न्यायको प्रतीक्षा
दियो निभेपछि
अपशकुन हुन्छ भन्छन्
निभ्न देऊ दियो
म जिन्दगी च्यातिएर
थलिएको मान्छे
मलाई घृणा गर्नेहरू
आफैं घृणित पात्र भएका छन्
ऊ वेश्यालय धाउँछ
र नारी मुक्तिका कुरा गर्छ
म वेश्यालयको कथा लेख्छु
र नारकीय जीवनको चिरफार गर्छु ।
ऊ शोषक हो
म शोषित हुँ
ऊ महलमा बस्छ
म झुपडीमा बस्छु
ऊ भात खान्छ
म ढिँडो खान्छु
ऊ मालिक हो
म दास हँु
उसको र मेरो जीवन यात्रा भिन्नभिन्न छ
ऊ हाँसेर बाँच्छ
म रोएर बाँच्छु ।
म माथि अन्याय थोपरिएको छ
म अन्यायको जाँतोले पिसिएर
कति दिन बाँचु ?
ओ न्यायमूर्ति
उसलाई कानुनी कठघरामा उभ्याउनु पर्दैन र ?
म न्यायको प्रतीक्षामा छु
तिम्रो कानुन
आँखा नदेख्ने नबनोस्
तिम्रो फैसला
पीडककै पक्षमा आउने त हैन ?
प्रतिक्रिया दिनुहोस !