मुलुकको मुहार ‘इको–फ्रेन्डली रोड’ !

वातावरणमैत्री विकास

मुलुकको मुहार ‘इको–फ्रेन्डली रोड’ !

कुनै देशका सडकले नै बिजुली निकालिरहेका छन्, कतै गुड्दा–गुड्दै गाडी आफैं चार्ज भइरहेका छन् त कतै सडकमुनि प्लास्टिकको फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी दिगो र गुणस्तरीय सडक बनाइएका छन्।

तपाईं सडक भन्नासाथ के कल्पना गर्नुहुन्छ ? सायद कालो अलकत्राले पोतिएको पिच बाटो वा भनौं, गाडीहरू हुइँकिने चिल्लो बाटो। तर, आजको एक्काइसौं शताब्दीमा सडकको परिभाषा यत्तिमै सीमित छैन। सडकहरू कति चिल्ला छन् मात्र होइन, ती प्रकृतिसँग कति नजिक छन्, ती हरित सडक बने, बनेनन् र तिनले वातावरणलाई कति जोगाएका छन् भन्ने कुराले सडकको गुणस्तर तय गर्छ।

अचम्म लाग्न सक्छ, कतै सडकले नै बिजुली निकालिरहेका छन्, कतै गुड्दा–गुड्दै गाडी आफैं चार्ज भइरहेका छन् त कतै सडकमुनि प्लास्टिकको फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी दिगो र गुणस्तरीय सडक बनाइएका छन्। के हामीले यी सबै आफ्नै देश नेपालमै प्रयोग गर्न पाएका छौं ? वा, विश्वका विकसित देशका दृश्य हेरेर चित्त बुझाइरहेका छौं ? बालेन नेतृत्वको नयाँ सरकारले पूर्वाधार विकासमा खर्बौं बजेट त छुट्ट्यायो तर ती सडक सञ्जाल वातावरणमैत्री अर्थात् ‘इको–फ्रेन्डली’ बनाउन बजेट छुट्ट्यायो कि छुट्ट्याएन ? अहम् सवाल हो यो।

वातावरणमैत्री सडक (हरित सडक) निर्माण यस्तो विधि हो, जसमा सडक बनाउँदा प्राकृतिक स्रोतसाधनको कमभन्दा कम दोहन गरिन्छ र गरिन्छ वातावरणमा पर्ने नकारात्मक असरलाई सकेसम्म न्यूनीकरण। विशेषगरी, नेपालजस्तो पहाडी र भिरालो भू–भाग भएको देशमा जथाभावी डोजर चलाएर सडक खन्दा पहिरो जाने, पानीका मुहान सुक्ने र जंगल नासिने समस्या व्यापक छ। अर्कोतर्फ, विश्वव्यापी तापक्रम बढिरहेको छ। त्यसैले, यसको उत्तम विकल्प नै वातावरणमैत्री सडक हो। दुर्भाग्य, नेपालमा वातावरणमैत्री सडकसम्बन्धी जे जति ऐनकानुन छन्, तिनको २५ प्रतिशत (अपवादबाहेक) पनि कार्यान्वयन हुँदैन।

  • एक्काइसौं शताब्दीमा सडकको परिभाषा यत्तिमै सीमित छैन। सडकहरू कति चिल्ला छन् मात्र होइन, ती प्रकृतिसँग कति नजिक छन्, ती हरित सडक बने, बनेनन् र तिनले वातावरणलाई कति जोगाएका छन् भन्ने कुराले सडकको गुणस्तर तय गर्छ।
  • बालेन नेतृत्वको नयाँ सरकारले पूर्वाधार विकासमा खर्बौं बजेट त छुट्ट्यायो तर ती सडक सञ्जाल वातावरणमैत्री अर्थात् ‘इको–फ्रेन्डली’ बनाउन बजेट छुट्ट्यायो कि छुट्ट्याएन ? अहम् सवाल हो यो।
  • नेपालमा ‘हरित सडक अवधारणा’को प्रयोग नभएको भने होइन। तर जति र जसरी हुनुपथ्र्यो, त्यो छैन, छँदैछैन। आखिर कतिञ्जेल ? समयमै सोच्ने कि ?

के कसरी बन्छ, ‘इको–फ्रेन्डली रोड’ ?   
१. वातावरणमैत्री सडक निर्माणका मुख्य प्रविधि र सिद्धान्तहरू
जैविक इन्जिनियरिङ :  सडक खन्दा काटिएको भिरालो जमिनलाई स्थिर राख्न सिमेन्टको पर्खालको सट्टा स्थानीय रुखबिरुवा, बाँस, अम्रिसो, खस्रुत र घाँसहरू रोपिन्छ। बिरुवाको जराले माटोलाई समातेर राख्छ र पहिरो जानबाट रोक्छ।

माटोको सन्तुलन :  सडक खन्दा निस्किएको माटो र ढुंगालाई भिरबाट तल जथाभावी नफाली, सडककै अर्को भाग पुर्न वा पर्खाल लगाउन प्रयोग गरिन्छ। यसले गर्दा तल रहेका खेतबारी र वनजंगल पुरिने जोखिम हुँदैन।
उचित ढल र पानीको निकास :  सडक बिग्रिने मुख्य कारण पानी हो। वातावरणमैत्री सडकमा वर्षाको पानीलाई सुरक्षित तरिकाले बगेर जान दिनका लागि प्राकृतिक खोल्साहरूसँग जोडेर पक्की नाली र कल्भर्टहरूको निर्माण गरिन्छ।

श्रममा आधारित प्रविधि :  ठूला हेभी इक्विपमेन्ट (जस्तैः एक्साभेटर, डोजर) को कम प्रयोग गरी स्थानीय कामदारहरूको प्रयोगमा जोड दिइन्छ। यन्त्रको कम्पनले पहाड थर्किने र पहिरो जाने जोखिम हुन्छ, जबकि मेसिनको सन्तुलित प्रयोग र मानव श्रमले जमिनको प्राकृतिक बनावटलाई कम नोक्सान पुर्‍याउँछ।

हरित सडक र जैविक विविधता :  वातावरणमैत्री वा हरित सडकको अवधारणा केवल प्रदूषण कम गर्ने र दिगो सामग्रीको प्रयोग गर्ने कुरामा मात्र सीमित छैन; यसले जैविक विविधता (बायोडाइभर्सिटी)को संरक्षणमा पनि अत्यन्तै महŒवपूर्ण भूमिका खेल्छ। परम्परागत रूपमा सडक वा राजमार्गहरू निर्माण गर्दा जंगल र जनावरहरूको प्राकृतिक बासस्थान टुक्रिने गर्छ। यसले गर्दा वन्यजन्तुको स्वतन्त्र आवतजावतमा ठूलो अवरोध पुग्छ, उनीहरू खाना र पानीको खोजीमा निस्कँदा गाडीको ठक्करबाट मारिने जोखिम बढ्छ। लामो समयसम्म एउटै बगालमा मात्र खुम्चिँदा उनीहरूको वंशाणुगत विविधतामा समेत ह्रास आउँछ।

यी समस्याको सम्बोधन गर्न आधुनिक हरित सडकहरूमा वन्यजन्तुमैत्री पूर्वाधारहरू निर्माण गरिन्छन्। इकोडक्ट्स वा वन्यजन्तु ओभरपास र अन्डरपास। राजमार्गको माथिबाट निर्माण गरिएका पुलहरूमा माटो राखेर, घाँस र रुखबिरुवा रोपेर हुबहु जंगल जस्तै बनाइन्छ। जसबाट मृग, भालु, बाघजस्ता जनावर सुरक्षित रूपमा सडक पार गर्न सक्छन्। यस्तै, सडकमुनिबाट बनाइएका सुरक्षित बाटोहरू, जसले साना स्तनधारी जनावर वा उभयचर प्राणीहरूलाई बाटो काट्न मद्दत गर्छन्। स्विट्जरल्यान्ड, अस्ट्रिया र क्यानडाजस्ता देशले यस्ता पूर्वाधार निर्माण गरेर सडक दुर्घटनामा हुने वन्यजन्तुको मृत्युदरलाई ९० प्रतिशतभन्दा बढी घटाउन सफल भएका छन्।

हरित सडकमा रुखबिरुवा :  वातावरणमैत्री सडक भन्नासाथ सडकको बीच भाग (डिभाइडर) र दुवै किनारमा गरिने वृक्षरोपण मात्र होइन, प्राविधिक कुराहरू (जस्तैः सोलार प्यानल वा स्मार्ट सेन्सर) पनि सँगै आउँछन्। हरियाली त सडकको मुटु नै हो, जसले वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ।

क) वायु प्रदूषण र धुलो नियन्त्रण :  सडकमा गुड्ने गाडीहरूले प्रशस्त मात्रामा कार्बन डाइअक्साइड, नाइट्रोजन अक्साइड र धुलोका मसिना कणहरू फाल्छन्। किनारमा रोपिएका रुखहरूले यी हानिकारक ग्यास र धुलोलाई स्पन्जले जस्तै सोस्ने काम गर्छन् र सहरलाई शुद्ध अक्सिजन प्रदान गर्छन्।

ख) ध्वनि प्रदूषणबाट बचाऊ :  गाडीको इन्जिन र हर्नको चर्को आवाज बस्तीसम्म पुग्न नदिन रुखहरूले प्राकृतिक पर्खालको काम गर्छन्। बाक्लो पात र हाँगाबिँगा भएका रुखहरूले ध्वनिका तरंगहरूलाई छेक्ने र सोस्ने गर्छन्, जसले वातावरण शान्त रहन्छ।
ग) तापक्रम सन्तुलन :  कालो अलकत्राले घामको तापलाई धेरै सोस्छ र वरपरको तापक्रम ह्वात्तै बढाउँछ। तर सडक किनारका रुखहरूको छहारीले सडकलाई धेरै तात्नै दिँदैन। यसले गर्दा सडक छिटो बिग्रिन पाउँदैन र पैदल यात्रुलाई पनि शीतल हुन्छ।
घ) सडक सुरक्षा र दुर्घटना न्यूनीकरण :  तपाईंले याद गर्नुभएको होला, सडकको बीचको डिभाइडरमा प्रायः होचा र बाक्ला झाडीदार बिरुवाहरू रोपिन्छन्। यसको मुख्य कारण रातिको समयमा विपरीत दिशाबाट आउने गाडीको हेडलाइटको चमकले चालकको आँखा नतिर्मिराओस् र दुर्घटना नहोस्।
ङ) कस्ता प्रजातिका रुखहरू रोपिन्छन् ? :  हरित सडकमा जथाभावी रुख रोपेर हुँदैन। यसका लागि विशेष गुण भएका रुखहरू छानिन्छन्। पहिलो, धेरै अक्सिजन दिने र धुलो सोस्ने पीपल, वर, नीम, स्वामी, अर्जुन र अशोकजस्ता रुखहरू जो हावा शुद्धीकरण गर्न उत्कृष्ट मानिन्छन्। दोस्रो, बलियो र गहिरो जरा भएका जसमा हावाहुरी चल्दा ढलेर सडक अवरुद्ध नहोस् भनेर गहिरो जरा जाने रुखहरूलाई प्राथमिकता दिइन्छ। तेस्रो, सौन्दर्य बढाउने जस्तै मौसमअनुसार फूल फुल्ने रुखहरू (जस्तै, ज्याकारान्डा, गुलमोहर, लालुपाते)ले सडकको सौन्दर्य बढाउँछन् र चालकको मानसिक थकानसमेत कम गराउँछन्।

समग्रमा भन्नुपर्दा, सडकको हरियालीबिना कुनै पनि सडकलाई पूर्ण रूपमा ‘इको–फ्रेन्डली’ मान्न सकिँदैन। यो प्रकृतिको फोक्सो हो, जसले सडकलाई सास फेर्न सिकाउँछ।

२. निर्माणमा प्रयोग हुने वातावरणमैत्री सामग्रीहरू
प्लास्टिकको प्रयोग :  सडक कालोपत्रे गर्दा अलकत्रासँगै खेर गएका र प्रशोधन गरिएका प्लास्टिक र टायरका टुक्राहरू मिसाइन्छ। यसले प्लास्टिक प्रदूषण घटाउँछ र सडकलाई पानीबाट हुने क्षतिबाट जोगाउँछ।

पुनर्चक्रित सामग्री :  पुरानो भत्किएको सडकको कालोपत्रे वा कंक्रिटलाई नै प्रशोधन गरेर वातावरणमैत्री उक्त सामग्री नयाँ सडक निर्माणमा प्रयोग गरिन्छ।
फ्लाई एस :  कोइलाबाट चल्ने उद्योगहरूबाट निस्कने खरानी (फ्लाई एस)लाई सिमेन्टको विकल्प वा मि   श्रणको रूपमा प्रयोग गरिन्छ, जसले कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ।

स्थानीय सामग्रीको अधिकतम प्रयोग :  टाढाबाट इँटा वा सिमेन्ट ढुवानी गर्दा लाग्ने इन्धन र प्रदूषण कम गर्न सडक निर्माणस्थलकै वरपर पाइने ढुंगा र माटोको प्रयोग गरिन्छ।

३. वातावरणमैत्री सडकका फाइदाहरू
पर्यावरणीय सुरक्षा :  रुखबिरुवा नकाटिने, पहिरो नजाने र भूक्षय कम हुने भएकाले स्थानीय पर्यावरण र जैविक विविधताको संरक्षण हुन्छ।

दीर्घकालीन रूपमा सस्तो :  सुरुआती निर्माणमा केही बढी योजना र समय लागे पनि, यस्ता सडकहरू छिटो नभत्किने हुनाले मर्मतसम्भार खर्च धेरै कम हुन्छ।

रोजगारी सिर्जना :  मेसिनको सट्टा स्थानीय श्रमको प्रयोग गरिने हुँदा गाउँमै रोजगारीको अवसर सिर्जना हुन्छ र गरिबी निवारणमा मद्दत पुग्छ।
जलस्रोतको संरक्षण :  जथाभावी माटो नफालिने हुँदा नदीनाला र खोला पुरिँदैनन् र प्राकृतिक पानीका मुहानहरू सुरक्षित रहन्छन्।

४. नेपालमा यसको कार्यान्वयन र चुनौतीहरू
नेपालमा विशेषगरी ग्रामीण सडक निर्माणमा ‘हरित सडक अवधारणा’ निकै उपयोगी मानिएको छ तर चुनौती पनि छन् : –

डोजर आतंक :  गाउँगाउँमा इन्जिनियरिङ अध्ययनबिना नै छिटो सडक खन्न डोजर र एक्साभेटरको प्रयोग गर्ने प्रवृत्तिले यस अवधारणालाई ओझेलमापारेको छ।

जनचेतना र बजेटको अभाव :  धेरैलाई लाग्छ कि डोजरले खनेको सडक सस्तो पर्छ। तर, दीर्घकालीन क्षति हिसाब गरिँदैन। साथै, बायो–इन्जिनियरिङका लागि आवश्यक प्राविधिक ज्ञानको कमी पनि छ। अनि, बजेट सडकका लागि छुट्ट्याइए पनि वातावरणमैत्री सडक बनाउन छुट्ट्याइँदैन।

संक्षेपमा भन्नुपर्दा, वातावरणमैत्री सडक निर्माण केवल बाटो बनाउने काम मात्र होइन, यो प्रकृति, स्थानीय अर्थतन्त्र र दिगो विकासलाई सँगसँगै लैजाने एक समग्र इन्जिनियरिङ कला हो। यद्यपि, नेपालमा ‘हरित सडक अवधारणा’को प्रयोग हुँदै नभएको भने होइन। तर जति र जसरी हुनुपथ्र्यो, त्यो छैन, छँदैछैन। खासगरी, यो अवधारणा ग्रामीण तथा पहाडी क्षेत्रहरूमा निकै सफल र प्रभावकारी मानिएको छ। यस अवधारणाअन्तर्गत निर्माण गरिएका र वातावरण संरक्षणको हिसाबले नमुना मानिएका केही प्रमुख सडक आयोजना यस प्रकार छन् : –

१. लामोसाँघु–जिरी सडक :  नेपालमा हरित सडक वा वातावरणमैत्री पहाडी सडकको सबैभन्दा पुरानो र सफल नमुना ‘लामोसाँघु–जिरी सडक’लाई मानिन्छ। सन् १९८५ मा स्विस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यस सडकमा पहिलो पटक व्यापक रूपमा ‘बायो–इन्जिनियरिङ’ प्रविधिको प्रयोग गरिएको थियो। सडकको भित्ता भत्किन नदिन ग्याबिन तारजालीमा ढुंगा भर्ने र खाली ठाउँमा रुखबिरुवा तथा घाँस रोप्ने काम गरिएको थियो। जसका कारण दशकौं बितिसक्दा पनि यो सडकमा पहिरो जाने र सडक अवरुद्ध हुने समस्या अन्य पहाडी राजमार्गको तुलनामा निकै कम छ।

२. बीपी राजमार्ग :  यो राजमार्ग पहाडी इन्जिनियरिङ र वातावरणको उत्कृष्ट संगम मानिन्छ। जापानी सहयोग नियोग (जाइका)द्वारा निर्मित सिन्धुली–बर्दिबास (बीपी राजमार्ग) सडकलाई नेपालको उत्कृष्ट ‘इको–फ्रेन्डली’ सडक मानिन्छ। जसलाई वातावरणमैत्री मानिनुका मुख्य आधार यसप्रकार छन् : –
व्यापक बायो–इन्जिनियरिङ :  यो सडकको सबैभन्दा ठूलो विशेषता भनेको यसको दायाँ–बायाँका भिराला पाखाहरूमा गरिएको बायो–इन्जिनियरिङ हो। सडक खन्दा निस्किएको माटोलाई पहिरो जान नदिन त्यहाँ स्थानीय हावापानी सुहाउँदो अम्रिसो, बाबियो, खस्र्यु र अन्य गहिरो जरा जाने घाँस तथा बुट्ट्यानहरू रोपिएका छन्।

भौगर्भिक सन्तुलन र न्यूनतम विस्फोट :  पहाड फोड्न ठूला विस्फोटक पदार्थको प्रयोग गर्दा पूरै पहाड हल्लिने र पछि पहिरो जाने जोखिम हुन्छ। तर बीपी राजमार्ग निर्माण गर्दा विस्फोटक पदार्थको एकदमै न्यूनतम प्रयोग गरियो। पहाडको प्राकृतिक स्वरूपलाई नबिगारी, डाँडाको घुम्तीहरूलाई नै पछ्याएर सडकको डिजाइन गरिएको थियो।
पानीको उत्कृष्ट निकास : पहाडी सडकको सबैभन्दा ठूलो शत्रु भनेकै भेल र पानी हो। यस सडकमा पानीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न ‘क्यासकेडिङ ड्रेन’ (भर्‍याङजस्तो नाली), फ्रेन्च ड्रेन र कल्भर्टहरूको उत्कृष्ट सञ्जाल बनाइएको छ। यसले गर्दा भारी वर्षा हुँदा पनि सडकको पानीले तलका बस्ती वा खेतबारीमा कटान गर्दैन।

कटिङ र फिलिङको सन्तुलन :  नेपालमा सडक खन्दा निस्किएको माटो र ढुंगा सिधै भिरबाट तल खसाल्ने चलन छ, जसले तलको जंगल र नदीनाला नष्ट गर्छ। तर बीपी राजमार्गमा सडक खन्दा निस्किएको माटो र ढुंगालाई फालिएन; त्यसैलाई पेलेर सडकको तल्लो भाग भर्न र पर्खाल लगाउन प्रयोग गरियो।
क्रिब वाल र ग्याबियन पर्खाल :  ज्यादै भिरालो र पहिरो गइरहने ठाउँमा जापानी प्रविधिको ‘क्रिब वाल’ (कंक्रिटका फ्रेमहरू बनाएर त्यसमा ढुंगा र माटो भर्ने प्रविधि) प्रयोग गरिएको छ। यसले पानी पनि तर्काउँछ र त्यहाँ बिरुवा पनि उम्रिन सक्छ।

३. प्लास्टिक सडक :  ‘ग्रीन रोड नेपाल’को प्रयासमा सडक निर्माणमा नवीनतम वातावरणमैत्री प्रविधिको प्रयोग गरिएको छ। जसले फोहोर प्लास्टिकलाई प्रशोधन गरेर सडक कालोपत्रे गर्ने कामको सुरुवात गरेका छन्। विशेषगरी पोखरा तथा आसपासका क्षेत्रहरूमा खेर गएका र प्रशोधन गरिएका प्लास्टिकका टुक्राहरूलाई अलकत्रासँग मिसाएर सडक निर्माणमा प्रयोग गर्न थालिएको छ। यसले एकातिर सहरको प्लास्टिक प्रदूषण घटाउन मद्दत गरेको छ भने अर्कोतिर सडकलाई पानीबाट हुने क्षतिबाट जोगाएर यसको आयु बढाएको छ।

४. सडक विभागको ‘जलवायु अनुकूलित सडक’ अभियान : 
नेपाल सरकारको सडक विभागले पनि पछिल्लो समय सडक पूर्वाधार निर्माणमा ‘क्लाइमेट रेजिलेन्स’ (जलवायु अनुकूलन) र हरित मार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। काठमाडौंलगायतका सहरी क्षेत्रमा सडक विस्तारसँगै अनिवार्य रूपमा वृक्षरोपण गर्ने र लुम्बिनी प्रदेशअन्तर्गत बाँकेमा सञ्चालित अभियानले ‘हरित सडक अभियान’ सुरु गरेका छन्।

यी उदाहरणहरूले के देखाउँछन् भने यदि सही इन्जिनियरिङ र ‘सिटिजन साइन्स’का रूपमा स्थानीय समुदायको ज्ञानलाई सँगै मिलाएर लगियो भने नेपालको कठिन भौगोलिक अवस्थामा पनि दिगो र सुरक्षित सडक निर्माण गर्न सम्भव छ।

विश्वका उत्कृष्ट १० ‘इको–फ्रेन्डली’ सडक

विश्व आर्थिक मञ्चको वार्षिक ‘ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट’ अन्तर्गतको ‘रोड क्वालिटी इन्डेक्स’ले विश्वभरका सडकको भौतिक र प्राविधिक गुणस्तर मापन गर्छ, जसमा सिंगापुर, नेदरल्यान्ड्स र स्विट्जरल्यान्ड सधैं शीर्ष स्थानमा पर्छन्। नवीनतम वातावरणीय परियोजनाहरू जस्तै, नेदरल्यान्ड्सको ‘सोलर (सोला) रोड’ र स्विडेनको ‘ई–रोड आर्लान्डा’ जस्ता विश्वमै पहिलो पटक परीक्षण र सफल भएका परियोजना छन्। यिनै तथ्य, तथ्यांकका आधार र अनुसन्धानहरूलाई टेकेर विश्वका १० उत्कृष्ट देशको यात्रा गरौं, जसले परम्परा भत्काएर दिगो भविष्यको नयाँ मार्ग कोरे।

१. नेदरल्यान्ड्समा सडकबाटै बिजुली :  साइकल र हरियालीको सन्दर्भमा नेदरल्यान्ड्स अगाडि छ। डच सरकारको पूर्वाधार तथा जल व्यवस्थापन मन्त्रालयको तथ्यांक हेर्ने हो भने यहाँ बन्ने नयाँ राजमार्गहरूमा अत्यधिक मात्रामा ‘रिसाइकल’ गरिएको कालोपत्रे प्रयोग गरिन्छ। जसले नयाँ अलकत्रा र गिट्टीको दोहन कम गर्छ। नेदरल्यान्ड्सलाई विश्वकै उत्कृष्ट सडक बनाउने मूल विषय अर्कै छ।

कल्पना गर्नुहोस् त, तपाईं सडकमा हिँडिरहनुभएको छ र त्यो सडकले बिजुली उत्पादन गरिरहेको छ ! हो, नेदरल्यान्ड्सको ‘सोलर रोड’ परियोजनाले यही चामत्कारिक काम गरेको छ। क्रोमनी भन्ने सहरमा सन् २०१४ मा विश्वकै पहिलो सौर्य प्यानल जडित साइकल लेन बनाइयो। जुन सडकले घामबाट ऊर्जा लिन्छ र नजिकैका घरहरू र सडक बत्तीहरूलाई बिजुली दिन्छ। बाढी र पानी जम्ने समस्याबाट बच्न डच इन्जिनियरहरूले बनाएको पानी सोस्ने प्रणाली त झनै उत्कृष्ट छ। प्रकृतिलाई नबिगारी आधुनिकता अँगाल्ने नेदरल्यान्ड्स साँच्चै प्रेरणादायी देश हो।

२. सिंगापुरमा स्पञ्ज, एआई र स्मार्ट सेन्सरहरू :  विश्व आर्थिक मञ्चको रिपोर्ट हेर्ने हो भने सडकको गुणस्तरमा सिंगापुरले विश्वमै सबैभन्दा उच्च अंक (६.५/७.०) पाएको छ। सानो तर अति नै विकसित टापु राष्ट्र यसले सडकलाई कसरी वातावरणमैत्री बनाउन सकिन्छ भनेर विश्वलाई सिकाएको छ। सिंगापुरको ‘ल्यान्ड ट्रान्सपोर्ट अथोरिटी’ले सडक निर्माणमा विशेष प्रकारको ‘पोरस अस्फाल्ट’को अनिवार्य प्रयोग गराउँछ।

सिंगापुरमा भारी वर्षा हुन्छ। तर यो विशेष कालोपत्रेले पानीलाई सडकमा जम्न नदिई स्पन्जले जस्तै तुरुन्तै सोसेर ढलमा पुर्‍याउँछ। जसले गाडी चिप्लिएर हुने दुर्घटना कम गर्छ। अर्को, यसले गाडीका टायर र सडकबीचको घर्षणबाट निस्कने चर्को आवाजलाई दबाइदिन्छ, जसले सहरलाई शान्त राख्छ।  सिंगापुरले सहरभरि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जडित ‘स्मार्ट सेन्सर’हरू राखेको छ, जसले ट्राफिक जाम हुन दिँदैन। गाडी जाम नभएपछि इन्धन कम जल्छ र धुवाँ पनि कम निस्कन्छ।

३. स्विडेनमा ई–रोड आर्लान्डाले जादुयी सडक :  स्विडेनले यातायातको क्षेत्रमा सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ। सुन्दा असम्भव जस्तो लागे पनि स्विडेनको सडक निर्माण विभाग ‘ट्राफिक भर्केट’ले यसलाई सम्भव बनाउँदैछ। स्विडेनले विद्युतीय सडकको अवधारणालाई सन् २०१८ मै वास्तविकतामा परिणत गरिसकेको छ– स्टकहोम नजिकैको ‘ई–रोड आर्लान्डा’ परियोजना। यो यस्तो जादुयी सडक हो, जहाँ विद्युतीय ट्रक वा कार गुड्दागुड्दै आफैं चार्ज हुन्छन्।

सडकको बीचमा रेलको लिक जस्तै ट्र्याक बिछ्याइएको हुन्छ, जसबाट गाडीको तल्लो भागमा जोडिएको यन्त्रले बिजुली तान्छ। गाडी रोकिएपछि वा बाटो काटेपछि यो ट्र्याकमा करेन्ट प्रवाह हुन बन्द हुन्छ, त्यसैले यो पूर्णरूपमा सुरक्षित छ। जुन प्रविधिले अब विद्युतीय गाडीहरूमा ठूला र भारी ब्याट्री बोक्नुपर्ने झन्झट हटेको छ। ब्याट्री उत्पादन घटाउनु भनेको प्रकृति दोहनलाई सिधै रोक्नु हो। स्विडेनको यो कदम भविष्यको यातायातको साँचो तस्बिर हो।

४. स्विट्जरल्यान्डमा अकोस्टिक अस्फाल्ट’ र इकोडक्टस् :  स्विट्जरल्यान्डको प्राकृतिक सौन्दर्य र पूर्वाधार दुवै विश्वप्रसिद्ध छन्। स्विस फेडरल रोड्स अफिसले सडक बनाउँदा मानिसको सुविधासँगै जनावरहरूको अधिकारलाई पनि उत्तिकै सम्मान गर्छ। पहाड र जंगल छिचोलेर राजमार्गहरू बनाउँदा जनावरहरूको बासस्थान टुक्रिने र उनीहरू गाडीको ठक्करबाट मारिने जोखिम घटाउन सयौं वन्यजन्तु कोरिडोर (इकोडक्ट्स) निर्माण गरेको छ। जहाँ रुखबिरुवा रोपेर ठ्याक्कै जंगल जस्तै बनाइएको हुन्छ।

साथै, सुन्दर आल्प्स पर्वतका उपत्यकाहरूमा गाडीको आवाज गुञ्जिएर हुने ध्वनि प्रदूषणलाई रोक्न स्विस इन्जिनियरहरूले विशेष किसिमको ‘अकोस्टिक अस्फाल्ट’ प्रयोग गर्छन्। यसले आवाजलाई सोस्छ र प्रकृतिको शान्तिलाई कायमै राख्छ। विकास र प्रकृतिको सुन्दर सहअस्तित्व स्विट्जरल्यान्डबाहेक विरलै देख्न पाइन्छ।

५. फ्रान्समा वाट–वे र स्मार्ट मेन्टेनेन्स :  फ्रान्स कला, फेसन र रोमान्सको देशमात्र होइन, इन्जिनियरिङमा पनि उत्तिकै अब्बल छ। पारिस्थितिक संक्रमण मन्त्रालय र निर्माण कम्पनी ‘कोलस ग्रुप’ मिलेर सडकलाई नै ऊर्जाको पावरहाउस बनाउने सपना देखेका छन्।

फ्रान्सको नोर्मान्डीमा उनीहरूले ‘वाट–वे’ नामक विश्वकै पहिलो सोलार प्यानल जडित मोटरबाटोको परीक्षण गरे। यो यस्तो पातलो र बलियो सौर्य प्यानल हो, जसलाई सिधै सडकको सतहमा टाँस्न सकिन्छ र त्यसमाथि १८–पाङ्ग्रे भारी ट्रकहरू गुड्दा पनि टुट्दैन। यद्यपि सुरुवाती दिनमा केही प्राविधिक चुनौती आए तर फ्रान्सले यसलाई निरन्तर सुधार गरिरहेछ। फ्रान्सले ‘स्मार्ट मेन्टेनेन्स’ प्रणाली पनि लागू गरेको छ। सडक भत्किएर ठूला मेसिन र अलकत्रा बोकेर जानुअघि नै सडकमा जडान गरिएका सेन्सरले कुन ठाउँमा मर्मत आवश्यक छ भनेर पूर्वसूचना दिन्छन्। यसरी थोरै मर्मतले काम चल्छ र अनावश्यक कार्बन उत्सर्जन रोकिन्छ।

६. जापानमा थोत्रा प्लाष्टिकबाट बाटो र चार्जिङ स्टेसन : 
भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपहरू झेलिरहने देश जापानको पूर्वाधार मन्त्रालयले सडक बनाउँदा अत्यन्तै टिकाउ र लामो समयसम्म खप्ने प्रविधिको प्रयोग गर्छ। अचेल वातावरणलाई केन्द्रमा राख्दैछ। विश्वभर ठूलो टाउको दुखाइ बनेको प्लास्टिक प्रदूषण जापानले भने सदुपयोग गर्दै सडकमा बिछ्याउँछ।

फालिएका प्लास्टिकका बोतल र झोलाहरूलाई पगालेर अलकत्रामा मिसाउने प्रविधि सफलतापूर्वक लागू गर्छ जापान। यस्ता सडक धेरै बलियो हुन्छन्, पानीले कम बिगार्छ र आयु पनि लामो हुन्छ। एकातिर प्लास्टिकको फोहोर व्यवस्थापन हुने, अर्कोतिर सडक पनि बलियो बन्ने। जापानले देशभरि विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसनहरूको यति बाक्लो सञ्जाल बिछ्याएको छ कि मानिसहरू पेट्रोलपम्प खोज्नभन्दा चार्जिङ स्टेसन भेटाउन सजिलो मान्छन्।

७. डेनमार्कमा कार छोडेर साइकल जहाँ छ ग्रिनवेज : 
डेनमार्कको सडक मोडल अलि फरक र निकै प्रेरणादायी छ। डेनमार्कको सडक निर्देशनालयको मुख्य उद्देश्य सडक फराकिलो बनाएर धेरै कार गुडाउने होइन, बरु मानिसलाई कार छोडेर साइकल वा सार्वजनिक यातायात प्रयोग गर्न प्रेरित गर्ने हो। कोपेनहेगनजस्ता सहरहरूमा हेर्ने हो भने कार गुड्ने बाटोभन्दा साइकल गुड्ने बाटो फराकिला र सुविधायुक्त छन्।

मोटरबाटोहरूसँगै समानान्तर रूपमा हरियालीले भरिएका ‘ग्रिनवेज’ निर्माण गरिएका छन्। यी लामा साइकल लेनहरू हुन्, जहाँ साइकल यात्रीहरूले ट्राफिक जाम र धुवाँधुलोको सामना नगरी छिटो गन्तव्यमा पुग्न सक्छन्। कारको प्रयोग घटेपछि सडक भत्किने दर कम हुन्छ, सडक मर्मतमा लाग्ने कार्बन उत्सर्जन जोगिन्छ र सहरको हावा एकदमै सफा हुन्छ। पूर्वाधारले नै मानिसको बानी बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, डेनमार्क।

८. संयुक्त अरब इमिरेट्स (यूएई)मा रबरइज्ड अस्फाल्टः मरुभूमिको तातो बालुवा र प्रचण्ड गर्मी हुने यूएईको नाम यो सूचीमा देख्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर यूएईको ऊर्जा तथा पूर्वाधार मन्त्रालयले दिगो विकासमा गरेको लगानी लोभलाग्दो छ। खाडी मुलुकको अत्यधिक गर्मीमा सामान्य अलकत्रा पग्लेर सडक बिग्रिने ठूलो समस्या हुन्छ। यसको समाधान गर्न यूएईले काम नलाग्ने पुराना टायरहरूलाई धुलो बनाएर अलकत्रामा मिसाउन थालेको छ। यसरी बनेको ‘रबरइज्ड अस्फाल्ट’ले गर्मीलाई सजिलै थेग्छ र सडकको आयु कैयौं वर्ष बढाइदिन्छ।

यसरी, मरुभूमिमा जताततै फालिने हजारौं टन रबरको फोहोर व्यवस्थापन भएको छ। अर्कोतर्फ, यूएई (विशेषगरी दुबई र अबुधाबी)ले सडकमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ट्राफिक लाइटहरू राखेको छ। यी लाइटहरूले गाडीको चाप हेरेर आफैं हरियो वा रातो बत्ती बाल्छन्। जसले गाडीहरू चोकमा लामो समय रोकिनु पर्दैन र हावामा फालिने विषाक्त धुवाँको मात्रा उल्लेख्य रूपमा घट्छ।

९. दक्षिण कोरियाका डिभाइडरमाथि सौर्य प्यानलको छाना :  दक्षिण कोरियाले परम्परागत सडकलाई केवल यात्रा गर्ने माध्यमबाट परिणत गरेर ऊर्जा उत्पादन र सक्रिय गतिशीलताको हब नै बनाइदिएको छ। दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले अघि सारेका परियोजनाहरू विश्वकै लागि उदाहरण बनेका छन्।

सबैभन्दा सुन्दर नमुना दाएजियोन र सेजोङ सहर जोड्ने राजमार्ग हो। यो राजमार्गको बीच भागमा (जहाँ सामान्यतया डिभाइडर हुन्छ) एउटा सुरक्षित साइकल लेन बनाइएको छ। लेनको ठीक माथि सौर्य प्यानलहरूको लामो छाना राखिएको छ। यसले एकातिर साइकल यात्रीलाई घाम र पानीबाट बचाउँछ भने अर्कोतिर त्यसबाट उत्पादित बिजुलीले राजमार्गमा बत्तीहरू बाल्न र नजिकैको ग्रिडमा ऊर्जा आपूर्ति गर्न मद्दत गर्छ। सडकको खेर गइरहेको खाली ठाउँलाई बहुउद्देश्यीय र वातावरणमैत्री तरिकाले प्रयोग गर्ने दक्षिण कोरियाको दूरदृष्टि तारिफयोग्य छ।

१०. अस्ट्रियामा आस्फिनाग र ग्रीन ब्रिजहरू :  युरोपको मुटुमा रहेको अस्ट्रिया एक प्रमुख ‘ट्रान्जिट’ देश हो, जहाँबाट दैनिक हजारौं अन्तर्राष्ट्रिय ट्रक र कारहरू ओहोरदोहोर गर्छन्। यति धेरै व्यस्त सडक सञ्जाल भए तापनि अस्ट्रियाले आफ्नो जैविक विविधतालाई जोगाउन ठूलो संघर्ष गरेको छ। अटोबान (राजमार्ग) सञ्चालक कम्पनी ‘आस्फिनाग’ले वातावरण संरक्षणलाई सधैं पहिलो प्राथमिकतामा राख्ने गरेको छ। यहाँका राजमार्गहरू पार गर्न ठाउँ–ठाउँमा ठूला ‘ग्रीन ब्रिज’हरू बनाइएका छन्।

यी पुलहरू सिमेन्टका मात्र हुँदैनन्, त्यसमा माटो राखेर, घाँस र बुट्ट्यानहरू रोपेर जंगलको बाटो जस्तै बनाइएको हुन्छ। जसले जंगली जनावरहरू सुरक्षित ओहोरदोहोर गर्न पाउँछन्। अस्ट्रियाले सडक कालोपत्रे गर्दा मौसम–प्रतिरोधी विशेष रसायनहरू मिसाउँछ, जसले सडक छिटो बिग्रिँदैन। सडक छिटो नबिग्रिनु भनेको पटक–पटक डोजर र रोलरहरू ल्याएर मर्मत गरिरहनु नपर्नु हो, जसले निर्माण कार्यबाट हुने प्रदूषणमा भारी कटौती भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.