राति अबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङको छड्के !
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ गएराति अबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणमा पुगेका छन्। पटक–पटक सर्वसाधारणबाट विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ विमानस्थलमा पुगेर सरोकारवाला निकायका उच्च अधिकारीसँग छलफल गरेका हुन्।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले गएराति १०:३० बजे आकस्मिकरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर त्यहाँबाट हुने सेवा प्रवाहको बारेमा उच्चअधिकारीसँग झण्डै एक घण्टा छलफल भएको छ।
उनले अध्यागमन कार्यालय, भन्सार कार्यालय, सुरक्षा निकाय, नागरिक उड्ययन प्राधिकरणको कार्यालयका अधिकारीसँग सेवा प्रवाहका बारेमा छलफल गरे। गृहमन्त्री गुरुङले विमानस्थलबाट हुने सेवाप्रवाह चुस्तदुरुस्त राख्न र सरसफाईमा समेत ध्यान दिन निर्देशन दिए। उनले केही समस्या भए आफूलाई तत्काल जानकारी गराउन र सेवाग्राहीलाई दुःख नदिई समयमै काम सम्पन्न गर्न आग्रह गरे।
केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको गरगहनासहित दुई जना पक्राउ परेका थिए । जुत्ता, पाइन्ट, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस एक्सरे गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेपछि पेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको थियो।
प्रतिक्रिया दिनुहोस !