नदीको नयाँ धड्कन

नदीको नयाँ धड्कन

नेपालको राजधानी काठमाडौंका मुख्य नदीहरू बागमती, विष्णुमती, धोबीखोला र मनोहरालगायतमा वर्षौंदेखि फैलिएको अतिक्रमण हालको सरकारी अभियानले हट्दै गएसँगै, आम जनमानसमा राजधानीको सहरी भविष्यबारे नयाँ चर्चा–परिचर्चा सुरु भएको छ।

नदी किनारका सार्वजनिक जग्गा खाली हुँदै जाँदा अब सबैभन्दा महŒवपूर्ण प्रश्न उठेको छ– यी क्षेत्रहरूको सदुपयोग कसरी गर्ने ? उत्तर सहज छ। सही योजना, दीर्घकालीन रणनीति र वैज्ञानिक व्यवस्थापन भए यी नदी किनारका क्षेत्रहरू सहरको सौन्दर्य, संस्कृति र सभ्यता, वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधिका केन्द्र बन्न सक्छन्।

पहिलो, आजको व्यस्त सहरी जीवनशैलीका कारण मानिसहरूको स्वास्थ्यमा निकै गम्भीर असर परिरहेको छ। शारीरिक गतिविधि दिनानुदिन 

घट्दो छ भने मानसिक तनाव बढ्दो छ। यस सन्दर्भमा आम नागरिकको दैनिक जीवनको गुणस्तर सुधार्न यी नदी किनारहरूलाई हरित पार्कका रूपमा विकास गर्न उपयुक्त हुन्छ। पार्कमा पैदलमार्ग, खुला व्यायामशाला (ओपन फिटनेस सेन्टर), साइक्लिङ ट्र्याक, जगिङ ट्रेल, योगाभ्यास स्थल, वि श्राम क्षेत्र (रिल्याक्सेसन एरिया) र खेल मैदानजस्ता संरचना एवं पूर्वाधारहरूको विकास गर्न सकिन्छ।

दोस्रो, यी क्षेत्रहरूलाई सांस्कृतिक तथा पर्यटन हबका रूपमा विकास गर्न सकिन्छ। काठमाडौं उपत्यका कला र संस्कृतिको केन्द्र पनि हो। नदी किनारहरूलाई विशेषगरी साँझको समयमा आरती, सांस्कृतिक प्रस्तुति तथा स्थानीय स्वादका स्टलहरू राखेर स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। सांगीतिक साँझ (म्युजिकल इभिनिङ) जस्ता विविध कार्यक्रमको परिकल्पना गर्न सकिन्छ, जसले स्थानीय कलाकार, उद्यमी र युवाहरूलाई विविध अवसर प्रदान गर्छ भने स्थानीय वस्तुहरूको उपभोग बढाउँदै मानिसहरूको जीवनस्तर उकास्न पनि सहयोग पुर्‍याउँछ।

तेस्रो, सहरको सौन्दर्यीकरणका लागि सफा र स्वच्छ नदी अर्थात् नदीको पुनर्जीवन जरुरी छ। यसका लागि यस्ता नदी किनारहरूमा विकेन्द्रीकृत अर्थात् ठाउँ–ठाउँमा ढल प्रशोधन केन्द्र (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट) हरूको स्थापना गर्न सकिन्छ। जसले प्रत्येक क्षेत्रको ढल स्थानीयस्तरमै प्रशोधन गरी नदीमा प्रत्यक्ष मिसिनबाट जोगाउन सक्छन्। हाल केन्द्रीय प्रशोधन प्रणालीमा मात्र निर्भर हुनुपर्दा बागमती, विष्णुमती र धोबीखोलाजस्ता नदीहरू अत्यन्तै प्रदूषित रहँदै आएका छन्।

चौथो, नदी किनारहरूलाई विभिन्न जलचर प्रजाति, चराचुरुंगी एवम् बोटबिरुवाको वासस्थान (ह्याबिट्याट)का रूपमा पनि विकास गर्न सकिन्छ। जसले जैविक विविधतालाई प्रवद्र्धन गर्दै प्राकृतिक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउँछ।

पाँचौं, यस्ता नदी किनारहरूलाई विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीका लागि अनुसन्धान केन्द्र अर्थात् खुला प्रयोगशाला (ओपन ल्याबोरेटोरी) का रूपमा पनि विकास गर्न सकिन्छ। जहाँ विद्यार्थीहरूले नदी प्रदूषण, ढल प्रशोधन, बाढी व्यवस्थापन, पारिस्थितिकीय पुनस्र्थापना (इकोलोजिकल रिस्टोरेसन) तथा जलचर र चराचुरुंगीका वासस्थानका बारेमा अध्ययन तथा अनुसन्धान गर्न सक्छन्।

छैटौं, यस्ता नदी किनारहरूलाई समग्रमा जीवन्त नदी किनार (लिभिङ रिभरफ्रन्ट) का रूपमा विकास गर्न सकिन्छ। आजभोलि मनोरञ्जन मानिसको दैनिक जीवनको एक महŒवपूर्ण हिस्सा बन्दै गइरहेको छ। त्यसमाथि सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णयले नागरिकको घुमफिर, मनोरञ्जन र बाह्य गतिविधितर्फको रुचि अझै बढ्ने देखिन्छ। यो माग धान्न राजधानीमा उपलब्ध सार्वजनिक एवं खुला क्षेत्रहरू निकै अपर्याप्त छन्। यस सन्दर्भमा यी नदी किनारहरूलाई जीवन्त नदी किनारका रूपमा विकास गर्नु श्रेयस्कर देखिन्छ।

एसियाका धेरै सहरहरूमा यो मोडल प्रभावकारी साबित भएको पाइन्छ। भारतको अहमदाबादको साबरमती रिभरफ्रन्ट प्रोजेक्ट होस् अथवा बंगलादेशको राजधानी ढाकाको हातिरझिल प्रोजेक्ट, चीनको सुझोउ क्रिक होस् अथवा सिंगापुरको सिंगापुर नदी— यी सबै काठमाडौंका लागि राम्रा सन्दर्भ बन्न सक्छन्। व्यवस्थित नदी किनारहरूले केवल सहरी सुन्दरता मात्र बोक्दैनन्, यसले पर्यटन र रोजगारीलाई प्रश्रय दिँदै स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिन्छ। विशेषगरी बागमती र विष्णुमती आसपास धार्मिक पर्यटन, सम्पदा पदयात्रा (हेरिटेज वाक) र सहरी पर्यटन (अर्बन टुरिजम)को सम्भावना निकै प्रबल देखिन्छ। त्यसैले अतिक्रमणमुक्त नदी किनार क्षेत्रहरू केवल खाली जमिनमात्र होइनन्, काठमाडौंको सुन्दर भविष्यसँग जोडिएको विषय हुन्।

शिवपुरी क्षेत्रबाट उत्पत्ति भएका बागमतीलगायतका नदीहरूलाई केवल पानी बग्ने माध्यमका रूपमा मात्र लिनु हुँदैन। यी त हाम्रा सभ्यता हुन्, संस्कृति हुन्, धार्मिक विश्वास र आस्था हुन्, अनि इतिहास हुन्। त्यसैले यी नदी आज हाम्रा लागि र भोलि हाम्रा सन्ततिका लागि विशेष छन्। यी नदीहरू साँच्चिकै नदीका रूपमा सदाका लागि रहनुपर्छ। यसर्थ, अतिक्रमित नदी किनारहरूको योजनाबद्ध विकास अर्थात् सही उपयोग आजको टड्कारो आवश्यकता हो।

निष्कर्षमा भन्नुपर्दा, काठमाडौंका नदीहरू केवल पानी बग्ने नाला होइनन्; यी हाम्रो सभ्यता, संस्कृति र इतिहासका जीवन्त साक्षी हुन्। लामो समयदेखिको अतिक्रमण हटाउने सरकारी प्रयासले राजधानीको सहरी विकासमा एक ऐतिहासिक अवसर ल्याएको छ। यस लेख र विश्वव्यापी सफल अभ्यासहरूले देखाए झैं, अब यी खाली गरिएका किनारहरूलाई हरियाली पार्क, सांस्कृतिक केन्द्र, जैविक वासस्थान र स्वच्छ मनोरञ्जन स्थलका रूपमा रूपान्तरण गर्नुको विकल्प छैन।

तीव्र सहरीकरण र प्रदूषणको चपेटामा परेको काठमाडौंलाई सास फेर्न यस्तै खुला र स्वच्छ ‘लिभिङ रिभरफ्रन्ट’को आवश्यकता छ। ठाउँ–ठाउँमा ढल प्रशोधन केन्द्र राखेर नदीको पानीलाई पुनः कञ्चन बनाउनुका साथै सम्पदा पर्यटनलाई जोड्दा यसले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउँछ। तसर्थ, सरकार, सहरी योजनाविद् र नागरिक समाजको संयुक्त प्रयासबाट नदी किनारको व्यवस्थित र दिगो सदुपयोग हुनुपर्दछ। यसो गर्न सकेमा मात्र बागमती, विष्णुमतीजस्ता नदीहरूले आफ्नो पुरानै गौरव फर्काउनेछन् र भावी पुस्तालाई एक सुन्दर, स्वच्छ र समृद्ध काठमाडौं हस्तान्तरण गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.