अहंकारको खरानीमा सत्ता !

व्यंग्य

अहंकारको खरानीमा सत्ता !

केही दिनपछि आज बिहानै म फेरि मेरा बालसखाकहाँ पुगें। मलाई राम्ररी थाहा छ– सच्चा मित्र दुःखको बेला र पीडाको समयमा नै चिनिन्छ। उनी अहिले पीडित छन्, दुःखी छन्। मैले ढाडस दिनुपर्छ, उनको पीडामा मलम लगाउनुपर्छ।

सच्चा मित्र भएको नाताले, हिजो उनको गलत कदमको मैले विरोध गरेर उनलाई सच्याउन धेरै कोसिस गरेको हुँ। कुनै बेला अलि कडा रूपमा प्रस्तुत भएर पनि उनलाई सुधार्न खोजेकै हुँ। तर, मेरो कुरा पटक्कै नसुन्दा आज उनको यो हविगत भयो। मलाई दुःख लाग्छ।

म सरासर उनको कोठाभित्र पसें। मलाई देख्नासाथ उनी उठेर अँगालो हाल्दै रुन थाले। मैले उनलाई मत्थर बनाउँदै भनें, ‘बस, आफूलाई सम्हाल।’ उनी बसेर बिलौना गर्न थाले, ‘मित्र सुपर्णखा ! सक्यो, सबै सक्यो। मैले आफ्नो वर्चस्व कायम राख्न कम्ती मिहिनेत गरिनँ। आसेपासेको जमघट बनाएर तिनलाई पोस्नुसम्म पोसें। तर, आज तिनै मेरो विरोधमा उत्रिए। हुँदाहुँदा चुनावमा समेत मेरो धज्जी उडाइदिए। आज मलाई एक्लो बनाइदिए।’

मित्रको गला अवरुद्ध भयो। मैले उनलाई सम्झाउने र सान्त्वना दिने प्रयत्न गर्दै भनें, ‘हेर, दुनियाँ यस्तै हो। सधैं कसैको पनि दिन एकनास हुँदैन। हिजो मैले कति सम्झाउँथें, तिमीले कहिल्यै मानेनौ। अब म त्यो विषयमा धेरै भन्न चाहन्नँ। देश बनाउँछु भनेर आएका यी युवाका राम्रा कामको समर्थन गर। राम्रो काममा साथ दिन्छु भन। उनीहरूले गरेका राम्रा कामको निकृष्ट आलोचना नगर। आफ्नो गल्ती स्वीकार गर, जनतामाझ आत्मालोचना गर। बिस्तारै तिम्रा कुकृत्यलाई जनताले माफी दिनेछन्। किनेको मान्छे सधैं आफ्नो हुँदैन भन्ने कुरा अब सधैं मनन् गर।’

उनले मलिन मुद्रामै भने, ‘यिनले राम्रो काम नै के गरेका छन् र प्रशंसा गर्ने ? मैले भर्ना गरेका सबैलाई निकालिदिए। हुँदाहुँदा न्यायालयलाई समेत छाडेनन्, परम्परा भत्काइदिए। उल्टै तिमी राम्रो गरे भन्छौ।’ नम्रताका साथ भनें, ‘हेर, राज्यका प्रत्येक अंगमा कार्यकर्ता र केही पदमा मोलमोलाइ गरेर तिमीले भर्ना गरेका होइनौ र ? आवश्यक नै नभएको ठाउँमा निर्माण गराएर रकम उठायौ। गैरकानुनी तरिकाबाट रकम हात पार्ने कुनै बाटो छाडेनौ। देशका उद्योगधन्दा पूरै नासिदियौ। बाटाघाटा बनाएँ भनेर डिङ हाँक्छौ, तर पहिलेका सद्दे बाटा बिग्रिएपछि बनाउन तत्परता देखाएनौ।’

म चुप लागेर सुनिरहें, उनले थपे, ‘बरु ठेकेदार र आफ्नो मात्र स्वार्थमा डुब्यौ। तिमीले बनाएँ भनेका बाटा कस्ता छन्, जनताले भोगेका छन्– न हिँड्न मिल्छ, न गुड्न। एकातिरका छिमेकीलाई मालिक बनाएर तिनकै इसारामा देशको अर्थतन्त्र धापमा गाडिदियौ। केका लागि ? मात्र सत्ताका लागि। राज्यका प्रत्येक अंगमाथि कब्जा ग¥यौ। तिमीहरू प्रत्येक पक्षले आआफूले अँगालेका विश्वका महान् चिन्तकहरूको समेत बदनाम ग¥यौ, तिनका नाममा कालो दाग पोत्यौ।’

उनले अलि चम्किँदै भने, ‘सत्तामा टिक्नलाई त ती सबै गर्नु परेन र ? अरू आउनै नसकून् भनेर हामी तीन–चार थरी मिलेर नै गरेका हौं, म एक्लैले गरेको हुँ र ? पालैपालो कमाउने जुक्ति निकालेकै हो। वरिपरिकालाई खुवाइपियाइ गरेकै हो, म एक्लैले खाएको हुँ र ? अहिले आएर कोही आफ्नो भएनन्। यिनीहरूले न्यायको समेत मानहानि गरे। उल्टै तिमी यिनलाई सहयोग गर्ने, समर्थन गर्ने सल्लाह दिन्छौ। मेरो चित्त त बुझेन।’

मैले आफ्नो तर्क प्रस्तुत गरें, ‘यही हो तिम्रो सोचको गरिबी। मालिकले फाइदा हुन्जेल प्रयोग गर्छन्, खाइपाइ गर्नेले अवसर देखुन्जेल साथ दिन्छन् भन्ने कुरा मैले धेरै अगाडि भनेर तिमीलाई सचेत गराउन खोजेकै हुँ। तर, तिमी कानमा तेल हालेर बस्यौ। अर्को कुरा— यिनीहरूले न्यायको मानहानि गरेका होइनन्, विधिबमोजिम काम गरिरहेका छन्। बरु न्यायको मेच सम्हाल्नेले पो न्यायको मानहानि गरेका छन् ! देशको मानहानि गरेका छन्। अझ भन्ने हो भने, तिनीहरूले देशद्रोहको काम गरेका छन्। अलिकति पनि मानवता छ भने, मान्छे हुन् भने र झिनोमात्र भए पनि नैतिकता छ भने, जनताका सामु माफी माग्दै तिनीहरू सबैले तुरुन्त राजीनामा गर्नुपर्छ। त्यस्तो मेच छाड्नुपर्छ।’

‘कस्तो वाहियात कुरा गरेको तिमीले ! उनीहरूले किन माफी माग्ने ? किन मेच छाड्ने ? ’, उनले अलि झर्केर प्रतिवाद गरे। अनि मैले भनें, ‘हेर, न्याय दिने मान्छे निष्पक्ष हुनुपर्छ। एउटा पक्षको दासले कसरी निष्पक्ष न्याय दिन्छ ? उसले त मालिकको आदेशअनुसार मात्र काम गर्छ। न्यायको धज्जी उडाउने ती व्यक्ति त पक्कै पनि राष्ट्रद्रोही हुन्। छिट्टै आफूलाई सम्हालेर तिनले मेच छाडे भने जनताले बिस्तारै माफी देलान्, किनभने जनता विवेकशील छन्।

‘भैगो एकपल्टलाई’ भन्न सक्लान्, नत्र भगवान् भरोसा ! अब कमाउने बाटो बन्द भयो भनेर स्यालहुइयाँ नगर। बेहोसीबाट होसमा आऊ र यिनले गरेका राम्रा कामको समर्थन गर। समर्थन गर्न सक्दैनौ भने पनि विरोध नगर, नत्र तिम्रो योभन्दा बढी दुर्दशा होला।’ उनलाई यति सचेत गराएर म त्यहाँबाट हिँडें।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.