संसार त्यति नालायक भइसकेको छैन

कविता

संसार त्यति नालायक भइसकेको छैन
सुन्नुहोस्

तिमीले फैसला गरे झैं,
संसार त्यति अप्रिय छैन !
शंकाहरूको विशाल पर्खाल बाहिर

फुकालेर हेर पूर्वाग्रहका गाढा चस्मा
फैलाएर दुवै हात पाखुरी,
अंगालो फिँजाउ उज्यालोमा 
पखालेर कुण्ठाका रोग शतविचारले,
एकपटक महसुस गर आफ्नै हृदयको चाल,
धड्कनको भाषा र संवेदनाको छाल ।

एकपटक महसुस गर
तिम्रो हृदयको पत्थरबाट पलाएको हरियो क्रान्ति,
तिम्रा आँखाबाट उधो बगेका निला झरनाहरूको लय,
नसामा बगेका रक्तिम नदीहरूको झंकार,
मुटुभित्रको पहेँलो ताप,
खोपडीभित्रको न्यानो राप,
अन्तस्करणको उज्यालो, 
सिंगो शरीरको प्रकृति ।

अनि हेर आफू अगाडिका आकृतिहरूलाई,
सुर– असुरहरूलाई 
अँध्यारो– उज्यालोलाई 
सिंगो संसारलाई 
हेर प्रकृतिलाई ।

छाडिदेऊ धोका र बैगुनको कुरा
खुनको कुरा
खुनको बदला खुनको कुरा
छाडिदेऊ लासहरूको बिस्कुनको कुरा ।

झण्डाको कफन बाँधेका छौ तालुमा
सिमानाको साङ्लो बाँधेका छौ पाउमा
बोकेका छौं काँधमा अतितका ऐठन–
फुकालीदेऊ फालिदेऊ यी बन्धन ।

मान्छेहरूको जिजीविषाले बनेको
पसिनाको पोखरी हेर,
मानवताको खुड्किला चढेर
यहाँसम्म आएका इतिहास हेर,
हेर प्रगतिको हुटहुटीले जन्माएका आश्चर्य 
हेर मान्छेको जुनुन– परिवर्तनको पूर्वाभास हेर !

जुन संसारमा तिमी देखिरहेका छौ
धोका, षड्यन्त्र र कपटको युग–
यहाँ अझै मरेको छैन
मान्छेहरूको विश्वासको दियो
करुणाको आत्मा र हृदयको कमल !
अझै ढलेको छैन मान्छेहरूको हिमालजस्तो हिम्मत,
अझै सुकेको छैन मान्छेहरूको सागरजस्तो संवेदना !

मित्र – तिमीले घोषणा गरे झैं,
यो संसार नालायक भइसकेको छैन ।
- पीएस्पी चाम्लिङ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.