गत अक्टोबरमा अमेरिकाको टेक्सास राज्यको डालस पुग्ने अवसर मिल्यो। यात्रामा भाइ किशोर, बुहारीप्रति र पदम भाइ साथमा थिए। हामीले सहरका सडक, हरिया पार्क र आकाश छुने भवनहरू घुम्यौं। अघिल्लो दिन रि–युनियन टावरको गोलाकार अवलोकनस्थलबाट तल फैलिएको डालस नियालेका थियौं। माथिबाट हेर्दा सहर व्यस्तताले भरिएको देखिन्थ्यो; तर मेरो मन भने अर्कै तृष्णाले तानिएको थियो।
त्यसैले भोलिपल्ट बिहानै हामी पूर्वअमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको हत्या भएको स्थल डिली प्लाजा र त्यहीँ रहेको सिक्स्थ फ्लोर म्युजियमतर्फ लाग्यौं। संग्रहालयभित्र पहिलो पाइला राख्नेबित्तिकै लाग्यो, म भवनभित्र होइन, समयको गर्भभित्र प्रवेश गरिरहेको छु। भित्ताहरूमा मुस्कुराइरहेका केनेडी थिए। उनका चुनावी भाषण गुञ्जिरहेका थिए। पुराना रेडियो, टेलिभिजनका दृश्य, शीतयुद्धका तस्बिर, अन्तरिक्ष यात्राका सपनाहरू, नागरिक अधिकार आन्दोलनका दस्तावेज सबैले एउटा आशावादी अमेरिकाको कथा सुनाइरहेका थिए।
अडियो गाइड कानमा लगाएर म प्रदर्शनीसँगै अघि बढ्दै गएँ। इतिहास पुस्तकका पानामा होइन, मेरो कानमा बोलिरहेको थियो। संग्रहालयको प्रत्येक कक्षले मलाई सन् १९६० को दशकतिर फर्काइरहेको थियो। तर मेरो मन भने एउटै ठाउँमा पुग्न आतुर थियो– छैटौं तलाको त्यो झ्याल, जहाँ उभिएर इतिहासले आफ्नो दिशा बदल्यो। केही बेरपछि म त्यही झ्यालअगाडि उभिएको थिएँ। काठका बाकसले घेरिएको स्थानभित्र कसैलाई पस्न दिइँदैन रहेछ। त्यसैले केही परबाटै हेर्नुपर्छ। तल डिली प्लाजाको सडकमा पर्यटकहरू हिँडिरहेका थिए। गाडीहरू सामान्य गतिमा गुडिरहेका थिए। वरिपरि शान्ति थियो। तर त्यो शान्त सडकले एक समय संसारकै सबैभन्दा ठूलो राजनीतिक स्तब्धता देखेको थियो।
अडियो गाइडले मलाई २२ नोभेम्बर १९६३ को दिउँसोमा पुर्यायो। त्यो दिन राष्ट्रपति जोन एफ. केनेडी आगामी राष्ट्रपतीय निर्वाचनको तयारीस्वरूप टेक्सास भ्रमणमा आएका थिए। स्थानीय नेताहरूसँग भेटघाट गर्ने, जनसमर्थन बलियो बनाउने र दलभित्रको मतभेद कम गर्ने उद्देश्यले उनी आफ्नी पत्नी ज्याक्लिन केनेडीसँग डालस पुगेका थिए। दिउँसोको घाम न्यानो थियो। सडकका दुवैतर्फ हजारौं मानिसहरू हात हल्लाउँदै उभिएका थिए।
छतहरू, झ्यालहरू र फुटपाथहरू उत्सुक दर्शकले भरिएका थिए। राष्ट्रपतिको खुला कालो लिमोजिन बिस्तारै एल्म स्ट्रिटतर्फ मोडिँदै थियो। अगाडिको सिटमा टेक्सासका गभर्नर जोन कोनाली र उनकी पत्नी थिए। पछाडिको सिटमा राष्ट्रपति र ज्याक्लिन केनेडी मुस्कुराउँदै जनताको अभिवादन स्वीकार गरिरहेका थिए। त्यो दृश्य कुनै राजनीतिक कार्यक्रममा भन्दा पनि उत्सवमा सहभागी परिवारजस्तो देखिन्थ्यो। म झ्यालबाट तल हेरिरहेको थिएँ। मेरो आँखाले वर्तमान देखिरहेको थियो, तर मनले अतीत। मलाई लाग्यो, म पनि त्यही भीडको एउटा मानिस हुँ। राष्ट्रपतिको कार बिस्तारै मेरो अगाडिबाट गुडिरहेको छ। मानिसहरूको ताली र हर्षध्वनि कानमा गुञ्जिरहेको छ।
अचानक एउटा ठूलो आवाज आयो। धेरैले त्यसलाई मोटरसाइकलको टायर पडकएको ठाने। तर केही सेकेन्डमै दोस्रो गोली चल्यो। आधिकारिक अनुसन्धानअनुसार त्यो गोली राष्ट्रपति केनेडीको माथिल्लो ढाडबाट प्रवेश गरी घाँटीबाट बाहिर निस्कियो र त्यसपछि अगाडि बसेका गभर्नर जोन कोनालीलाई समेत गम्भीर रूपमा घाइते बनायो। त्यसको केही क्षणपछि अन्तिम गोली राष्ट्रपतिको टाउकोमा लाग्यो। केही सेकेन्डअघिसम्म जयजयकारले गुञ्जिएको डिली प्लाजा अचानक चिच्याहट, भागदौड र सायरनको आवाजले भरियो। एउटा राष्ट्रको उत्सव शोकसभामा बदलियो। सरकारी निष्कर्षअनुसार ती गोलीहरू यही झ्यालबाट ली हार्भी ओस्वाल्डले चलाएको थियो। तर त्यही क्षण अर्को प्रश्न पनि जन्मियो, यदि उसैले गोली चलाएको थियो भने किन आजसम्म करोडौं अमेरिकीहरू त्यो निष्कर्षमा पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन् ?
संग्रहालयको अर्को कक्षमा पुग्दा विभिन्न जनमत सर्वेक्षणहरू देखाइएका थिए। अधिकांश अमेरिकीहरूले केनेडी हत्या कुनै न कुनै प्रकारको षड्यन्त्र भएको हुन सक्ने विश्वास गरेको उल्लेख थियो। सरकारको निष्कर्ष एउटा थियो, जनताको विश्वास अर्कै। इतिहासका धेरै घटनाहरूमा यस्तो हुँदैन। ओस्वाल्डको जीवनकथा पढ्दै जाँदा रहस्य झन् बाक्लिँदै गयो। ऊ कुनै चर्चित अपराधी थिएन, कुनै शक्तिशाली गुप्तचर अधिकारी पनि थिएन। यही भवनमा काम गर्ने पूर्वसैनिक थियो। तर उसको जीवन असामान्य मोडहरूले भरिएको थियो– सोभियत संघमा बसाइ, रुसी युवतीसँग विवाह, अमेरिका फर्किएपछि क्युबा समर्थक गतिविधि। शीतयुद्धको तनावपूर्ण परिवेशमा यी सबै तथ्यहरूले मानिसहरूको कल्पनालाई झन् उत्तेजित बनाइदिए। पक्राउ परेपछि ओस्वाल्डले आफू निर्दोष रहेको दाबी गर्यो। ‘म त बलीको बोको मात्र हुँ’, भन्ने उसको अभिव्यक्ति आज पनि इतिहासको एउटा प्रतिध्वनिजस्तै सुनिन्छ।
तर अदालतमा आफ्ना कुरा प्रमाणित गर्ने अवसर उसले कहिल्यै पाएन। हत्या भएको दुई दिनपछि प्रहरीले ओस्वाल्डलाई अदालत लैजाँदै गर्दा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो। त्यहीबेला भीड चिरेर ज्याक रुबी अगाडि आयो र उसलाई पेटमा गोली हान्यो। संसारभरका लाखौं मानिसहरूले प्रत्यक्ष देखेको त्यो दृश्यले अर्को रहस्य जन्मायो। जसलाई राष्ट्रपतिको हत्याको आरोप लागेको थियो, ऊ आफैं किन मारियो ? रुबीले राष्ट्रपति केनेडीप्रतिको सम्मान र उनकी पत्नी ज्याक्लिन केनेडीले अदालतको पीडा भोग्न नपरोस् भन्ने भावनाले आफूले गोली चलाएको दाबी ग¥यो। तर उसको जीवनका अन्तिम वर्षहरूमा दिएका केही संकेतपूर्ण अभिव्यक्तिहरू जस्तै– सत्य अझै बाहिर आएको छैन आदि उसका असंगत भनाइले षड्यन्त्रका बहसहरू झन् बलियो बनाइदिए।
संग्रहालयमा एउटा सानो धातुको गोली पनि प्रदर्शन गरिएको थियो। अनुसन्धानका क्रममा अस्पतालमा भेटिएको यही गोलीलाई आधिकारिक रूपमा कमिसन एक्जिबिट–३९९ भनिन्छ। संसारले भने यसलाई अर्को नाम दियो, म्याजिक बुलेट। सरकारी निष्कर्षअनुसार यही एउटै गोलीले राष्ट्रपति केनेडीको ढाडबाट प्रवेश गरी घाँटीबाट बाहिर निस्कियो। त्यसपछि अगाडि बसेका टेक्सासका गभर्नर जोन कोनालीको ढाड, छाती, करङ, नाडी र तिघ्रामा चोट पुर्यायो।
यस सिद्धान्तलाई स्वीकार गरेपछि घटनाक्रम धेरै हदसम्म एउटै सुटरले गरेको आक्रमणसँग मेल खान्थ्यो। समर्थकहरूले तथा फरेन्सिक टिमले यसलाई वैज्ञानिक रूपमा सम्भव भने; आलोचकहरूले यसलाई अस्वीकार गरे। त्यसयता म्याजिक बुलेट एउटा गोलीमात्र रहेन, अमेरिकी इतिहासको सबैभन्दा विवादित प्रतीक बन्यो। घाम चर्किंदै थियो। हामी संग्रहालयबाट बाहिर निस्कियौं। डिली प्लाजाको घाँसे भाग ग्रासी नोल अझै त्यहीँ थियो। केही पर्यटकहरू दोस्रो सुटरबारे बहस गरिरहेका थिए। कसैले सरकारी प्रतिवेदनको पक्ष लिइरहेका थिए। कसैले मौन भएर केवल सडकतिर हेरिरहेका थिए ।
म पनि केही बेर त्यहीँ उभिएँ। इतिहासका धेरै घटनाहरू समयसँगै स्पष्ट हुँदै जान्छन्। तर केही घटनाहरू भने जति पुराना हुँदै जान्छन्, उति नै रहस्यमय बन्दै जान्छन्। केनेडी हत्या त्यस्तै घटना रहेछ। यहाँ प्रमाणहरू छन्, अनुसन्धानहरू छन्, हजारौं पुस्तकहरू छन्, तर अन्तिम उत्तर अझै छैन। त्यो साँझ डालसको आकाशमा सूर्य अस्ताउँदै थियो। डिली प्लाजाको सडकमा छायाहरू लम्बिँदै थिए। मैले अन्तिम पटक छैटौं तलाको झ्यालतिर हेरें। त्यहाँ अब कुनै गोलीको आवाज थिएन, कुनै भागदौड थिएन, कुनै साइरन थिएन। केवल एउटा झ्याल थियो र त्यस झ्यालभित्र अडकिएको एउटा इतिहास।
नेपालको दरबार हत्याकाण्ड र केन्नेडी हत्याकाण्ड केही मिलेजस्तो लाग्यो। दुवै हत्याकाण्डमा प्रतक्ष्यदर्शीले जसलाई हत्यारा भनेका थिए, दुवैको मृत्यु भएको थियो, सरकारी प्रतिवेदनअनुसार हत्यारा र मृतकलाई एउटै अस्पतालमा लगिएको थियो, दुवै हत्याकाण्डमा एकजना हत्यारा भनिए पनि धेरैजना भएको अनुमान गरिएको थियो। उता म्याजिक गोलीको चर्चा, यता म्याजिक म्यानको करामत ! दुवै हत्याकाण्डपछि अपारदर्शी गतिविधिको कारण आम जनतामा षड्यन्त्रका सिद्धान्तले सिङ हालेका थिए। यी दुवै घटना यति गिजोलिए कि, अब कसैले पूर्ण प्रमाण पेस गरे पनि आम जनताले विश्वास गर्दैनन्। अपराधशास्त्रमा सबैभन्दा सजिलो तरिका र सानो कारण नै ठूला हत्याकाण्डका मुख्य कडी हुन्छन्।
प्रतिक्रिया दिनुहोस !