नेपाल कृषिप्रधान मुलुक थियो र यद्यापि कृषिप्रधान नै छ। अहिले पनि नेपालको राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान सर्वाधिक छ। नेपालका आधाभन्दा बढी जनसंख्याको मुख्य पेसाको रूपमा रहेको कृषि यहाँका किसानहरूको जीवनशैली र संस्कृति पनि हो। नेपालको कृषि जीवनशैली र संस्कृतिसँग धेरै कुरा जोडिएका छन्। तीमध्ये विशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायका किसानहरूको कृषि जीवनशैली र संस्कृतिसँग जोडिँदै आएको एउटा साधारण तर महत्वपूर्ण संरचना हो, बल्चा।
खेतको बीच अथवा छेउमा बनाइएको सानो घरलाई नेवारीमा बल्चा भनिन्छ। यस्तो संरचना नेपालको ग्रामीण क्षेत्रमा पनि देख्न पाइन्छ, जसलाई स्थानीय बोलीचोलीको भाषामा छाप्रो, टहरो आदि भन्ने गरिन्छ। स्थान विशेषको भाषिक भिन्नताका कारण बल्चालाई कसैकसैले बलचा अथवा बाल्चा पनि भनेको पाइन्छ। विशेषगरी काठमाडौं उपत्यकाको कृषि जीवनसँग जोडिएका अनेक परम्परागत संरचनामध्ये बल्चा पनि महत्वपूर्ण सामाजिक र सांस्कृतिक संरचना हो। यसलाई कृषिसम्पदा पनि भनिन्छ।
बल्चाले किसानहरूको दैनिकीलाई सहज बनाउन उल्लेख्य मद्दत गरेको पाइन्छ। बल्चासँग नेवार समुदायको सामाजिक व्यवहार जोडिएको छ। फल्चा र बल्चा नेवारी समुदायको जीवनशैली र संस्कृतिसँग अभिन्न रूपमा गाँसिएका महत्वपूर्ण संरचना हुन्। फल्चालाई ऐतिहासिक सम्पदाको रूपमा महत्व दिँदै यसको संरक्षण र संवद्र्धनका लागि स्थानीयस्तरमा उल्लेख्य प्रयास भएको पाइन्छ। यसैगरी एतिहासिक सम्पदाको रूपमा अभिलेख र तथ्यांकहरूमा फल्चालाई महत्वका साथ समेटेको पाइन्छ, तर बल्चाले त्यो सौभाग्य प्राप्त गरेको छैन। बल्चालाई सम्पदा मानिएको छैन।
बल्चाले विशेष गरी उपत्यकाका नेवारी समुदायको कृषि प्रणाली, कृषि जीवनशैली र कषि संस्कृतिको पहिचानको आधारको रूपमा बुझ्ने हो भने बल्चाको अस्तित्व संरक्षणमा टेवा पुग्नेछ।
बल्चाको उपयोगिता : बल्चा नेपालको खासगरी काठमाडौं उपत्यकाका नेवार समुदायको कृषि जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको छ। यसलाई काठमाडौं उपत्यकाका नेवार समुदायको कृषि संस्कृतिको ऐतिहासिक बिम्ब पनि मान्न सकिन्छ। सहरीकरणअघि काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा प्रशस्त खेतीयोग्य जमिन थिए। आँखाले नभ्याउने गरी फैलिएका विशाल फाँटहरूमा लहलह धान झुल्थे। तिनै धान झुल्ने खेतहरूमा काम गर्न किसानहरू खर्पनमा खाजा र ज्यावल बोकेर जान्थे। दिनभरि खेतमा काम गरेर साँझ घर फर्कन्थे। दैनिक काम गर्ने खेत घरदेखि टाढा भएको हुँदा कहिलेकाहीँ कामको चटारो परेको बेलामा किसानहरू बल्चामै पनि बास बस्थे।
विशेषगरी काम गर्दागर्दै थाकेर थकाइ मेट्न र केहीबेर सुस्ताउन बल्चाको प्रयोग गरिन्थ्यो। चर्को घाममा खलखल पसिना बगाएर काम गरिसकेपछि केही बेर बल्चामा सुस्ताउँदाको मज्जा नै अर्कै हुन्थ्यो। अनि पानी पर्दा ओत लाग्न पनि बल्चाको प्रयोग गरिन्थ्यो। खेतमा काम गर्दा आराम गर्ने, खाजा खाने र गफगाफ गर्ने स्थलको रूपमा पनि बल्चाको प्रयोग हुन्थ्यो। कहिलेकाहीँ भित्याइएका बाली अस्थायी रूपमा सुरक्षित राख्ने र कृषिऔजार
राख्ने स्थलको रूपमा पनि बल्चाको प्रयोग गरिन्थ्यो।
अनि कहिले चाहिँ गाईबस्तुबाट बाली जोगाउनका लागि राति अथवा दिउँसो कुरुवा बस्ने र खेत र बालीको निगरानी गर्ने स्थलको रूपमा पनि बल्चाको प्रयोग हुन्थ्यो। समग्रमा भन्नुपर्दा किसानहरूको अस्थायी वासस्थल नै थियो बल्चा। विश्राम गर्ने, घामपानीबाट जोगिने, बाली चोरी वा पशुपन्छीबाट जोगाउन कुरुवा बस्ने, कृषि औजार राख्ने, खाना अथवा खाजा खाने र बास बस्ने बल्चाहरू उपत्यकाका खेतहरूमा यत्रतत्र देखिन्थे। सहरीकरणसँगै बल्चाहरू हराउन थालेका छन्।
सामाजिक, आर्थिक र सांस्कृतिक महत्व : कुनै समय बल्चा केवल कृषि संरचना मात्र थिएन। सामाजिक सम्बन्धको केन्द्र पनि थियो बल्चा। घरदेखि टाढा रहेको खेतमा काम गर्न जाने क्रममा किसानहरू बल्चामा विश्राम गर्ने, वि श्रामका बेला एकआपसमा भलाकुसारी गर्ने, सुखदुःखका कुरा र आफ्ना अनुभवहरू सुन्ने र सुनाउने, खाना अथवा खाजा खाने, कामको योजना बनाउने गर्थे। बाली भित्याउँदा अस्थायीरूपमा बल्चामै राख्ने प्रचलन पनि थियो। खेतदेखि टाढा घर भएका किसानलाई आउजाउमा समय लाग्ने हुँदा बल्चाले त्यस्ता किसानको समय र श्रमको बचत पनि गरिदिन्थ्यो।
नेवारी समाजमा किसानमाझ सामूहिक श्रमको परम्परा पनि थियो र अद्यपि छ। बाली लगाउने अथवा बाली भित्याउने बेलामा पनि सामूहिक रूपमा आलोपालो गर्ने प्रचलन थियो। यस्तो बेलामा बल्चा सामूहिक वि श्राम र गफगाफको साझास्थल बन्थ्यो। त्यो परम्परासँग बल्चा अविच्छिन्न रूपमा जोडिएको छ। बल्चा नेवार समुदायको संस्कृतिकै रूपमा रहेको पाइन्छ। जहाँ नेवारहरूको बस्ती छ, त्यस वरपर बल्चाको अस्तित्व रहेको पाइन्छ।
बल्चाको अस्तित्व अद्यापि जीवित नै रहे पनि यो कुनै पुरातात्विक अथवा ऐतिहासिक महत्वको सम्पदा वर्गमा परेको छैन। यसो हुँदा कुनै आधिकारिक गणना अथवा सरकारी वा स्थानीय तहले व्यवस्थापन गर्ने तथ्यांकहरूमा बल्चा समेटिन सकेको पाइँदैन। व्यक्तिगत प्रयोगको उद्देश्यले खेतमा निर्माण गरिएका बल्चाहरूलाई सहरका बस्तीमाझ निर्माण गरिएका फल्चाहरूलाई जस्तो पुरातात्िवक वा ऐतिहासिक सम्पदाको रूपमा त्यति महत्व नदिने परम्पराले बल्चा गणना गरी यसको संख्या उल्लेख गर्ने परम्परा बसेको पाइँदैन। त्यसैले उपत्यकामा कति वटा बल्चाहरू थिए अथवा छन् भन्ने कुनै यकिन तथ्यांक छैन। यद्यपि अस्तित्व भने अद्यापि जीवित रहेको पाइन्छ।
निर्माण शैली : स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन र सामग्रीको प्रयोग गरेर बल्चा निर्माण गरिन्थ्यो। घरभन्दा भिन्न भए पनि घरकै संरचनामा बल्चा निर्माण गरिन्थ्यो। विशेषगरी स्थानीयस्तरमा उपलब्ध काँचो अथवा पाको इँट्टा, माटो, काठ, बाँसका भाटाको सहायताले बल्चा निर्माण गरिन्थ्यो। छानाचाहिँ पराल, खर अथवा छालीले छाइन्थ्यो। कसैकसैले अलि पक्कीरूपमा बनाउँदा छानामा टायल, झिँगटी अथवा जस्तापाताको पनि प्रयोग गर्थे।
सुरक्षा र वातावरणीय अनुकूलतालाई ध्यानमा राखेर बल्चा निर्माण गर्दा ढोका र झ्याल पनि राखेको पाइन्छ। बल्चाको झ्यालबाट खेत र बालीको निगरानी गर्न सहज हुन्थ्यो। एक वा दुई बाली भित्याउन्जेसम्मका लागि अस्थायी रूपमा बनाइने बल्चा पराल, नर्कट, बाँसका भाटाको प्रयोग गरेर पनि बनाइन्थे भने स्थायीरूपमा बनाएका पक्की बल्चाहरूको अस्तित्व अझै पनि उपत्यकाका विभिन्न ठाउँमा फाट्टफुट्ट देख्न सकिन्छ।
हराउँदैछ बल्चाको अस्तित्व : जनसंख्या वृद्धि, बढ्दाे आवास निर्माण र सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गइरहेको छ। खेतीयोग्य जमिनमै प्लटिङ गरी आवास क्षेत्र बनाउने प्रतिस्पर्धाले किसानहरूको जीवननिर्वाहको स्रोतमात्रै खोसिएको छैन, परम्परागतरूपमा निर्माण भएका र कृषि र किसानसँग अटुटरूपमा जोडिएका, आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेका बल्चाहरूको अस्तित्व पनि मेटिँदैछ। उपत्यकाबाट बल्चाहरू हराउँदै जानुमा तीव्र सहरीकरण र भूमि रूपान्तरण, किसानहरूको आर्थिक परिवर्तन, कृषिबाट पलायन हुँदै अन्य पेसामा संलग्नता, मेसिन र प्रविधिको प्रयोग, जीवनशैलीमा परिवर्तन र बल्चाप्रतिको नकारात्मक सोच आदि मुख्य कारण रहेको देखिन्छ।
कृषिसँग जोडिएका परम्परागत पद्धति र प्रविधिहरूलाई विस्थापित गर्दै आधुनिक पद्धति र प्रविधि जोडिएपछि बल्चाहरू सहर र सहरका मान्छेका लागि अनावश्यक संरचना बनेका छन्। बल्चाहरू सहरको सौन्दर्य बन्न सकेनन्। बरु आधुनिक पुस्ताले बल्चालाई सहरको सौन्दर्यमा लागेको दागको रूपमा हेर्न थाले। त्यसकारण पनि बल्चा हराउँदैछ। बल्चालाई संरक्षण गरी यसलाई पर्यटनसँग जोडेर पर्यटन प्रवद्र्धन र आर्थिक संवद्र्धन गर्नेतर्फ कसैको ध्यान गएको छैन। उचित तवरले संरक्षण गर्न सके बल्चा पनि फल्चाजस्तै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको सम्पदा बन्न सक्ने र सहरको सौन्दर्य अनि पर्यटकको आकर्षणको केन्द्र बन्नसक्ने सम्भावनालाई बेवास्ता गर्नु पक्कै उचित होइन।
फल्चालाई सहरको सौन्दर्य भन्नेहरू नै बल्चालाई चाहिँ सहरको सौन्दर्यको दाग ठानेर त्यसलाई भत्काउन उद्यत् छन्। यसो हुँदा सहरबाट बल्चा विस्थापित मात्रै भएको छैन, यसको अस्तित्व नै मेटिने सम्भावना बढेको छ। यदि पाठ्यक्रममा बल्चाका बारेमा कमसेकम एक–दुई अनुच्छेद पनि नलेख्ने हो भने बल्चा शब्द नै यति अपरिचित र अनौठो लाग्नेछ र त्यो नेवारी शब्दकोशमा (नेपाली शब्दकोशमा त त्यो शब्द नै छैन) मात्रै सीमित हुने सम्भावना छ।
कृषि भूमि संरक्षण नीतिलाई अँगाल्न सके, कृषि पर्यटनको अवधारणालाई प्रोत्साहित गर्न सके, स्थानीयस्तरमा नेवार समुदायको गुठी, टोल सुधार समिति र स्थानीय किसान समूहमार्फत परम्परागत अभ्यासलाई निरन्तरता दिन सके, बल्चालाई शैक्षिक पाठ्यक्रममा समावेश गर्ने अथवा यसको वृत्तचित्र निर्माण गर्न सके, बल्चालाई कृषि जीवनशैली र सांस्कृतिक सम्पदाको रूपमा मान्यता दिनसके बल्चाको अस्तित्व जीवन्त राख्न सहयोग पुग्नेछ।
निष्कर्ष : बल्चा नेवारी कृषि जीवनशैलीको साधारण तर अत्यन्तै अर्थपूर्ण संरचना हो। यसले किसानको श्रम, माटो र प्रकृतिसँगको सम्बन्ध र सन्निकटता, सामाजिक र सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छ। समयको परिवर्तनसँगसँगै नवीनतम प्रविधिहरूको विकास र विस्तारसँगै मानिसका लागि सुविधाका अनेक विकल्प उपलब्ध हुन थालेकाले बल्चाको प्रयोग अनावश्यक हुन थालेको छ। तैपनि यसको आर्थिक,
सामाजिक र सांस्कृतिक महत्व अझै पनि सान्दर्भिक नै छ।
नेवार समुदायको सभ्यता र संस्कृतिको बल्चाको संरक्षणले नेपालको एउटा जातीय पहिचानलाई इतिहासमा जीवन्त राख्नेछ। बल्चालाई केवल भौतिक संरचनामात्रै होइन, नेवार समुदायको कृषि सभ्यताको जीवन्त नमुना र कृषि जीवनशैलीको प्रतीकका रूपमा बुझ्नु आवश्यक छ। बल्चाले विशेषगरी उपत्यकाका नेवारी समुदायको कृषि प्रणाली, कृषि जीवनशैली र कषि संस्कृतिको पहिचानको आधारको रूपमा
बुझ्ने हो भने बल्चाको अस्तित्व संरक्षणमा टेवा पुग्नेछ।
प्रतिक्रिया दिनुहोस !