नेपाल र भारत ‘ए’ बीच टी२० शृङ्खला हुँदै
काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ सँग ३ खेल सम्मिलित टी२० शृङ्खला खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ टिमले तीन खेल सम्मिलित टी२० शृङ्खला खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।
क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्कटल्यान्डमा भएको आईसीसी सम्मेलनका क्रममा भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)सँग यो शृङ्खलाका लागि सम्झौता भएको जानकारी दिएको हो।
हाल स्कटल्यान्डमा भइरहेको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सहभागिता जनाइरहेका छन्। सोही क्रममा बीसीसीआईका सचिव देवजित साइकियाबीच भएको बैठकपछि यो श्रृंखला तय भएको हो।
शृङ्खला आउँदो डिसेम्बर ९ देखि १३ तारिखसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल र भारत ‘ए’ले पहिलो खेल डिसेम्बर ९ मा दोस्रो खेल डिसेम्बर ११ र अन्तिम खेल डिसेम्बर १३ मा त्रिवि क्रिकेट मैदानमा खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस !