम्मेवारी लिनुको सट्टा सम्पूर्ण विषय काठमाडौं महानगरपालिकाको जिम्मामा पारेर आफू पन्छिन खोजेको आरोप पीडित पक्षको रहेको छ।
पीडित पक्षले महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय हुने वा नहुने भन्ने अन्योल कायम रहेकाले नेपाल सरकारले लिखित रूपमा जिम्मेवारी नलिएसम्म सहमति सम्भव नरहेको जनाएको छ।
वार्ता समितिमा सहभागी पठाओ राइडर प्रतिनिधि नवराज न्यौपानेले वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीबाट दबाबपूर्ण तथा धम्कीपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। उनका अनुसार वार्ता टोलीका अन्य सदस्यहरूले पनि उक्त व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।
त्यसैगरी, पीडित पक्षले मृतक गणेश नेपालीका बिरामी बाबुआमा र श्रीमतीलाई रातभर जिल्ला प्रशासन कार्यालयमै राखिएको तथा आफन्तहरूलाई सहमतिमा हस्ताक्षर गर्न पटक–पटक दबाब दिइएको आरोप लगाएको छ। यद्यपि, यी आरोपबारे सरकारी पक्षबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
वार्ता निष्कर्षविहीन बनेसँगै पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा न्याय सुनिश्चित नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएको छ।
पीडित पक्षका ६ बुँदे माग
१. गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाएको आरोपमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन तथा संसदीय छानबिन समिति गठन गर्न।
२. गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्न।
३. परिवारलाई सम्मानजनक जीवनयापनका लागि उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने।
४. परिवारका सदस्यलाई रोजगारी, छोराछोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च तथा परिवारको पालनपोषणको जिम्मेवारी राज्यले लिन।
५. राइड–सेयरिङ एप सञ्चालनसम्बन्धी स्पष्ट कानुन निर्माण गरी सम्बन्धित अन्तर्राष्ट्रिय श्रम मापदण्ड कार्यान्वयन गर्न।
६. त्रिपुरेश्वरस्थित घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्न।
प्रतिक्रिया दिनुहोस !