प्रशान्तको प्रसिद्धि : गायनदेखि निर्देशनसम्म
गीतसंगीत र जीवनका बाटा अनि पाटा एउटै हुन्। फरक यत्तिा हो कि गीतसंगीतले पूरा जीवन, समाज, देश, परिस्थिति थोरै समयमा मन र प्रविधिको माध्यमबाट देखाउने गर्छ।
कला भनाइ नै छ– ‘बिहानीले दिनको संकेत गर्छ।’ हुन पनि अपवादबाहेक दिन कस्तो होला भन्ने छनक बिहानै पाइन्छ। हो– उनको हकमा जस्तै भयो। भविष्यमा कस्तो बाटो रोज्लान् वा कुन पेसा अँगाल्लान् ? भन्ने अनुमान त्यतिबेलै भएको हो– जतिबेला उनी काँचो माटोजस्तै १२÷१३ वर्षीय बालक थिए। र त कलाकारिता क्षेत्रमा समर्पित भएर लागे। परिणामतः आज सफलताको दर्जा पाएका छन्। प्रसंग– बहुविधाका धनी प्रशान्त मिस्टको हो।
सामान्यतया प्रशान्तलाई सम्बोधन गरिने पद भनेको ‘हि पप’, ‘पप’, अनि ‘¥याप’ गायक हो। अहिलेसम्म उनले जे–जति गीत गाएका छन्– ती आफैंमा ऐतिहासिक र लोकप्रिय छन्। यद्यपि, प्रशान्तको परिचय यतिमै सीमित छैन– बहुआयामिक र फराकिलो छ। कतिले राष्ट्रवादी गीतकार, कतिले नामी मोडल, कतिले चर्चित म्युजिक भिडियो निर्देशक त केहीले समाजसेवीको रुपमा चिन्छन्। तर, नजिकबाटै नियाल्नेहरूले भने उनलाई बहुविधाका धनी व्यक्तित्वको श्रेणीमा राख्छन्। अझ पछिल्ला दिनमा त उनको नामअगाडि अर्को एउटा उपाधि थपिएको छ– ‘वान प्रसेन्ट अवार्ड–२०२६’ विजेता। यो आफ्नो विधा, पेसा, समुदाय वा क्षेत्रमा उल्लेख्य काम गर्नेमध्ये एक प्रतिशतले मात्रै पाउने दुर्लभ ‘अवार्ड’ हो।
उसो त सन् २००४ बाट निरन्तर सांगीतिक यात्रामा लामबद्ध प्रशान्त नेपाली कला र मनोरञ्जनको क्षेत्रमा अत्यधिक रचाइएका पात्र हुन्। उनले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाइसकेका छन्। प्रशान्तले यसअघि ‘एक्जिटु एक्सिलेन्सी अवार्ड–२०२४’, ‘जीवन्त नेपाली म्युजिक अवार्ड’, ‘इन्टरनेसनल एक्सिलेन्स अवार्ड’, ‘युथ इम्प्याक्स अवार्ड’, ‘एक्सिवर अवार्ड’, ‘अक्टिमेस अवार्ड’, ‘इन्टरनेसनल आइकन अवार्ड–२०२५’, ‘युथ इम्पाक्ट अवार्ड’, ‘युटिमेज अवार्ड–२०२५’, ‘युथ मोटिभेसन सङ टु वि अवेर एवाउट द नेसन एन्ड युनिट द नेसन’लगायत वजनदार ‘अवार्ड’ प्राप्त गरेका छन्।
केही समयअघि प्रशान्तको ‘मायाजाल...’ बोलको गीतले तहल्का नै पिट्यो। प्रेमीपे्रमिकाबीच हुने मायाप्रीति र प्रगाढ सम्बन्धमा आधारित उक्त गीत ‘टिकटक’मा निकै ‘भाइरल’ बन्न पुग्यो। त्यसैको परिणाम उनका अनगिन्ती ‘फ्यान’ले हातमा उनकै नाममा ‘ट्याटु’ खोपेर प्रदर्शन गरिरहे भने युट्युबमा पनि लाखौंले पछ्याए। देश–विदेशमा आयोजित हजार जति कार्यक्रममा सहभागिता जनाएर पृथक् कला–क्षमता प्रदर्शन गरिसकेका प्रशान्तको हालसम्म दर्जनौं गीत, एल्बम र म्युजिक भिडियो सार्वजनिक भइसकेका छन्।
उनको लेखन, गायन, अभिनय तथा निर्देशन रहेका गीत एवं म्युजिक भिडियोहरूमा ‘चोखो माया’ (२००४), ‘छैन’ (२००८), ‘जति टाढा’ (२०१२), ‘चाहेको मैले’ भाग–२ (२०१४), ‘स्पर्श’ (२०१६), ‘टुगेदर फर द नेसन’ (२०१८), ‘खोजी हेर’ (२०१९), ‘यदि मेरो माया’ (२०२०), ‘दिनरात’ (२०२०), ‘चाहेको’ (२०२०), ‘जीवनको मोड’ (२०२१), ‘स्पर्श–२’ (२०२१), ‘बिरानो सहर’ (२०२१) ‘मेरो माया’ र ‘सोध न बुझ न’ (२०२२), ‘के छैन तिम्रो देशप्रति कुनै कर्तव्य ?’(२०२४), ‘परदेशको पीडा’ (२०२५), ‘मायाजाल’ (२०२५), ‘जाग अब नेपाली’ (२०२५), ‘यस्तै हो माया भन्ने’ (२०२५), ‘तिम्रो यादमा’ (२०२५) आदि निकै चर्चित र लोकप्रिय मानिन्छन्।
सिर्जनशील कला–गलाका धनी प्रशान्तको जन्म काठमाडौंमा भएको हो। अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा अब्बल उनलाई त्यस्तै तीन//चार वर्षको हुँदा ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्स विद्यालयमा भर्ना गरियो। राम्रो अंक ल्याएर त्यहाँबाटै एसएलसी पास गरे। त्यसपछि उच्च शिक्षाका लागि पुल्चोकको नागार्जुन कलेज जान थाले। त्यहाँबाट कक्षा १२ सम्मको अध्ययन सकेसँगै थप शिक्षा हासिल गर्न बालाजुमा रहेको युथ भिजन कलेज पुगे। अर्कातर्फ प्रशान्त जमलमा अवस्थित अरिना मल्टिमिडियामा पनि भर्ना भए। अनि त्यहाँबाट ‘डिप्लोमा एन्ड मल्टिमिडिया’को दुईवर्षे कोर्स पूरा गरे। त्यसलगत्तै ‘इन्डियन कल्चर सेन्टर’मा जोडिए। र, शास्त्रीय संगीतमा दुई वर्षे कोर्स पनि सके।
त्यसो त संगीत भनेपछि सानैबाट हुरुक्क हुने प्रशान्तले विद्यालयबाटै गायनको गोरेटो पहिल्याए पनि व्यावसायिक रुपमा भने सन् २००८ बाट सार्वजनिक भएका हुन्। त्यसपछि नेपालका विभिन्न स्थानमा पुगेर प्रत्यक्ष गायन कला प्रस्तुत गर्न थाले। ‘अहिलेसम्म स्कुल, कलेजबाहेक देशका सयौं स्थानमा आयोजित सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गरेको छु। असंख्य श्रोता–दर्शकको सद्भाव–माया पनि बटुलेको छु’ प्रशान्त प्रसन्नता व्यक्त गर्छन्– ‘श्रोता–दर्शककै चाहना र मागले गर्दा सांगीतिक यात्राको यो दौरानमा थुप्रै विदेशी मुलुकमा समेत पुग्ने मौका पाएँ।’
संगीत के हो ? भन्ने जिज्ञासामा प्रशान्त भन्छन्– ‘गीतसंगीत र जीवनका बाटा अनि पाटा एउटै हुन्। फरक यत्ति हो कि गीतसंगीतले पूरा जीवन, समाज, देश, परिस्थिति थोरै समयमा मन र प्रविधिको माध्यमबाट देखाउने गर्छ। अनि जीवनले पृथ्वीको रंगमञ्चमा भोगाइ देखाउने गर्छ। जीवन नै एक रंगमञ्च हो। हामी यो रंगमञ्चको कलाकार हौं। त्यसैले जीवन र गीतसंगीत एकअर्काको परिपूरक हुन्।’ उनी थप्छन्– ‘गीतसंगीत भनेको मनोरञ्जनको साधन त छँदैछ, मानव जीवनको प्राण पनि हो। विभिन्न अनुसन्धानहरूले देखाएका छन् कि गीतसंगीतले दर्जनौ रोगको निदान गर्छ। निरोगी व्यक्तिको क्षमतामा समेत वृद्धि गराउँछ। गीतसंगीतले नै गहिरो संवेदना तथा भावनाका सबै पहलुलाई जागृत गर्दछ।’
प्रशान्तको दृष्टिकोणमा संगीतका रूप अनगिन्ती छन्, जसलाई आफ्नो जीवनको आवश्यकताअनुसार समाहित गर्न सकिन्छ। शब्दहरूको मोहक संगमबाट मर्मस्पर्शी गीत सिर्जित हुन्छ। र, सात सुर तथा सरगमको संगमबाट सुमधुर संगीत प्रवाहित हुन्छ। सिद्धान्तअनुरूप सबैले नियाल्ने यसैगरी हो।
अर्को गर्वको पक्ष, झन्डै डेढ दशकयता समाजसेवामा पनि उत्तिकै सक्रिय प्रशान्तले विभिन्न कार्यक्रममार्फत नगद–जिन्सी संकलन गरी सहयोग–वितरण गर्दै आएका छन्। ‘मैले विपन्न–जेहेनदार विद्यार्थी तथा परिवार, एकल महिला, एचआईभी (एड्स), भूकम्प, कोरोना पीडितलगायतलाई केन्द्रबिन्दुमा राख्ने गरेको छु’ उनी दाबी गर्छन्– ‘आफूबाट र सहरमा सहयोग संकलन गरी गाउँमा वितरण गर्ने नीति बनाएको छु– यो निकै प्रभावकारी भएको छ।’
संगीत–कला र सेवाको क्षेत्रमा लागेर अहिलेसम्म राष्ट्र–समाजलाई के दिनुभयो त ? ‘मलाई आफ्नो देश अनि समाजप्रति निःसन्देह मोह छ, छुट्टै किसिमको लगाव छ। म जुन देशमा छु, जुन समाजमा छु यो देश अनि समाजले एउटा कलाकर्मीको रुपमा स्विकारेर सम्मानको दृष्टिकोण राख्नु नै मेरा लागि अहोभाग्य हो।
राष्ट्रले धेरै कुरा सुम्पिएको छ, समाजले धेरै कुरा दिएको छ। तर, मैले यो राष्ट्र अनि समाजलाई के दिन सकें त ? भन्ने चिन्ताले जहिले पनि सताइरहन्छ’, समाजसेवा र देशभक्तिको गीत÷भिडियो उल्लेख गर्दै प्रशान्त भावुक हुन्छन्– ‘आज मैले जुन असल कर्म गरिरहेको छु पक्कै पनि यसले केही न केही सकारात्मक अंशहरू त दिएको होला नि ? केही जिम्मेवारी बहन गर्न सकें हुँला नि ? भन्ने लाग्छ।’
प्रतिक्रिया दिनुहोस !