जब स्कुल नै रंगशाला बन्यो. . . !

विश्वकप

जब स्कुल नै रंगशाला बन्यो. . . !

एकातिर विश्व फुटबलका जादुगरहरू पेले र डिएगो म्याराडोनाको जीवन्त विरासत, अर्कोतिर आधुनिक फुटबलका सम्राट्हरू क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, नेइमार र किलियान एम्बाप्पेको लोभलाग्दो उपस्थिति ! विभिन्न राष्ट्रका रंगीचंगी झण्डाहरूले सजाइएको विद्यालय परिसर हेर्दा लाग्थ्यो— यो कुनै विद्यालय होइन, विश्वकप फुटबलको फाइनल चल्दै गरेको कुनै जीवन्त अन्तर्राष्ट्रिय रंगशाला हो।

अरूबेला नीलो–सेतो वा तोकिएको औपचारिक विद्यालय पोसाकमा सजिएर पुस्तक र कापीका पाना पल्टाउने विद्यार्थीहरू शुक्रबार भने चिन्नै नसकिने रूपमा सडक र विद्यालय परिसरमा देखिए। कोही ब्राजिलको पहेँलो र हरियो जर्सीमा दौडिरहेका थिए त कोही अर्जेन्टिनाको आकाशीय नीलो र सेतो धर्कामा गर्विलो मुद्रामा उभिएका थिए।

पोर्चुगल, फ्रान्स र जर्मनीका जर्सीको रंगीचंगी माहोलले विद्यालयको आँगनलाई एकाएक कतार वा रसियाको कुनै विश्वप्रसिद्ध रंगशाला जस्तो देखाइरहेको थियो। यो कुनै विश्वकप फुटबलको फाइनल खेल चलिरहेको रंगशालाको दृश्य होइन, बाराको सिमरास्थित एकता स्कुलको प्रांगण हो। विद्यालयले विश्वकप फुटबलको वैश्विक माहोल र त्यसको महत्त्वलाई कक्षाकोठासम्म जोड्ने नवीन प्रयास गर्दा सिंगो विद्यालय परिसर नै विश्वकपमय बन्न पुग्यो। कक्षा १ देखि १० सम्मका साना–ठूला विद्यार्थी आआफ्नो मनपर्ने देशका जर्सी र झण्डा बोकेर मैदानमा उत्रिँदा त्यहाँको रौनक साँच्चिकै लोभलाग्दो र उत्सवमय थियो।

विद्यालयको यो सिर्जनात्मक प्रयोग केवल मनोरञ्जनमा मात्र सीमित थिएन, यसले त एउटा खुल्ला सिकाइ केन्द्रको रूप लिएको थियो। फुटबलका काला जादुगर पेलेदेखि अर्जेन्टिनी स्टार डिएगो म्याराडोना, अनि आधुनिक फुटबलका नायकहरू क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, नेइमार र एम्बाप्पेका तस्बिरहरू भित्ताभरि सजिएका थिए। ती तस्बिरहरूले विद्यार्थीलाई फुटबलको स्वर्णिम इतिहास र तिनले कायम गरेका कीर्तिमानहरूको जीवन्त कथा भनिरहेका झैं लाग्थ्यो।

चर्चित खेलाडीका तस्बिर र विभिन्न राष्ट्रका फर्फराइरहेका झण्डाहरूले रंगशालाकै झल्को दिनेगरी सजाइएको विद्यालयको त्यो माहोलमा विद्यार्थीहरूको उत्साह अकाशिएको थियो। उनीहरूको अनुहारको चमक र सामूहिक हुटिङले कार्यक्रमको रौनकतामा थप ऊर्जा भरेको थियो। पुस्तकको भारी र परीक्षाको दबाबभन्दा बाहिर निस्किएर खेलको माध्यमबाट विश्व भूगोल, संस्कृति र इतिहास बुझ्ने यो शैली आफैंमा चोटिलो र उदाहरणीय देखिन्थ्यो।

एकातिर विश्व फुटबलका जादुगरहरू पेले र डिएगो म्याराडोनाको जीवन्त विरासत, अर्कोतिर आधुनिक फुटबलका सम्राट्हरू क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, नेइमार र किलियान एम्बाप्पेको लोभलाग्दो उपस्थिति ! विभिन्न राष्ट्रका रंगीचंगी झण्डाहरूले सजाइएको विद्यालय परिसर हेर्दा लाग्थ्यो— यो कुनै विद्यालय होइन, विश्वकप फुटबलको फाइनल चल्दै गरेको कुनै जीवन्त अन्तर्राष्ट्रिय रंगशाला हो।

विद्यालयले आयोजना गरेको ‘विश्वकप फुटबल विशेष कार्यक्रम’को दोस्रो संस्करणले सिंगो विद्यालयलाई खेलमय मात्र बनाएको थिएन, विद्यार्थीमा एक किसिमको नयाँ ऊर्जा र उमंग थपिदिएको थियो। कोही अर्जेन्टिनाको आकाशीय नीलो र सेतो जर्सीमा सजिएका थिए त कोही ब्राजिल र पोर्चुगलको रंगमा रमाउँदै थिए। विद्यार्थीको यो उत्साहले केवल मनोरञ्जनमात्र दिलाइरहेको थिएन, उनीहरूलाई संसारकै सबैभन्दा लोकप्रिय खेलको इतिहास र संस्कृतितर्फ डोहोर्‍याइरहेको थियो।

‘विद्यालयमा सामान्य खेलकुदका गतिविधि त भइरहन्थे, तर विश्व फुटबलको यति बृहत् इतिहास र आयतनलाई नजिकबाट बुझ्ने मौका हामीले पहिलो पटक पायौं’, अर्जेन्टिनाको जर्सीमा ठाँटिएकी कक्षा ९ की छात्रा अंशु     श्रेष्ठले आफ्नो उत्साह साटिन्। कार्यक्रम केवल रंग र जर्सीमा मात्र सीमित थिएन, यसको भित्री चुरो अत्यन्त जानकारीमूलक र बौद्धिक थियो। विश्वकप फुटबलको सुरुआत कसरी भयो ?  यसको विकासक्रम कसरी अगाडि बढ्यो ?  खेलका नियमहरू के–के हुन् र, यसले विश्व भ्रातृत्वमा कस्तो भूमिका खेल्छ भन्ने विषयमा तयार पारिएको विशेष सामग्रीले कार्यक्रमको गरिमालाई अझ उँचो बनाएको थियो। विद्यार्थीहरूले पाठ्यपुस्तकको पानाभन्दा बाहिर निस्किएर विश्व इतिहास र खेल कूटनीतिलाई निकै चासोका साथ नियालेका थिए।

खेलकुदलाई अक्सर पढाइको बाधक मान्ने पुरानो चेतमाथि यो कार्यक्रम एउटा सुन्दर प्रहार थियो। कक्षा १० मा अध्ययनरत छात्रा स्मृति श्रेष्ठका अनुसार खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो त सिकाइको एउटा बलियो खम्बा हो। हामीले विश्वकपको सुरुवात र विभिन्न देशका टोलीबारे धेरै नयाँ कुरा सिक्ने अवसर पायौं’, स्मृतिले भनिन्, ‘पढाइसँगै अनुशासन र खेलकुदको पनि जीवनमा कति ठूलो महत्त हुँदो रहेछ भन्ने कुरा यो कार्यक्रमले छर्लंग पारेको छ। हामीलाई यस्तै व्यावहारिक ज्ञानको खाँचो छ र यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्छ।’

त्यस्तै, कक्षा १० कै छात्र अर्जुन पोखरेल पनि खेलमैदानले सिकाउने जीवनोपयोगी पाठका बारेमा निकै प्रष्ट सुनिए। उनले भने, ‘विश्वकप भनेको संसारभरका मानिसले चासोका साथ हेर्ने उत्सव हो, त्यसैले विद्यार्थीले यसको महत्त्व बुझ्न जरुरी छ। यो कार्यक्रमबाट हामीले टिम स्पिरिट (सामूहिक भावना), अनुशासन र सहकार्यको पाठ सिक्यौं, जुन हाम्रो विद्यार्थी जीवनका लागि अत्यन्त जरुरी छ।’

अर्जुनले भने झैं खेलले मानिसलाई हार्न र जित्न मात्र सिकाउँदैन, बरु सँगै अघि बढ्न सिकाउँछ। अनुशासनको घेराभित्र रहेर कसरी सामूहिक लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरा फुटबल मैदानभन्दा उत्कृष्ट अरू कहाँ सिक्न सकिन्छ र ?     अनुशासन कायम राख्दै अध्ययन र खेलकुदलाई सँगसँगै अगाडि बढाउन सकिन्छ भन्ने आत्मविश्वास यो कार्यक्रमले विद्यार्थीमा जगाएको देखिन्थ्यो।

विद्यालयका शिक्षक सुशान्त चौधरीका अनुसार विद्यालयले विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखेर विश्व बुझ्ने आँखीझ्याल प्रदान गर्न खोजेको हो। ‘विश्वकप फुटबल केवल एउटा खेल वा प्रतियोगितामात्र होइन, यो त विश्वका विभिन्न देश, भूगोल, संस्कृति र खेल भावनालाई एकापसमा जोड्ने एउटा दह्रो पुल हो’, शिक्षक चौधरीले कार्यक्रमको उद्देश्य प्रष्ट्याउँदै भने, ‘हाम्रो मुख्य ध्येय विद्यार्थीले विश्वकपको इतिहास र खेल भावना बुझून् भन्ने नै हो। यसले उनीहरूलाई मनोरञ्जन त दियो नै, सँगसँगै टिमवर्क र सहकार्यको महत्त्व पनि व्यावहारिक रूपमै बुझायो।’

एकता स्कुलले खेल र शिक्षालाई जोड्ने यो रचनात्मक प्रयोग गरेको यो दोस्रो पटक हो। विद्यालयले आगामी दिनमा पनि यस्ता विद्यार्थीकेन्द्रित र व्यावहारिक ज्ञान दिने कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। जब विद्यालयको घण्टी बज्छ र विद्यार्थीहरू कक्षाकोठाबाट बाहिर निस्कन्छन्, तब उनीहरूले केवल खेल मात्र खेल्दैनन्, जीवनको एउटा महत्त्वपूर्ण पाठ पनि सिकिरहेका हुन्छन्। एकता स्कुलको यो जुक्तिले के पुष्टि गरेको छ भने– शिक्षालाई किताबको घेराबाट बाहिर निकालेर जब खेलको मैदानमा ल्याइन्छ, तब सिकाइ झन् दिगो, मीठो र जीवन्त बन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.