कक्षाकोठामा नाटक पढाइँदैन मात्र, जीवन बाँच्न सिकाइन्छ। रंगमञ्चले विद्यार्थीलाई अभिनयमात्र होइन, आत्मविश्वास, सहकार्य र मानवीयताको पाठमार्फत केही महसुस गराउँछ।
विश्व एउटा रंगमञ्च हो, हामी सबै त्यसका पात्र हौं। -विलियम शेक्सपियर
यो भनाइ त्यत्तिकै चर्चित भएको होइन रहेछ भन्ने महसुस गर्न पनि बाइस वर्ष यही क्षेत्रमा बिताउनु पर्यो । उतिबेलादेखि नै चर्चित यो भनाइको सार्थकतालाई यसरी खोजौं न। हो, धेरै मानिसलाई नाटक अनि अभिनयमा रुचि छ अहिले। रंगमञ्च दिनप्रतिदिन मानिसको सामान्य दैनिकीसँग जोडिँदै छ। जानेर वा नजानेर हरेक मानिसको अभिनय बिहान उठेदेखि राति नसुतुन्जेलसम्म जारी रहन्छ।
बरु नाटक वा चलचित्रमा हामी ‘फेक’ देखिन थाल्यौं। भोजबाट घाटमा पुग्नु पर्ने परिस्थितिको कल्पना गरौं त। भोजमा हुँदाको पहिरन र उत्साह हामीले आधा बाटोमै छोडेका हुन्छौं घाटमा पुग्दा। भोजमा हुँदाको उत्साह दबाएर हामीमा करुणा जाग्छ। के यति गर्न अभिनय सिक्नु पर्छ ? पञ्चतत्वले बनेको हाम्रो शरीर हामी जन्मिएदेखि नै अभिनयका तत्वहरू हामीसँग छ भन्छन् रसियन लेखक, निर्देशक, अभिनेता तथा प्रशिक्षक माइकल चेखव।
नाटक र अभिनय
हामी विद्यालय जाँदा कहिलेकाहीँ घरबाट रिसाएर गएका हुन सक्छौं तर विद्यालयको ढोकामा टेक्ने बित्तिकै मुस्कुराएर अभिवादन गर्न थाल्छौं। आफूलाई मन पर्ने शिक्षक–शिक्षिका तथा साथीसँग बोल्ने तरिका र मन नपर्ने शिक्षक–शिक्षिका तथा साथीसँग बोल्ने तरिका बेग्लै हुन्छ। हामीलाई मन पर्ने खानेकुरा पाउँदा अनुहारमा बेग्लै चमक हुन्छ। उपहार नपाउँदा उठेको रिस, उपहार पाउनेबित्तिकै मुस्कानमा परिणत हुन्छ।
केही कुरा चाहिएको छ भने अभिभावकलाई कति सजिलै फकाउन सक्छौं। हामी धेरैजसो भित्र उठेको रिस दबाएरै कुनै बेला हाँसिदिन्छौं। हाकिमको व्यवहार पालेसँग बेग्लै हुन्छ, अरू कर्मचारीसँग बेग्लै हुन्छ। भर्खरै कर्मचारीसँग रिसाएको हाकिम पनि तुरुन्तै कोही पाहुना आउँदा आफूलाई बेग्लै खुसी, सहयोगी र असल लिडर प्रमाणित गर्न सफल हुन्छ पालेकै अगाडि। सार्वजनिक रूपमा दयालु देखिने मान्छे खासमा दयालु नहुन सक्छ। सार्वजनिक रूपमा अरूलाई उत्प्रेरणा दिन सक्ने मान्छे दिग्दारीमा बाँचिरहेको हुन सक्छ।
कुनै घटनाले हामीलाई तुरुन्तै रुवाउँछ, तर फेरि हामी तुरुन्तै सम्हालिन पनि सक्छौं। भोजमा एउटा मान्छेसँग बेस्सरी झगडा प¥यो भने अर्कोतिर गएर तुरुन्तै आफूलाई सम्झाउने अर्को मान्छेसँग मेलमिलापको कुरा गर्छौं। हाम्रा दिनचर्यालाई ख्याल गरौं, अभिनय त्यहीँ छ।
औपचारिकता पूरा गर्नकै लागि भए पनि टाउको वा पेट दुखिरहेको बेलामा समेत हामी मुस्कुराइदिन्छौं। भविष्यमा हामी जुनसुकै पेसा वा क्षेत्रमा पुगे पनि अभिनय बाँचिरहेका हुनेछौं। यस सन्दर्भमा फिल्म निर्देशक मनोज पण्डित भन्छन्, ‘हामी हरेक क्षण अभिनय गरिरहेका हुन्छौं। त्यही भएर संसारमा यो पेसा यति धेरै प्रख्यात छ।’
नाटकमा आउने उतारचढावलाई मानिसहरूले मञ्चमा हेर्दा जीवनकै भोगाइ ठानेर रमाउन थाले। लालाबालाहरू आफू मञ्चमा उत्रेर नाटकमा अभिनय गर्दा बेग्लै महसुस गर्न थाले। लालाबालाहरूले फरक–फरक कथा र चरित्रमा भिजेर त्यसलाई मञ्चमा उतार्दा उनीहरूले समाजका ती कथा बुझ्ने भए, ती चरित्रको अवलोकन गर्ने भए।
विभिन्न ‘ग्याजेट’ हातहातमै उपलब्ध भएपछि पारिवारिक र सामाजिक सम्बन्धबाट टाढिँदै गएका लालाबालाहरूलाई नाटकले नजिक्याउँदै छ। उनीहरू यही समाजका कथा खोजेर विभिन्न चरित्रहरूको अवलोकनका लागि मानिसहरूसँग संवाद गर्न थालेका छन्। उनीहरूमा करुणा भरिँदै जान्छ।
यसरी अभियानमा विद्यालयले टेवा दिएको छ। अहिले विभिन्न विद्यालयमा सयौं लालाबाला नाट्यकर्ममा तल्लीन भेटिन्छन्। कथा भनिरहेका, चरित्र खोजिरहेका, संवाद सम्झिरहेका, नाट्य शिल्प सिकिरहेका अनि मञ्चमा नाटक खेलिरहेका। यसरी लालाबालाहरूलाई निखार्न रंगकर्मीहरू तल्लीन छन्।
- एसियाका अरू देशभन्दा नेपालका विद्यालयहरूमा रंगमञ्चको अवस्था एकदमै बलियो छ। ती देशका कलाकारहरूसँग हामीले काम गरिरहेको शैली र विद्यालयहरूको आकर्षणबारे कुरा गर्दा उनीहरू छक्क पर्छन्। विद्यालयमा अभिनय सिकेका लालाबालाहरू चलचित्र, नाटक, छोटा चलचित्र र विज्ञापनमा आफ्ना सीप देखाइरहेका छन्।
- निजी विद्यालयहरूमा नयाँ–नयाँ शैक्षिक अवधारणाहरू आउन थाले। समयको मागअनुसार नयाँ किसिमका पाठ्यक्रम बने। बिस्तारै–बिस्तारै शैक्षिक क्षेत्रमा रंगमञ्चको प्रभाव फैलियो। अतिरिक्त क्रियाकलापको लागि मात्रै नभएर अरू विषयजस्तै नाट्य विधा विद्यालयमा प्रवेश हुन थाल्यो। पठनपाठनका साथसाथै नाटक निर्माण अनि मञ्चन हुन थालेपछि अभिभावकलाई समेत प्रभाव पा र्यो ।
- विद्यालयहरूले किताबभित्रको निरन्तरतासँगै ‘थिएटर’ र नाटक विधालाई समेटेर किताबबाहिर सम्भावना खोज्नु समग्र रंगमञ्च क्षेत्रका लागि सकारात्मक सन्देश हो। विद्यालय, अभिभावक र लालाबालाहरूको किताबबाहिरको रुचिले शैक्षिक रंगमञ्च विधामा यो उभार आएको हो। यसबाट रंगमञ्च क्षेत्र झन् समृद्ध बनेको छ।
रंगमञ्च शिक्षाको इतिहास
विद्यालयस्तरको नाट्य गतिविधिलाई प्रोत्साहन गर्ने क्रममा बालकृष्ण सम, विजय मल्ल, भीमनिधि तिवारी र प्रचण्ड मल्लजस्ता नाटककारहरूले विभिन्न विद्यालय तथा कलेजका नाट्य कार्यक्रम, अभ्यास र मञ्चनमा सहभागिता जनाई विद्यार्थीलाई प्रेरित र मार्गदर्शन गरेका उदाहरणहरू पाइन्छन्। नाट्य संस्कृतिको विकासमा यी स्रष्टाहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान उल्लेखनीय रहेको मानिन्छ।
मल्लकालदेखि १९औं शताब्दीसम्म नाटक मुख्यतः दरबार, मन्दिर र सार्वजनिक चोक (दबली)मा मञ्चन हुन्थ्यो। विद्यालयसँग नाटकको प्रत्यक्ष सम्बन्ध थिएन। १९३०–४० को दशकलाई आधुनिक नेपाली नाटकको सुरुवातको दशक मानिन्छ। बालकृष्ण समले आधुनिक नेपाली नाटकलाई नयाँ दिशा दिए। उनको ‘मुकुन्द–इन्दिरा’ नाटकलाई आधुनिक नेपाली रंगमञ्चको सुरुआत मानिन्छ। यो नाटक दरबार हाइस्कुलका विद्यार्थीलाई समावेश गरेर मञ्चन गरिएको थियो। यही नाटकले विद्यालयलाई आधुनिक नेपाली रंगमञ्चको केन्द्र बनायो।
त्यस समय काठमाडौंका विद्यालय र कलेजहरू आधुनिक नेपाली नाटकको अभ्यास र मञ्चनका प्रमुख स्थल बने।
शिक्षक, नाटककार र विद्यार्थी तथा कलाकारको सहकार्यबाट नेपाली भाषाको आधुनिक रंगमञ्च विकसित भयो। भीमनिधि तिवारी, विजय मल्ललगायतका समकालीन नाटककारहरूले विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरेर नाटक लेखे। उनीहरूका धेरै नाटक विद्यालय र कलेज परिसरमै मञ्चन भए। प्रचण्ड मल्ल, बालकृष्ण समका विद्यार्थी तथा कलाकार थिए। समले विद्यालयका विद्यार्थीलाई नाटकमा सहभागी गराएर प्रशिक्षण दिने अभ्यास गरेका थिए र प्रचण्ड मल्ल त्यस प्रक्रियाका प्रत्यक्ष साक्षी थिए। प्रचण्ड मल्लले केही विद्यालयका लागि प्रेक्षालयको खाकासमेत कोरिदिएका थिए।
विद्यालयमा नाटकको अभ्यास र मञ्चन कुनै नयाँ अवधारणा होइन। आधुनिक नेपाली रंगमञ्चको प्रारम्भिक विकास नै विद्यालय र कलेज परिसरबाट भएको थियो।
नाटक लेखक, निर्देशक, प्रशिक्षक तथा सडक नाटकका प्रणेता अशेष मल्ल यसरी स्मृतिमा पुग्छन्– सरस्वती पूजाको अवसरमा हरेक वर्ष हुने सांस्कृतिक कार्यक्रममा नाटक गर्नै पथ्र्यो। गोकुण्डेश्वर माविमा शिक्षकले तयार पारेको नाटकमा बालकलाकार भएर अभिनय गर्थें भन्छन् उनी। २०४३ सालतिर सर्वनामले नाचघरमा ‘नानीहरूको नाटक मेला’ आयोजना गथ्र्यो। बद्री अधिकारी, सरुभक्तहरू नाटक ल्याउँथे।
त्यो बेला निजी विद्यालयहरू कम थिए। पद्मकन्या, रत्नराज्य, सहिद शुक्र, पद्मोदय स्कुलमा गएर विद्यार्थीहरूसँग नाट्य कार्यशाला चलाएर नाटक तयार पाथ्र्यौं। हातेमालो सञ्चारले ‘हातेमालो बाल मेला’ आयोजना गथ्र्यो। नुपूर भट्टाचार्यको नेतृत्वमा विराटनगर र पाल्पामा भएको मेलामा नाटक मञ्चन हुन्थ्यो।
नाटकका लागि दर्शक निर्माण गर्न होस् वा बालबालिकालाई नाटक सिकाउने क्रममा निकै अघिदेखि रंगमञ्चीय गतिविधिमा विद्यालय जोडिँदै आएका छन्।
विद्यालयहरूमा नाट्य उभार
मलाई भन, म बिर्सन्छु। मलाई सिकाऊ, म सम्झन्छु। मलाई सहभागी बनाऊ, म सिक्छु — बेन्जामिन फ्यांकलिन सामूहिक सहभागिताबिना रंगमञ्चको सार्थकता भेटिँदैन। यही सामूहिक सहभागिताले सिकाइलाई दरिलो बनाउँछ। यही कारण हो विद्यालयहरूमा रंगमञ्च विधाले आकार लिँदै गएको।
हिजोआज अझ धेरै रंगकर्मीले विद्यालयमा नाटक पढाउने इच्छा देखाउँदै छन्। फिल्ममा चलेका अनुहार पनि विद्यालयतिर आकर्षित हुन थाले। विद्यालयहरूमा बढेको माग पूर्तिका लागि हो यो आकर्षण ! हिजोजस्तो लाग्छ विद्यालयहरूले ‘नाटक पनि पढाउने विधा हो र ? के हुन्छ नाटकमा ? ’ भनेर प्रश्न गरेको। तर आज, नाटक मञ्चन नगर्ने, थिएटर नघुम्ने र थिएटर वा नाटक विधालाई पाठ्यक्रममा नसमेट्ने विद्यालयहरू कमै छन्।
हरेक थिएटरबाट तालिम लिएका धेरै कलाकारको पहिलो रोजाइ विद्यालय बन्न थालेको छ। पुराना, अनुभवी रंगकर्मीहरू पनि विद्यालयतिरै व्यस्त रहेका भेटिन्छन्। अग्रज निर्देशक तथा कलाकारहरू पनि विद्यालयमा नाटक निर्माण वा मञ्चनका लागि पुग्ने क्रम रोकिएको छैन। तर नाटक निर्माणको क्रम भने अतिरिक्त क्रियाकलापमै सीमित भयो।
विद्यालयहरूमा नाटक निर्माणको काम फाट्टफुट्ट भइरहन्थ्यो। करिब २०६० को दशकतिर विद्यालयहरूमा नाटक निर्माणको रस पस्न थालेको हो। यसको श्रेय गुरुकुललाई जान्छ। भलै आधुनिक थिएटर काठमाडौंको एउटा ठाउँमा मात्रै भए पनि नाटक मञ्चनको थालनी सनसनी रूपमा फैलिएको थियो। विद्यालय तथा विश्वविद्यालयबाट नाटक हेर्ने दर्शकहरू त्यो थिएटरमा थुप्रिन थाले।
धेरै मान्छेमा रुचि जाग्यो। भाषाको विकास र विद्यार्थीको स्मरणशक्ति बढ्ने विश्वासमा विद्यालयहरू नाटक निर्माणमा जोसिए। विभिन्न विद्यालयका नाटक निर्माण रहर पूरा गर्न हामी पुग्न थाल्यौं। उनीहरूले अभिभावक दिवस लक्षित गरी नाटक निर्माणका लागि बोलाउँथे। पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरीय नाटक महोत्सव आयोजना गर्दा माहोल झन् बढेको हो।
रंगकर्मीहरू नाटक मञ्चन गर्ने थलो पाउने आसमा यस्ता महोत्सवका लागि नाटक निर्माण गरिरहेका भेटिन्थे। यसरी विद्यार्थीहरूसँग नाटक बनाउँदा आफूले लेखेको बालनाटकभन्दा विश्व चर्चित नाटकको खोजी हुन्थ्यो। कुनै विद्यालयले नाटक ‘काबुलीवाला’ निर्माण गरे। कसैले लोककथामा रुचि देखाए।
निजी विद्यालयहरूमा नयाँ–नयाँ शैक्षिक अवधारणाहरू आउन थाले। समयको मागअनुसार नयाँ किसिमका पाठ्यक्रम बने। बिस्तारै–बिस्तारै शैक्षिक क्षेत्रमा रंगमञ्चको प्रभाव फैलियो। अतिरिक्त क्रियाकलापको लागि मात्रै नभएर अरू विषयजस्तै नाट्य विधा विद्यालयमा प्रवेश हुन थाल्यो।
पठनपाठनका साथसाथै नाटक निर्माण अनि मञ्चन हुन थालेपछि अभिभावकलाई समेत प्रभाव पार्यो। आफ्ना लालाबाला मञ्चमा उभिएर निर्धक्कसँग विभिन्न रसमा प्रस्तुति दिँदा कसलाई पो मन पर्दैन र ! जुनसुकै भाषामा नाटक निर्माण भए पनि विद्यार्थीहरूमा भाषाको विकास हुन थाल्यो। बोल्ने कला र प्रस्तुति कलाले आत्मविश्वास पनि बढ्यो। अभिभावक दिवसमा एउटा कार्यक्रम थप्नकै लागि भए पनि विद्यालयहरूले नाटकलाई प्राथमिकता दिए।विद्यालयहरूले शेक्सपियरका नाटक तथा ‘म्युजिकल प्ले’हरू निर्माण गरे।
गुरुकुलले स्कुल थिएटर फेस्टिभलको आयोजना ग र्यो । दर्शकको विश्वासका कारण बौद्धिक, प्राज्ञिक क्षेत्र मानिथ्यो रंगमञ्चलाई। विद्यालय क्षेत्रमा नाट्य विधालाई प्रवेश गराउने उद्देश्य लिएको थियो गुरुकुलले, तर यसको निरन्तरता हुन सकेन। यही सुरुवातलाई स्कुल थिएटर, लालाबालाले निरन्तरता दिँदै आएका छन् अहिले पनि।
यसमा विभिन्न विद्यालय र अन्तर्राष्ट्रिय समूहसमेत सामेल गरेर विशाल कार्यक्रम हरेक वर्ष आयोजना गरिन्छ। शैली थिएटरले पहिलो बाल नाटक महोत्सव आयोजना गर्दा समेत कमै रंगकर्मीहरूलाई विद्यालयप्रति चासो थियो। विद्यालयका भाषा शिक्षकहरूले नाटक बनाएर ल्याउँथे। रंगमञ्चको अध्ययन–अध्यापन गराउने शैली फेरिँदै गयो। राजधानीमा अरू धेरै विद्यालयले पनि नाटकको क्लब सुरु गरे।
लालाबाला नाटक निर्माण गरी अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत सहभागी हुन थाल्यो। यसबाट झन् विद्यालयहरूमा नयाँ तरंग आयो। देशमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत नाटक देखाउन पाउने भएपछि मिडिया, अभिभावक र विद्यालय सबैको चासो बढ्यो। पत्रपत्रिकामा आफ्ना लालाबालाको फोटो छापिएको धेरैले रुचाए। नेपाली संस्कृति र लोककथामा बनेका नेपाल चिनाउने नाटकहरू लिएर विद्यार्थीहरू विश्व मञ्चमा प्रवेश पाउन थाले।
कक्षाकोठामा पढाउने कुरा सीमित भएपछि ‘आशुरचना’ र नाटक निर्माणको काममा ज्यादा ध्यान दिनु बाध्यता बन्यो। विद्यालयहरूले ‘आफ्टर स्कुल’ र शनिबार पनि कक्षा राखिदिए। पढाइमा बढी केन्द्रित विद्यालयहरू ‘सरले भ्याउने समयमा आउनुस्’ भन्न थाले। रंगकर्मीहरूले हेलमेट टिचरको दर्जा पाउन थाले। जुन रूपमा भए पनि नाट्य विधाले प्रवेश पाइसकेको थियो। विद्यार्थीहरू किताबभित्रका पाठको एकोहोरो रटान छोडेर किताबबाहिरका कथा, चरित्र र दृश्यबारे कल्पिन थाले।
चलचित्रहरूमा व्यस्त रहँदा पनि केही रंगकर्मीहरूले विद्यालयमा नाटक पढाउन छोडेनन्। आकर्षण थपिएसँगै नाटक तयार पारेर थिएटरमा लैजाने क्रम बढ्न थाल्यो। गुरुकुल बन्द भएपछि सर्वनाम थिएटर र मण्डला थिएटर नाटक मञ्चनका लागि गन्तव्य बने। जे होस्, बिस्तारै–बिस्तारै कक्षाकोठाभित्र नाटकको लोकप्रियता फैलियो। थिएटरमा नाटक मञ्चन गर्न थालिसकेपछि अभिभावक दिवस लक्षित नाटक निर्माण प्रक्रियाको स्वरूप फेरियो। अभिभावकहरू आफ्नै लालाबालाले अभिनय गरेको नाटक पनि टिकट काटेर हेर्न थाले।
नाटक मञ्चन परम्पराले सबैतिर उत्साह फैलियो। नाटक र अभिनय हुँदै विद्यालयभित्र ‘थिएटर’ संस्कार प्रवेश गर्न थाल्यो। बेग्लै ‘थिएटर कल्चर’ निर्माण भयो। नाटक निर्माण गर्ने, थिएटरमा देखाउने र आफ्ना विद्यार्थीलाई विभिन्न थिएटरमा नाटक देखाउनु प्राज्ञिक संस्कार बन्यो।
कसैले ‘रिफर’ गरेर त कसैले आफैं थाहा पाएर अरू धेरै विद्यालय नाट्य विधामा दक्ष प्रशिक्षकको खोजी गर्न थाले। नाटक विधा अतिरिक्त क्रियाकलापबाट विद्यालयहरूमा सुरु भएको हो। अहिले धेरै विद्यालयहरूले यसलाई पाठ्यक्रमको सहयोगी विषयका रूपमा समावेश गर्न थालेका छन्। स्कुलहरूले प्रिप्राइमरीका बालबालिकालाई समेत नाटकका माध्यमबाट पढाउन चाहे।
आफ्ना विद्यार्थीलाई डाक्टर र इन्जिनियरको सपना बाँड्ने धेरै विद्यालयहरूले नाट्य विधामा सम्भावना खोजिरहेका छन् ताकि अबका विद्यार्थी शिल्पीले कुँदिएका कलाकार बनून् र किताबभित्र मात्रै नभई किताबबाहिर पनि भविष्य खोजून्।
मोफसलमा के छ त अवस्था ?
रंगमञ्च सहरको विशेषाधिकार होइन, प्रत्येक विद्यालय र प्रत्येक समुदायको अधिकार हो। रंगमञ्च राजधानीको मात्र होइन, प्रत्येक गाउँ र सहरको हो। राजधानीमा आएको उभारले रोजगारीको राम्रो स्रोत बनेसँगै राजधानीबाहिर पनि नाटकको काम भएको देखिन्छ। इटहरीमा २०५४ सालदेखि केही रंगकर्मीले विद्यालयमा नाटक निर्माणको काम सुरु गरे।
कलालयले इटहरीमा यो क्रम अहिले फैलाएको छ। यो समूहले धेरै निजी तथा सरकारी विद्यालयहरूमा नाटक पढाउने काम गर्छ। उनीहरू हरेक वर्ष विद्यालय लक्षित नाटक महोत्सव ‘स्कुल थिएटर फेस्टिभल’ आयोजना गर्छन्। पोखरामा पोखरा थिएटरले धेरै विद्यालयमा नाटक पढाउने कामलाई विस्तार गर्यो। उनीहरूसँग सहकार्य गरिरहेका धेरै विद्यालय छन् अहिले। धेरै रंगकर्मी विद्यालयमा नाटक पढाउँछन्। पोखरा थिएटरले आफ्नै किसिमको पाठ्यक्रम विकास गरी कलाकारहरूलाई विद्यालयहरूमा पठाउने गरेको छ। उनीहरूले लालाबालाकै शैलीलाई समेत समेटेका छन्।
राजधानी छाडेर घर फर्किएका रंगकर्मीहरूलाई अहिले आफ्नै जन्मथलोका विद्यालयमा नाटक पढाउन भ्याइनभ्याइ छ। झापा, मोरङदेखि काँकडभिट्टासम्म धेरै कक्षाकोठाभित्र बन्ने नाटकमा लालाबालालाई आकर्षित गर्न स्थानीय रंगकर्मीहरू गम्भीर रूपमा लागेका भेटिन्छन्। यो अभियानलाई इलामका रंगकर्मीले साथसाथै लिएर हिँड्दै छन्। चुलाचुली रंगमञ्चका रंगकर्मीहरू पनि विद्यालयतिर आकर्षित हुन थालेका छन्। उदयपुरका विद्यालय धेरै अगाडिदेखि नाटक निर्माण गरेर महोत्सवमा
सहभागी हुन राजधानी आएका थिए।
दमकमा कदम थिएटर पनि लालाबालाहरूमा थिएटर संस्कार जगाउन व्यस्त छ। फैलिँदै–फैलिँदै जाँदा नारायणगढमा पनि लालाबालाहरू मञ्चमा कथा भनिरहेका भेटिन्छन्। लालाबालालाई अभिनयमा निखार्न वा थिएटर चिनाउन सानो सहर हेटौंडा पनि छुटेको छैन।
ठाउँ–ठाउँमा फैलिएको थिएटर संस्कारले काठमाडौंलाई बेग्लै स्वाद चखाउँदै छ। नाटक मञ्चनसँगै महोत्सवहरू आयोजना गर्दै लालाबालाका कलामार्फत दाबेदार उपस्थिति जनाउँदै छ। नाटक निर्माण गरेर महोत्सवमा सहभागी हुन राजधानी आउनुले मोफसलको
योगदान गर्विलो बन्दै गएको हो।विद्यालयमा प्रेक्षालय तयार भएको नाटक मञ्चन एउटा ध्यान विधि हो।
यसमा दर्शक समेत पूर्णरूपमा सहभागी भएपछि मात्रै मञ्चन सफल हुन्छ। राजधानी होस् वा मोफसल; विद्यालय, दर्शक र विद्यार्थीहरूको ‘टिमवर्क’ले एउटा उभार ल्याइदियो नै। अहिले धेरैजसो विद्यालयमा आफ्नै ‘थिएटर’ छ। ‘थिएटर’ नहुनेले पनि यसको आवश्यकता महसुस गर्न थालेका छन्। नाटक मञ्चनका लागि मात्रै होइन, विद्यालयका अरू विविध कार्यक्रम पनि ‘थिएटर’मै सम्पन्न हुने भए।
देशैभरिका शैक्षिक संस्थाहरूमा पठनपाठनसँगै नाटक निर्माणको कामले निकै आशावादी बनाएको छ। अहिले विद्यालयहरू ठाउँ अभाव भए पनि कमसेकम एउटा ‘थिएटर’ विद्यालयभित्र हुनुपर्छ भन्नेमा विश्वस्त देखिएका छन्। विद्यालयमा उपलब्ध भएको ‘स्पेस’लाई कसरी नाटक मञ्चन स्थल बनाउन सकिन्छ भन्ने पनि सोच्छन्।
यसो गर्दा हरेक विद्यालयमा नाटक मञ्चन स्थल निर्माण हुने भयो। यदि सानोतिनो खुला ठाउँ वा कोठा विद्यालयमा छ भने, त्यहाँ बाहिरबाट आवश्यक ‘लाइट’हरू लगेर ‘पर्दा’ र ‘छेक्का’ हालेर ‘थिएटर’को स्वरूप दिँदा विद्यालयहरूमा नाटक मञ्चनको बेग्लै माहोल सिर्जना हुन सक्छ। अरू विद्यालयका विद्यार्थी र अभिभावकसमेत दर्शकका रूपमा आफ्नो विद्यालयमा नाटक हेर्न आउँदा हुने लाभ अनेक छन्।
शैक्षिक संस्थाहरूले पठनपाठनलाई किताबभित्र मात्रै सीमित नराखेर अलि फराकिलो बनाउँदै वा किताबभित्रको घेरा तोडेर किताबबाहिर पुगेको कल्पिन थालेका छन्। विद्यालयमा हुने विभिन्न कार्यक्रमका लागि बहुउपयोगी हल छन्। कुनै–कुनै विद्यालयमा ठूलो क्षमताका प्रेक्षालय छन्। कुनैमा खुला ठाउँमा मञ्च बनाइएको छ। अहिलेका धेरै विद्यालय थिएटरको प्रभावमा परेर ‘ब्ल्याक बक्स थिएटर’ निर्माणमा जुटेका छन्।
नाटककै लागि भनेर निर्माण भएका थिएटर नभए पनि धेरै वटा विद्यालयमा साना–ठूला हल छन्। भएको त्यही हलमा तालिमदेखि लिएर स्कुल थिएटर फेस्टिभल र अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्ने गर्दछन्। विद्यालयभित्र चर्चित नाट्यकर्मीका नाममा समर्पित भएर वा व्यावसायिक झल्को दिनेगरी निर्मित अभि थिएटर र सात्विक थिएटर यसका उदाहरण हुन्।
विद्यालयमा पढाउने चाहिँ के हो ?
कक्षाकोठामा नाटक पढाइँदैन मात्र, जीवन बाँच्न सिकाइन्छ। रंगमञ्चले विद्यार्थीलाई अभिनयमात्र होइन, आत्मविश्वास, सहकार्य र मानवीयताको पाठमार्फत केही महसुस गराउँछ। कुन विधिले यो कुरा विद्यार्थीमा महसुस हुन्छ त ? के कुराले उनीहरूमा निखार आउँछ त ? कक्षाकोठामा पस्नुअघि तयारी गर्नुपर्ने पाठ्यक्रम कस्ता हुन्छन् ? यी चुनौतीहरूलाई कसरी सामना गरिन्छ ? एआईको सहारा हो कि वा आफूसँग केही शिल्प छ ? तालिम नलिएका, कतै केही नसिकेका, आँखा जुधाएर कुरा गर्नसमेत नसक्ने आलाकाँचाहरू विद्यालयमा नाटक पढाउन पसेका छन्। यिनीहरूले पढाउँछन् के ? यिनीहरूले पढाउँछन् कसरी ? हामी ठट्टा गर्न वा रोजगारीको अवसर पूरा गर्न कक्षाकोठामा पसेका होइनौं। लालाबालाको अति नै महत्वपूर्ण समय लिएका छौं, यो कुरामा विद्यार्थी संख्या नथुपार्न विद्यालय र उनीहरूलाई दिने सामग्रीका लागि स्वयं प्रशिक्षकसमेत इमानदार रहनुपर्छ। अहिलेको मुख्य प्रश्न यही हो— पढाउने पाठ्यक्रम छैन।
हामीहरूले आफूले जति जानेको छ, त्यति नै पढाइरहेका छौं। कसैले नाटक निर्माणलाई मात्रै प्राथमिकतामा राखेका छन्। अभिनय र रंगमञ्चसम्बन्धी खेलहरू नै पठनपाठनको मूल विषय हुन्। अनुभवका आधारमा आफ्नो सहजतालाई ध्यानमा राखेर पढाउने सामग्री निर्माण गरेका छौं। ‘वर्णमाला’ नामको पुस्तक विद्यालय लक्षित पाठ्यक्रमकै लागि भनेर प्रकाशित भयो। अरू केही देशका शैक्षिक क्षेत्रमा रंगमञ्चको प्रवेश निकै अघिदेखि भएको हो। अमेरिका, अस्ट्रेलिया, स्लोभाकिया, नेदरल्यान्ड्स, डेनमार्कलगायतका देशमा पनि नाटक निर्माण र नाट्य पठनपाठनको क्रम राम्रो छ। यी देशमा सरकारले नै नाट्य विधालाई पाठ्यक्रममा समावेश गरेको छ।
एसियाका अरू देशभन्दा नेपालका विद्यालयहरूमा रंगमञ्चको अवस्था एकदमै बलियो छ। ती देशका कलाकारहरूसँग हामीले काम गरिरहेको शैली र विद्यालयहरूको आकर्षणबारे कुरा गर्दा उनीहरू छक्क पर्छन्। विद्यालयमा अभिनय सिकेका लालाबालाहरू चलचित्र, नाटक, छोटा चलचित्र र विज्ञापनमा आफ्ना सीप देखाइरहेका छन्।
अहिलेको दशकमा आइपुग्दा शैक्षिक क्षेत्रमा रंगमञ्चको संलग्नता नाटक बनाउनुमात्रै नभएर व्यावसायिक कदमका रूपमा अगाडि बढ्दै छ। विद्यालयहरूले किताबभित्रको निरन्तरतासँगै ‘थिएटर’ र नाटक विधालाई समेटेर किताबबाहिर सम्भावना खोज्नु समग्र रंगमञ्च क्षेत्रका लागि सकारात्मक सन्देश हो। विद्यालय, अभिभावक र लालाबालाहरूको किताबबाहिरको रुचिले शैक्षिक रंगमञ्च विधामा यो उभार आएको हो। यसबाट रंगमञ्च क्षेत्र झन् समृद्ध बनेको छ।
प्रतिक्रिया दिनुहोस !