दलाई लामाको आज ९१ औं जन्मदिन, काठमाडौंमा पूजाअर्चना गरी मनाइयो (फोटोफिचर)
काठमाडौं : नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ९१ औं जन्मदिन सोमबार मनाएका छन्।
तिब्बती समुदायले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी परम्पराअनुसार धार्मिक नेता दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका हुन्।

तिब्बतबाट निर्वासित धार्मिक नेता लामा सोमबारदेखि ९१ वर्ष पुगेका छन्। उनी १४ औं दलाई लामा हुन्।
विशेष समारोहमा नेपालस्थित विदेशी कूटनीतिज्ञ एवम् प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का प्रतिनिधि सहभागी थिए।
दलाई लामाको जन्मोत्सवको अवसरमा विगतमा जस्तो तिब्बती राष्ट्रिय गान गाउने, सांस्कृतिक कार्यक्रम (परम्परागत नृत्य र संगीत) र झाँकी प्रदर्शन भने यस वर्ष काठमाडौंमा आयोजित कार्यक्रममा नगरिएको आयोजकले जनाएको छ।
आज बौद्ध गुम्बाहरुमा पनि दलाई लामाको जन्मदिन मनाइरहेका छन्। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक एवम् निर्वासित नेता लामाको जन्मदिन मनाउँदै आएका छन्।
सन् १९३५ जुलाई ६ मा तिब्बतको आम्दो क्षेत्रस्थित ताक्सेर गाउँमा जन्मिएका उनको बाल्यकालको नाम ल्हामो थोन्दुप थियो। दुई वर्षको उमेरमा उनी १३ औँ दलाई लामाको पुनर्जन्मका रूपमा पहिचान गरिएका थिए।
बाल्यकालदेखि नै धार्मिक शिक्षा ग्रहण गरेका दलाई लामाले सन् १९५० मा तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हालेका थिए। तर, तिब्बतमा बढ्दो राजनीतिक तनावबीच सन् १९५९ मा चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि उनी हिमालय पार गर्दै भारत पुगेका थिए। त्यसयता उनी भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासनको जीवन बिताइरहेका छन्।
निर्वासनमा बसेर उनले तिब्बती निर्वासित समुदायको नेतृत्व गर्दै तिब्बती भाषा, संस्कृति, धर्म र पहिचान संरक्षणका लागि विभिन्न पहल गर्दै आएका छन्। तिब्बतको विषयमा उनले हिंसात्मक आन्दोलनभन्दा संवाद, आपसी सम्मान र शान्तिपूर्ण समाधानको पक्षमा निरन्तर वकालत गर्दै आएका छन्।
तस्बिरमा हेर्नुहोस्








प्रतिक्रिया दिनुहोस !