भारतीय पर्यटकका गाडी नाकामै रोकिएपछि ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा
वीरगन्ज : सशस्त्र प्रहरीले गत शुक्रबारदेखि नाकामै भारतीय पर्यटकका सवारीसाधन रोक्न थालेपछि मधेस प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र पर्साको ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको छ। यसअघि ठोरीमा निर्वाध प्रवेश गर्दै आएका भारतीय पर्यटकका सवारी साधनलाई सशस्त्र प्रहरीले माथिको आदेश भन्दै नाका क्षेत्रमै रोक्न थालेपछि त्यहाँको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको हो।
ठोरीको ठुटे खोला पुल नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बेस क्याम्पसममा तैनाथ सशस्त्र प्रहरीले गत शुक्रबारदेखि ठोरी घुम्न आउने भारतीय पर्यटकहरुका सवारीसाधन भन्सार प्रज्ञापनपत्र बिना नेपाल प्रवेशमा रोक लगाएको हो। ठोरी–३ अमृतधारामा ठोरी छोटी भन्सार कार्यालय छ। तर, उक्त कार्यालय डेढ वर्षदेखि बन्द छ। जसका कारण ठोरी नाका हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारी साधन प्रवेशको भन्सार प्रज्ञानपत्र काट्ने काम ६० किलोमिटर टाढाको वीरगन्ज भन्सार कार्यालयमा जानुपर्ने बाध्यता छ।
हाल गत शुक्रबारदेखि सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार प्रज्ञापनपत्र बिना नेपाल प्रवेश गर्न नदिएपछि ठोरी घुम्न आउने भारतीय पर्यटकहरु पारीबाटै फर्किने गरेका छन्। जसका कारण ठोरी क्षेत्रको होटल तथा पर्यटन व्यवसायमा संकटमा परेको पर्यटन विकास समिति ठोरीको अध्यक्ष सुदीप थापाले दुखेसो पोखे।
उनका अनुसार ठोरी क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकलाई नै लक्षित गरी होटल, रिसोर्ट र रेष्टुरेन्टहरु खोल्ने क्रम बढेको छ। ठोरी क्षेत्रमा मात्रै ४३ वटा होटल, रिसोर्ट र रेष्टुरेन्ट सञ्चालनमा छन्। तीमध्ये सुविधासम्पन्न रिसोर्ट मात्रै आठ वटा छन्। ठोरी क्षेत्रमा मात्रै होटल तथा पर्यटन व्यवसायीको ८० करोड भन्दा बढीको लगानी भइसकेको अध्यक्ष थापाले बताए। गतवर्षको सीमामा तैनाथ सशस्त्र प्रहरी बीओपी र पर्यटन विकास समितिले संकलन गरेको तथ्यांक अनुसार, १ लाख १० हजार बढी भारतीय पर्यटकहरू ठोरी घुम्न आएको थापाले बताए।
तर गत शुक्रबारदेखि सशस्त्र प्रहरीले नाकामै भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपाल प्रवेशमा रोक लगाएपछि ठोरीको होटल तथा पर्यटन क्षेत्रको व्यापार आधाले घटेको अध्यक्ष थापाले बताए। सशस्त्र प्रहरीले गत शुक्रबारदेखि अचानक नाकामै भन्सार प्रज्ञापनपत्र नभएका भारतीय नम्बर प्लेटका सवारी साधनहरु रोक्न थालेपछि भारतबाट ठोरी घुम्न पर्यटकहरु पारीबाट फर्किने गरेको ठोरी जंगल रिसोर्टका सञ्चालक धिर सिंहले बताए। उनले भने, ‘ठुटे पुलमै सशस्त्र प्रहरीले भारतीय गाडीलाई रोक्न थालेको छ। त्यहाँबाट ३/४ किलोमिटर हिँडेर भारतीयहरू आउन मान्दैनन्। उनीहरू नाकाबाटै फर्किन थालेका छन्। यसले हाम्रो व्यापार चौपट भएको छ।’
यता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने भन्सार प्रज्ञापनपत्र बिना भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरे। प्रजिअ दाहालले भने, ‘यो कुनै नयाँ नियम लगाइएको होइन। नेपाल प्रवेशका लागि भारतीय नम्बर प्लेटका गाडीले प्रवेश भन्सार प्रज्ञापनपत्र कटाउनै पर्छ। त्यसका लागि वीरगन्ज भन्सार कार्यालयमा त्यो सुविधा उपलब्ध छ।’ उनले राज्यको कानुन सबैले मान्नुपर्ने तर्क गरे।
२०८३ जेठ १० गते राजपत्रमा प्रकाशित संशोधित भन्सार ऐन अनुसार, मधेस प्रदेशमा रहेका ४९ वटा छोटी भन्सार कार्यालयमध्ये सरकारले ४० वटालाई हटाएर ९ वटालाई मात्र यथावत राखिएको उल्लेख छ। ती ९ मध्ये वीरगन्ज भन्सार कार्यालय मातहतको पर्साको ठोरी र भिस्वा तथा बाराको मटिअर्वा छोटी भन्सार कार्यालयपनि परेका छन्।
तर सरकारको निर्णय भएको झण्डै डेढ महिना बित्न लाग्दासमेत ठोरी नाकाको छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइएको छैन।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनाली स्वंयले केहि साताअघि मात्रै आफूसँगको संवादका क्रममा अर्थ मन्त्रालयले निर्देशन गरिसकेकाले ठोरीको छोटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याइ हाल्ने आश्वासन दिएको अध्यक्ष थापाले बताए।‘तर आज हप्तौ बितिसक्यो ठोरीको छोटी भन्सार कार्यालय सञ्चालनमा आएको छैन’, थापाले भने।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारीसमेत रहेका भन्सार अधिकृत उदयसिंह विष्टले भने ठोरी नाकाको छोटी भन्सार कार्यालय यथावत् राख्ने निर्णय सरकारले गरेको भए पनि उक्त कार्यालयबाट कुन-कुन सेवा प्रदान गर्ने बारेमा मन्त्रालयबाट परिपत्र आइनसकेकाले सञ्चालनमा ल्याउन नसकिएको जवाफ दिए। उनले भने,‘ सरकारले ठोरीको छोटी भन्सार कार्यालय यथावत राख्ने निर्णय त गर्यो , तर उक्त कार्यालयबाट कुन कुन सेवा प्रवाह गर्ने भन्ने बारेमा मन्त्रीस्तरीय निर्णय भइसकेको छैन। मन्त्रालयबाट त्यस बारेमा पत्र पनि आइसकेको छैन। उक्त पत्र आउने बित्तिक्कै ठोरीको छोटी भन्सार कार्यालय हामीले सञ्चालनमा ल्याइहाल्छौं।’
यसअघि वर्षौदेखि बन्द रहेको ठोरीको छोटी भन्सार कार्यालय स्थानीयको दवाबपछि २०८१ वैशाख १९ देखि सञ्चालनमा ल्याइएको थियो। तर सञ्चालनमा ल्याइएको ८ महिना नबित्दै अर्थात २०८१ पुस १६ गतेदेखि पुन बन्द गरिएको थियो। आठ महिनामात्रै ठोरी भन्सार कार्यालय सञ्चालनमा ल्याइँदा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रवेशको भन्सार प्रज्ञापनपत्रबाट १० लाख रुपैयाँ बढी राजस्व संकलन भएको थियो भने, डेढ लाख भारतीय पर्यटक ठोरी नाका हुँदै नेपाल भित्रिएका थिए।
प्रतिक्रिया दिनुहोस !