अष्टकूट मिलानमा नाडीलाई कूटहरूको राजा मानिन्छ। यसैले अष्टकूट मिलानमा नाडीलाई सबैभन्दा बढी ८ गुण प्रदान गरिएको छ।
जब विवाहको कुरा चल्छ, केटा र केटी पक्ष दुवैतर्फबाट सोधिने प्रश्नहरू हुन्छन्– केटाले के गर्छ ? केटी कस्ती छे ? उसको परिवार कस्तो छ ? गुण मिल्यो कि मिलेन ? नाडी कस्तो छ ?
केटालाई केटी मन पर्यो र केटीलाई केटा मन पर्यो। केटा र केटी पक्षका परिवारलाई दुवैका परिवार पनि मन पर्यो। परन्तु केटा र केटीको गुण मिलेन, गण मिलेन र नाडी मिलेन। फलतः विवाह रोकियो।
आखिर यस्तो के रहस्य छ नाडीमा ? जसलाई अष्टकूट मिलानका ३६ गुणमध्ये सबैभन्दा बढी ८ गुण प्रदान गरिएको छ ? खासमा नाडी भनेको के हो ? किन यसलाई यति महत्त्व दिइन्छ ?
किन एउटै नाडी भएका वर–वधूलाई नाडी दोष भनिन्छ ? नाडी नमिल्दैमा विवाह कसरी असफल हुन्छ ? यसको पछाडि लुकेको गहिरो जीवन दर्शन के हो ? वास्तवमा यो केवल परम्परागत मान्यता हो कि यसको पछाडि कुनै गहिरो वैदिक चिन्तन र वैज्ञानिक रहस्य पनि लुकेको छ त ?
आउनुहोस्, आज नाडी सूत्रभित्र लुकेको गहिरो ज्योतिषीय जीवनदर्शन र त्यसको विज्ञानलाई जीवनमा सन्तुलन र पूरकताको खोजको रूपमा बुझ्ने प्रयास गरौं।
अष्टकूटका ८ कूट र तिनका गुण : कूट वर्णको अधिकतम् गुण १ हुन्छ। यसैगरी, वश्यको २, ताराको ३, योनिको ४, ग्रह–मैत्रीको ५, गणको ६, भकूट (राशि)को ७ र नाडी वर्णको ८ अधिकतम् गुण हुन्छ। जम्मा ३६ हुन्छ। यसरी हेर्दा, नाडी कूटको सबैभन्दा बढी गुण–८ छ भने भकूटको–७ गुण र गणको ६ गुण देखिन्छन्। त्यसपछि क्रमशः ग्रह मैत्री, योनि, तारा, वश्य र वर्णका गुण आउँछन्।
कूट भनेको के हो ? : सरल भाषामा ‘कूट’ भनेको परीक्षणको एउटा खण्ड हो। अर्थात् मापन गर्ने एउटा आधार हो। उदाहरणका लागि कुनै एउटा बिरामीको स्वास्थ्य जाँच गर्नुछ भने उसको शरीरको स्वास्थ्य स्थितिको निष्कर्ष केवल रक्तचापमात्रै हेरेर पुग्दैन। यो बाहेक उसको रगत, मुटु, सुगर, अक्सिजन, कलेजो, फोक्सो, पिसाबलगायत अन्य अंगहरूको पनि परीक्षण गर्नुपर्दछ।
त्यसैगरी, विवाह मिलानमा पनि केवल एउटा कुरामात्रै हेरेर निर्णय लिन सकिँदैन। अतः यी प्रत्येक परीक्षण एउटा कूट वा मापनजस्तै हुन्। त्यसैले, ‘कूट’ भनेको दुई व्यक्तिबीचको कुनै एउटा विशेष पक्षको अनुकूलता नाप्ने मापदण्ड हो। अर्थात्, विवाहपूर्व गरिने आठ वटा अलग–अलग
अनुकूलता परीक्षणहरूको समष्टि हो।
‘कूट’हरूको सामान्य परिचय : कुण्डली मिलानमा प्रयोग हुने अष्टकूट (८ कूट) लाई विवाहअघि केटा र केटीको शारीरिक, मानसिक, भावनात्मक, पारिवारिक र आध्यात्मिक अनुकूलता जाँच्ने आठवटा बेग्लाबेग्लै मापदण्डका रूपमा बुझ्न सकिन्छ। ३६ गुणमध्ये प्रत्येक कूटले निश्चित गुण प्रदान गर्छ। आउनुहोस्, अब यसको महत्त्वलाई सरल भाषामा बुझौं–
वर्ण कूट (१ गुण) : अष्टकूट मिलानमा वर्ण भनेको केटा र केटीमा एक अर्कालाई सम्मान गर्न सक्ने स्वभाव र संस्कार छ कि छैन भनेर मापन गर्ने आधार हो। यो मानिसको आन्तरिक प्रकृति र सोचको स्तर हो। अष्टकूट मिलानमा वर्ण चार प्रकारका हुन्छन्– ब्राह्मण वर्ण, क्षत्रीय वर्ण, वैश्य वर्ण र शूद्र वर्ण।
वर्णकूटमा वर र वधू दुवैको वर्ण एउटै भएमा (ब्राह्मण–ब्राह्मण, क्षत्रीय–क्षत्रीय, वैश्य–वैश्य र शूद्र–शूद्र) त्यसलाई सर्वोत्तम मिलान वा आदर्श मिलान भनिन्छ। यस्तै एउटै नभए पनि वरको वर्ण वधूको भन्दा उच्च भएमा (ब्राह्मण वरसँग क्षत्रीय÷वैश्य÷शूद्र वधू, क्षत्रीय वरसँग वैश्य÷शूद्र वधू र वैश्य वरसँग शूद्र वधू), त्यसलाई पनि राम्रै मानिन्छ।
तर वधूको वर्ण वरको भन्दा उच्च (ब्राह्मण वधूसँग क्षत्रीय वर, क्षत्रीय वधूसँग वैश्य वर र वैश्य वधूसँग शूद्र वर) भएमा यसलाई वर्णदोष वा वर्णकूटका दृष्टिले कमजोर मानिन्छ। यसर्थ, वर्ण कूटले हेर्ने कुरा भनेको विवाहपछि श्रीमान् र श्रीमतीले एकअर्कालाई कति सम्मान र आदर गर्छन् भन्ने हो। वर्ण मिलेमा दुवैमा परस्पर सम्मान बढ्छ, नमिलेमा अहंकार
र असहमति बढ्न थाल्छ।
वश्य कूट (२ गुण) : अष्टकूट मिलानमा वश्य भनेको केटा र केटीले एकार्काको प्रभाव, आकर्षण र व्यवहारलाई कति सहज रूपमा स्वीकार गर्न सक्छन् भनेर मापन गर्ने आधार हो। वश्य शब्द संस्कृतको ‘वश’ धातुबाट बनेको हो। जसको अर्थ नियन्त्रणमा आउनु, प्रभावमा पर्नु, आकर्षित हुनु
वा सहज रूपमा मान्नु भन्ने हुन्छ।
तर यहाँ ‘वश्य’को अर्थ कसले कसलाई बढी दबाउन सक्छ वा अधिनमा राख्न सक्छ भन्ने होइन। यसले त पति र पत्नीबीचको आकर्षण, प्रभाव, गति, सहयोग र एकअर्काको कुरा स्वीकार गर्ने क्षमतालाई जनाउँछ। जस्तो कि दुईटा गोरुले एउटा गाडालाई एउटै दिशातर्फ बल लगाएर तानिरहेका छन् भने गाडा सजिलै अगाडि बढ्छ तर तिनीहरूले परस्परमा विपरीत दिशातर्फ तानेका छन् भने गाडा अगाडि बढ्ँदैन।
यसैगरी, वश्य कूटले पतिपत्नी बीचको मनोवृत्ति एउटै दिशातर्फ चल्ने किसिमको छ कि छैन भनेर हेर्दछ। अष्टकूट मिलानमा वस्यकूटलाई निम्न पाँचवर्गमा वर्गीकृत गरिएको छ– चतुष्पद, द्विपद, जलचर, वनचर र कीट। सामान्यतया यसमा पनि एउटै वर्गभित्रको मिलान उत्कृष्ट मानिन्छ। जस्तैः चतुष्पदसँग चतुष्पद (मेष र वृष), द्विपदसँग द्विपद (मिथुन, कन्या, तुला र कुम्भ), जलचरसँग जलचर (कर्कट र मीन), वनचरसँग वनचर (सिंह÷सिंह) तथा कीटसँग कीट (वृश्चिक÷वृश्चिक)।
यस्तै, केही राशिबीच स्वाभाविक आकर्षण र प्रभावको सम्बन्ध भएकाले पनि राम्रो वश्य मिलान प्राप्त हुन सक्छ। तर एकअर्काको स्वभाव अत्यन्त भिन्न हुने र वश्य सम्बन्ध नबन्ने राशिहरूलाई वश्य–दोष मानिन्छ। यसले कहिलेकाहीँ जिद्दीपन, मतभेद वा नियन्त्रणको संघर्ष देखाउन सक्छ। अतःजहाँ वश्य सम्बन्ध बलियो हुन्छ, त्यहाँ आकर्षण, सहयोग र सामञ्जस्य पनि सामान्यतया बलियो रहने मानिन्छ।
तारा कूट (३ गुण) : तारा कूटले वर र वधूको जन्म नक्षत्रबीचको अनुकूलता, भाग्य, स्वास्थ्य, समृद्धि र पारस्परिक शुभफल कस्तो रहन्छ भन्ने कुरा बताउँछ। अष्टकूट मिलानमा यसको अधिकतम ३ गुण हुन्छ। तारा कूटको गणना वर र वधूको जन्म नक्षत्र गनेर ९ प्रकारका तारामा वर्गीकरण गरिन्छ।
ती हुन्– जन्म, सम्पत्, विपत्, क्षेम, प्रत्यारी, साधक, वध, मित्र र परममित्र। यीमध्ये सम्पत्, क्षेम, साधक, मित्र र परममित्र तारा अत्यन्त शुभ मानिन्छन्। यस्ता ताराको मिलान हुँदा दाम्पत्य जीवनमा सुख, स्वास्थ्य, आर्थिक उन्नति, सहयोग, समझदारी र पारस्परिक विश्वास बढ्ने विश्वास गरिन्छ। जन्म तारा सामान्य फलदायी मानिन्छ भने विपत्, प्रत्यारी र वध तारा अशुभ मानिन्छन्, जसले कहिलेकाहीँ बाधा, मतभेद, तनाव वा संघर्षको संकेत गर्न सक्छन्।
यसप्रकार, तारा कूटले पति र पत्नीको भाग्य, स्वास्थ्य र जीवनयात्राको तालमेल मापन गर्छ। मित्र, परममित्र, साधक, क्षेम र सम्पत् तारा बीचको मिलानलाई उत्कृष्ट मिलान मानिन्छ भने विपत्, प्रत्यारी र वध ताराबीचको मिलनलाई तारादोष मानिन्छ।
योनि कूट (४ गुण) : सरल भाषामा भन्नुपर्दा योनि कूट भनेको दुई व्यक्तिको स्वाभाविक आकर्षण, प्रेम अभिव्यक्त गर्ने शैली र वैवाहिक जीवनको अन्तरंग पक्ष कति मिल्छ भन्ने मापन हो। अष्टकूट मिलानमा यसको अधिकतम् ४ गुण हुन्छ। वैदिक ज्योतिषमा २७ नक्षत्रलाई विभिन्न १४ प्रकारका योनि (प्रतीकात्मक जनावर)मा विभाजन गरिएको छ।
अश्व (घोडा), गज (हात्ती), मेष (भेडा), सर्प, श्वान (कुकुर), मर्जार (बिरालो), मूषक (मुसा), गौ (गाई), व्याघ्र (बाघ), मृग (हरिण), वानर (बाँदर), सिंह आदि यसका उदाहरण हुन्। त्यसो त प्रत्येक नक्षत्र कुनै न कुनै योनिसँग सम्बन्धित हुन्छ। योनि कूटमा उत्कृष्ट मिलान तब मानिन्छ, जब वर र वधूको योनि एउटै हुन्छ। यस्तो अवस्थामा उनीहरूको बीचमा आकर्षण, प्रेम, आत्मीयता, शारीरिक सन्तुष्टि र भावनात्मक समझदारी
राम्रो रहने विश्वास गरिन्छ।
मध्यम मिलानमा सम्बन्ध सामान्य रूपमा चल्छ तर कहिलेकाहीँ चाहना, स्वभाव वा अभिव्यक्तिमा भिन्नता देखिन सक्छ। योनि दोष तब मानिन्छ, जब दुवै योनि परस्पर शत्रु (विरोधी) हुन्छन्। जस्तैः बिरालो र मुसा, बाघ र गाई आदि। यस्तो अवस्थामा अनावश्यक असन्तुष्टि, भावनात्मक दूरी, आकर्षणको कमी वा अन्तरंग जीवनमा मतभेद उत्पन्न हुन सक्ने सम्भावना हुन्छ। यसर्थ, जहाँ योनि मिलान राम्रो हुन्छ, त्यहाँ सम्बन्धमा आत्मीयता, निकटता र पारस्परिक सन्तुष्टि सामान्यतया बढी रहने विश्वास गरिन्छ।
ग्रह मैत्री कूट (५ गुण) : अष्टकूट मिलानमा ग्रह मैत्री भनेको वर र वधूका चन्द्र राशिका स्वामी ग्रहहरूबीचको मित्रता, समानता वा शत्रुताको अध्ययन हो। यहाँ चन्द्र राशि भन्नाले जन्मेको समयमा चन्द्रमा जुन राशिमा हुन्छ त्यसैलाई चन्द्र राशि भनेर बुझ्नुपर्दछ। जस्तैः जातक जन्मिँदा चन्द्रमा मेष राशिमा छ भने मेष– चन्द्र राशि भयो। यस्तै वृषमा छ भने वृष चन्द्र राशि भयो।
यसले पति र पत्नीबीचको मानसिक मेल, विचारको तालमेल, आपसी समझदारी, मित्रता र भावनात्मक सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा बताउँछ। जब दुवै राशिका स्वामी ग्रहहरू परस्पर मित्र हुन्छन् वा एउटै ग्रहद्वारा शासित हुन्छन्– यस्तो अवस्थामा पति र पत्नीबीच गहिरो समझदारी, सम्मान, सहयोग, विश्वास र मानसिक सामञ्जस्य रहने मानिन्छ। जस्तैः सूर्य र मंगल, चन्द्र र गुरु परस्पर मित्र ग्रहहरू हुन्।
तर वृष र तुला अनि मकर र कुम्भ सर्वोच्च ग्रहमैत्रीका राशिहरू हुन्। किनकि यस्ता राशिहरू एउटै ग्रहद्वारा शासित हुन्छन्। यस्ता जोडीमा सामान्यतया मानसिक मेल, समझदारी, सहयोग र विश्वास बलियो रहने अपेक्षा गरिन्छ। परन्तु यसको विपरीत जब राशिका स्वामी ग्रहहरू परस्पर शत्रु छन् भने यस्तो अवस्थामा विचार नमिल्ने, निर्णयमा मतभेद, अनावश्यक विवाद, भावनात्मक दूरी वा एकअर्कालाई बुझ्न कठिन हुने सम्भावना बढ्न सक्छ। यसर्थ, ग्रह मैत्रीले हामी एकअर्कालाई कति राम्रोसँग बुझ्छौं ? भन्ने कुरा बताउँछ। मित्र ग्रह भए दाम्पत्य जीवन सहज र सहयोगी बन्छ; शत्रु ग्रह भए ग्रह मैत्री दोष मानिन्छ।
गण कूट (६ गुण) : गण कूट भनेको पति–पत्नीबीचको स्वभाव र व्यक्तित्वको मिलान हो। अर्थात्, यसले पति र पत्नीको मूल स्वभाव, व्यवहार, संस्कार, सोच्ने तरिका र जीवनप्रतिको दृष्टिकोण कति मिल्छ भन्ने कुरा बताउँछ। अष्टकूट मिलानमा यसको अधिकतम ६ गुण हुन्छ। यी निम्न तीन प्रकारका हुन्छन्– देव गण, मनुष्य गण र राक्षस गण। यहाँ देव–देव, मनुष्य–मनुष्य र राक्षस–राक्षस गण बीचको सम्बन्धलाई उत्कृष्ट मिलान मानिन्छ।
यदि वर र वधू दुवै देवगणका छन् भने दुवैको स्वभाव धेरै मिल्ने अनि उनीहरूको शान्त र सौहार्दपूर्ण सम्बन्ध रहन्छ। यस्तै दुवै मनुष्य गणका छन् भने तिनीहरू बीच व्यावहारिक र सन्तुलित सम्बन्ध हुन्छ। अनि दुवै राक्षस गणका छन् भने, दुवैको सोच र ऊर्जा मिल्ने भएकाले तिनीहरूको बीचमा राम्रो समझदारी हुन्छ। यसपछि देव र मनुष्यबीचको सम्बन्धलाई पनि राम्रो मानिन्छ, तर देव र मनुष्यसँग राक्षस गणको सम्बन्धलाई गणदोष मानिन्छ।
यी दुईमध्ये पनि देव र राक्षस गणको मिलानलाई त परम्परागत रूपमै निकै कठिन मिलान मानिन्छ। किनकि देवगण शान्त र कोमल स्वभावको हुन्छ भने राक्षस गण स्वतन्त्र र तीव्र स्वभावको हुन्छ। फलतः उनीहरूको बीचमा विचार, व्यवहार र जीवनशैलीमा टकराव आइरहन्छ,जसले जीवनलाई जटिल बनाउँछ।
यसर्थ, गणकूट राम्रो भए पति र पत्नीको स्वभाव मिल्छ, झगडा कम हुन्छ, एकअर्कालाई बुझ्न सजिलो हुन्छ साथै परस्परमा सम्मान र सहयोग बढ्छ। तर गणदोष भएको बेलामा उनीहरूको बीचमा सोचाइ नमिल्ने, साना कुरामा मतभेद हुने र एकले अर्काको स्वभावलाई बुझ्न नसक्ने जटिलता उत्पन्न हुन जान्छ। यसैले गण कूटलाई पति–पत्नीको स्वभाव र व्यक्तित्वको मिलान मापन गर्ने कूट भनिन्छ।
भकूट कूट (७ गुण) : भकूट कूटले पति र पत्नीको चन्द्र राशिबीचको सम्बन्ध हेरेर वैवाहिक जीवनमा प्रेम, पारिवारिक सुख, आर्थिक उन्नति, सन्तान सुख र दीर्घकालीन सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा बताउँछ। अष्टकूट मिलानमा यसको अधिकतम ७ गुण हुन्छ। त्यसैले यसलाई निकै महत्त्वपूर्ण कूट मानिन्छ। सरल भाषामा भन्नुपर्दा भकूटले– हाम्रो जीवनयात्रा र भाग्यको दिशा एकअर्कासँग कति मिल्छ ? भन्ने कुरा बताउँछ।
यदि वर र वधू दुवैको राशि एउटै छ वा तिनीहरू बीचको राशिको दूरी १–७ अर्थात् एक राशिबाट गन्दा अर्को राशिको स्थान सातौंमा पर्यो भने अथवा यसैगरी ३ र ११ को स्थानमा र ४ र १० को स्थानमा रहेका छन् भने यो सम्बन्धलाई सामान्यतया शुभ मानिन्छ।
यस्तै किसिमले निम्न सम्बन्धलाई परम्परागत रूपमा भकूट–दोषका रूपमा लिइन्छ– यदि वर र वधूको राशि बीचको दूरीको सम्बन्ध– २ र १२, ५ र ९ अनि ६ र ८ छ भने यसलाई भकूट दोषका रूपमा लिइन्छ। किनकि यस्तो सम्बन्धमा क्रमशः खर्च र बचत, प्राथमिकता र जीवनशैलीमा टकराव; विचार, विश्वास, सिद्धान्त र अपेक्षामा मतभेद अनि जीवनकै गतिमा असन्तुलन आउन सक्छ।
- आखिर यस्तो के रहस्य छ नाडीमा ? जसलाई अष्टकूट मिलानका ३६ गुणमध्ये सबैभन्दा बढी ८ गुण प्रदान गरिएको छ ? खासमा नाडी भनेको के हो ? किन यसलाई यति महत्त्व दिइन्छ ? किन एउटै नाडी भएका वर–वधूलाई नाडी दोष भनिन्छ ? नाडी नमिल्दैमा विवाह कसरी असफल हुन्छ ? यसको पछाडि लुकेको गहिरो जीवन दर्शन के हो ?
- नाडी भनेको शरीर र मनको ऊर्जात्मक विधान हो। अतः आद्य नाडी चञ्चलता, गति, कल्पनाशक्ति, परिवर्तनशीलता आदिको दृष्टान्त हो भने मध्य नाडी तेजस्विता, नेतृत्व, महत्त्वाकांक्षा, उग्रता आदिको दृष्टान्त हो। यस्तै अन्त्य नाडीले शान्तता, स्थिरता, सहनशीलता, भावुकता आदिलाई बताउँछ।
- ऋषिहरूको उद्देश्य कूटदोष मात्रै खोज्नु नभएर वर र वधूमा ऊर्जाको समन्वय गराउनु थियो। जसरी सूर्य र चन्द्रमा मिलेर समयचक्र चल्छ। पुरुष र प्रकृति मिलेर सृष्टि चल्छ। त्यसैगरी, पति–पत्नी पनि एकअर्काका पूरक भएमा जीवन जीवनभर अति रमाइलोसँग व्यतीत हुनेछ। यसर्थ विवाहमा वर–वधूको ऊर्जात्मक तथा शारीरिक प्रकृति कति मिल्छ भन्ने कुरा नाडी मिलानले देखाउँछ।
यसर्थ, भकूट राम्रो भए पति र पत्नीका बीचमा जीवनका लक्ष्यमा तालमेल हुन्छ, आर्थिक र पारिवारिक उन्नतिमा सहयोग पुग्छ, सम्बन्ध दीर्घकालीन र स्थिर बन्छ अनि एउटाको प्रगति अर्काको प्रगति बन्न जान्छ। परन्तु भकूट दोषयुक्त देखिएमा जीवनको दिशा विपरीत हुन जान्छ, सानातिना कुराले पनि ठूलाठूला विवाद उब्जाउन सक्छ र आर्थिक, पारिवारिक र भावनात्मक क्षेत्रमा बारम्बार चुनौतीहरू आइरहन्छन्।
यसप्रकार भकूटलाई पति–पत्नीको जीवन यात्रा र भाग्यको तालमेल जाँच्ने मापनका रूपमा लिइन्छ। ७ गुण भएकाले अष्टकूट मिलानमा यसलाई विशेष महत्त्वका रूपमा लिने गरिन्छ।
नाडी कूट (८ गुण) : वैदिक विवाह मिलानमा नाडीलाई सन्तान, वंशवृद्धि, स्वास्थ्य, प्राणशक्ति र जैविक अनुकूलतासँग सम्बन्धित मानिएको छ। यही कारण ऋषिहरूले यसलाई सबैभन्दा ठूलो महत्त्व दिएर ८ गुण निर्धारण गरेका छन्। नाडी दोष भएमा परम्परागत ज्योतिषले विशेष ध्यान दिनुपर्ने बताउँछ। शास्त्रमा बताइएको छ– नाडीविहीनं न विवाहमाहुः।
अर्थात्, नाडी विचार नगरी विवाह गर्नु उचित मानिँदैन। यद्यपि, आधुनिक ज्योतिषका अनुसार भने नाडीका साथसाथै सम्पूर्ण कुण्डली, सप्तम भाव, सप्तमेश, शुक्र, गुरु, मंगल दोष, दशा–अन्तर्दशा आदि पनि सँगै अध्ययन गरिन्छ।
खासमा नाडी भनेको के हो ? : सरल भाषामा भन्नुपर्दा, नाडी भनेको शरीर र मनको ऊर्जात्मक विधान हो। नक्षत्रहरूलाई तिनीहरूको स्वभावअनुसार तीन नाडीमा वर्गीकृत गरिएको छ–
— आद्य नाडी ( जुन वात प्रकृतिको हुन्छ)
— मध्य नाडी (जुन पित्त प्रकृतिको हुन्छ) र,
— अन्त्य नाडी (जुन कफ प्रकृतिको हुन्छ)।
अतः आद्य नाडी चञ्चलता, गति, कल्पनाशक्ति, परिवर्तनशीलता आदिको दृष्टान्त हो भने मध्य नाडी तेजस्विता, नेतृत्व, महत्त्वाकांक्षा, उग्रता आदिको दृष्टान्त हो। यस्तै अन्त्य नाडीले शान्तता, स्थिरता, सहनशीलता, भावुकता आदिलाई बताउँछ।
नाडी दोष केलाई भनिन्छ ? : जब वर र वधूको जन्म नक्षत्र एउटै नाडीमा पर्छन्, तब यस दोषलाई नाडी दोष भनिन्छ। जस्तैः वर र वधूको आद्य–आद्य, मध्य–मध्य र अन्त्य–अन्त्य नाडी भएमा यसलाई नाडी लागेको भनिन्छ। यस्तो अवस्थामा प्रायः विवाह रोकिन्छ। किनकि दुवै व्यक्तिको प्रकृति अत्यधिक समान हुँदा जीवनमा असन्तुलन आउन सक्छ।
जस्तो कि– वर र वधू दुवैको मध्य नाडी छ भने दुवैको स्वभाव पित्तप्रधान बन्न जान्छ। फलतः आगोमा आगो थप्दा ज्वाला बढेजस्तै दुवै रिसाहा हुन्छन्, दुवैले आफ्नै कुरा मात्र सही ठान्छन्, दुवैले नेतृत्व गर्न चाहन्छन्, कोही कसैको अधीनमा रहन चाहँदैनन्। यस्तै दुवै आद्य नाडीका छन् भने उनीहरूमा वात प्रकृति अधिक हुन्छ।
परिणामतः दुवैअस्थिर हुन्छन्, निर्णय परिवर्तन भइरहन्छ र योजनाहरू अधुरा रहिरहन्छन्। हावाले हावालाई अझ बढी चलायमान बनाएजस्तै दुवैमा स्थायित्वको कमी हुन्छ। एवं रीतले दुवैको नाडी अन्त्य छ भने दुवैमा कफ प्रकृति अधिक हुन्छ। वस्तुतः दुवै अत्याधिक भावुक हुन्छन्, सुस्त र परिवर्तन हुन नचाहने किसिमका हुन्छन्।
अनि जीवनमा प्रगतिको गति कम हुन जान्छ। यसैले नाडी लागेमा विवाहलाई स्वीकार्य मानिँदैन। खासमा नाडी मिलान एक वैज्ञानिक अवधारणा हो। यसले ‘समान प्रकृतिको अत्यधिक संकेन्द्रणले असन्तुलन र पूरक प्रकृतिको संयोजनले सन्तुलन’ भन्ने सिद्धान्तलाई रहस्यात्मक ढंगबाट सिद्ध गर्दछ।
यसलाई अब म केही गणित र विज्ञानका सुन्दर उदाहरणहरूबाट प्रष्ट पार्ने कोशिस गर्दछु।
पहिलो उदाहरण : दुई समान संख्या र दुई पूरक संख्यामार्फत् यसलाई यसरी प्रष्ट पार्न सकिन्छ– मानौं, (+१०) + (+१०) बराबर +२०। यहाँ एउटै दिशाको शक्ति जोडिँदा सन्तुलनभन्दा पनि एकतर्फी वृद्धि भएको हामीले देख्यौं। तर, (+१०) + (–१०) बराबर ० हुन्छ। यहाँ भने दुई विपरीत प्रकृतिले
सन्तुलन सिर्जना गरेको छ।
यसले के रहस्य बताउँछ भने ‘सधैं समान वस्तुको योगले सन्तुलन दिँदैन, कतिपय अवस्थामा विपरीत वा पूरक तत्वले नै सन्तुलन दिन्छ।’ जीवनमा केवल समानताले मात्र नभएर पूरकताले पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने नै वैदिक नाडी मिलानको मूल दर्शन हो।
दोस्रो उदाहरण : अब एउटा ब्याट्रीको उदाहरण लिऔं। ब्याट्रीमा धनात्मक र ऋणात्मक दुई ध्रुवहरू हुन्छन्। यदि ब्याट्रीको धनात्मक ध्रुवसँग अर्को ब्याट्रीको धनात्मक ध्रुव वा ऋणात्मकसँग ऋणात्मक ध्रुवलाई जोड्यौं भने त्यतिबेला करेन्ट बहँदैन। किनकि ऊर्जा प्रवाह हुनलाई दुई पूरक ध्रुव आवश्यक पर्छ।
यो उदाहरणले के रहस्यात्मक दृष्टान्त दिइरहेको छ भने– ऊर्जा सन्तुलनबाट चल्छ, एकरूपताको अत्यधिकताबाट होइन। यसर्थ, नाडीमार्फत् ऋषिहरूले दाम्पत्य जीवनलाई पनि यस्तै ऊर्जाको आदानप्रदानको रूपमा हेरेका थिए।
तेस्रो उदाहरण : अब जीवविज्ञान अन्तर्गतको डीएनएका आधारहरूलाई हेरौं– मानव शरीरको सम्पूर्ण आनुवंशिक सूचना डिएनएमा लुकेका हुन्छन्। त्यहाँ पनि कुनै आधारले आफूजस्तै आधारसँग जोडी बनाउँदैन। डिएनएका चार आधारहरू हुन्– एडिनाइन (ए), थायमाइन (टी), गुआनाइन (जी) र साइटोसिन (सी)। यी चार आधारहरूमा ‘ए’ कहिल्यै ‘ए’सँग जोडिँदैन र ‘जी’ कहिल्यै ‘जी’सँग जोडिँदैन। यसरी प्रकृतिले पूरकतालाई नै जीवनको आधार बनाएको छ। अतः यस सिद्धान्तले पनि त्यही बताइरहेको छ– जीवनको निर्माण समानताले होइन, पूरकताले हुन्छ।
चौथो उदाहरण : अब म रसायनशास्त्रबाट नाडी सिद्धान्त बुझाउन निकै उपयोगी एउटा सुन्दर उदाहरण प्रस्तुत गर्दछु– सोडियम एक अत्यन्त सक्रीय धातु हो, जसले एक इलेक्ट्रोन सजिलै दिन चाहन्छ। त्यस्तै क्लोरिन एक अत्यन्त सक्रिय अधातु हो, जसले एक इलेक्ट्रोन सजिलै लिन चाहन्छ। यी दुवै तत्व अलग–अलग अवस्थामा निकै खतरनाक हुन्छन्। यी दुवै विषालु तत्वहरू हुन्।
तर जब यी दुवै एकआपसमा मिल्छन्, तब– सोडियम+क्लोरिन बराबर सोडियम क्लोराइड। अर्थात्, साधारण नुन बन्दछ। यही नुनबिना जीवन सम्भव छैन। नाडीको सम्बन्धमा जस्तै सोडियमले सोडियमसँग मिलेर यस्तो स्थिरता दिँदैन र क्लोरिनले क्लोरिनसँग मिलेर यस्तो उपयोगिता दिँदैन। तर दुई पूरक प्रकृति मिलेपछि जीवनोपयोगी पदार्थ बन्छ। यही कारणले सक्रीय धातु र सक्रीय अधातुबीचको सम्बन्धलाई रसायनशास्त्रमा अत्यन्त बलियो मानिन्छ।
पाँचौं उदाहरण : नाडी सिद्धान्तमा अम्ल र क्षारको उदाहरण पनि निकै उपयुक्त हुनेछ। अम्ल र क्षार यी दुवै विपरीत स्वभावका यौगिकहरू हुन्। तर जब यी दुवै परस्परमा मिल्छन्, तब दुवै सन्तुलनमा आउँछन्। जस्तै : अम्ल+क्षार बराबर नुन+पानी। जहाँ, नुन र पानी दुवै तटस्थ यौगिकहरू हुन्। यहाँ दुई विपरीत शक्तिहरू मिल्दा सन्तुलन पैदा भएको छ।
यसर्थ, गणितमा धनात्मक र ऋणात्मक संख्याले सन्तुलन दिन्छन्, भौतिक विज्ञानमा धनात्मक र ऋणात्मक ध्रुवले ऊर्जा प्रवाह गराउँछन्। जीवविज्ञानमा डीएनए पूरक आधारहरूको संयोजनबाट बनेको हुन्छ र रसायनशास्त्रमा सोडियम र क्लोरिनजस्ता विपरीत प्रकृतिका तत्त्वहरू मिलेर
जीवनोपयोगी नुन निर्माण गर्छन्।
यही प्रकारले वैदिक ऋषिहरूले विवाहलाई केवल समान व्यक्तिहरूको मिलनको रूपमा नहेरेर जीवनलाई सन्तुलित बनाउने पूरक शक्तिहरूको समागमको रूपमा हेरेका थिए। अतः नाडी मिलानको मूल दर्शन यही सन्तुलित समन्वयको खोज हो।
नाडी दोष हटाउनै मिल्दैन त ? : नाडी दोष हटाउन सकिन्छ। ज्योतिषशास्त्रमा नाडीभंग वा नाडी दोषको परिहार पनि बताइएको छ। जस्तै, वर र वधूको राशि फरक भएमा, राशि स्वामी मित्र भएमा, नक्षत्र फरक भएमा, सप्तम भाव बलियो भएमा, गुरु र शुक्र शुभ स्थानमा रहेमा नाडी दोषको प्रभाव
कम वा समाप्त भएको मानिन्छ।
निष्कर्ष : ऋषिहरूको उद्देश्य कूटदोषमात्रै खोज्नु नभएर वर र वधूमा ऊर्जाको समन्वय गराउनु थियो। जसरी सूर्य र चन्द्रमा मिलेर समयचक्र चल्छ। पुरुष र प्रकृति मिलेर सृष्टि चल्छ। त्यसैगरी, पति–पत्नी पनि एकअर्काका पूरक भएमा जीवन जीवनभर अति रमाइलोसँग व्यतीत हुनेछ। यसर्थ विवाहमा वर–वधूको ऊर्जात्मक तथा शारीरिक प्रकृति कति मिल्छ भन्ने कुरा नाडी मिलानले देखाउँछ।अष्टकूट मिलानमा नाडीलाई कूटहरूको राजा मानिन्छ। यसैले अष्टकूट मिलानमा नाडीलाई सबैभन्दा बढी ८ गुण प्रदान गरिएको छ। अस्तु !
प्रतिक्रिया दिनुहोस !