मानिसले आफूलाई प्रकृतिको मालिक सम्झिएर अधिपत्य जमाउन थालेपछि पृथ्वीमा संकट बढ्न थालेको छ। जंगल मासिने, नदी सुक्ने र हिमाल तीव्र गतिमा पग्लिरहेका छन्। मौसमले आफ्नो प्राकृतिक स्वरूप बदल्दै गएको छ। आधुनिक विकासका नाममा प्रकृतिको निरन्तर दोहन भएकै कारण आज जताततै बेमौसमी प्राकृतिक विपत्ति बढिरहेको देखिन्छ।
नेपाललगायत विश्वका विभिन्न देशमा हरेक वर्ष जुन ५ तारिख विश्व वातावरण दिवस मनाइन्छ। त्यो दिन प्रायः चर्का भाषण गरिन्छ। वृक्षरोपण गकिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याइन्छ। पाँचतारे/तीनतारे होटलमा सेमिनार र गोष्ठी आयोजना गरेर नाराहरू घन्काइन्छ।
तर प्रकृतिको महत्त्व बुझ्दै प्लास्टिक तथा सिसाजन्य फोहोर व्यवस्थापनको ठोस नीति बनाएर वातावरणलाई सुरक्षित राख्ने काम विरलै गरिएको देखिन्छ। तर रूपाकोट मझुवागढी नगरपालिका, दिक्तेलले तीनदिने रचनात्मक कार्यक्रम आयोजना गर्यो। जनचेतनामूलक सरसफाइ, विद्यार्थीको सहभागितामा हस्ताक्षर अभियान, अन्तरसंवाद तथा तेस्रो दिन ‘इको वाक’ अर्थात् वातावरणमैत्री पदयात्रा गर्यौं। जुन अभियान जनचेतना फैलाउँदै प्रकृतिको संरक्षण गर्ने सामूहिक प्रयास थियो। जेठ २३ गते हुर्लुङदेखि रेडपाण्डा थार पदमार्ग हुँदै रूपाकोटको डाँडामा पुग्दा हामीले जीवन र प्रकृतिबीच टाढिँदै गएको सम्बन्ध पुनः जोड्ने प्रयास गरिरहेका थियौं।
पानी परिरहँदा पदयात्रा : रातभर परेको पानीले संशय उत्पन्न गरिदियो। छानामाथि बजिरहेको पानीको आवाजले वातावरणलाई निराश बनायो। तर, बिहान करिब साढे चार बजेतिर मौसममा एकाएक परिवर्तन आयो र पानी रोकियो। बिहान पाँचै बजे नगरपालिका परिसरबाट हुर्लुङतर्फ लाग्यौं। सडकमा बाक्लो हुस्सु थियो। गाडीबाट झ्यालबाहिर हेर्दा कालो बादल र तुवाँलोले प्रकृतिलाई छोपेको थियो। नगरका गाडी चालक निश्चल नेवाले सुस्त गतिमा गाडी चलाएर हुर्लुङसम्म पुर्याउनुभयो।
रेडपाण्डा थार पदमार्गबाट ‘वातावरणीय पदयात्रा’ सुरु भयो। यात्रामा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई, जिल्ला समन्वय अधिकारी अनुनय बाँस्तोला, प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकी, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, अन्य कर्मचारी, शिक्षक, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधि थियौं। पदमार्ग गर्ने क्षेत्रमा बाक्लो हुस्सु र कालो बादल लागेको थियो। यस्तो वातावरणमा थोरै भाग हिँडेर फर्किने सल्लाह गर्र्याैं। तर दस–पन्ध्र मिनेटको पदयात्रापछि सिमसिम परिरहेको पानी रोकियो। हुस्सु र कालो बादल पनि बिस्तारै हट्दै गयो। मानौं, प्रकृतिले हामीलाई आफैं स्वागत गरिरहेकी थिइन्।
हुस्सुभित्रको मौन संगीत : हुर्लुङ भन्ज्याङको जंगल कुनै कुशल चित्रकारले कोरेको जीवन्त चित्रजस्तो लाग्थ्यो। चारैतिर हरियाली, टाढाटाढासम्म फैलिएका डाँडाकाँडा र सेताम्मे हिमालको दृश्यले मन आनन्दित भएको थियो। तामाङ, शेर्पा, गुरुङ र राई समुदाय मिलेर बसेको हुर्लुङको सांस्कृतिक बस्तीले वातावरणलाई अझ आत्मीय बनाएको छ। बिहानको हुस्सुलाई चिर्दै सूर्यका सुनौलो किरणले शरीरलाई चुम्यो। चराचुरुंगी र किराहरूको आवाज गुञ्जिरहेको थियो। कतै ‘कुहुकुहु’, कतै ‘चिरबिर–चिरबिर’, ‘झ्याउँ–झ्याउँ’ र ‘टिनीनिनी’का स्वरमा जैविक विविधताका सम्पदाहरू रमाइरहेका थिए।
जंगल आफैं मौन संगीतमा परिणत भएको अनुभूति हुन्थ्यो। त्यो दृश्य र मनमोहक ढंगले गुञ्जिएका आवाजहरू प्रकृतिका थरीथरीका लयात्मक भाषाजस्तो लाग्थ्यो। साहित्यिक संवेदनशीलता भएकी खोटाङ उँभोखोलाकी कोपिला राई (सहायक प्रमुख जिल्ला अधिकारी)ले मौनतालाई भंग गर्दै प्रशासनिक व्यस्तता र सहरको कोलाहलबाट केही घण्टा टाढा रहँदा ‘स्वर्गानुभूति’ भएको भावुक शैलीमा आफ्नो अनुभूति व्यक्त गर्नुभयो। उहाँका शब्दहरूले यात्राको भावनात्मक संवेदना र पदयात्राको महत्त्व अझ बढाएको महसुस भयो।
ऐंसेलुको मिठास र आत्मीयता : जंगलका बोटबिरुवा र बुट्ट्यानहरू एकआपसमा पौंठेजोरी खेलेजस्तै देखिन्थे। ठाउँठाउँमा पहेंलपुर पाकेका ऐंसेलु झुन्डिरहेका थिए। प्रायः सबै पदयात्री बाल्यकाल सम्झँदै उत्साहित भएर ऐंसेलु टिप्न थाले। उकालो हिँड्दा थकित देखिनु भएकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेल स्वयं ऐंसेलु टिप्दै मुस्कुराई रहनुभएको थियो। ऐंसेलुको स्वाद लिँदै उहाँले बाल्यकालका साथीसँगका स्मृति र मनभित्र उकुसमुकुस भएका अतीतका पानाहरूलाई हर्षित मुद्रामा पल्टाउनु भयो।
‘महिनामा एकपटक यस्तो यात्रा हुनुपर्छ’ भन्ने उहाँको ठट्यौली शैलीको अभिव्यक्तिमा प्रकृतिप्रतिको आत्मीयता झल्किन्थ्यो। त्यो ऐंसेलुको स्वाद बजारका कृत्रिम तथा मिसावटी फलफूल र पेय पदार्थभन्दा फरक स्वस्थवर्धक थियो। प्रकृतिले दिएको स्वादमा कुनै बनावटीपन हँुदैन। त्यहाँ केवल शुद्धता र यथार्थ हुन्छ। जीवन र प्रकृतिको सम्मि श्रणबाट प्रवाहित हुने अलौकिक अनुभूति हुन्छ। ऐंसेलुको स्वादसँगै हाम्रो यात्रामा आत्मीयता थपियो।
जुकाको त्रास र प्रकृतिको स्पर्श : उकालो चढ्दै जाँदा जुकाहरूको संसार सुरु भयो। हिलाम्ये झारपात, घाँस र झाडीमा अनगिन्ती जुकाहरू लमतन्न देखिन्थे। मानिसको गन्ध पाउनासाथ ती मानिसको शरीरतिर सल्बलाउँदै आकर्षित हुन्थे। प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जुकाबाट सावधान रहन आग्रह गर्नासाथ सहायक प्रजिअ राई एक्कासि चिच्याउनुभयो– ‘बरु बाघसँग म जुध्न सक्छु तर जुकासँग असाध्यै डर लाग्छ !’
त्यो दृश्य रोचक थियो र मानवीय पनि। मानिसको मनोवैज्ञानिक त्रास अनौठो हुन्छ। सबै कुरा लुकाउन सकिन्छ तर डर लुकाउन सकिँदैन। कहिलेकाहीँ ठूलाठूला संकटभन्दा सानो प्राणीले पनि मानिसलाई बढी त्रसित बनाई दिँदोरहेछ। प्राकृतिक दृष्टिले जुका रगत चुस्ने जीव हो। तर जंगलको पारिस्थितिकी प्रणालीलाई संरक्षित गर्न जुकाको महत्त्वपूर्ण भूमिका रहन्छ। चिस्यानयुक्त भौगोलिक वातावरणको स्वास्थ्य मापन गर्न जीव वैज्ञानिकहरूले जुकालाई संकेतक प्राणीका रूपमा स्वीकार गरेका छन्।
जुकाको पर्यावरणीय महत्त्व : जुकाले साना जीवहरूको सन्तुलन कायम राख्न मद्दत गर्छ। जैविक खाद्य शृंखला बचाउन यसको महत्त्वपूर्ण भूमिका हुन्छ। चिकित्सा क्षेत्रमा ‘हिरूडोथेरापी’ नामक उपचार पद्धतिमा जुकालाई प्रयोग गरिन्छ। यसको र्यालमा पाइने तत्त्वले रगत जम्न नदिने, रक्तसञ्चार सहज बनाउने र शरीरका घाउखटिरा आइरहने रोगमा उपचारात्मक प्रभाव पार्ने वैज्ञानिक अध्ययनहरूमा छन्।
लाग्छ, जुकाको टोकाइ डरभन्दा पनि प्राकृतिक उपचार हुन्छ। विगतदेखि नै जंगलमा हिँड्दा म स्वेच्छाले जुकालाई टोक्न दिन्छु। साथीहरू अचम्मित हुन्छन्। कसैले ‘फोहोरी’ भन्छन् त कसैले ‘नाटक’ भनेर व्यंग्य। तर प्रकृतिको आफ्नै दर्शन हुन्छ भन्ने कुरा सबैले बुझ्दैनन्। यी भद्दा र पूर्वाग्रही आलोचनाहरूलाई सहज रूपमा लिन्छु।
धागोजत्रा साना जुकाहरू रगत चुसेर महुरीभन्दा ठूला भएको दृश्य देख्दा प्रकृतिको दिनचर्या झन् अद्भुत लाग्छ। खैरो रङको खरी जुका त रगत चुसेर अघाएपछि झुसिलकिरोभन्दा ठूलो भएर फुल्छ। रगत चुसेर टन्न अघाएपछि जुकाहरू आफैं भुइँमा झरेर बच्चा जन्माउने प्रकृतिको चक्र पूरा गर्छन्।
चिप्लो बाटो, हाँसो र सामूहिकता : केही दिनदेखिको वर्षाले पदमार्ग चिप्लो र असहज बनेको रहेछ। कतै लड्दै त कतै आफूलाई सम्हाल्दै रूपाकोट डाँडातर्फको यात्रा अघि बढिरह्यो। नगरपालिकाको अनुरोधमा काठमाडौंबाट मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिन आउनुभएका हिलिङ टुगेदर नेपालका निर्देशक सुरेश क्षेत्री, प्रशिक्षकद्वय सरिता पोखरेल र उर्मिला बोहराले पटकपटक लड्दा पनि रैथाने हाँसो र यात्रालाई छोड्नु भएन। असहजताभित्र पनि उहाँहरूको दृढता र उन्मुक्त हाँसोले यात्रालाई अझ रमाइलो र सहयात्रीहरूको आत्मविश्वास र मनोबल बढाएको थियो।
नगरपालिकाका आईटी अधिकृत सुवास राईको जोसिलो हिँडाइ, लेखा शाखा प्रमुख राजकुमार राई र सुनील पन्थीको ठट्यौली तथा पदयात्रीको सामूहिक हाँसोले जंगलभित्रको पदयात्रालाई जीवन्त बनाइरहेको थियो। त्यहाँ मेयर र सीडीओको कुनै रवाफ थिएन। न हाकिमी शैलीको प्रशासनिक आदेश थियो। सबै प्रकृतिका सामु समान ‘इको वाक’ पदयात्री बनेका थियौं त्यो समयमा।
जीवन्त संग्रहालय रूपाकोट डाँडा : रूपाकोट केवल प्राकृतिक सौन्दर्यले भरिएको भूगोलमात्र होइन, त्यो जैविक विविधताको जीवन्त संग्रहालय पनि हो। यहाँ अर्गेली, गुराँस, उत्तिस, चिमल, सिस्नो, सिगाने, मलातो, काफल, कटुसलगायतका दर्जनौं वनस्पतिहरू पाइन्छन्। चिराइतो, टिम्मुर, ठूलो ओखती, पाखनवेद र मरिठोजस्ता जडीबुटीहरूले यस क्षेत्रलाई औषधीय क्षेत्रको रूपमा पहिचान दिएको छ।
खरायो, वन बिरालो, सर्प, हरिण, स्याल, मृग, हाब्रे, निगाले बाघ र थारजस्ता दर्जनौं प्रजातिका वन्यजन्तु तथा चराचुरुंगी सहअस्तित्वमा बाँचेका छन्। खार्मी निवासी शीतला मावि खाल्लेका प्रधानाध्यापक मिन दाहालले रूपाकोटको जैविक विविधता र यसको उपयोगिताबारे रोचक ढंगले जानकारी दिनुभयो। पाथेका, खार्मी, जाल्पा, सोल्मा, नुनथला, बाम्राङ र नेर्पाको सीमारेखाको केन्द्रमा रहेको रूपाकोटको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे उहाँले बाल्यकालको अनुभव र सांस्कृतिक एवं प्राकृतिक महत्त्व सुनाउनुभयो।
जहाँ झाँक्री गुफा, सिद्धसिकारी थान, वन देवीस्थान र जोगीकुटीजस्ता परम्परागत धार्मिक सांस्कृतिक सम्पदाहरू छन्। ती पवित्र थलोमा धार्मिक मान्यता र परम्परागत विश्वासका आधारमा भिन्नभिन्न शैलीमा पूजा–अर्चना र संस्कारगत गतिविधि गरिन्छ। नेपाली मौलिकताअनुसार प्रकृति, संस्कृति, देवीदेवता, सिकारी तथा खोला–खोल्सीको पूजा गरेर शान्तिको कामना गर्ने नेपाली परम्पराले विश्वमा छुट्टै पहिचान स्थापित गरेको छ।
थुम्कीको चौतारो र दृश्यावलोकन : लगातार डेढ घण्टा उकालो हिँडेपछि करिब २६ सय मिटर उचाइमा अवस्थित सुन्दक रूपाकोट डाँडाको थुम्कीमा पुग्यौं। त्यहाँबाट देखिए, हिमशृंखला, दिक्तेल बजार र वरपरका हरिया रमणीय डाँडाहरू। यद्यपि मौसम पूर्ण रूपमा नखुलेका कारण सर्वोच्च शिखर सगरमाथालगायतका हिमालहरू स्पष्ट देख्न पाइएन।
नगरपालिकाका कर्मचारी वाजेन्द्र कोइराला र राजन दाहालले रैथाने प्राकृति खाजा मकै, भटमास र मोही बोकेर ल्याउनुभएको थियो। स्वादले खायौं। जहाँ पदीय र जातीय विभेद थिएन। सबै समान वैदिक समाजवादको युगमा प्रवेश गरेझैं लाग्यो। खलखल पसिना बगेर तिर्खाएको समयमा मोहीको प्रत्येक घुट्की साँच्चै अमृतसरह लागेको थियो हामीलाई। प्रकृतिसँग गुटुमुटु भएपछि मानिसको पद, शक्ति र अहंकार सबै समान हुँदोरहेछ।
विकास र विनाशबीचको द्वन्द्व : थुम्कीबाट तल हेर्दा महुरे, नुनथला र मुढेको दृश्य मध्यपहाडी लोकमार्ग कालो धागोको रेखाजस्तो देखिन्थ्यो। मनमा प्रश्न उठ्यो– विकास र प्रकृतिबीचको सन्तुलन कसरी कायम गर्ने ? यो यथार्थ हो, सडक र पूर्वाधारबिना समाज अगाडि बढ्न सक्दैन। तर विकासकै नाममा जथाभावी जंगल फँडानी, नदी दोहन, अवैध उत्खनन र ग्रामीण भेगमा अन्धाधुन्ध डोजर आतंक भइरहँदा प्रकृति नष्ट भइरहेछ। वन्यजन्तु तथा जीवहरू असुरक्षित छन्। पूर्वाधार विकास र जैविक विविधताको संरक्षणलाई सककगसककगै नलैजाने हो भने प्रकृतिक विपत्तिको जोखिम अझ बढ्नेमा दुईमत छैन।
अध्ययन नगरी जताततै स्थापना भएका क्रसर उद्योग र डोजरमुखी सोचले जैविक विविधताको हत्या भइरहेछ। यो हत्याराको सूचीमा नगर प्रमुखको जिम्मेवारी र जवाफदेहिताको हिसाबले मेरो पनि संलग्नता छ। बुझ्दाबुझ्दै पनि परोक्ष रूपमा सहभागी हुनु पर्दा आत्मग्लानी हुन्छ। त्यसैले कडा कानुनी व्यवस्था गरी प्रकृतिको संरक्षण गर्न संघीय सरकारले तत्काल अग्रसरता लिनुपर्छ। प्रकृति र विकासबीचको यो द्वन्द्व अहिलेको सबैभन्दा ठूलो चुनौती हो। यसको व्यवस्थापन भनेको विज्ञको सुझाव र कडा कानुनी व्यवस्था नै हो।
रेडपाण्डा थार पदमार्गको सम्भावना : खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका— २, हुर्लंगबाट सुरु हुने रेडपाण्डाथार पदमार्ग स्थानीय परम्परागत पदमार्ग मात्र होइन। यो विश्वमा स्थापित मुन्दुम ट्रेलसँग जोडिने ठूलो सम्भावना बोकेको पदमार्ग हो। मधेस र काठमाडौंको मार्गबाट त्रिधार्मिकस्थल हलेसीधाम आउने स्वदेशी र विदेशी धार्मिक पदयात्रीको लागि मुन्दुम ट्रेल जाने मुख्य प्रवेशद्वार हो यो पदमार्ग। जैविक विविधता, मौलिक संस्कृति, जडीबुटी, वन्यजन्तु र रैथाने खानपानले यस क्षेत्रलाई पर्यापर्यटनको अनुपम गन्तव्य बनाउन सक्ने ठूलो सम्भावना बोकेको क्षेत्र हो। रेडपाण्डा थार पदमार्गबाट अहिले धेरै देशीविदेशी पदमार्गीहरूले यात्रा गर्न थालेका छन्।
नगरपालिकाले यो पदमार्गको विकासका लागि विशेष चासो दिएर काम गरिरहेको छ। यदि स्थानीय सरकार, समुदाय र संरक्षणकर्मीहरूले साझा योजना बनाउन सकियो भने रूपाकोट डाँडा नेपालको उत्कृष्ट पर्यापर्यटन केन्द्रको रूपमा स्थापित हुन सक्छ। पर्यापर्यटनले केवल पर्यटकमात्र ल्याउँदैन यसले गाउँ बचाउँछ, संस्कृति जोगाउँछ र रोजगारी सिर्जना गर्दै प्रकृति संरक्षणको जिम्मेवारी र जवाफदेहिता पनि बढाउँछ। यो ‘इको वाक’ अभियानको कुनै न कुनै ढंगबाट भविष्यमा उत्खनन र चिरफार हुने नै छ।
प्रकृतिसँग रमाएको रूपाकोट : घना जंगलका बीचमा लमतन्न फककाटिलो सुन्दर चौर, हरियाली वातावरण र साथीहरूको उत्साहले यात्रा स्मरणीय बनाएको थियो। नगरपालिकाले जेठको २१, २२ र २३ गते तीन दिन भव्यतापूर्वक विश्व वातावरण दिवस मनाएको थियो। त्यसको अन्तिम दिन रूपाकोटसम्म भएको इको वाक सम्पन्न भएको घोषणा गरें। दिवसमा सहभागी सबैलाई साधुवाद टक्र्याएँ। मानवले आफूमात्र जोगिने होइन, प्रकृति र जैविक विविधता पनि जोगाउन अनुरोध गर्ने दिवसको मूल उद्देश्य भएको चर्चा गरें।
पदमार्गमा प्लास्टिक आतंक : यस्तो मनमोहक प्राकृतिक सौन्दर्य भू–भागमा यत्रतत्र प्लास्टिक फ्याँकिएको थियो। हामीलाई गिज्याइरहेको प्लास्टिक र फोहोर संकलन गर्ने कामको नेतृत्व गरें। यस कार्यमा सबै साथीहरूले साथ दिनुभयो। त्यस क्षेत्रमा जाने सभ्य मानिसले फ्याँकेर कुरूप बनेको प्लास्टिकले भरिएको बोरा र संकलित फोहोर मोहन गुरुङलाई हुर्लुंगमा रहेको उहाँको घरमा पुर्याएर हस्तान्तरण गरें। उहाँ फेकोफनको जिल्ला अध्यक्ष र वातावरणका हिमायती हुनुहुन्थ्यो। जिम्मेवार व्यक्तिले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा योगदान नगरेको व्यककग्य थियो त्यो मेरो काम। अर्कोतर्फ नगर प्रमुखको हैसियतले म पनि असफल र असक्षम रहेछु भन्ने स्वीकारोक्ति थियो।
पदयात्राको निष्कर्ष : रूपाकोटसम्मको इको वाक अर्थात् वातावरणीय पदयात्रा प्रकृतिसँग हराउँदै गएको सम्बन्ध पुनस्र्थापित गर्ने यात्रा थियो। पदयात्रीहरूको हाँसो र एकआपसलाई नजिकबाट बुझ्दै जीवन दर्शनलाई कागजको सेतो पानामा उतार्ने सुवर्ण अवसर थियो त्यो पदयात्रा। सम्पूर्ण जैविक विविधतालाई बचाउनुपर्छ। प्रकृति जोगिएमात्र मानव सभ्यता जोगिन्छ। सायद, त्यसैले त्यो दिन जंगलभरि फैलिएका जुकाहरूले आफ्नै भाषामा मौन रूपमा भनिरहेका थिए, ‘प्रकृतिसँग जोडिनु नै जीवनको वास्तविक आनन्द हो।’
पदमार्गको यात्रा गरेर जैविक विविधताको संरक्षण गर्दै रूपाकोटजस्ता स्वर्गीय भूगोललाई विश्वसामु चिनाउन पहलकदमी गर्न जरुरी छ। रेडपाण्डा थार पदमार्गमा यात्रा गर्दा स्वस्थकर जीवन प्राप्ति र मानिसलाई प्रकृतिसँग सानिध्यताको अनुभूति गराउँछ। रूपाकोटका सुन्दर हरिया डाँडाहरू, हुस्सुले ढाकिएको जंगल र जुकाले रजाइँ गरेको प्राकृतिक मनोरम ठाउँको संरक्षण गर्दै भोलिको पुस्ताले पनि देख्न र घुम्न पाऊन्।
प्रतिक्रिया दिनुहोस !