यात्राको सबैभन्दा सुन्दर गन्तव्य अन्ततः आफ्नो देश नै हुँदो रहेछ। किनकि नयाँ देश घुमेर फर्किंदा मानिसले मातृभूमिलाई नयाँ आँखाले देख्न सिक्दो रहेछ।
जहाजले हजारौं किलोमिटरको दूरी छोट्ट्याउन सक्छ, तर यात्राले भने यात्रीको दृष्टि अत्यन्तै दूरदृष्टि बनाइदिन्छ। किनकि यात्रा भनेको केवल कुनै देश हेर्नुमात्र होइन, आफूलाई नयाँ आँखाले हेर्न सिक्नु पनि रहेछ। अमेरिकाका विभिन्न राज्य घुम्दै गर्दा अग्ला गगनचुम्बी भवनहरू देखें, समुद्रका अनन्त किनार छोएँ। विश्वविख्यात विश्वविद्यालयका प्रांगणमा हिँडें, झरनाको गर्जन सुनें।
आधुनिक प्रविधिको स्पन्दन महसुस गरें र अनुशासित जीवनशैलीलाई नजिकबाट नियालें। हरेक गन्तव्यले आआफ्ना कथा सुनाए। तर, ती सबै कथाको अन्त्यमा मनमा एउटै प्रश्न दोहोरिरह्यो— यति धेरै सम्भावना नेपालमै पनि छन्, तर हामी किन त्यसलाई पूर्ण रूपमा चिनेर उपयोग गर्न सकिरहेका छैनौं ?
जति अमेरिका देख्दै गएँ, उति नेपाल मनभित्र गहिरिँदै गयो। त्यहाँ सम्पन्नताको प्रदर्शनभन्दा सम्भावनाको सदुपयोग देखें। प्रकृतिमाथिको विजय होइन, प्रकृतिसँगको सहकार्य देखें। त्यहाँ विकास केवल पूर्वाधारमा सीमित थिएन; त्यो अनुसन्धान, अनुशासन, संस्थाप्रतिको विश्वास र भविष्यप्रतिको दीर्घदृष्टिमा पनि बाँचिरहेको थियो। त्यही अनुभूतिको पहिलो पाठ टेक्सासबाट ओक्लाहोमा जाने यात्राले दियो। डलासबाट करिब दुई घण्टाको यात्रापछि हामी टर्नर फल्स पुग्यौं। बाटोभरि फैलिएका हरिया मैदान, टाढासम्म देखिने पहाडी थुम्का, चट्टानमाथिबाट झरेको निर्मल झरना र क्षितिजभरि घुमिरहेका अग्ला पवनचक्कीहरू हेर्दा लाग्थ्यो— प्रकृतिले यहाँ आफ्ना सबै रङ उदारतापूर्वक पोखिदिएको छ।
झरनाको चिसो स्पर्शमा रमाइरहेका बेला मित्र राजेन्द्र लामिछानेले टाढा घुमिरहेका पवनचक्कीतर्फ औंला देखाउँदै भन्नुभयो, ‘नेपालमा पानीको मात्र होइन, हावाको पनि अथाह सम्भावना छ। हामीले त्यसलाई खोज्न, बुझ्न र उपयोग गर्न सकेका छैनौं।’ उहाँको त्यो वाक्य झरनाको गर्जनभन्दा धेरै समयसम्म मेरो मनमा गुञ्जिरह्यो। फर्किने बाटोभरि नेपालका डाँडाकाँडा सम्झिरहें।
वर्षौंदेखि बेगले बगिरहेको हावा सम्झिरहें। हामीले त्यसलाई महसुस त गरेका छौं, तर ऊर्जामा रूपान्तरण गर्न भने अझै बाँकी छ। त्यही क्षण लाग्यो— समृद्धि सधैं नयाँ स्रोत खोजेर आउँदैन, कहिलेकाहीँ आफ्नै वरिपरि रहेका सम्भावनालाई नयाँ दृष्टिले हेर्न सके पुग्छ। मेरो अमेरिका यात्राको पहिलो पाठ यही थियो— प्रकृतिले सबैलाई अवसर दिन्छ, तर त्यसलाई सम्भावनामा बदल्ने काम दृष्टिले गर्छ।
समयसँगै हिँड्ने होइन, मूल्यसँगै बाँच्ने मानिसहरू : ओक्लाहोमाबाट यात्रा उत्तरतिर मोडिँदै मिसौरी र ओहायोका आमिस बस्तीहरूमा पुग्यो। आधुनिक अमेरिकाको तीव्र गतिभित्र यो एउटा अनौठो संसार थियो, जहाँ समय घडीले होइन, जीवनशैलीले चलिरहेको थियो। त्यहाँ न सवारीको हतार थियो, न प्रविधिको चमत्कार। घोडागाडीहरू शान्त गतिमा बाटो काटिरहेका थिए। खेतमा परिवारका सबै सदस्यसँगै श्रम गरिरहेका थिए। अनुहारमा कृत्रिम मुस्कान थिएन, तर आत्मीय सन्तुष्टिको उज्यालो थियो। आधुनिकताको भीडबीच उनीहरूले आफ्ना मूल्य, संस्कृति र समुदायलाई जोगाएर राखेका थिए।
मिसौरीमा लामो समयदेखि बसोबास गर्दै आएका विनोद ढकालले मुस्कुराउँदै भन्नुभयो, ‘उनीहरूको सबैभन्दा ठूलो सम्पत्ति पैसा होइन, समुदाय हो।’ ओहायोका सुवास कर्माचार्यले त्यसैलाई थप स्पष्ट पार्दै भन्नुभयो, ‘यहाँ कसैले दुःख एक्लै बोक्दैन।
गाउँ नै परिवार बन्छ।’ ती शब्दहरूले मलाई आफ्नै गाउँ सम्झाए। साँझ परेपछि घरका छतमाथि भेला हुने मानिसहरू, रोपाइँ र मेलापातमा एकअर्काको खेतमा पुग्ने हातहरू, दुःख–सुख साटासाट गर्ने संस्कार— हामीसँग पनि यस्तै सामाजिक सम्पत्ति थियो। तर विकासको दौडमा कतै हामीले त्यही अमूल्य सामाजिक पूँजी बिस्तारै गुमाउँदै त छैनौं ?
आमिस समुदायले एउटा गहिरो पाठ सिकायो— आधुनिक बन्नु भनेको आफ्ना जरा काट्नु होइन। प्रविधि उपयोग गर्नु र परम्परालाई सम्मान गर्नु एकअर्काका विरोधी होइनन्। विवेकपूर्ण समाजमा त ती एकअर्काका सहयात्री हुन्छन्। आमिस बस्तीबाट निस्किएपछि यात्रा मिसौरी विश्वविद्यालयतिर अघि बढ्यो। विशाल हरियालीबीच फैलिएको परिसरमा हिँड्दा त्यहाँ भवनभन्दा बढी विचारहरूको उपस्थिति महसुस भयो। पुस्तकालय, प्रयोगशाला, अनुसन्धान केन्द्र र विद्यार्थीहरूको उत्साहले त्यो परिसरलाई जीवित बनाइरहेको थियो।
विश्वविद्यालयमा लामो समयदेखि पशुविज्ञान अनुसन्धानमा संलग्न डा. प्रमोद ढकालले प्रयोगशालाहरू देखाउँदै भन्नुभयो, ‘विश्वविद्यालयको उचाइ भवनले मापन हुँदैन, त्यहाँबाट जन्मिने ज्ञानले मापन हुन्छ। अनुसन्धान कुनै प्राध्यापकको व्यक्तिगत उपलब्धि होइन; समाजलाई अगाडि बढाउने साझा जिम्मेवारी हो। एउटा सानो अनुसन्धानले पनि किसानको गोठदेखि देशको अर्थतन्त्रसम्म परिवर्तन ल्याउन सक्छ।’
नेपालका विश्वविद्यालयहरू सम्झिएँ। हामीसँग प्रतिभाशाली विद्यार्थी छन्, समर्पित शिक्षक छन्, सम्भावनाले भरिएका विषय छन्। तर, अनुसन्धानलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्ने संस्कार अझै कमजोर छ। त्यही क्षण मनमा प्रश्न उठ्यो— यदि हाम्रा विश्वविद्यालय पनि ज्ञान उत्पादन गर्ने केन्द्र बन्न सके, यदि अनुसन्धानलाई खर्च होइन, भविष्यको लगानीका रूपमा हेर्न सकियो भने, के नेपालको समृद्धिको यात्रा धेरै छोटो हुँदैनथ्यो ? मिसौरीले दुईवटा अमूल्य पाठ दियो। एउटा, समाजलाई बलियो बनाउने शक्ति समुदायमा लुकेको हुन्छ। अर्को, राष्ट्रलाई समृद्ध बनाउने आधार अनुसन्धान र ज्ञानमा हुन्छ। यी दुवै पाठ अमेरिकामा सिकें, तर तिनको उत्तर भने फेरि नेपालमै खोज्न थालें।
सपनाले पखेटा हाल्यो, विचारले संसार बदल्यो : मिसौरीबाट यात्रा पूर्वी तटतर्फ मोडियो। गन्तव्य थियो— नर्थ क्यारोलिनाको आउटर बैंक्स। अटलान्टिक महासागरको किनारमा फैलिएको त्यो भूभाग केवल प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छैन; त्यहीँबाट मानव इतिहासले आकाशतर्फ आफ्नो पहिलो सफल पाइला चालेको थियो। समुद्रको अथाह नीलिमा, निरन्तर बहिरहने हावा र बालुवामाथि उभिएको राइट ब्रदर्स नेशनल मेमोरियलले एउटा मौन इतिहास सुनाइरहेको थियो। सन् १९०३ डिसेम्बर १७ मा यही भूमिबाट दुई दाजुभाइ— विल्बर र ओरभिल राइटले मानव सभ्यतालाई नयाँ युगतर्फ उडाएका थिए।
त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका मित्र नीमा पाख्रिनले समुद्रतर्फ हेर्दै भन्नुभयो, ‘संसारलाई सानो बनाउने यात्राको पहिलो पखेटा यहीँ फिजिएको हो।’ स्मारकको टाकुरोमा उभिएर तल फैलिएको समुद्र हेरिरहें। हावाले अनुहार छोइरहेको थियो। त्यही हावामा राइट दाजुभाइले अरूले देख्न नसकेको सम्भावना देखे। जसले हावालाई अवरोध होइन, सहयात्री बनाए। त्यही विश्वासले आज महादेशहरूलाई केही घण्टाको दूरीमा ल्याइदिएको छ।
त्यो क्षण महसुस गरें— संसार बदल्ने आविष्कारहरू सधैं ठूलो पूँजीबाट जन्मिँदैनन्। ती त एउटा असम्भव देखिने सपनामाथिको अटल विश्वासबाट जन्मिन्छन्। समुद्रका छालहरू किनारमा बारम्बार आइरहेका थिए। तिनलाई हेर्दा मातृभूमिको सम्झना आयो। नेपालका हिमाल, डाँडाकाँडा, नदी र उपत्यकाहरूमा पनि यस्तै असंख्य सम्भावना निदाइरहेका छन्।
फरक यति मात्र हो— कसैले ती सम्भावनालाई देखिरहेको छ, कसैले अझै देख्न बाँकी छ। पूर्वी तटको त्यो प्रेरणादायी अनुभूतिपछि यात्रा पश्चिमी किनारतर्फ मोडियो। क्यालिफोर्नियाको सान फ्रान्सिस्को पुग्दा लाग्यो, यहाँ प्रकृति र मानव सिर्जनाले एकअर्कासँग प्रतिस्पर्धा गरेका छैनन्, बरु एकअर्कालाई अझ सुन्दर बनाएका छन्। समुद्रमाथि तन्किएको गोल्डेन गेट पुल पहिलो दृष्टिमै फलाम र कंक्रिटको संरचना जस्तो लाग्दैन। त्यो त राष्ट्रको आत्मविश्वासको रातो हस्ताक्षर हो। एउटा किनारालाई अर्को किनारासँग जोड्ने पुलले वास्तवमा दुई भूगोलमात्र होइन, दुई सम्भावना पनि जोडिरहेको हुन्छ।
पुलमाथि उभिँदा तल प्रशान्त महासागर आफ्नै लयमा सास फेरिरहेको थियो। हावाले अनुहार छोइरहँदा साहित्यकार जिक्मेत लामाले भन्नुभयो, ‘यो पुल केवल सान फ्रान्सिस्कोको परिचय होइन, चुनौतीलाई अवसरमा बदल्ने मानवीय साहसको प्रतीक पनि हो।’ त्यसपछि पुललाई हेर्ने मेरो दृष्टि फेरियो। त्यो अब एउटा संरचना मात्र रहेन; एउटा राष्ट्रले आफ्ना असम्भवजस्ता लाग्ने सपनालाई कसरी सम्भव बनाउँछ भन्ने जीवित कथा बन्यो। त्यहाँबाट हामी सिलिकन भ्याली पुग्यौं। संसारभरका लाखौं युवाको कल्पनामा बस्ने त्यो भूमि वास्तवमा कुनै चमत्कारले बनेको रहेनछ। त्यहाँको सबैभन्दा ठूलो सम्पत्ति जमिन होइन, मानिसको मस्तिष्क रहेछ। जहाँ उद्योगहरू कारखानामा होइन, विचारमा जन्मिन्छन्। सम्पत्ति खानीबाट होइन, नवप्रवर्तनबाट उत्पादन हुन्छ।
गुगल, एप्पल, मेटा, एनभिडियालगायत विश्वका अग्रणी प्रविधि कम्पनीहरूले यही भूमिबाट आफ्नो यात्रा सुरु गरेका छन्। यहाँ हरेक कार्यालयले प्रश्न सोधिरहेको जस्तो लाग्थ्यो— ‘भोलिको संसार आजभन्दा कसरी राम्रो बनाउन सकिन्छ ?’ बौद्धिक छविका रबिन सुवेदीले मुस्कुराउँदै भन्नुभयो, ‘प्रविधिले संसार बदल्दैन, बदल्ने त मानिसको सोच हो।’ उहाँको त्यो भनाइ सिलिकन भ्यालीको मात्र परिचय थिएन; त्यो नेपालका हजारौं प्रतिभाशाली युवाको सम्भावनाको प्रतिबिम्ब पनि थियो।
एआई कम्पनी लामिना ल्याबका सीईओ सुदीप रोकाया थप्छन्, ‘हामीसँग पनि प्रतिभाको अभाव छैन। हाम्रा युवामा कल्पना छ, ऊर्जा छ, सिर्जनशीलता छ। तर, अनुसन्धानलाई सम्मान गर्ने संस्कृति र नयाँ विचारलाई प्रोत्साहन गर्ने वातावरण बलियो हुन सकेको छैन।’
सान फ्रान्सिस्को र सिलिकन भ्यालीबाट फर्कंदा युवा व्यवसायी खिम केसीले भने— ‘यहाँका दुईवटा अलग दृश्यले एकसाथ सम्झाउँछन्— एउटा समुद्रमाथि उभिएको पुलको कथा, अर्को विचारमाथि उभिएको सिलिकन सभ्यता।’ लाग्यो— राष्ट्रहरू केवल सडक, पुल र अग्ला भवनले मात्र बन्दैनन्। तिनलाई बलियो बनाउने सबैभन्दा ठूलो संरचना भनेको मानिसको सोच हो। सोच परिवर्तन हुन थालेपछि असम्भव देखिने सपनाले पनि एक दिन पखेटा हाल्छ।
प्रकृतिको विराटता, ज्ञानको उज्यालो : पश्चिमी तटको तीव्र ऊर्जापछि यात्रा फेरि पूर्वतिर मोडियो। सेन्ट लरेन्स नदीमा छरिएका हजारौं साना–ठूला टापुहरूको संसार— थाउजेन्ड आइल्यान्ड— पहिलो दृष्टिमै कुनै चित्रकारले पानीमाथि कोरेको हरियो चित्रजस्तो लाग्यो। डुंगा बिस्तारै अघि बढ्दै थियो, तर समय भने त्यहाँ रोकिएको अनुभूति हुन्थ्यो। नदीको सतह ऐनाजस्तै शान्त थियो। टापुहरू हरियालीले ढाकिएका थिए। कतै एउटा सानो काठको घर, कतै पुरानो दीपगृह, कतै रूखको छहारीमा बाँधिएको डुंगा। प्रकृतिले यहाँ कुनै प्रदर्शन गरेको थिएन; उसले आफ्नो सौन्दर्यलाई पस्किरहेको थियो। त्यो शान्त वातावरणमा प्रश्न उठ्यो— समृद्धि भनेको आखिर के हो ? अग्ला भवनको भीड कि यस्तै मौन प्रकृतिसँग सन्तुलित सहअस्तित्व ?
थाउजेन्ड आइल्यान्डले कुनै भाषण दिएन। तर त्यसको मौनताले एउटा गहिरो उत्तर दियो— समृद्धि भनेको प्रकृतिलाई जित्नु होइन, उसँगै बाँच्न सिक्नु हो। विकास त्यतिबेलासम्म मात्र सुन्दर हुन्छ, जतिबेलासम्म त्यसले नदीको लय, वनको हरियाली र आकाशको नीलिमालाई सम्मान गर्न जान्दछ।
यात्रा नायाग्रा फल्सतर्फ अघि बढ्यो। टाढैबाट कानमा ठोक्किन थालेको पानीको गर्जन नजिकिँदै जाँदा झन् प्रचण्ड हुँदै गयो। लाखौं लिटर पानी एकै क्षण पृथ्वीको काखमा खसिरहेको दृश्य शब्दले बयान गर्न सक्ने अनुभव थिएन। कुहिरोले अनुहार भिजाइरहेको थियो, घामको किरणले त्यसैमा इन्द्रेणी कोरिरहेको थियो र प्रकृतिले आफ्नो विराटता कुनै आडम्बरविना प्रस्तुत गरिरहेको थियो। त्यो क्षण मानिसले बनाएका सबै अग्ला संरचनाभन्दा प्रकृति धेरै विशाल लाग्यो। मानव सभ्यताले धेरै उपलब्धि हासिल गरेको छ, तर प्रकृतिको शक्तिसामु उभिँदा विनम्र हुन सिक्नुपर्छ भन्ने पाठ नायाग्राले सहजै पढायो। त्यही यात्राका क्रममा हुम्लाबाट अमेरिका पुगेर आफ्नै संघर्षले सफलता निर्माण गरेका नेपाली युवा व्यवसायी लाल शाहीसँग लामो संवाद भयो। सोधें, ‘विदेशको यात्रा सजिलो थियो ?’
मुस्कुराउँदै केही क्षण नायाग्रातर्फ हेरेर शाहीले भन्नुभयो, ‘संघर्षलाई बोझ ठान्यो भने पाइला रोकिन्छ। त्यसलाई सिकाइ ठान्यो भने प्रत्येक कठिनाइ अर्को अवसर बन्छ।’ त्यो एउटा वाक्यमात्र थिएन; परि श्रम, धैर्य र आत्मविश्वासले लेखिएको जीवनको सार थियो।
अमेरिकामा भेटेका धेरै नेपालीको कथा फरक थियो, तर उनीहरूको सफलताको सूत्र एउटै थियो— उनीहरू अवसरको प्रतीक्षा गरेर बसेनन्, अवसर आफैं सिर्जना गर्न सिके। यात्रा बोस्टनतर्फ अघि बढ्यो। जुन सहरमा प्रवेश गर्नेबित्तिकै लाग्छ— इतिहास र भविष्य एउटै सडकमा सँगै हिँडिरहेका छन्। पुराना इँटाका भवनहरू, चाल्र्स नदीको शान्त किनार र शताब्दीयौंदेखि ज्ञानको ज्योति बालिरहेका विश्वविद्यालयहरूले बोस्टनलाई एउटा सहरभन्दा धेरै ठूलो अर्थ दिएका छन्।
हार्वर्ड विश्वविद्यालयको परिसरमा हिँड्दा ज्ञानको वास्तविक उचाइ महसुस भयो। त्यहाँ भवनहरू प्रभावशाली थिए, तर भवनभन्दा विशाल त्यहाँ जन्मिएका विचारहरू थिए। केही पर रहेको एमआईटीमा विज्ञानले भविष्यको भाषा लेखिरहेको थियो। प्रयोगशालाभित्र भइरहेका अनुसन्धानहरूले भोलिको संसारको रूपरेखा कोरिरहेका थिए।
त्यस क्षण लाग्यो— कुनै राष्ट्र प्राकृतिक स्रोतले मात्र धनी हुँदैन। ऊ धनी बन्छ, जब उसले आफ्ना युवाको मस्तिष्कमा लगानी गर्न सिक्छ। विश्वविद्यालयलाई प्रमाणपत्र बाँड्ने संस्थाभन्दा ज्ञान उत्पादन गर्ने केन्द्र बनाउँछ। अनुसन्धानलाई खर्च होइन, भविष्यको बीउ ठान्छ। बोस्टनको बौद्धिक वातावरणबाट निस्किएपछि मित्र पुष्करनाथ पाण्डेसँग रोड आइल्यान्डको न्युपोर्ट पुग्ने अवसर मिल्यो। इस्टन्सबीचको अथाह नीलिमा र प्रसिद्ध क्लिफ वाकमा समुद्रसँगै हिँड्दा एकातिर अटलान्टिक महासागरका अनन्त छालहरू थिए भने अर्कोतिर शताब्दी पुराना हवेलीहरू समयका साक्षी बनेर उभिएका थिए।
समुद्रका छालहरू बारम्बार चट्टानमा ठोक्किन्थे, फर्किन्थे, अनि फेरि नयाँ वेगका साथ किनारातर्फ दौडिन्थे। त्यहीबेला पाण्डेजीले समुद्रतर्फ हेर्दै भन्नुभयो, ‘जीवन पनि छालजस्तै हो। ठोक्किनु अन्त्य होइन, फेरि उठेर अघि बढ्नु नै यसको स्वभाव हो।’ धेरैबेर समुद्रलाई हेरिरहें। साँच्चै, प्रकृतिले हार मान्न जानेको छैन। प्रत्येक लहरले पराजयलाई अन्त्य होइन, अर्को प्रयासको सुरुआत बनाइरहेको थियो। त्यो दिन समुद्रले मलाई अमूल्य पाठ दियो— जीवनमा सफलता सधैं एकैपटक प्राप्त हुँदैन। बारम्बार ठोक्किएपछि पनि उठ्न सक्ने साहस नै अन्ततः मानिसलाई गन्तव्यसम्म पु¥याउने शक्ति हो।
शक्ति, सपना र नेपालको यात्रा : यात्राको अन्तिम अध्यायमा एउटै राष्ट्रका दुई फरक मुटु धडकरहेका सहरहरू देखें— एउटा संस्थाको शक्ति बोकेको राजधानी, अर्को सपनाको गति बोकेको महानगर। ती थिए— वासिङ्टन डी.सी. र न्युयोर्क। डी.सी. पुग्नेबित्तिकै सहरको मौन अनुशासनले ध्यान खिच्यो। यहाँ गगनचुम्बी भवनभन्दा संस्थाहरू अग्ला लाग्थे। सडकमा अनावश्यक प्रदर्शन थिएन, तर हरेक संरचनाले एउटा राष्ट्रको आत्मविश्वास बोलिरहेको थियो। संसद् भवन, सर्वोच्च अदालत, ह्वाइट हाउस र विश्वका सयौं देशका दूतावासहरू हेर्दा लाग्यो— राष्ट्र अनावश्यक तडकभडकले भन्दा संस्थागत अनुशासनले चल्छ। अनि व्यक्तिको इच्छाले होइन, संस्थाको निरन्तरताले चल्छ। व्यक्तिहरू आउँछन् र जान्छन्, संस्थाहरू टिकिरहे राष्ट्रको यात्रा रोकिन्न।
त्यही क्रममा अभय बाबुले अर्को गहिरो कुरा सुनाउनुभयो, ‘वासिङ्टन शक्ति प्रदर्शन गर्ने सहर होइन, शक्ति सञ्चालन गर्ने सहर हो।’ त्यो एउटा वाक्यले सहरको सम्पूर्ण परिचय समेटिदियो। ती भवनहरू हेर्दै गर्दा मेरो मन अनायासै नेपालतिर फर्कियो। हामीसँग पनि संविधान छ, लोकतान्त्रिक संस्था छन्, जनताको बलिदानबाट प्राप्त व्यवस्था छ। तर, के हामीले संस्थामाथिको विश्वासलाई व्यक्तिभन्दा माथि उठाउन सकेका छौं ? के हामीले सुशासनलाई नारामा होइन, व्यवहारमा उतार्न सकेका छौं ? के हामीले राजनीति र अर्थतन्त्रलाई एकअर्काको प्रतिस्पर्धी होइन, सहयात्री बनाउन सकेका छौं ? यात्राले उत्तर दिएन, तर ती प्रश्नहरू मनभित्र गहिरिएर बसे।
वासिङ्टनबाट फर्किने क्रममा मेरिल्यान्ड निवासी प्रकाश शाहीले भन्नुभएको वाक्य अझै स्मृतिमा ताजै छ— ‘अमेरिकाले सिकाउने सबैभन्दा ठूलो पाठ सम्पन्नता होइन, संस्थालाई बलियो बनाउने संस्कार हो।’ त्यो भनाइले झन् स्पष्ट बनायो कि समृद्ध राष्ट्रको पहिलो आधार प्राकृतिक स्रोत होइन, विश्वासयोग्य प्रणाली हो। त्यसपछि यात्रा न्युयोर्कतर्फ अघि बढ्यो। न्युयोर्कमा प्रवेश गर्दा लाग्यो, एउटै देशभित्र अर्को संसारमा आइपुगें। यहाँ समय घडीले होइन, गतिले मापन हुन्छ। सडकमा हिँड्ने प्रत्येक अनुहारसँग एउटा सपना थियो। संसारका सयौं भाषा, संस्कृति र आकांक्षा एउटै सहरमा एकसाथ धडकरहेका थिए। आकाश चुम्ने गगनचुम्बी भवनहरू केवल फलाम र कंक्रिटका संरचना लागेनन्। ती लाखौं मानिसका साहस, पसिना र सपनाले उभिएका स्मारकजस्ता देखिए।
यही सहरमा विश्व अर्थतन्त्रको लय सुनिन्छ। यहीँ सञ्चार, कला, संस्कृति र व्यापारले विश्वसँग निरन्तर संवाद गरिरहेका छन्। न्युयोर्कले सपनालाई अवसर दिने समाजले नै विश्वलाई आकर्षित गर्न सक्छ भन्ने पाठ सिकायो।
स्ट्याचु अफ लिबर्टीको छायाँमा लामो समयदेखि बसोबास गर्दै आएका मित्र कृष्ण लामिछानेसँग भएको संवाद यात्राको अन्तिम स्मरणीय क्षण बन्यो– ‘नेपालले अमेरिकालगायत विश्वभर छरिएका नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्र निर्माणसँग जोड्न सके त्यसले आर्थिक समृद्धिमात्र होइन, विश्वसँग नेपालको सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याउनेछ।’ उहाँको भनाइ केवल प्रवासी नेपालीको चाहना थिएन; त्यो नेपालको भविष्यप्रतिको विश्वास थियो। त्यसपछि यात्राका सबै दृश्य एक–एक गर्दै सम्झिन थालें।
टर्नर फल्सका पवनचक्कीहरूले ऊर्जाको सम्भावना देखाए। आमिस समुदायले समुदायको शक्ति सिकायो। विश्वविद्यालयहरूले अनुसन्धानको मूल्य बुझाए। आउटर बैंक्सले सपना देख्ने विश्वास जगायो। गोल्डेन गेटले असम्भवलाई जोड्ने आत्मविश्वास देखायो। सिलिकन भ्यालीले विचार नै सबैभन्दा ठूलो पुँजी हो भन्ने प्रमाणित ग¥यो। थाउजेन्ड आइल्यान्डले प्रकृतिसँग सहअस्तित्वको सौन्दर्य सम्झायो। नायाग्राले प्रकृतिसामु विनम्र हुन सिकायो। बोस्टनले ज्ञानमा गरिएको लगानीले भविष्य निर्माण गर्छ भन्ने सत्य देखायो। वासिङ्टनले संस्थाको शक्ति चिनायो। न्युयोर्कले श्रम, सिर्जना र अवसरको विश्वव्यापी भाषा सुनायो।
यी सबै दृश्य अन्ततः एउटै ठाउँमा आएर जोडिए— नेपालमा। नेपालसँग हिमाल छन्, नदी छन्, हावा छ, उर्वर भूमि छ, जैविक विविधता छ, संसारलाई आकर्षित गर्ने प्राकृतिक सौन्दर्य छ। त्यसभन्दा ठूलो कुरा, सपनालाई यथार्थमा बदल्न सक्ने लाखौं ऊर्जाशील युवा छन्। हामीसँग अभाव सम्भावनाको होइन; अभाव दूरदृष्टिको छ। अभाव अनुसन्धानलाई प्राथमिकता दिने सोचको छ। अभाव सुशासन र कार्यसंस्कृतिको छ। जब यी तीन आधार बलिया हुन्छन्, सम्भावना आफैं समृद्धिमा रूपान्तरण हुन्छ।
अनिता र म नेपाल फर्किने तयारी गर्दा सुटकेसभन्दा धेरै भरिएको थियो मेरो मन। मैले अमेरिकाबाट ल्याएको सबैभन्दा ठूलो स्मृति कुनै किनमेलको सामान थिएन, बरु थियो— विश्वास। यात्राको सबैभन्दा सुन्दर गन्तव्य अन्ततः आफ्नो देश नै हुँदो रहेछ। किनकि नयाँ देश घुमेर फर्किँदा मानिसले मातृभूमिलाई नयाँ आँखाले देख्न सिक्दो रहेछ।
प्रतिक्रिया दिनुहोस !