लामखुट्टे नियन्त्रण :औलोमुक्त समाज

लामखुट्टे नियन्त्रण :औलोमुक्त समाज
सुन्नुहोस्

लो (मलेरिया) युगौंदेखि मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै आएको छ। एउटा सानो लामखुट्टेको टोकाइले ज्यानै लिन सक्ने यो प्राणघातक रोगको जोखिम नेपालमा अझै टरेको छैन। सन् २०३० सम्ममा औलो उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न लामखुट्टे नियन्त्रण र जनचेतना अपरिहार्य छ। आउनुहोस्, औलोको लक्षण, जटिलता र बच्ने उपायबारे विस्तृतमा बुझौं र आफूलाई सुरक्षित राखौं।

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार यदि कुनै स्थानमा लगातार तीन वर्षसम्म स्थानीय औलो रोगीको संख्या शून्य भएमा त्यस स्थानमा ‘औलो निर्मूल’ भएको मानिन्छ भने कुनै प्रकारको स्थानीय र आयातित औलो रोगीको संख्या शून्य भएमा त्यस स्थानमा ‘औलोको उन्मूलन’ भएको मानिन्छ। सरकारी रणनीतिले सन् २०३० सम्ममा औलो रोगको नयाँ संक्रमणदर र मृत्युदरलाई ९० प्रतिशतले झार्ने लक्ष्य राखेको छ। दिगो विकास लक्ष्यले सन् २०३० मा औलो रोग अन्त्य गर्ने अठोट लिएको छ, तथापि आयातित औलो नै अत्यधिक बढी भएकाले लक्ष्य भेटाउन कठिन देखिन्छ।

औलो रोगको परिचय : औलो रोग मानिसका लागि धेरै पहिलेदेखि परिचित रोग हो। चीन र भारतका थुप्रै प्राचीन साहित्यहरूमा यसको उल्लेख भएको पाइन्छ। चालु आर्थिक वर्षमा संक्रमित ५७४ जनामध्ये १८ जना मात्र नेपालमा र ९६.८६ प्रतिशत अन्य मुलुकबाट आयातित भएको पुष्टि भएको छ। औलो परजीवीको प्रसार औलो पीडित व्यक्तिबाट स्वस्थ व्यक्तिमा पोथी ‘एनोफिलिस’ लामखुट्टेको टोकाइबाट सर्दछ। तर, यसको प्रसारका लागि संक्रमित लामखुट्टे, परजीवी बोकेको मानिस, ग्रहणशील व्यक्तिको उपस्थिति र उपयुक्त वातावरण हुनैपर्दछ। 

पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट एक मानिसबाट अर्को मानिसमा सर्ने परजीवीजन्य सरुवा रोग नै औलो हो। मानिसलाई संक्रमण गरी औलो लगाउने एककोषीय परजीवी ‘प्लाज्मोडियम’का चार प्रजातिहरू (पी. फल्सीपेरम, पी. भाइभेक्स, पी. ओभेल र पी. मलेरी पर्छन्। जसमा ‘पी. भाइभेक्स’ सबैभन्दा बढी (९० प्रतिशतलाई) हुने संक्रामक प्रजाति हो भने ‘पी. फाल्सिपेरम’ले सबैभन्दा कडा प्रकृतिको घातक औलो रोग लगाउँछ।

लक्षण तथा चिह्नहरू : यो रोग गरिब, विपन्न, अशिक्षित तथा पिछडिएका समुदायमा बढी देखिन्छ। महिलाभन्दा पुरुषमा, तथा गर्मी र वर्षायाममा लामखुट्टे बढी हुने भएकाले, अनि तापक्रम २० देखि ३० डिग्री सेल्सियस पुग्ने तराई क्षेत्रमा यो रोग बढी देखिन्छ। तथापि, कुल जनसंख्याको ८५ प्रतिशतभन्दा बढी मानिस यसको जोखिममा छन्। यसको ओथारो काल पी. भाइभेक्समा १२–१७ दिन, ओभेलमा १५–१८ दिन, र मलेरीमा १८–४० दिन हुन्छ। भाइभेक्स र ओभेलमा ज्वरोको चक्र ४८ घण्टाको फरकमा देखिन्छ भने मलेरीमा ७२ घण्टाको फरकमा। 

सबैभन्दा कडा प्रकृतिको औलो ‘फाल्सिपेरम’को अन्तरविकास काल दुई हप्तासम्म हुन्छ। औलोका मुख्य लक्षणहरू देखिनुभन्दा पहिले टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने र मांसपेशी दुख्ने हुन्छ। त्यस्तै, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्प छुट्ने र मन्द ज्वरो आउने हुन्छ। टाउको असाध्यै दुख्ने, दिन बिराएर ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, खानामा अरुचि हुने, पसिना आएर ज्वरो कम हुँदा शरीर हिउँजस्तै चिसो हुने, रक्तअल्पताका कारण अनुहार फुस्रो देखिने, कब्जियत हुने, फियो र कलेजो सुन्निने यसका प्रमुख लक्षण हुन्।बिरामी गम्भीर अवस्थामा पुग्दा रक्तअल्पता भई फुस्रो, कमलपित्त भई पहेंलो देखिनुका साथै कलेजो र फियो बढी ठूलो हुने र थिच्दा दुख्ने गर्दछ। निश्चित समयसम्म जाडो हुने, गर्मी हुने, खलखल्ती पसिना आउने र एकैछिनपछि केही कमजोर महसुस भए पनि पूर्ण आराम भएको महसुस हुनु यो रोगको प्रमुख विशेषता हो।

  • औलोलगायत अन्य प्राणघातक कीटजन्य रोगहरूबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै लामखुट्टेको टोकाइबाट जोगिनु र यसको बासस्थान पूर्ण रूपमा नष्ट गर्नु हो। 
  • सरकारको नीति र प्रयासले मात्र औलो उन्मूलनको लक्ष्य हासिल गर्न सम्भव छैन; यसका लागि हरेक नागरिक, परिवार र समुदाय सचेत भई आफ्नो घरवरिपरिको सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ।

रोगका जटिलताहरू : औलो बिग्रिएमा सेरिब्रल मलेरिया, अत्यधिक रक्तअल्पता, मिर्गौला फेल हुने, शरीरमा ग्लुकोजको कमी, तरल पदार्थ र अम्ल–क्षारको सन्तुलन बिग्रने, फोक्सोमा सुजन हुने, रक्तसञ्चार अवरुद्ध हुने, एकाएक रगत बहने, उच्च ज्वरो आउने र फियो फुट्ने जस्ता गम्भीर जटिलताहरू देखा पर्छन्। गर्भवती महिलामा आमाको मृत्यु, गर्भपतन, पेटमै बच्चा मर्ने, कम तौलको बच्चा जन्मिने, उच्च परजीवी संक्रमण, हेमाग्लोबिनयुरिया, ब्ल्याक वाटर फिभर आदि हुन सक्छ। बिरामी ‘शक’मा गई जीवनभर स्नायुसम्बन्धी कमजोरी हुने वा बिरामीको मृत्युसमेत हुन सक्छ।

उपचार तथा व्यवस्थापन : ज्वरो अत्यधिक आएमा निधारमा पानीपट्टी राख्ने तथा सम्पूर्ण शरीरलाई चिसो पानीले पुछ्ने गर्नु पर्दछ। आएको ज्वरो औलो हो वा होइन भन्ने यकिन गर्न क्लोरोक्विन चक्की खानुभन्दा पहिले नै रगत परीक्षण गर्नुपर्दछ। औलोको लक्षण अन्य रोगसँग मिल्दोजुल्दो हुने भएकाले औषधि खाएको दुई दिनसम्म निको नभएमा अस्पताल पठाउनु पर्दछ।

हिमाल, पहाड, मधेस र पश्चिम तराईमा बढेको गर्मीले नागरिकको जनजीवनमा असहजता र समस्याहरू बढाएको छ, जसले गर्दा गर्मीजन्य रोगहरू बढेका छन् र अस्पतालहरूमा भिडभाड छ। साना बालबालिका, प्रौढ, दीर्घरोगी, मुटु तथा मानसिक रोगी र उच्च रक्तचापका बिरामीहरू बढी जोखिममा परेका छन्।

महामारी रोकथाम, कीटजन्य रोग र अन्य गर्मीजन्य स्वास्थ्य समस्याहरूको व्यवस्थापनका लागि जनप्रतिनिधि, समाजसेवी, गैरसरकारी संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जालमार्फत अनेकौं स्वास्थ्यका कार्यक्रम र सावधानीका उपायहरू सुझाइरहेका छन्। तर, के सही, के वैज्ञानिक र कुन कुरा व्यावहारिक तथा स्वास्थ्यमैत्री भन्ने विषयमा स्पष्टता नहुँदा जटिलता र मृत्युका घटनाहरूमा समेत बढोत्तरी भएको पाइन्छ।

समग्र लामखुट्टेजन्य रोगहरूको रोकथाम : महामारीको रूप लिने औलो, डेंगु, इन्सेफलाइटिस, हात्तीपाइले, कालाजारलगायतका दर्जनौं रोगहरू लामखुट्टेको टोकाइबाट मात्र सर्छन्। संक्रमण फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस दुवै नभई हुँदैन। त्यसैले यसको जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ।
क) लामखुट्टेको टोकाइबाट बच्न : घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्नु पर्दछ। सुत्दा झुल, पंखा, एयरकुलर वा एयरकन्डिसन प्रयोग गर्नु पर्दछ। लामखुट्टे भगाउने धूप वा झोलको प्रयोग गर्नु पर्दछ। घर बाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलम, तोरीको तेल वा निमको तेल दलेर बस्न र प्रकोप भएको ठाउँमा मोटो र पूरा 
शरीर छोप्ने लुगा लगाउनु पर्छ।
ख) लामखुट्टेको नास गर्न : करिब ३ देखि ४ सातामात्र बाँच्ने लामखुट्टेलाई फुलबाट वयस्क बन्न करिब दुई साता लाग्दछ। आआफ्नो घरगोठमा कीटनाशक औषधि छर्कनु (औषधि छर्केको ३–६ महिनासम्म लामखुट्टे मर्ने भएकाले ३ महिनासम्म लिपपोत नगर्ने)। लामखुट्टेले विशेषगरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकोले त्यस्ता खाल्डा तुरुन्त पुर्ने वा ७–८ दिनभित्र सुकाउनु पर्दछ। पानी सोस्ने रुखहरू जस्तैः जामुन, सिमल, मसला रोप्नु पर्दछ। घरवरिपरि, सडक वारीपारीका खाल्डाखुल्डी पुरी पोखरी, इनार र कुलोको वरिपरिको घाँसपात सफा गर्नुपर्दछ।
ग) परजीवी नाश गर्ने : संक्रमित लामखुट्टेले टोकेको केही दिनपछि मात्र ज्वरो आउने भएकाले मानिसको रगतमा भएका परजीवी जाँच गराई पत्ता लगार्य र औलोको औषधि खाई परजीवी नष्ट गर्न सकिन्छ।
घ) जनचेतना र सतर्कता : संक्रमित व्यक्तिको रगत प्रत्यारोपण गर्नु हुँदैन। औलो प्रभावित क्षेत्रमा जानुभन्दा एक हप्ता पहिलेदेखि सुरु गरी उक्त क्षेत्र छोडेको चार हप्तासम्म लगातार औषधि खानुपर्छ। रोगका कारण बिरामी पर्दा हुने आर्थिक क्षतिभन्दा बिरामी र तिनका आफन्तले पाउने दुःख झनै धेरै हुन्छ। जुनसुकै उमेर र वर्गका मानिस स्वास्थ्यप्रति सचेत हुनुपर्छ।
हाल स्पोरोज्वाइट खोप, ब्लडस्टेज खोप र मेरोज्वाइट खोप बजारमा उपलब्ध छन्, जसमा मेरोज्वाइट खोपलाई बढी सफल मानिन्छ। सबै प्रकारका रोग नियन्त्रणमा सरकारको प्रयास मात्र पूर्ण नहुने भएकोले आम नागरिक र समुदाय आफैं लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ।

निष्कर्षमा जोगिने उपाय : औलोलगायत अन्य प्राणघातक कीटजन्य रोगहरूबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै लामखुट्टेको टोकाइबाट जोगिनु र यसको बासस्थान पूर्ण रूपमा नष्ट गर्नु हो। सरकारको नीति र प्रयासले मात्र औलो उन्मूलनको लक्ष्य हासिल गर्न सम्भव छैन; यसका लागि हरेक नागरिक, परिवार र समुदाय सचेत भई आफ्नो घरवरिपरिको सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ। त्यसैले समयमै सतर्कता अपनाऔं र औलोमुक्त स्वस्थ समाज निर्माणमा आ–आफ्नो तर्फबाट सक्रिय जिम्मेवारी निभाऔं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.