मालारानीमा कोल्ड स्टोर सञ्चालन, आलु र किवीले पायो राम्रो बजार
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकामा कोल्ड स्टोर सञ्चालनमा आएपछि कृषकहरू खुशी भएका छन्। उत्पादन गरेको कृषि उपज तत्कालै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता हट्दै गएपछि किसानले आफ्नो उत्पादन सुरक्षित रूपमा भण्डारण गरी उपयुक्त समयमा बिक्री गर्न पाउने अवस्था बनेको छ। यसले उत्पादनपश्चात हुने क्षति घटाउनुका साथै कृषकको आम्दानी बढाउने आधार तयार गरेको छ।
मालारानी गाउँपालिका–५, बाँगीमा रहेको कोल्ड स्टोरमा हाल आलु तथा अन्य कृषि उपजको भण्डारण भइरहेको छ। चालु आर्थिक वर्षमा करिब १८ टन आलु कोल्ड स्टोरमा भण्डारण गरी सहकारीमार्फत नियमित रूपमा बजारमा बिक्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताएका छन्। उत्पादनलाई आवश्यक समयसम्म सुरक्षित राख्न सकिने भएपछि किसानले बजार मूल्य अनुकूल हुँदा बिक्री गर्न पाएका छन्। यसबाट उनीहरूले विगतको तुलनामा राम्रो मूल्य प्राप्त गर्न सफल भएका छन्।
कोल्ड स्टोर सञ्चालनसँगै आलु मात्र नभई किवी लगायत अन्य कृषि उपजको भण्डारण र बजारीकरणको काम पनि व्यवस्थित रूपमा अघि बढाइएको छ। जनकल्याण साना किसान कृषि सहकारी संस्थाको सहजीकरणमा सञ्चालन भइरहेको यस प्रणालीमार्फत किसानको उत्पादनलाई सामूहिक रूपमा संकलन, भण्डारण र बजारसम्म पुर्याउने कार्य भइरहेको छ। सहकारीको माध्यमबाट बजार व्यवस्थापन गरिँदा किसानले व्यक्तिगत रूपमा बजार खोज्नुपर्ने समस्या पनि घटेको छ।
पहिले बजार अभाव, भण्डारणको सुविधा नहुँदा तथा मूल्य घटेका बेला किसानले उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था थियो। अहिले भने उत्पादनलाई सुरक्षित राखेर उचित समयमा बिक्री गर्न सकिने भएकाले किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
गाउँपालिकाका नौवटै वडामा विभिन्न कृषि तथा पशुपालन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। परियोजनाअन्तर्गत खाद्यान्न तथा नगदे बाली उत्पादन, तरकारी खेती प्रवर्द्धन, बाख्रा विकास, गाईभैँसी प्रवर्द्धन, महिला सशक्तीकरण तथा क्षमता विकास, कृषि तथा पशुजन्य वस्तुको बजारीकरण, चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन तथा सहकारी संस्थाको संस्थागत विकास र सुशासनका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। यी कार्यक्रमले कृषकलाई उत्पादन वृद्धि मात्र नभई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका योजना अधिकृत नेत्र प्रसाद खनालले बताएका छन्।
परियोजनाले मालारानी गाउँपालिका भित्रका नौ वटै वडामा १७ वटा मूल समूह, ३५ वटा उपहार समूह तथा एक वटा युवा/उद्यमी समूह गठन गरी कुल ५३ वटा समूहमा एक हजार २९३ सदस्यलाई आबद्ध रहेका छन्। यी समूहमार्फत कृषि उत्पादन, पशुपालन, उद्यम विकास, नेतृत्व विकास, बचत तथा सहकारी सुदृढीकरण लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्।
लक्षित परिवारहरूको वार्षिक आम्दानी वृद्धि गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गरी उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउनु रहेको छ। यसका लागि कृषकलाई स्वावलम्बी समूह तथा सहकारीमा आबद्ध गराई सामाजिक पुँजीको विकास गर्ने, व्यावसायिक कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, सहकारी संस्थालाई व्यवसाय केन्द्रका रूपमा विकास गरी सामूहिक बजारीकरणमा सक्षम बनाउने तथा निजी क्षेत्रसँग सहकार्य गरी कृषि तथा पशुजन्य वस्तुको बजार सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेलले बताइन्।
कोल्ड स्टोर सञ्चालनले यी उद्देश्यलाई व्यवहारमा उतार्ने महत्वपूर्ण आधार तयार गरेको स्थानीय कृषकहरूको भनाइ छ। उत्पादन सुरक्षित राख्ने सुविधा उपलब्ध भएपछि उनीहरूमा व्यावसायिक रूपमा खेती विस्तार गर्ने आत्मविश्वास बढेको छ। विशेषगरी आलु र किवी खेती गर्ने कृषकहरूले अब उत्पादनको गुणस्तर जोगाउँदै बजारको मागअनुसार बिक्री गर्न सक्ने अवस्था बनेको परियोजनाका लेखा अधिकृत अर्जुन खनालले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !