मुद्रास्फीति नियन्त्रणमै, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२ / ८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार मुद्रास्फीति नियन्त्रणमा रहे पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह अपेक्षा अनुसार सुस्त रहेको उल्लेख छ । चालु आर्थिक वर्षको १० महिना अवधिको समीक्षामा महिनामा विस्तृत मुद्रा प्रदाय (एम–टु) १५.२ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फ जाने कर्जा भने ६.५ प्रतिशत मात्र विस्तार भएको छ । मौद्रिक नीतिमा कर्जा वृद्धिदर १२ प्रतिशत रहने प्रक्षेपण थियो ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले निक्षेप तथा कर्जाको ब्याजदर घट्दो क्रममा रहेको प्रतिवेदनमा जनाइएको छ । विश्वव्यापी भूराजनीतिक अवस्था, अन्तर्राष्ट्रिय व्यापारमा देखिएको मन्दी, ढिलो मनसुन, अत्यधिक वर्षा, निजी क्षेत्रको कमजोर मनोबल तथा निर्माण क्षेत्रको सुस्तताका कारण अपेक्षित आर्थिक गतिविधि बढ्न नसकेको प्रतिवेदनमा औंल्याइएको छ । यसका कारण बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा प्रवाहमा सुस्त देखिएको छ ।
राष्ट्र बैंकले समीक्षा अवधिमा निजी आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्याएको, व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट १ करोड रुपैयाँ बनाएको, शेयर धितो कर्जाको एकल सीमा १५ करोडबाट २५ करोड रुपैयाँ पुर्याएको तथा डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
त्यसैगरी कृषि, लघु, घरेलु तथा साना–मझौला व्यवसायमा कर्जा प्रवाह सहज बनाउने, चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने तथा बैंकिङ प्रणालीको नियमन र वित्तीय स्थायित्व सुदृढ गर्ने विभिन्न नीतिगत सुधारहरू कार्यान्वयन गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस !