हुम्ला जुम्ला कालीकोट दैलेख जाजरकोट
सौंराइले बाडुली लाग्यो कैले होला भेट।
बिसुपर्वपछि कर्णालीका पाँच जिल्लामा पनि महिनापिच्छे पैठहरू (जातहरू) सुरु हुन्छन्। सोहीअनुसार कालीकोट जिल्लाको पचाल छणोमा धार्मिक मेला लाग्ने गर्छ। पचाल छणो पहिलेको राम्नाकोट गाविस वडा नं. ७, ८ र ९ मा र हाल पचालझरना गाउँपालिका खार्दु गाउँमा पर्दछ।
दक्षिण एसियाकै अग्लो यो झरनाको उचाइ ३८१ मिटर रहेको तथ्यांक छ। कर्णाली अञ्चलमा धेरै मन्दिर छन्, जसलाई स्थानीय भाषामा ‘माणु’ भनिन्छ। माणुका धामीहरू पनि प्रशस्तै छन्। धामीलाई पर्गेल्न्या (सेवा गर्ने) पुजारी पनि त्यति नै छन्। माणुमा बेलाबखत पैठ (मेला) लाग्छ। कर्णाली अञ्चलकै महत्वपूर्ण जातमध्ये पचाल छणाको पैठको महत्व पनि निकै छ।
२०६० को दशकअघि पचाल छणो पृथ्वीको गर्भमा थियो। कहीँकतै पनि चर्चा–परिचर्चा भएको थिएन। कालीकोट राम्नाकोटवासी सर्जक मोतीराज बमले पचाल छणो (झरना)बारे राजधानीबाट प्रकाशित पत्रिकामा लेख लेखे। २०५७ सालमा लेखिएको सो लेखमा विश्वकै ‘अग्लो हुन सक्ने पचाल छणो’ उल्लेख छ। लेख पढेर नेपालस्थित स्विस राजदूत जुम्ला जाने क्रममा चर्चा गरेछन्।
स्थानीयवासीले सोबारे अनभिज्ञता प्रकट गरेकाले उनी राजधानी फर्केर आए। ‘माल पाउनु, चाल नपाउनु’ भनेको यही हो। यसैगरी, उनले आफ्नै कृति ‘कर्णालीको लोकजीवन’मा पनि समेटेका छन्। एक्लै–दुक्लै जान मानिसहरू डराउँछन् जहाँ। त्यो छणोको इतिहास पनि निकै रोचक छ। इतिहासअनुसार त्यसबेला कालासिल्लो र पचालो दुईजना दाजुभाइ थिए।
पचालोले राक्षसकी छोरी बिहे गरे। दाजु कालासिल्लोले देवतासँग मिलेर त्यस ठाउँबाट भाइलाई लखेटे।
जाने ठाउँ कतै नपाएपछि पचालो पत्नीका साथ त्यही डरलाग्दो छणामुनि लुकेर बस्यो। पचालो देवरूप थियो।
त्यही देवतारूपी पचालो त्यहाँ गई लुकेर बसेकाले त्यस विशाल झरनाको नाम ‘पचाल छणो’ रहन गएको हो भनी पुराना पाका व्यक्ति बताउँछन्। बमको पनि यही कथन छ। हुन पनि यही इतिहास पंक्तिकारलाई राम्नाकोटका वयोवृद्ध मानबहादुर बमले २०४४ सालमा बताएका थिए। देउडा गीत संकलन गर्ने काममा कर्णाली नदी वारिको त्यो सुन्दर बस्तीमा पुग्दा तीन दिन उनै बमको सो रमणीय गाउँमा बास बस्ने मौका मिलेको थियो।
देवताको गाथासँग सम्बन्धित सो छणो र पचाल देवताका केही धमारी र मांगल गाथाहरू पनि रहेका छन्, जस्तो–
आकाशी फूल पाताली लुल
चल्यो गोसाई पचालाय पाटन दाब्ली फूल
आकाशी फूल...
चल्यो गोसाई कूलदेवता पाटनी चमा फूल
चल्यो गोसाई गोविन्द पाट्न बुकी फूल
आकाशी फूल...
चल्यो गोसाई कैलाशय पाट्नी गोबरर्या फूल
चल्यो गोसाई सम्माल मस्टा कुकुवाका फूल
आकाशकी फूल...
चल्यो गोसाई मसौटाय दाणिमका फूल
चल्यो गोसाई कलंकयाय टवरर्याका फूल
आकाशकी...
चल्यो गोसाई लुवासरी हजारीका फूल।
जनश्रुतिका यी गाथाहरू लिपिबद्ध गर्नु वाञ्छनीय छ। पर्यटनलाई बढावा दिने र इतिहासलाई जीवित राख्ने पचाल छणो पनि रारा, शे–फोक्सुन्डो ताल र चन्दननाथ, खार्पुनाथ मन्दिरजस्तै महत्वपूर्ण अर्थ राख्न सक्छ।
कर्णालीका मोती सम्झन्छु– मोतीराज बमलाई, जसले यो छणोबारे खोज गरे। त्यसैगरी, कर्णालीका पुराना देउडागीतका लय ‘तालमोरा, हैक्या है जिरा फूल्याको छैक्या’ जस्ता मौलिक भाका ल्याएर सांगीतिक भण्डारण गरे। तर, २०७४ सालमा कर्णाली, कालीकोट महोत्सव सम्पन्न गर्दा ५० हजार राशिको ‘पचाल छणो झरना पुरस्कार’ अरूलाई नै प्रदान गरियो दाजु भन्दै दुःखेसो पोख्छन् सर्जक मोती।
देउडागीत र जनजीवनको सम्बन्ध जति गहिरो छ, त्यति नै गहिरो सांस्कृतिक सम्बन्ध छ देउडागीत र धमारीको। माथि उल्लिखित धमारीका शब्दहरू खस भाषामा वर्णित छन्। इतिहाससँग यी शब्दको सम्बन्ध भएका कारण यी र यस्तै खोजमूलक सन्दर्भलाई अब व्यक्तिले होइन, संस्थाले संरक्षण गर्नु वाञ्छनीय भइसकेको देखिन्छ। कर्णाली प्रदेशको प्रज्ञा प्रतिष्ठानले खोज गरोस्।
कालीकोटका बस्ती–बस्तीका माणु अर्थात् देवमन्दिरहरूको इतिहास निकै गहिरो छ। मन्दिर नै मन्दिरले भरिपूर्ण कर्णाली अञ्चलका पाँचवटै जिल्लालाई शक्तिपीठका रूपमा हेरिन्छ। डोल्पाको त्रिपुरासुन्दरीदेखि कालीकोटको कालिका मन्दिरसम्मको माटो हवनबाटको तिलकजस्तै पवित्र छ। दसवर्षे जनयुद्धताका तत्कालीन विद्रोही माओवादी लडाकुले भौतिक युद्ध सुरु गर्दा कालीकोटका मन्दिरहरूमा विष्टा फ्याँके। धामीका फेटा मुडे। तर त्यहाँ दैनिक शक्ति उत्पन्न भएका कारण उनीहरू पछि हटे, कालान्तरमा आफैं धामी बने।
कर्णालीका तिरैतिर गल्की पाकया वेणु
आज् पाया पानीका नाउलो आजै तिर्खा मेणु।
कालीकोटमात्र यस्तो जिल्ला हो, जसको सिरानदेखि पुच्छारसम्मबीच भागबाट नेपालको सबैभन्दा लामो नदी कर्णाली बग्दछ। सदरमुकाम खाँडाचक्रदेखि जिल्लाका महत्वपूर्ण भूभाग छुने रंगीलाको पुलमा तत्कालीन माओवादीले क्षति पुर्याएपछिको पीडा जिल्लावासीले कति भोगे कति! बयान गरी साध्य छैन। प्राकृतिक रूपमा धनी मानव सभ्यताको मूलद्वार कर्णाली अञ्चलको गीत–संगीत मौलिक पहिचान हो। जुम्लाको स्याउ, सिमी प्रख्यात भएजस्तै कालिकोटको राडीपाखी कुनै बेला प्रख्यात थिए।
२०४४ सालमा कालीकोटबाट बोकेर ल्याएको राडी र लेउ काठमाडौंको सुकेधारामा अहिले पनि जतन गरी राखेको छु। योगी नरहरिनाथको आध्यात्मिक चेतको समाजमा चर्चा रहेजस्तै पचाल झरनाको चर्चा देशभित्र र बाहिरी मुलुकमा पनि हुने सम्भावना प्रबल छ। धवलागोहो, खिन, थिर्पु, राम्नाकोट, बदालकोट, कालीकोट, चिलखायामा फल्ने सिमी र फलफूलहरू, रासकोटका धानका फाँटहरू, फुईं महादेवका स्याउका बोटहरूको चर्चा लेखक, कवि र कलाकारहरूले आ–आफ्नो शैलीमा गर्नु जरुरी छ। यसका लागि व्यक्तिले मात्र होइन केन्द्रीय र प्रदेश सरकारले पहलकदमी गर्न जरुरी छ। यो प्रदेशको हरेक जिल्लाका इतिहासहरू जीवित राख्नु जरुरी देखिन्छ। दैलेख जिल्लाको गढी र बाह्रैकाल ननिभ्ने दियोको चर्चा सरकारले गर्न सकेको खै ? दुल्लु दै देखिन्या क्या हो दैलेखको गढी मैले लाया माया प्रिथी कैरवी हो मन्पणी ?
देवताका मांगल, फाग, धमारीजस्तै देउडागीतका यी भावहरू निकै अर्थपूर्ण छन्। विद्वान्, विदुषी र बहादुरहरू जन्माउने कर्णाली प्रदेश र सुन्दर सुदूरपश्चिमको जनजीवनलाई माथि उकास्ने, एसियाली मापदण्डमा पुग्ने त्यस क्षेत्रका नागरिकका सांस्कृतिक परिकल्पना पूरा गर्नु आवश्यक देखिन्छ।
कर्णालीको कालो माछो पौडी खेल्दो भेरी
बाँच्यो भन्या भेट होइजाला सम्झी राख्या फेरी!!
झ्याम्म झ्याम्म...।
प्रतिक्रिया दिनुहोस !