तापमा निसास्सिएको भविष्य

तापमा निसास्सिएको भविष्य
सुन्नुहोस्

तराईका फाँटहरूमा अचेल गर्मी बढेको छ। कतै–कतै त ‘लू’ चलेको खबर पनि नआएको होइन। गर्मीको रापले जनजीवनलाई जति प्रभावित गरेको छ, त्योभन्दा कैयौं गुणा बढी पीडा घरभित्र गुम्सिरहेकी गर्भवतीलाई छ।

हाम्रा पुर्खाले मौसमको उतारचढावलाई हेरेर भनेका थिए, ‘ऋतुअनुसारको फल, समयअनुसारको बल।’ तर, अचेल न त ऋतुहरू आफ्नो समयमा आउँछन्, न त प्रकृतिको त्यो शीतल बल नै बाँकी छ। जलवायु परिवर्तनको यो विश्वव्यापी संकटले हिमाल पग्लिएको समाचार त आउँछ नै, चिकित्सा विज्ञानको मञ्चमा उभिएर हेर्दा यो संकट हिमालमा मात्र सीमित छैन; सिधै नेपाली महिलाको पाठेघर र उनको गर्भभित्रको संसारसम्म आइपुगिसकेको छ।

विश्व स्वास्थ्य संगठनको ‘आवास तथा स्वास्थ्य निर्देशिका’ र अन्तर्राष्ट्रिय वास्तुकला मापदण्डका अनुसार मानिसहरू (विशेषगरी गर्भवती महिला) का लागि वातावरणीय तापक्रम १८ देखि २४ डिग्री सेल्सियस सबैभन्दा अनुकूल हो। यस तापक्रममा शरीरले कुनै अतिरिक्त सास्ती नखेपी, न्यूनतम ऊर्जा खर्च गरेर आफ्नो भित्री तापमानलाई स्थिर राख्न सक्छ। तर अचेल (वैशाख, जेठ र असारमा) तराईका जिल्लाहरूमा वातावरणीय तापक्रम ४० देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। पहाडी क्षेत्रहरूले समेत ३० डिग्रीको रेखा नाघेर उकुसमुकुस बनाइरहेका हुन्छन्। २४ डिग्रीमा रम्नुपर्ने एउटा कोमल ज्यान जब लगातार ४० डिग्रीको आगोमा सेकिन्छ, तब सुरु हुन्छ ‘हिट स्ट्रेस’ अर्थात् तापक्रमजन्य तनाव।

गर्भावस्था आफैंमा एउटा विशेष अवस्था हो। यस अवस्थामा महिलाको शरीरभित्र रगतको मात्रा बढेको हुन्छ र मेटाबोलिजम तीव्र हुन्छ। अर्थात्, गर्भवतीको शरीरले सामान्य मानिसको भन्दा बढी ताप आफैं उत्पादन गरिरहेको हुन्छ। त्यसमाथि बाहिरको प्रचण्ड गर्मी थपिँदा शरीरले आफ्नो ताप बाहिर फाल्न सक्दैन। जब वातावरणीय तापक्रम ३० डिग्री सेल्सियसको थ्रेसहोल्ड (सीमा) पार गरेर माथि उक्लिन थाल्छ, तब जोखिमको पारो पनि अस्वाभाविक रूपमा उकालो लाग्छ। विश्वप्रसिद्ध ब्रिटिस मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित संसारभरका ७० ठूला अनुसन्धानको एकीकृत अध्ययन (मेटा–एनालाइसिस) ले एउटा डरलाग्दो यथार्थ देखाएको छ। सो अध्ययनले तापक्रममा हुने हरेक १ डिग्री सेल्सियसको थप वृद्धिले समयअगावै प्रसव हुने (प्रि–टर्म डेलिभरी) र मृत शिशु जन्मिने (स्टिल बर्थ) जोखिमलाई १६ प्रतिशतसम्म बढाइदिन सक्ने देखाएको छ।

बाहिर अत्यधिक गर्मी हुँदा गर्भवतीको शरीरमा डिहाइड्रेसन (पानीको कमी) हुन्छ। एकातिर पानी कम हुनासाथ पिट्युटरी ग्रन्थिले गर्भको अवधि नपुगे पनि पाठेघर खुम्च्याउने हर्मोन (अक्सिटोसिन) निकाल्न सुरु गर्छ, जसले गर्दा बच्चा ९ महिना नपुग्दै जन्मिन सक्छ। अर्कातिर, तापक्रम बढी भएपछि शरीरलाई चिस्याउन रगत छालातर्फ बढी बग्न थाल्छ। यसले गर्दा गर्भको बच्चालाई अक्सिजन र पोषण पुर्‍याउने साल (प्लासेन्टा) मा रगतको कमी हुन जान्छ। फलस्वरूप, महिलामा गर्भावस्थाको उच्च रक्तचाप तथा ‘प्रि–एक्लाम्प्सिया’को सम्भावना बढ्छ र जन्मिने शिशुहरू पनि कम तौलका हुने गर्छन्।

यो मौसममा गर्भवती महिलाहरूले भोग्नुपर्ने अन्य समस्या पनि छन्। अत्यधिक गर्मीका कारण शरीरको पानी पसिना बनेर उड्छ। यदि पर्याप्त पानी पिइएन भने पिसाब एकदमै गाढा र कम हुन्छ। यसले मूत्रथैलीको भित्री तहलाई हानि पुर्‍याउँछ र ब्याक्टेरियाहरू सजिलै फैलिने वातावरण बन्छ, जसले गर्दा पिसाबको संक्रमण (यूटीआई) हुन्छ। गर्भावस्थामा पिसाबको संक्रमण हुनु भनेको सामान्य कुरा होइन। यसले पनि समयअगावै प्रसव गराउने र आमा तथा बच्चा दुवैको ज्यान जोखिममा पार्ने खतरा बढाउँछ। गर्मीबाट बच्न अचेल धेरैले एउटा गल्ती गर्ने गर्छन्, फ्रिजको एकदमै चिसो पानी ह्वारह्वार्ती पिउने। बाहिर ४० डिग्रीको रापबाट आएर सिधै फ्रिजको बरफजस्तो पानी पिउँदा शरीरको तापक्रम सन्तुलन गर्ने प्रणाली अचानक खल्बलिन्छ। अत्यधिक चिसोले गर्दा घाँटी र श्वासप्रश्वासको संक्रमणको जोखिम बढ्छ। चिसो पानीका कारण पेटका रक्तनलीहरू पनि खुम्चिन्छन्, जसले गर्दा खाएको खाना राम्रोसँग पच्दैन र गर्भवतीमा अपच तथा पेट दुख्ने समस्या निम्त्याउँछ।

शास्त्रले भन्छ– शरीर नै सबै धर्म गर्ने मुख्य साधन हो। त्यसैले पहिले शरीर स्वस्थ हुनुपर्छ। बदलिँदो मौसमको यो कहरबाट आफ्नी गर्भवती श्रीमती, बुहारी वा दिदीबहिनीलाई जोगाउन परिवारले ‘एसी’ नै जोड्नुपर्छ भन्ने छैन; साना तर व्यावहारिक कुराले ठूलो बचावट गर्छ। घरको सबैभन्दा चिसो कोठामा गर्भवतीलाई प्राथमिकता दिन सकिन्छ। दिउँसो घामको राप र तापलाई छेक्न झ्यालमा बाक्ला वा ओसिला पर्दाहरू प्रयोग गर्न सकिन्छ। तिर्खा लागेपछि मात्र पानी पिउने धेरैको बानी हुन्छ, तर त्यस्तो गर्नु राम्रो होइन। प्यास नलागे पनि दिनमा कम्तीमा ३ देखि ४ लिटर सफा पानी, कागती पानी, वा घरमै बनाएको ताजा फलफूलको रस पिइरहनुपर्छ। यसले पिसाबको संक्रमणबाट पनि जोगाउँछ। तिर्खा मेटाउन फ्रिजको भन्दा माटोको घैंटो वा प्राकृतिक रूपमा चिस्याइएको सामान्य तापक्रमको पानी नै पिउनुपर्छ।

मौसमअनुसार हाम्रो पोसाक र विश्राममा पनि ध्यान पुर्‍याउनुपर्छ। गर्मीमा खुकुलो, सुतीको र हल्का रङको कपडा लगाउनु उपयुक्त हुन्छ। दिउँसोको कडा घाममा (बिहान १० देखि बेलुका ४ बजेसम्म) बाहिर निस्किने कामलाई कम गर्ने कोसिस गर्नुपर्छ। यस मौसममा गर्भवती महिला अलमलमा पर्ने, अत्यधिक पसिना आउने वा पसिना आउनै बन्द भई शरीर तातो हुने, चक्कर लाग्ने, टाउको दुख्ने वा बान्ता हुने भयो भने ‘हिट स्ट्रोक’ वा लू लागेको हुन सक्छ। यस्तो बेला तुरुन्तै उनलाई शीतल वा छहारी भएको ठाउँमा लैजाने र कपडा खुकुलो पारिदिनुपर्छ। भिजेको चिसो कपडाले पूरै शरीर पुछिदिने (स्पन्जिङ गर्ने), होसमा भए बिस्तारै पानी वा जीवनजल दिने, तर बेहोस हुन थालेमा मुखमा केही पनि दिनु हुँदैन। अनि, ढिलो नगरी तुरुन्तै नजिकैको अस्पताल वा चिकित्सककहाँ पुर्‍याउनुपर्छ। धरती हाम्री माता हो र हामी सन्तान।

धर्तीलाई सुरक्षित राख्न सकेनौं, यो तात्तिँदै छ। यसको मूल्य हाम्रा आमाहरूले र तिनको गर्भभित्र हुर्किंदै गरेको भोलिको भविष्यले चुकाउनु परिरहेको छ। जलवायु परिवर्तन अब एउटा प्राज्ञिक बहसमात्र होइन, यो हाम्रै घरको कोक्रोभित्र छिरेको अदृश्य महामारी हो। यो बढ्दो तापक्रमको राप, पिसाबको संक्रमण र गलत खानपानको जोखिमबाट घरका गर्भवतीलाई जोगाउनु आज प्रत्येक श्रीमान् र परिवारको पहिलो धर्म हो। प्रकृतिसँग लड्न त हामी सक्दैनौं, तर बदलिँदो प्रकृतिअनुसार आफ्नो घरको गर्भलाई शीतलता र सुरक्षा दिन हामी पक्कै सक्छौं। चेतना भया !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.