खुकुरी प्रहार गरेर देवरले गरे भाउजूको हत्या
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गरेका छन्। सोमबार राति ग्रामथान–६ झोवावनीमा २० वर्षीया सीमा राजवंशीको हत्या भएको हो।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक सीमा स्थानीय कपिल खवासकी पत्नी हुन्। प्रारम्भिक अनुसन्धानबाट २१ वर्षीय देवर सौचन राजवंशीले घाँटीमा खुकुरी प्रहार गरेर उनको हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार खुकुरी प्रहारबाट सीमाको घटनास्थलमै मृत्यु भएको थियो। हत्या गरेपछि घरको आँगनबाट घिसार्दै शौचालयनजिक फालिएको अवस्थामा शव फेला पारिएको छ। घटनास्थल रक्ताम्त रहेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा देवर–भाउजूबीच भएको विवाद छुट्याउन गएका सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन्। उनको दाहिने कुममा खुकुरीले गहिरो चोट लागेको छ। हाल नेता चोकस्थित एक स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
हत्यापछि फरार हुन लागेका सौचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यामा प्रयोग गरिएको खुकुरीसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए।
घटनाको अनुस्न्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली घटनास्थल पुगेको छ। मृतकका पति कपिल खवास भने काठमाडौंमा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !