गणेशको आत्मदाहले तात्यो संसद्
गृहमन्त्री गुरुङले घटनालाई विषयान्तर गर्दै भने, ‘स्थानीय सरकार कसको छ ?’
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा गुडिरहेको मोटरसाइकलमा ह्विल लक लगाइएपछि आत्मदाह गरेका मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीको मृत्यु भएपछि संसद् तातेको छ। संसद्का दुवै सदनमा प्रतिपक्ष मात्र नभई सत्तारूढ दलका सांसदहरूले समेत सरकारको कडा आलोचना गरेका छन्। प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै उनको कार्यशैली र मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्।
मुगुका सांसद खड्गबहादुर शाहीले वीर अस्पतालमा गणेशको मृत्यु भइसकेपछि पनि सरकारले नाटक र स्टन्टबाजी गरेको आरोप लगाए। ‘सरकारले गणेशका प्रतिनाटक गर्यो। म त्यहाँ वीर अस्पताल गएको थिएँ।
चिकित्सकले भनेअनुसार ९५ प्रतिशत बाँच्ने अवस्था छैन भन्नुभएको थियो,’ उनले भने, ‘रातभर गृहमन्त्रीलगायतले जुन स्टन्टबाजी गर्नुभएको छ— उहाँले गर्न खोज्नु भएको प्रयास होला ठीक। तर गणेश नेपाली राति नै बितिसकेका रहेछन्। बिहानसम्म घोषणा गरिएन। हामी भीष्मराज आङ्देम्बे र म गइसकेपछि शय्यामा राखिरहेको लासलाई हेरिसकेपछि स्वास्थ्यमन्त्री र चिकित्सकसँग बस्दा पनि उहाँहरूले किन घोषणा गर्नु भएन ? मान्छे बितिसकेको छ, पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भन्नुहुन्छ। तपाईं केको पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ भनेपछि मात्र अहिले मृत्यु घोषणा गरे।’
कांग्रेस सचेतक वासना थापाले प्रधानमन्त्री शाहलाई अब कालो चस्मा खोल्ने बेला आएको भन्दै आक्रोश पोखिन्। ‘राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ? ’ प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै उनले भनिन्, ‘राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदासमेत राज्य मूकदर्शक बन्यो। शरीर आगोमा दन्किरहँदा राज्यले एम्बुलेन्स पठाएन।
बरु प्रहरी प्रशासन लगाएर अपराधीझैं घिसारेर लग्यो। यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? के ऊ देशद्रोही हो ? उसले कसको विरुद्ध के अपराध गरेको थियो ? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यही देशमा केही गर्न खोज्यो।’ उनले थपिन्, ‘अरूले आफैंलाई जलाउने हिम्मत गर्न सकेका छैनन्, बहादुर युवाले विद्रोह गर्यो। सरकार जनताको ज्यान जोगाउनेभन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर सञ्जालमा लाइक बढाउने ध्याउन्नमा छ। साझा यातायातको हरियो रङलाई पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन।’
एमालेका सांसद ऐनबहादुर महरले गणेशको शव ठूलो अपराध गरेर आएका व्यक्तिको जस्तै गरी प्रहरी पहरामा राखिएको भन्दै आपत्ति जनाए। ‘मानौँ ठूलै अपराध गरेर आए जसरी शव राखिएको छ। यहाँ गृहमन्त्री जानुभयो, बस्नुभयो भनेर सुनाइयो। म एउटा कुरा के भन्न चाहन्छु भने स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्यो,’ उनले भने, ‘गणेश नेपालीको हत्याको जिम्मेवार वालेन्द्र सरकार हो।
वालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी, जनताको हत्या गर्ने गरी अगाडि बढिरहेको छ। म यो सरकार मुर्दावाद भन्न चाहन्छु। गणेश नेपालीहरूले गरेको आत्मदाहका कारण यो सरकारले ठूलो मूल्य चुकाउनुपर्छ।’
राप्रपा सांसद खुश्बु ओलीले विगतको स्मरण गराउँदै यो घटनालाई राज्यको असंवेदनशीलताको पराकाष्ठा भनिन्।
‘सरकारले आफ्नो मधुमास पनि पूरा गर्न नपाउँदै एक होनहार २५ वर्षीय युवा आत्मदाहको प्रयास गर्न विवश भए। यो एउटा व्यक्तिको पीडामात्र होइन, यो सरकारप्रति जनतामा बढ्दो निराशा, असुरक्षा र भरोसाको संकटको भयावह संकेत हो। सरकारले सुशासन र समृद्धिका नाममा ८७ प्रतिशत प्रगति भएको दाबी गरिरहँदा एउटा युवा आत्मदाह गर्न बाध्य हुनु गम्भीर प्रश्न हो। प्रगति जनताको जीवनमा किन महसुस भइरहेको छैन ? यो निराशाको नैतिक जिम्मेवारी सरकारले लिनु पर्छ कि पर्दैन ? ’ उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्दै भनिन्, ‘हालका प्रधानमन्त्री आफू मेयर हुँदा प्रेम आचार्यले आत्मदाह गर्दा भन्नुभएको थियो— ‘त्यो आत्मदाह धेरै कारण र संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो।’ के आज उहाँले नेतृत्व गरेको राज्य अलग्गै भएको हो ? आजको नैतिक जिम्मेवारी उहाँले स्वीकार्ने कि नस्वीकार्ने ?’
राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको नीतिका कारण मुगुका युवाको मृत्यु भएको भन्दै प्रश्न गरे, ‘के काठमाडौं सहर अर्बपति र करोडपतिको मात्रै हो ? काठमाडौं गरिब, दुःखी र निमुखाको पनि सहर हो कि होइन ?’ सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारी नीतिका कारण नागरिकले मृत्युवरण गर्नु परेको आरोप सही भए त्यसबारे गम्भीर भएर सोच्न आवश्यक रहेको बताए।
नेकपाका नेता वर्षमान पुनले घटनामा सरकारको धारणा माग गर्दै नयाँ आशाको जनमतसहित आएको वर्तमान सरकारको असफलता हो ? भनी प्रश्न गरे। एमालेकी भूमिका लिम्बू सुब्बाले हचुवाका भरमा गरिएको जरिबाना प्रणालीकै कारण नेपालीको ज्यान गएको भन्दै निष्पक्ष छानबिन र परिवारलाई तत्काल राहत तथा क्षतिपूर्तिको माग गरिन्।
राष्ट्रिय सभामा प्रधानमन्त्रीको राजीनामा माग
राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्र शाहकै राजीनामाको माग गरिएको छ। राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले भने, ‘जलिरहेको मान्छेलाई अपराधीझैं घिसारेर अस्पताल पुर्याइन्छ। ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस्। बालेन सरकार राजीनामा दे। यो क्रूर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो, उसले कुर्सीमा टाँसिरहनु उचित हो कि होइन ? यदि नैतिकता छ भने बालेन सरकारले तुरुन्त राजीनामा गरेर सडकमा आओस्।’
सांसद नरबहादुर विष्टले पनि सरकारले जनतालाई मर्न बाध्य पार्ने परिस्थिति सिर्जना गरिरहेको आरोप लगाए। ‘यसले राष्ट्रको सम्पत्ति जलायो, देशको इतिहास जलायो। आज त्यो इतिहासको नाममा कालो चश्मा र कालो कोट लगाएर फेरि एकचोटि नेपाली जनतालाई बाध्य पार्ने परिस्थिति सिर्जना गर्दैछ, म यो सरकारको घोर भत्र्सना गर्न चाहन्छु,’ उनले भने।
गृहमन्त्रीको विषयान्तर प्रयास
संसद्मा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले आफूले कुनै स्टन्ट नगरेको दाबी गरे। उनले संघीय सरकार आफ्नो भए पनि स्थानीय सरकार विपक्षी दलको नेतृत्वमा भएको भन्दै विषयान्तर गरेका छन्।
‘हामीले अथक प्रयास गरेकै हो। श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो, अनुमति लिएकै हो। तर चिकित्सकले ‘स्टेबल’ राख्नुपर्यो भन्नुभयो, उहाँको ब्लड प्रेसर नै लो भएको थियो। हामीले उहाँलाई बचाउन खोजेको हो नि त। यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन्,’ उनले भने, ‘नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौँ। मलाई ढाँट्न आउँदैन। यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु।’
गृहमन्त्री गुरुङले काठमाडौं महानगरपालिकामा आफ्नो पार्टीको सरकार नभएको भन्दै स्थानीय तहलाई दोष दिएर पन्छिने प्रयास गरे। ‘तपाईंहरू आफैं भन्नुस्, अहिले काठमाडौंमा स्थानीय सरकार कसको ? ह्विल लक लगाएको कसले ? हामीले भनिराख्नुपर्ने ? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय र प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ। यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो,’ उनले थपे।
देशव्यापी विरोध प्रदर्शन
गणेश नेपाली प्रकरणलाई लिएर देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ। नेपालीले आत्मदाह गरेको स्थान त्रिपुरेश्वर, माइतीघरदेखि वीर अस्पतालसम्म मुगुवासी र विभिन्न विद्यार्थी संगठनहरू प्रदर्शनमा उत्रिएका छन्। संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। काठमाडौंबाहेक विराटनगर, नेपालगन्ज, सुर्खेतलगायतका मुलुकका विभिन्न स्थानमा सरकारविरुद्ध चर्को प्रदर्शन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !