शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको मृत्यु
काठमाडौं : काठमाडौं बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् ।
आज बिहान काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो । पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।
उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । यस्तै शुक्रबार नै सर्लाहीका विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेकलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको पनि अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !