‘फुट्ने होइन, जुट्ने अनेसासको परिकल्पनामा छु’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी नेतृत्वका लागि विश्वभर छरिएका स्रष्टाहरूमाझ चुनावी तरंग छचल्किएको छ। नेपाली भाषा र सिर्जनाको यस विशाल रथको प्रमुख सारथि बन्न, अमेरिकाको कर्मभूमिबाट लालगोपाल सुवेदीले अध्यक्ष पदमा आफ्नो दरिलो पाइला अघि बढाएका छन्। व्यक्तिभन्दा संस्था र पदभन्दा पसिनालाई पुज्ने उनै सुवेदीसँग, अनेसासको आगामी गोरेटो र ‘प्राज्ञिक’ उज्यालो’ आदि विषयमा कमलादेवी गौतमले गरेको अन्तरंग संवादको साहित्यिक सार—
मतदातासामु आफूलाई कसरी चिनाउनु हुन्छ ?
जसको धड्कन नै साहित्य हो। साढे चार दशकदेखि कविताको गोरेटोमा कुदिरहेको मेरो कलमले जीवनभर साहित्यकै हावामा श्वास फेर्यो, जसको साक्षी मेरा दुई दर्जनभन्दा बढी सिर्जना छन्। बीस वसन्त नेपाली भाषा, व्याकरण र साहित्यको सिञ्चनमा बिताएको मैले शैक्षिक र साहित्यिक छहारीबाहेक अन्यत्र एक निमेष पनि पाइला राखिनँ। अमेरिका पुगेपछि ‘अनेसास’ नै मेरो कर्मको एकल तपोभूमि बन्यो।
चुनावको हार–जितलाई वास्तै नगरी केवल निरन्तरताको बाटो हिँडिरहें। अनेसासमा मेरो आगमन कुनै ‘छड्के ढोका’बाट भएको होइन; बरु जिम्मेवारीका एक–एक खुडकला उक्लिँदै, पसिना बगाएर र पाइला खियाएरै यहाँसम्म आइपुगेको हुँ।
अनेसासको अध्यक्ष पदमा उम्मेदवारी दिनुको सबैभन्दा बलियो आधार केलाई ठान्नुहुन्छ ?
मेरो जीवनको सबैभन्दा अभेद्य जग नै ‘नैतिकता’ हो। म बिनापरिश्रम सिधै चुचुरोमा लम्किएको यात्री होइन; बोस्टन च्याप्टरमा महासचिव, उपाध्यक्ष र अध्यक्षको गोरेटो छिचोलेपछि मात्र मेरो पाइला केन्द्रीय तप्कामा उक्लिएको हो। केन्द्रमा दुई वर्ष सचिवको अभिभारा बोकें। त्यसपछि ‘अनेसास दर्पण’मा चार वर्ष र ‘अन्तर्दृष्टि’ पत्रिकामा दुई वर्ष प्रधान सम्पादक बनेर अक्षरहरूको खेती गरें।
अनि, वरिष्ठ उपाध्यक्षको रूपमा अध्यक्षको शान्त छायाँमा बसेर पदलाई भन्दा पसिना र कर्मलाई पुजें। हतारिएर एकैपटक छाना छुने लालसा राखेको भए, मेरो नैतिकताको धरातल पक्कै भासिने थियो। पदीय मर्यादाको लामो भर्याङमा, तल्लो तहदेखि अनुभवका एक–एक खुड्किला टेक्दै र माझिँदै म आजको यो उचाइसम्म आइपुगेको हुँ। किनकि, हतारो होइन, ‘धैर्य’ नै त्यो सञ्जीवनी हो– जसले नैतिकतालाई सधैं सबल, शालिन र अटल राख्छ।
- म छड्के ढोकाबाट आएको होइन; पसिना बगाएर र अनुभवका एक–एक खुडकला टेक्दै आजको यो उचाइसम्म आइपुगेको हुँ।
- आजीवन सदस्यहरू चुनावका ‘भोट बैंक’मात्र होइनन्, उनीहरू त अनेसासरूपी यो विशाल घरका सबैभन्दा शक्तिशाली खम्बा हुन्।
- एउटामात्रै अनुहारलाई पुज्ने ‘व्यक्ति–पूजा’को साँघुरो पर्खाल भत्काएर अब हामीले सामूहिक भावको नयाँ बिहानी ल्याउनैपर्छ।
- प्रवासको बिरानो माटोमा हुर्किएको एउटा बालकले शुद्ध रूपमा आफ्नै मातृभाषाको तोतेबोली फुटाइरहँदा त्यहाँ पनि प्राज्ञिकताको प्राण लुकेको हुन्छ।
- संस्था हाँक्ने सारथिको मुटुमा यसको मूल गन्तव्य र मर्म सधैं धडकनुपर्छ; सिंगो संस्था हाँक्न आजीवन सदस्यरूपी जराहरूसँगको आत्मिक सम्बन्ध कसिलो हुनैपर्छ।
योग्य उम्मेदवार हुनुका आधार केके हुन् ?
(क) तथ्यमा आधारित दीर्घ अनुभव। (ख) नैतिकता। (ग) म होइन हामी भन्ने भावना। (घ) स्पष्ट दृष्टिकोण र दूरदृष्टि। (ङ) सम्बन्धित संस्थाको र गतिविधिमा बाक्लो सहभागिता, अविच्छिन्न निरन्तरता। (च) पदीय मर्यादा र काम, कर्तव्य र अधिकारमा सचेतता। (छ) संस्थाको विधानका बुँदा बुँदाको गहन र मिहीन बुझाइ। सारमा भन्नुपर्दाः संस्था हाँक्ने सारथिको मुटुमा यसको मूल गन्तव्य र मर्म सधैं धडकइरहनुपर्छ।
आफ्नो पदीय धर्म, कर्म र अधिकारको परिधि ऐनाजस्तै छर्लंग बुझेको हुनुपर्छ। कुन–कुन भूमिमा संस्थाका शाखाहरू (च्याप्टरहरू) कुन अवस्थामा हुर्किरहेका छन् भन्ने गहिरो नाडी छामेको हुनुपर्छ। सिंगो संस्थाको विशाल रथलाई हाँक्न, आजीवन सदस्यरूपी मजबुत जराहरूसँगको आत्मिक सम्बन्ध कसिलो बनाउनै पर्छ। जब सबैको ऊर्जा र अठोटलाई एउटै मालामा उनिन्छ, तब मात्र संस्थाको सामूहिक पाइला अजेय बनेर गन्तव्यतिर लम्किन्छ।
अध्यक्ष पदमा विजयी हुनुभयो भने यहाँले गर्ने ठोस काम केके हुन् ?
अनेसासरूपी यस विशाल घरका सबैभन्दा शक्तिशाली खम्बा र प्राण भनेकै ‘आजीवन सदस्य’ हुन्; उनीहरू केवल चुनावका ‘भोट बैंक’ होइनन्। त्यसैले, मेरो पहिलो संकल्प नै हरेक सदस्यको आत्मसम्मानलाई शिरोधार्य गर्नु हुनेछ। संगठनात्मक संरचनामा आजीवन सदस्य, च्याप्टर, केन्द्रीय समिति हुँदै बीओटीसम्मको शक्ति–सन्तुलनलाई हृदयंगम गर्दै हामी यस्तो छहारी निर्माण गर्नेछौं, जहाँ गोलबद्ध हुँदा सबैले गर्व, ज्ञान र मनोरञ्जनको त्रिवेणी भेटून्। पदाधिकारीमा हुने अहंकारको तुवाँलोलाई पूर्णतः चिर्दै हाम्रा सन्ततिले समेत सुगन्ध लिन सक्ने कर्मको फूल फुलाउनेछौं।
हाम्रा सामूहिक संकल्पहरू : –
- १. सभ्यताको संरक्षण : नेपाली भाषा, साहित्य, कला, दर्शन र संस्कृतिका जराहरूलाई मलजल गर्दै यसको मौलिक स्पन्दनलाई सधैं जीवन्त राख्नेछौं।
- २. सद्भावको हातेमालो : सम्पूर्ण सहयात्रीहरूको काँधमा काँध र हातमा हात मिलाएर हाम्रा सिर्जनात्मक अभियानहरूको रथ अगाडि बढाउनेछौं।
- ३. मूल्यांकन र प्रोत्साहन : जनअनुमोदनको कसीमा खरो उत्रिँदै, पसिना र योगदानको गहिराइ नापेर अग्रज तथा सहकर्मीलाई उच्च सम्मान गर्नेछौं र अनुजहरूलाई हौसलाको पखेटा भर्नेछौं।
- ४. ऐनाजस्तो पारदर्शिता : अनेसासको माटोसँग गहिरिएर भिजेका हामी, संस्थाको साखलाई अझ उँचो बनाउँदै हाम्रा हरेक कर्मलाई सिसाजस्तै छर्लंग
- र पारदर्शी राख्नेछौं।
- ५. सिर्जनाको विस्तार : पठन संस्कृतिको दियो बाल्दै, संस्थाकै कोखबाट उत्कृष्ट कृतिहरू जन्माउने र ‘अनुवादको पुल’मार्फत नेपाली साहित्यलाई फराकिलो क्षितिजसम्म पुर्याउनेछौं।
म नभनेर बारबार हामी भन्ने शब्द दोहोर्याई रहनु भएको छ। के तपाईंले छुट्टै टिम पनि बनाएर चुनावमा जाने योजना बनाउनु भएको हो र ?
मैले ‘हामी’ भनिरहँदा, यसले विजेता र उपविजेता दुवैको साझा प्रतिविम्बलाई अँगालेको छ। लोकतन्त्रको यो सुन्दर युगमा ‘हार र पराजय’ जस्ता तिक्त शब्दहरूले हाम्रो शब्दकोशमा ठाउँ पाउनु हुँदैन किनकि यसले मनहरूबीच फाटोको बिउ रोप्छ। अब ‘फुट्ने होइन, जुट्ने’ समय आएको छ, त्यसैले संकल्पलाई हाम्रो मुटुको स्पन्दन बनाउनुपर्छ।
हिजो पछि पर्दा साथीहरूका मनमा लागेका अदृश्य घाउहरूमा स्नेह र सद्भावको मलम लगाउनु हाम्रो पहिलो धर्म हो। संस्थारूपी यो छहारीलाई अझै फराकिलो र विशाल बनाउने हाम्रो अठोट छ किनकि परिवार जति ठूलो हुन्छ, त्यहाँबाट निस्कने कर्मको सुगन्ध त्यति नै भव्य हुन्छ। यही उज्यालो लक्ष्य बोकेर, च्याप्टरहरूका हाँगाबिँगा फैलाउँदै संस्थाको मालामा कम्तीमा एक हजार नयाँ आजीवन सदस्यरूपी सुगन्धित फूलहरू उनेर अघि बढ्ने हाम्रो महाअभियान रहनेछ।
तपाईं आफूलाई कुन अर्थमा पृथक् प्रमाणित गर्न चाहनुहुन्छ ?
अनेसास कुनै एक व्यक्तिको पेवा होइन, यो त एउटा विशाल परिवार र साझा चौतारी हो। यहाँ फल्ने सफलताका फूलहरू सामूहिक पसिनाले फुल्छन्, त्यसैले यसको सुगन्ध (जस) पनि सिंगो समूहकै पोल्टामा जानुपर्छ। एउटामात्रै अनुहारलाई पुज्ने ‘व्यक्ति–पूजा’को साँघुरो र परम्परागत पर्खाल भत्काएर अब हामीले सामूहिक भावको नयाँ बिहानी ल्याउनैपर्छ। त्यसैले भन्छु– मलाई ‘तपाईं’ होइन, कृपया ‘तपाईंहरू’ भनेर सम्बोधन गरिदिनुहोस्; किनकि ‘म’ या ‘तपाईं’ जस्ता एकल शब्दले मलाई असहज बनाउँछ।‘अबको अनेसास, प्राज्ञिक अनेसास’ भन्दै हुनुहुन्छ; के यो नारा साधारण आजीवन सदस्य र आम पाठकको बुझाइभन्दा अलि बढी नै भारी र बौद्धिक भएन र ?
समयको बहावसँगै शब्दहरूले पनि आफ्नो काँचुली फेर्दै जान्छन्। ‘प्राज्ञिक’ भन्नाले केवल गह्रौं अनुसन्धान, मोटा कृति र गम्भीर बौद्धिक बहस मात्र होइन। प्रवासको बिरानो माटोमा हुर्किएको एउटा बालकले शुद्ध रूपमा आफ्नै मातृभाषाको तोतेबोली फुटाइरहँदा त्यहाँ पनि प्राज्ञिकताको प्राण लुकेको हुन्छ। नेपाली बोल्नै नजान्नेले मीठो नेपाली बोल्न सक्नु, भर्खरै अक्षर चिनेर कविता कोर्न थालेको सिकारुले परिपक्व सिर्जनाको पखेटा फिँजाउनु अनि सात समुद्रपारिको जगत्मा पनि हाम्रो मौलिक संस्कार र संस्कृतिको जरा कसिलो गरी गाडिनु नै वास्तवमा ‘प्राज्ञिकता’को सबैभन्दा सुन्दर र सजीव प्रतिविम्ब हो।
प्रतिक्रिया दिनुहोस !