द ग्रेट हिमालय ट्रेल

हिमाली मार्ग

द ग्रेट हिमालय ट्रेल

धेरै कम पदयात्रीले मात्रै पूरै पदयात्रा गरेको नेपालको एक पदयात्रा मार्ग वा भनौं ट्रेकिङ रुटको नाम हो, ‘द ग्रेट हिमालय ट्रेल’। जुन नेपालको सबैभन्दा लामो र साहसिक पदयात्रा हो।

अहिलेसम्म धेरै कम पदयात्रीले मात्रै पूरै पदयात्रा गरेको नेपालको एक पदयात्रा मार्ग वा भनौं ट्रेकिङ रुटको नाम हो, ‘द ग्रेट हिमालय ट्रेल’। तथ्यांकअनुसार यो पदयात्रा मार्गमा अहिलेसम्म जम्मा १३२ जनाको हाराहारीमा मात्रै पदयात्रीले पदयात्रा गरेका छन्। हुन त यो नेपालको सबैभन्दा लामो र साहसिक पदयात्रा मार्ग हो।

‘द ग्रेट हिमालय ट्रेल’ नेपालको मात्रै नभएर विश्वकै लामो अनि साहसिक पदयात्रा मार्ग हो। यो मार्गमा पदयात्रा गर्दा धेरै वटा उच्च हिमाली भन्ज्याङ (पास) पार गर्नुपर्ने हुन्छ। यो विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको र धेरै वटा भन्ज्याङ भएको पदयात्रा मार्ग पनि हो। स्मरणीय छ, यो पदयात्रा मार्गको नेपाल खण्डमा ६ हजार मिटरभन्दा माथिका दुईवटा पास (शेर्पेनी कोल ६,१५५ मिटर र शेर्पेनी कोल वेस्ट ६,१३५ मिटर) छन्।

साथै, पाँच हजार मिटरभन्दा माथिका १८ वटा भन्ज्याङ छन् भने चार हजार मिटरभन्दा माथिका भन्ज्याङ लगभग ४० वटा छन्। त्यसैले उच्च हिमाली भन्ज्याङहरू (४,००० मिटरभन्दा धेरै उचाइ) पार गरेर गरिने पदयात्रा मार्गका रूपमा ‘द ग्रेट हिमालय ट्रेल’ विश्वभरि नै प्रख्यात छ। तीमध्ये पाँच वटा पासहरू प्राविधिक रूपमा एकदमै कठिनाइपूर्ण रहेका छन्, जुन पार गर्नैपर्ने हुन्छ। ती पासहरू हुन् : –

१. शेर्पेनी कोल
२. शेर्पेनी कोल वेस्ट
३. आम्फू लाप्चा पास
४. टासी लाप्चा पास
५. तिलम्यान कोल पास

कहिले सुरु भएको थियो यो मार्ग ? :  ‘ग्रेट हिमालय ट्रेल’ कहिलेदेखि सुरु भएको थियो ? यो प्रश्न उठ्छ नै, र उठाउनु पनि पर्छ। इतिहास हेर्दा ‘ग्रेट हिमालय ट्रेल’मा पदयात्रा गर्ने पहिलो सोच सन् १९८०/८१ तिर सर एडमन्ड हिलारीका छोरा पिटर हिलारीले ल्याएका थिए। पिटर सानै छँदा आफ्ना बुबासँग सन् १९५२/५३ तिर धरान, धनकुटा हुँदै अरुण उपत्यका (अरुण भ्याली) भएर सगरमाथातर्फको पदयात्रामा गएका थिए। सो पदयात्राको अनुभवलाई स्मरण गर्दै पिटर हिलारीले आफू र ग्राएम डिंगल, एसपी स्यामोली/चामोलीसहितको टोली लिएर ‘ग्रेट हिमालय ट्रेल’को केही भागको पदयात्रा गरेका थिए। त्यसपछि नै पिटरले ‘ग्रेट हिमालय ट्रेल’मार्फत नेपालको पूर्व–पश्चिम जोड्ने कुरालाई छलफल र बहसमा ल्याएका थिए।

कसले सुरु गरेका थिए ? :  सन् २००३ मा बेलायतकी रोजी स्वेल–पोपले ‘द ग्रेट हिमालय ट्रेल’को तल्लो भाग (लो रुटमा) ताप्लेजुङदेखि हुम्लासम्म (लगभग १,७०० किलोमिटर) दौडेर ६८ दिनमा पूरा गरेकी थिइन्। उनले ‘नेपाल ट्रस्ट’ नामक गैरसरकारी संस्था (एनजिओ)को सहयोगमा च्यारिटी उठाउने हेतुले सो दौड पूरा गरेकी थिइन्। तर, हिँडेरै पदयात्रा गर्ने हो भने यो दूरी पार गर्न १२० देखि १५० दिनसम्म लाग्छ।

त्यसपछि सन् २००८–२००९ मा अष्ट्रेलियन नागरिक रोबिन बोउस्टेडले ‘द ग्रेट हिमालय ट्रेल’को पदयात्रा गरे। उनले सो पदयात्रा मार्गका बारेमा विस्तृत अध्ययन गरेर किताब नै लेखेका छन्। उनले लेखेको किताबको नाम ‘नेपाल ट्रेकिङ एन्ड द ग्रेट हिमालय ट्रेल’ छ। यसरी हेर्दा अहिलेसम्म जम्मा १३२ जनाको हाराहारीमा पदयात्रीले मात्रै यो पदयात्रा मार्गको पूरै यात्रा गरेका छन् भन्ने लेखिएको छ। यद्यपि, यो पदमार्गलाई खण्ड–खण्ड गरेर लगभग २,००० देखि २,१०० जना पदयात्रीले पदयात्रा गरिसके कि भनी अनुमान लगाउन सकिन्छ।

भौगोलिक फैलावट र पदयात्राका विकल्प :  ‘द ग्रेट हिमालय ट्रेल’को पूरै भाग पदयात्रा गर्ने हो भने, यसको सुरु विन्दु पश्चिममा अफगानिस्तान, पाकिस्तानको मध्यभाग अनि नेपाल, भुटान एवं चीनको स्वशासित तिब्बत प्रान्तको दक्षिण–पूर्वी भाग हुँदै भारतको आसाम राज्यको सीमामा रहेको नाम्चा–बार्वासम्म फैलिएको छ। तर, अहिलेसम्म कुनै पनि पदयात्रीले यसरी सुरु विन्दु अर्थात् अफगानिस्तान, पाकिस्तानदेखि नेपाल, भुटान, तिब्बत हुँदै भारतको नाम्चा–बार्वासम्म लगातार पदयात्रा गरेको थाहा छैन।

त्यसैले यो लेखमा ‘द ग्रेट हिमालय ट्रेल’को नेपाल खण्डको मात्रै चर्चा गरिएको छ। हुन त अझै पनि ‘ग्रेट हिमालय ट्रेल’ को नेपाल खण्डको रुटमा गोरेटो र घोडेटो बाटोहरू राम्रोसँग विकास भइसकेका छैनन् भन्नुपर्ने हुन्छ। उसो त नेपाल खण्डको ‘द ग्रेट हिमालय ट्रेल’ रुटमा पनि हालसम्म 
धेरै कम पदयात्रीहरूले मात्रै ट्रेकिङ पूरा गरेका छन्, जुन माथि नै प्रसंगवश लेखिसकिएको छ।

हुन पनि पदयात्रीहरूको चाहना र सुविधा (सजिलोका) लागि यो पदयात्रा मार्गलाई ‘लोवर’ (तल्लो) एवम् ‘हाइर’ (माथिल्लो) गरी दुई भागमा छुट्ट्याइएको छ। जसले गर्दा ‘हाइर’ पदयात्रा मार्ग (कठिन मार्ग)मा पदयात्रा गर्न नसक्ने पदयात्रीहरूले यो रुटको ‘लोवर’ पदयात्रा मार्ग भए पनि हिँड्न सक्छन्। साथै, समय अभाव हुने वा पूरै यात्रा गर्न नसक्ने/नचाहने पदयात्रीहरूका लागि यसलाई विभिन्न १० वटा उपमार्गमा विभाजन गरिएको छ। जसले गर्दा व्यस्त जीवन र समय अभाव भए पनि आफ्नो जीवनमा विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने दुर्लभ ‘द ग्रेट हिमालय ट्रेल’को रुटमा ट्रेकिङ गरेर मज्जा लिनुका साथै फरक अनुभूति गर्न चाहने पदयात्रीहरूलाई सुविधा पुगेको छ।

लगातार रूपमा पूरै पदयात्रा मार्गमा पदयात्रा गर्दा कम्तीमा पनि १२० देखि १५० दिनसम्म लाग्ने गर्छ। कतिपय पदयात्रीहरूले यसको पूर्वी भेगमा मात्रै, कतिपयले मध्य भेगमा मात्रै, त कतिपयले पश्चिम भेगमा मात्रै पदयात्रा गर्ने गरेका छन्। यसरी कुनै एक भागको मात्रै पदयात्रा गर्न चाहनेहरूको चाहनालाई ध्यानमा राखेर नै ‘द ग्रेट हिमालय ट्रेल’लाई खण्ड–खण्ड र छोटो–छोटो पदयात्रा मार्गमा विभाजन गरिएको हो। अहिलेको व्यस्त जमानामा समय अभाव हुने जो कोहीले पनि आफ्नो सुविधाअनुसार पूर्वी, मध्य वा पश्चिम भेगका छुट्टाछुट्टै पदयात्रा मार्ग रोजेर मज्जा लिन सक्छन्।

दूरी, समय र चुनौतीहरू :  ‘द ग्रेट हिमालय ट्रेल’को १,७५० किलोमिटर लामो नेपाल खण्डको पदयात्रा गर्न कम्तीमा १२० देखि १५० दिनसम्म लाग्छ भन्ने माथि उल्लेख गरिएको छ। यदि कसैले पश्चिमको अफगानिस्तान, पाकिस्तान, नेपाल, भुटान, चीनको तिब्बत प्रान्तको दक्षिण–पूर्वी भाग एवं भारतको आसाम राज्यको सीमामा रहेको नाम्चा–बार्वासम्म हिँडेरै पदयात्रा गर्ने हो भने ४,५०० किलोमिटर लामो यात्रा तय गर्नुपर्ने हुन्छ। जसका लागि कम्तीमा पनि १८५ देखि १९० दिनसम्मको समय छुट्याउनुपर्ने हुन्छ, जुन अहिलेको समयमा सजिलै सम्भव छैन। यसो भनिरहँदा आजको मेसिनभन्दा छिटो कुद्नुपर्ने जमानामा कसले एकैपटक त्यति धेरै (लामो) समय निकाल्न सक्ला र ? भन्ने प्रश्न पनि उठ्छ।

नेपाल खण्डको मात्रै पदयात्रा गर्न लगभग १५० दिनको समय चाहिन्छ। त्यसमा विशेषतः मौसमको पनि ख्याल गर्नुपर्ने हुन्छ। ‘द ग्रेट हिमालय ट्रेल’को ‘हाइर रुट’ हुँदै पदयात्रा गर्ने हो भने पदयात्रीले अप्रिल, मे, जुन, जुलाई, अगस्ट र सेप्टेम्बर महिना नै छुट्ट्याउनुपर्ने हुन्छ। अन्यथा अत्यधिक चिसो र हिउँका कारण बाटो बन्द हुन्छ र पार गर्न सकिँदैन। अर्को मुख्य प्रश्न भनेको अबका दिनमा लगातार डेढ महिनादेखि छ/सात महिनासम्म समय निकाल्न कसले सक्ला ? यो वास्तवमै व्यावहारिक प्रश्न हो। तैपनि, कुनै पदयात्रीले आफ्नो जीवनभरिमा पटक–पटक गरेर (तीन–तीन महिना, छ–छ महिना, वा वर्ष–दुई वर्षको अन्तरालमा) खण्ड–खण्ड गरी यो ट्रेलको पदयात्रा पूरा गर्ने अठोट लिन सक्छ।

भावी सम्भावना र सरकारको भूमिका :  आशा गरौं, भविष्यमा यस पदयात्रा मार्गको पूरै भागमा पदयात्रा गर्न सक्ने गरी विकास गर्न सम्बन्धित निकाय, सरोकारवाला संघ–संस्था एवम् व्यक्तिहरूले सोच बनाउने नै छन्। यस्तो कार्य हुन सकेमा ‘द ग्रेट हिमालय ट्रेल’ विश्वकै लामो, उच्च हिमाली भेगमा गरिने र धेरै वटा उच्च हिमाली भन्ञ्ज्याङ (४,००० मिटरभन्दा माथि) काटेर गरिने पदयात्रा मार्गका रूपमा विश्वभर चिनिनेछ। अफगानिस्तानदेखि भारतको नाम्चा–बार्वासम्मै हिँडेर गरिने पदयात्रा मार्गका रूपमा विकास गर्न सके विश्वभरिका साहसिक पर्यटकहरूलाई अझै पनि आकर्षित गर्न सकिने सम्भावना जीवितै छ।

उक्त कार्यका लागि सम्बन्धित देशका सरकार (अफगानिस्तान, पाकिस्तान, नेपाल, चीन र भारत) एवं पर्यटन व्यवसायीहरूले संयुक्त रूपमा विभिन्न प्याकेज ल्याउन सके ‘सुनमा सुगन्ध’ हुनेछ। त्यसैले आगामी दिनमा यो पदयात्रा मार्गमा पदयात्रा गर्न चाहनेहरूका लागि सम्बन्धित देशका ट्रेकिङ कम्पनीहरूले सोहीअनुसारका प्याकेज बनाएर बेच्ने र प्रचारप्रसार गर्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ। यस कार्यमा नेपाल सरकारले पनि नेपाली ट्रेकिङ कम्पनीहरूलाई ‘ग्रेट हिमालय ट्रेल’का लागि विदेशी पदयात्रीहरू सक्दो धेरै संख्यामा ल्याउन र नेपालको समग्र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी विशेष कार्यक्रम र प्याकेज घोषणा गर्न पहल गर्नुपर्छ। त्यसका लागि सरकारले अलग्गै शीर्षकमा बजेट छुट्याउनु आवश्यक छ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा ‘ग्रेट हिमालय ट्रेल’का लागि छुट्टै बजेट छुट्ट्याएको नदेखिए तापनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत खर्च गर्ने गरी यस मार्गमा पर्ने बाटोघाटो मर्मत र नयाँ पदमार्ग (डाँफे पदमार्ग) निर्माण गरिने कुरा उल्लेख गरेको छ। त्यसअघिका सरकारले भने ‘ग्रेट हिमालय ट्रेल’का लागि छुट्टै बजेट नै विनियोजन गर्ने गरेका थिए। यो पदयात्रा मार्गलाई हरेक सिजनमा एकैपटक पूर्वदेखि पश्चिमसम्म सञ्चालनमा ल्याउन सके नेपालका ग्रामीण क्षेत्रका मानिसहरूको अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्थ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.