टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दामा सुनुवाइ जारी
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)खरिद प्रकरणमा पूर्वममन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी छ। विशेष अदालतमा उक्त मुद्दामाथि सुनुवाइ भइरहेको छ। उक्त मुद्दा न्यायाधीशहरू हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ हुँदै आएको हो। मुद्दामा वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहस सकिए आजै आदेश आउने सम्भावना छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री एव् कांग्रेसका नेता बस्नेतसहित १६ जनाविरुद्ध गत जेठ २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। परामर्शदाता विदेशी कम्पनी र नेपालीस्थित एजेन्टलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। गत असार १५ गते थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छोड्न आदेश दिएपछि बस्नेत थुनामुक्त छन्।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले क्षेत्राधिकार बाहिर गएर एकल निर्णयमा टेरामक्स खरिद प्रक्रिया अघि बढाएको भन्दै आयोगले मुद्दा दायर गरेको हो। पूर्वमन्त्री बस्नेतले ‘मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकारको अपव्याख्या गरी इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने’ निर्देशन पनि दिएको अख्यितारको आरोप पत्रमा उल्लेख छ। सरकारले प्राधिकरणलाई निर्देशन दिने निहित अधिकारको उनले दुरुपयोग गरेको अख्तियारको आरोप छ।
पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। प्राधिकरणका तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई पनि टेरामक्स खरिद प्रकरणमा दोषी ठहर गर्दै मुद्दा दायर गरिएको छ।
परामर्शदाता भ्यानराइज सोलुसन सल र उसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रालि काठमाडौंलाई पनि अख्तियारले आरोपी बनाएर मुद्दा चलाएको हो।
अख्तियारका अनुसार भ्यानराइजका सीईओ जमाल अनौटी,कलेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलको मिलोमतोमा टेरामक्स खरिदमा भ्रष्टाचार भएको अख्तियारको दावी छ। उनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको छ। उनीहरूले मतियारको भूमिका निर्वाह गरी मुख्य कसुरदारको बराबर नै कसुर गरेको आरोप छ।
प्रतिक्रिया दिनुहोस !