‘रेफ्रीको इमान्दारितामा प्रश्न उठाउन मिल्दैन’
एजेन्सी/न्युयोर्क : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इजिप्टसँगको अन्तिम १६ को खेलमा रेफ्रीको निर्णयको बचाउ गरेका छन्।
विश्वकपको अन्तिम १६ को खेलमा अफ्रिकी मुलुक इजिप्ट साविक विजेता अर्जेन्टिनासँग ३–२ गोलले पराजित भएपछि रेफ्रीको विश्वसनियतामाथि प्रश्न उठेको थियो। फिल्ड रेफ्रीसँगै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले पक्षपातपूर्ण निर्णय गर्नुका साथै दोहोरो मापदण्ड अपनाएको आरोप लागेको थियो।
रेफ्रीको दोहोरो मापदण्डका विषयमा इजिप्ट फुटबल संघले फिफामा उजुरी गरेको थियो। त्यही उजुरीका विषयमा बोल्दै कोलिनाले रेफ्री पूर्वाग्रही भएको भन्ने आरोप सत्य नभएको बताउँदै उनीहरुले पूर्ण स्वतन्त्रताका साथ काम गरेको दाबी गरेका हुन्। बिहीबार फिफाको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा कोलिनाले रेफ्रीहरूको आलोचना हुनु फुटबलको एउटा हिस्सा रहँदै आएको बताउँदै खेलमा पराजित भएपछि इजिप्टले रेफ्रीको इमानदारितामाथि प्रश्न उठाएको भन्दै त्यसको भत्र्सना गरेका थिए।
‘थोरै समयभित्र धेरै संख्यामा खेल खेलाउँदा केही सामान्य त्रुटी हुनसक्छ। सबैले सोचेजस्तो नहुन पनि सक्छ। यो सामान्य हो’, कोलिनाले भने, ‘एउटा खेलमा प्रश्न उठ्नासाथ रेफ्रीहरू अर्को खेलका लागि पूर्ण रूपमा तयार हुन अझ बढी मेहनत गर्छन्। आफूलाई निश्पक्ष बनाउन हरसम्भव प्रयास गर्छन।’ कोलिनाले खेलका विवादित निर्णयको बचाउ गर्दै भीएआरको भूमिका सही रहेको दाबी पनि गरेका छन्।
कोलिनाले यस्ता आरोपहरूले रेफ्री र उनीहरूका परिवारविरुद्ध पनि विभिन्न दुर्घटना निम्त्याउन सक्ने बताउँदै त्यसमा सजग हुनुपर्नेमा जोड दिएका छन्। ‘रेफ्रीले गर्ने निर्णयहरूका बारेमा रचनात्मक छलफल सधैं फुटबलको हिस्सा रहन्छ। तर, आधारहीन आरोपहरूको यस खेलमा कुनै स्थान छैन’, उनले थपे, ‘फिफा विश्वकपका खेल अधिकारीहरूको इमानदारितामाथि कसैले प्रश्न उठाउन सक्दैन। रेफ्रीको निर्णयलाई कसैले प्रभाव पार्न सक्छ भन्नु पनि गलत हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि यसलाई प्रभाव पार्न सक्नुहुन्न। खेल अधिकारीहरूले इमानदार निर्णयहरू लिन्छन्। खेलाडी र प्रशिक्षकहरू जस्तै उनीहरूले पनि सधैं आफ्नो उत्कृष्ट दिने प्रयास गर्छन्।’
प्रतिक्रिया दिनुहोस !