पत्नीले प्रेमीसँग मिलेर गरिन् श्रीमानको हत्या, च्याट र कल रेकर्डबाट खुल्यो पोल
भारत : भारत हरियाणा रेवाडीमा पुणेको केतन अग्रवाल हत्या प्रकरण र इन्दौरको सोनम रघुवंशी घटनासँग मिल्दोजुल्दो अर्को घटना सार्वजनिक भएको छ । केही साताअघि प्रहरीले आत्महत्या ठानेर अनुसन्धान गरिरहेको २१ वर्षीय युवकको मृत्यु वास्तवमा हत्या भएको खुलेको हो । प्रहरीले मृतककी पत्नी र उनका प्रेमीले योजनाबद्ध रूपमा हत्या गरेको जनाएको छ ।
प्रहरीका अनुसार आरोपी पत्नी तनुले सोधपुछका क्रममा आफ्ना प्रेमी सोनू र अन्य दुई साथीसँग मिलेर पतिको हत्या गरेको स्वीकार गरेकी छन् । योजनाअनुसार उनले श्रीमान मोनूलाई भेट्ने बहानामा नहर किनारमा बोलाइन् । त्यहाँ पहिलेदेखि नै लुकेर बसेका तीन जनाले मोनूलाई नियन्त्रणमा लिएर उनको मुख र नाक थिचे, उनी बेहोस भएपछि नहरमा डुबाएर हत्या गरे । घटनालाई आत्महत्या देखाउन उनीहरूले मोनूको स्कुटर नहर नजिकै राखे र मोबाइलबाट सबै डाटा मेटाइ दिए, ताकि कसैलाई उनले अन्तिम पटक कसलाई सम्पर्क गरेका थिए भन्ने थाहा नहोस् ।
कसरी भयो घटना ?
रातिसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गर्यो । जुन ९ मा परिवारले तनुका घरमा सम्पर्क गर्दा उनीहरूले मोनू त्यहाँ नआएको बताए। तनुले पनि आफूले मोनूसँग कुनै सम्पर्क नभएको दाबी गरिन् । २४ घण्टाभन्दा बढी समयसम्म पनि उनी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा हराएको निवेदन दर्ता गरायो ।
जुन १० मा प्रहरीले नहरबाट मोनूको शव फेला पा¥यो । शरीरमा बाहिरी चोटपटक नदेखिएकाले प्रहरीले घटनालाई आत्महत्या मानेर अनुसन्धान टुंग्यायो र शव परिवारलाई बुझायो । श्रीमानको मृत्युको खबर पाएपछि तनु माइतीबाट आएर अन्त्येष्टिमा सहभागी भइन् र धेरै रोएकी थिइन् । परिवारले त्यो बेला उनलाई श्रीमानको मृत्युको शोकमा रहेको ठानेको थियो ।
कसरी खुल्यो हत्याको पोल ?
आत्महत्याको निष्कर्षपछि प्रहरीले मोनूको मोबाइल परिवारलाई फिर्ता दिएको थियो । तर मोबाइलभित्रको सम्पूर्ण डाटा मेटिएको देखेपछि परिवारलाई शंका लाग्यो । उनीहरूले साइबर विशेषज्ञको सहयोगमा डाटा पुनः प्राप्त गराए । रिकभर गरिएको च्याट र कल विवरणबाट घटनाको दिन मोनूले आफ्नी पत्नी तनुलाई ४९ पटक फोन गरेको, तर तनुले केवल एक पटक मात्र फोन उठाएको र उनीहरूबीच करिब तीन मिनेट कुराकानी भएको खुलेको थियो ।
अन्त्येष्टि सम्पन्न भएपछि परिवारले प्रहरीमा हत्या मुद्दा दर्ता गर्न आग्रह गरे पनि प्रारम्भमा प्रहरीले चासो नदिएको आरोप छ । त्यसपछि परिवार जुलाई २ मा प्रहरी उपरीक्षक (एसपी) कार्यालय पुगेपछि अनुसन्धान पुनः सुरु भयो । शंकाका आधारमा पत्नीलाई पक्राउ गरियो । रेवाडीका डीएसपी सुरेन्द्रका अनुसार प्रहरीले पत्नी तनु र उनका सहयोगी हरिओमलाई पक्राउ गरिसकेको छ । सोधपुछका क्रममा उनीहरूले हत्या योजनाबद्ध रूपमा गरेको स्वीकार गरेका छन् । घटनामा संलग्न भनिएका प्रेमी सोनू र अर्का एक सहयोगी भने अझै फरार छन् र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !