अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलो पटक राउन्ड अफ १६ मा
काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्ट राउन्ड अफ १६ मा प्रवेश गरेको छ।डालास स्टेडियममा भएको खेलमा इजिप्टले अस्ट्रेलियालटई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो।
नियमित ९० मिनेटको खेलमा १-१बराबरीमा सकिएको थियो। त्यसपछि यी दुई टोलीले ३० मिनेट अतिरिक्त समयमा पनि खेले। अतिरिक्त समयमा पनि गोल निस्किन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण भएको हो।
पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकस हेयरिङटनले गोल गर्न सकेनन् । इजिप्टको भने चारै जनाले पेनाल्टीमा गोल गरे। इजिप्टको लागि पेनाल्टीमा पहिलो गोल महमुद सावेरले गरेका थिए । रेमी रबिया, कप्तान मोहम्मद सालाह, होसाम अब्दुलमगुइडले बिना कुनै गल्ती गोल गरे।
खेलको १३ औं मिनेटमा इमाम आसौरले गोल गर्दै इजिप्ट लाई अग्रता दिलाएका थिए। ५५ औं मिनेटमा आत्मघाती गोल मार्फत अस्ट्रेलियाले खेललाई बराबरीमा ल्यायो। इजिप्टका डिफेन्डर मोहम्मद हानीको हेडिङ क्लियरेन्स आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले इजिप्ट विरुद्ध गोल गरेको थियो।
निर्धारित समयमा खेल १-१ बराबरीमा रोकियो। त्यसपछि यी दुवै टोलीले अतिरिक्त समयमा खेलेका थिए । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।
चौथो पटक विश्वकप खेलेको इजिप्टले पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको हो। यसअघि इजिप्ट समूह चरणबाटै बाहिरिने गर्दथ्यो।
प्रतिक्रिया दिनुहोस !