होर्मुज स्ट्रेटमा सैन्य तैनाथीको तयारीप्रति इरानको आपत्ति, बेलायत र फ्रान्सलाई दियो 'गम्भीर चेतावनी'
तेहरान : इरानले होर्मुज स्ट्रेट (जलडमरूमध्य) मा बाह्य मुलुकहरूको सैन्य उपस्थितिलाई लिएर बेलायत र फ्रान्सलाई कडा चेतावनी दिएको छ। इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले दुवै देशको संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै यस क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिका लागि चेतावनी दिएका हुन्।
यसअघि बेलायत र फ्रान्सले शुक्रबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेटलाई 'वैश्विक अर्थतन्त्रको जीवनरेखा' को रूपमा चित्रण गरेका थिए। उक्त महत्त्वपूर्ण समुद्री मार्गबाट व्यापारिक जहाजहरूको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न सैन्य बल तैनाथ गर्ने उनीहरूको योजना थियो। यसका लागि ओमान लगायतका क्षेत्रीय साझेदारहरूसँग सहकार्य गर्ने समेत ती देशहरूले उल्लेख गरेका थिए।
बीबीसी पर्सियनका अनुसार, उपविदेश मन्त्री गरिबाबादीले सामाजिक सञ्जाल 'एक्स' मा बेलायत र फ्रान्सको संयुक्त वक्तव्यको तस्बिर सार्वजनिक गर्दै इरानको आधिकारिक धारणा सार्वजनिक गरेका छन्।
'होर्मुज स्ट्रेट क्षेत्र बाहिरका शक्तिहरूको सैन्य प्रदर्शन गर्ने थलो होइन,' गरिबाबादीले लेखेका छन्, 'इरान एक जिम्मेवार शक्ति र यस स्ट्रेटको सुरक्षाको ग्यारेन्टर हुनुको नाताले यस संवेदनशील जलमार्गमा हुने कुनै पनि सैन्य गतिविधिलाई लिएर सचेत गराउँछ।'
उनले होर्मुज स्ट्रेटको सुरक्षाको मुख्य जिम्मेवारी त्यहाँका तटीय देशहरूको मात्र भएको स्पष्ट पारेका छन्। संकट निम्त्याउने खालका जुनसुकै दुस्साहसको परिणाम सम्बन्धित देशहरू आफैंले भोग्नुपर्ने भन्दै उनले यसलाई इरानको 'गम्भीर चेतावनी' भएको बताएका छन्।
यसैबीच, अमेरिकी सञ्चारमाध्यम ब्लूमबर्गले बिहीबार सूत्रहरूलाई उद्धृत गर्दै एक महत्त्वपूर्ण विवरण सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार, केही प्रमुख युरोपेली देशहरूले अब होर्मुज स्ट्रेटबाट आफ्ना जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्नका लागि इरान र ओमानलाई भुक्तानी गर्नु अनिवार्य भइसकेको कुरा स्वीकार गरेका छन्।
विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्येको एक मानिने होर्मुज स्ट्रेटलाई लिएर पश्चिमा देश र इरानबीच पछिल्लो समय तनाव थप चुलिने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस !