थकित घाम
दिनभरि आकाशमा उडेर
गुँड फर्किंदै थियो
तपाईंभन्दा धेरै अग्लो देखिँदै थियो
मेरो अभिमान यत्ति हो कि
मैले तपाईंको छायाँलाई ढोगिनँ
तपाईंले पालेको घोडा
बडो सानका साथ चरिरहेको थियो
मेरो घैयाँबारीमा
मेरो अभिमान यत्ति हो कि
मैले तर्साएर
तपाईंको घोडा लखेटें
सुधीगाईको उपमा पाउँदो हुँ
तपाईंको धानको बोरा बोकेर
आजीवन
तपाईंकै पाइलाहरू हिँडिरहेको भए
मेरो अभिमान यत्ति हो कि
आफ्नो पिँठ्यूमा मैले
आफ्नै मकैको बोरा बोकेर हिँडे
यो भिरको बाटोभरि
यो ढुंगा र माटोभरि
आफ्नै पैतालाका डोबहरू खोपेर हिँडे
म तपाईंको कायासँग डराइनँ
म तपाईंको छायाँसँग डराइनँ
चस्मा कालो सँग
अनि तपाईंको
घोडा, कुकुर र बिरालोसँग डराइनँ
निहुरीमुन्टे नभएर
मैले महाराजको जय होस् भनिनँ
महारानीको जय होस् भनिनँ
मेरो अभिमान यत्ति हो कि
म मेरै बुकुरोको राजा बनें
तपाईंको दरबारको नोकर बनिनँ।
हो हजुर हो तपाईंले
मेरो शिरमा अभिमानीको फेटा गुथाउनुमा
अरू कुनै खास कारण थिएन
कारण एउटै थियो
म आफ्नै मर्जीको पुतली बनें
तपाईंको मर्जीको कठपुतली बनिनँ।
प्रतिक्रिया दिनुहोस !