एआई युगमा प्राज्ञिक चेतनाको कूटनीति

प्राज्ञिक लेखन

एआई युगमा प्राज्ञिक चेतनाको कूटनीति

प्राज्ञिक अनुसन्धान केवल तथ्यांकको थुप्रो वा शब्दहरूको जोड–घटाउमात्र होइन; यो त मानव चेतनाको गहिरो उत्खनन र समाजलाई दिशानिर्देश गर्ने वैचारिक मियो हो। जसमा पनि एआईले आक्रामक ढंगले गाँजिरहेको पाइन्छ।

२१औं शताब्दीको यो अत्याधुनिक युगमा ज्ञानको अभाव होइन, बरु सूचनाको बाढी नै मुख्य चुनौती बनेको छ। कारण, इन्टरनेटले सूचनाको महाविस्फोटले विश्वलाई एउटा कोठामा खुम्च्याइदिएको छ। यो त्यो समय हो, जतिबेला मेसिनहरू मानिस जस्तै सोच्ने र लेख्ने काममा अभ्यस्त छन्, त्यो पनि केही सेकेन्डभित्रै। प्राज्ञिक अनुसन्धान र लेखनको परम्परागत धरातल पनि तीव्र रूपमा रूपान्तरण हुँदैछ।

प्राज्ञिक अनुसन्धान केवल तथ्यांकको थुप्रो वा शब्दहरूको जोडघटाउमात्र होइन; यो त मानव चेतनाको गहिरो उत्खनन र समाजलाई दिशानिर्देश गर्ने वैचारिक मियो बनिरहेको छ। प्रविधिको द्रुत विकासले सिर्जना गरेको कृत्रिम बौद्धिकता (एआई)को आक्रामक अवस्थामा मानव मति, आलोचनात्मक सोच र प्राज्ञिक इमानदारिताको रक्षा कसरी गर्ने ? यो बहस आज संसारभरिका विश्वविद्यालयदेखि अखबारका पानाहरूसम्म छाएको छ। ज्ञानको नयाँ क्षितिज उघार्न यन्त्रलाई आफ्नो दास बनाउने कि आफैं प्रविधिको वैचारिक दास बन्ने भन्ने गम्भीर मोडमा हामी उभिएका छौं।

मौलिक र प्राज्ञिक लेखनको लय

प्राज्ञिक लेखन सामान्य वा व्यावसायिक लेखनभन्दा विल्कुलै फरक विधा हो, जुन मर्यादित र विशिष्ट विधाका रूपमा विश्वपरिचित छ। यसको मुख्य उद्देश्य स्थापित ज्ञानको भण्डारमा एउटा नयाँ, अद्वितीय र सार्थक इँटा थप्नु हो। कर्टिन विश्वविद्यालय, पर्थ, अस्टे«लियाका प्राज्ञिकद्वय डा. पर हेमिङ्सगार्ड र डा. जेम्मा निस्बेटका अनुसार प्राज्ञिक लेखन केवल वर्णनात्मकमात्र हुनु हुँदैन, जसमा तथ्यहरूको सामान्य विवरण वा परिभाषा मात्र समेटियोस्। सँगै, अनुसन्धानको गहिराइ बढ्दै जाँदा यसले विश्लेषणात्मक रूप लिनुपर्छ, जसले तथ्यहरूलाई पुनर्गठित गर्दै निश्चित ढाँचाहरू स्थापित गर्दछ। अझ अघि बढेर उनीहरू भन्छन्, ‘यसले त प्रमाणमुखी वा विश्वास दिलाउने र आलोचनात्मक शैली अंगीकार गर्नुपर्छ, जहाँ शोधकर्ताले आफ्ना तर्कहरू अकाट्य प्रमाणसहित राख्छ र कम्तीमा एउटा फरक दृष्टिकोणलाई पनि समेटेर गुण–दोषको समीक्षा गर्दछ।’ उत्कृष्ट प्राज्ञिक लेखनको मुटु भनेकै ‘तर्क निर्माण र ज्ञानमा मौलिक योगदान’ हो।

विन्डी बेल्चरको ‘तर्क ढाँचा’लाई सापटी लिने हो भने– एउटा कुशल लेखकले पहिले पुराना अनुसन्धानहरूले कहाँनेर गल्ती गरे वा कुन विषयलाई बेवास्ता गरे भनी ‘ग्याप’ औंल्याउँछ र आफ्नो केन्द्रीय विचारलाई गुणात्मक वा परिमाणात्मक अध्ययनका आधारमा प्रमाणित गर्दछ। ‘यस्तो योगदान तथ्यांकमा आधारित, सैद्धान्तिक परिमार्जन, नयाँ शोध विधिको विकास वा भविष्यका लागि मार्गचित्र कोर्ने प्रकृतिको हुनुपर्छ। जबसम्म शोधकर्ताले आफ्नो विधामा रहेका ‘खाली ठाउँहरू’ पहिल्याउन सक्दैन, तबसम्म अक्षरहरूको खेती त होला, तर त्यसले ज्ञानको वास्तविक भोक मेटाउन सक्दैन’, पर र जेम्मा थप्छन्।

डेटाबेसको महासागर र सत्यको कचौरा

कुनै पनि अनुसन्धानलाई वैधता र पाण्डित्यता प्रदान गर्ने काम बाह्य स्रोत र सन्दर्भहरूले गर्छन्। बौद्धिक अनुसन्धान कुनै शून्यतामा वा बन्द कोठामा हुँदैन, यो त सम्बन्धित क्षेत्रका अन्य अध्येताहरूसँगको निरन्तर वैचारिक संवाद हो। तर, इन्टरनेटको युगमा जताततै भेटिने सतही सामग्रीहरूबाट बचेर केवल विश्वसनीय र ‘पियर–रिभ्युड’ जर्नलहरू पहिचान गर्नु निकै चुनौतीपूर्ण छ। यसका लागि प्राज्ञिक जगत्मा ‘सीआरएएपी’ परीक्षण (करेन्सी, रिलेभेन्स, अथोरिटी, एक्युरेसी र पर्पोज)लाई एउटा बलियो कसी मानिएको छ। सूचनाको नवीनता, सान्दर्भिकता, लेखकको आधिकारिकता वा शैक्षिक आबद्धता, तथ्यको शुद्धता र प्रकाशनको उद्देश्य नजाँची कुनै पनि सामग्रीलाई आफ्नो अनुसन्धानमा स्थान दिनु आत्मघाती हुनसक्छ।

आजका शोधकर्ताहरूले गुगल स्कलर मात्र नभई विश्वविद्यालयका सशुल्क डिजिटल डेटाबेसहरू जस्तै जेएसटीओआर, ईबीएससीओहोस्ट र वेभ अफ साइन्सको कुशल प्रयोग गर्न सिक्नु अनिवार्य छ। यी डेटाबेसहरूमा कुहिरोमा रुमल्लिए झैं हराउनुको साटो ‘बुलियन सर्च’ प्रविधिको प्रयोग गरी मुख्य शब्दहरूलाई कोष्ठक, एन्ड, अर, नट र स्टार चिह्नको सहायताले बाँधेर खोज्नुपर्छ। उदाहरणका लागि, नेपालमा वातावरणमैत्री सडक निर्माण वा सामुदायिक वनको प्रभावबारे खोज्दा पूरा प्रश्न टाइप गर्नुको साटो विशिष्ट ‘की–वड्र्स’को ‘सर्च स्ट्रिङ’ बनाउँदा मात्र सही र सटीक प्राज्ञिक लेखहरू फेला पर्छन्। एउटा गतिलो स्रोत भेटिएपछि त्यसको सन्दर्भ सूची (रिफरेन्स लिस्ट) कोट्याउने र त्यस लेखलाई अरू कस–कसले उद्धृत गरेका छन् भनी ‘साइटेड बाई’ खण्ड हेर्ने बानीले अनुसन्धानलाई अझ ओजिलो बनाउँछ।

जीएआई : सिर्जनाको सारथि कि बौद्धिक अल्छीपन ?

यही प्राज्ञिक धरातलमा आज ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् जेनएआईको प्रवेश भएको छ। ‘एआई आजको प्राज्ञिक लेखनको एउटा यस्तो छहारी बनेको छ, जसलाई चटक्कै छोड्न पनि सकिँदैन र पूर्ण रूपमा विश्वास गर्न पनि मिल्दैन’, काठमाडौं विश्वविद्यालयका अंगे्रजी विषयका एसोसियट प्रोफेसर डा. काशीराज पाण्डे भन्छन्, ‘एआई औजारहरू मस्तिष्क मन्थन (ब्रेनस्टोर्मिङ) गर्न, अनुसन्धानका सम्भावित नयाँ कोणहरू पहिल्याउन, लामा र जटिल सिद्धान्तहरूको संक्षेपीकरण गर्न एवं लेखको प्रारम्भिक रूपरेखा तयार गर्न निकै उपयोगी साबित भएका छन्।’ 

यसले अनुसन्धानकर्ताको समय बचाउँछ र कतिपय अवस्थामा लेखनको संरचनालाई सुधार्न मद्दत गर्दछ। तर, यो प्रविधिको अत्यधिक र अन्धधुन्ध प्रयोगले मानव मस्तिष्कको मौलिक सोच्ने क्षमतामा खिया लाग्ने जोखिम पनि उत्तिकै बढाएको छ।

  • डिजिटल युगको यो कुहिरोभित्र मौलिकताको दियो बालिरहन नेपाली विश्वविद्यालयहरूले विद्यार्थीलाई कण्ठ गर्ने शिक्षा होइन, बरु ‘डेटाबेस’हरू खोतल्ने, सत्य र भ्रम छुट्ट्याउने र एआईको नैतिक प्रयोग गर्ने सीप सिकाउनु पर्छ।
  • जब हामी प्रविधिको छहारीमा बसेर पनि आफ्नो मौलिक विचारको मियोलाई बलियोसँग पक्रिन सक्छौं, तब अक्षरको यो खेती कहिल्यै ओइलाउने छैन। जसले समाजलाई सधैं आलोकित गरिरहनेछ।

एआईका अनेकौं फाइदा छन्, तर सँगै छन् लुकेका भयानक पासोहरू। सबैभन्दा ठूलो खतरा भनेको एआईको ‘हलुसिनेसन’ अर्थात् मनगढन्ते र झुटा तथ्यहरू पस्कने प्रवृत्ति हो। एआईले कतिपय अवस्थामा संसारमै अस्तित्वमा नरहेका नक्कली पुस्तक, जर्नल, लेखक र सन्दर्भ सूचीहरू दुरुस्तै बनाएर लेखकलाई भ्रममा पारिदिन्छ। अझ, एआईको सम्पादनले मौलिक र स्पष्ट भाषालाई बिगारेर कृत्रिम, भद्दा र अनावश्यक रूपमा जटिल बनाइदिने खतरा रहन्छ। अस्ट्रेलियन लेखक टिम विन्टनको पुस्तक सम्पादनसम्बन्धी एउटा सरल वाक्यलाई च्याटजीपीटीले परिमार्जन गर्दा कति कृत्रिम र क्लिष्ट बनाइदियो भन्ने उदाहरणले प्रस्ट्याउँछ कि कृत्रिम बुद्धिमतामा संवेदनशीलता र मानवीय भावनाको सर्वथा अभाव हुन्छ।

प्राज्ञिक इमानदारिताको खडेरी

डिजिटल युगमा ग्रन्थहरूको सहज उपलब्धताले गर्दा ‘कट–एन्ड–पेस्ट’ संस्कृति मौलाएको छ, जसले प्राज्ञिक इमानदारितामाथि गम्भीर प्रश्न उठाएको छ। मिरो र शोरको भनाइलाई सापटी लिँदै ज्यान क्यारोलले उल्लेख गरे झैं– ‘डिजिटल प्रविधिले लेखक र पाठकको सम्बन्धलाई बदलिदिएको छ र विद्यार्थीलाई केवल ‘शब्दका दलालहरू’ (वर्ड ब्रोकर्स) बनाउने जोखिम बढाएको छ। जब शोधकर्ताहरूले असावधानीवश मूल लेखकको नाम र स्रोत नखुलाई ब्लकका ब्लक टेक्स्टहरू आफ्नै जसरी प्रयोग गर्छन्, त्यहाँ बौद्धिक चोरी वा साहित्यिक चोरी (प्लाजीआरिज्म)को जन्म हुन्छ।

चोरीबाट बच्न लेखनमा बाह्य स्रोतहरू समाहित गर्दा ‘आईसीई’ विधि अर्थात् इन्ट्रोड्युस, साइट र एक्सप्लेन कडाइका साथ लागू गरिनुपर्छ। कुनै पनि अनुच्छेदमा अर्काको विचार वा कोटेसन सिधै लेख्नु हुँदैन। पहिले लेखकको परिचयसहित पृष्ठभूमि बाँध्ने (इन्ट्रोड्युस), त्यसपछि हुबहु उद्धरण, संक्षेप वा प्याराफ्रेज गर्ने (साइट) र तुरुन्तै त्यो विचार आफ्नो शोधप्रश्नसँग कसरी जोडिन्छ भनी आफ्नै शब्दमा आलोचनात्मक व्याख्या (एक्सप्लेन) गर्नुपर्छ। 

समाजशास्त्री शेरी टर्कलको ‘डिजिटल जीवनले प्रत्यक्ष संवाद र समानुभूति घटाउँदैछ’ भन्ने भनाइलाई उद्धृत गर्दा यो विधिलाई स्पष्ट रूपमा बुझ्न सहज हुनेछ। यसका साथै, प्याराफ्रेजिङ गर्दा मूल लेखकको शब्द र वाक्यको संरचना हुबहु सार्नुको साटो पुस्तक बन्द गरेर, विचारलाई आत्मसात गर्नुपर्छ । साथै, पूर्ण रूपमा मौलिक शैली र स्वरमा ढाल्नुपर्छ, अन्यथा त्यो प्राज्ञिक अपराध (एकेडेमिक क्राइम) मानिनेछ। यसैले यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ ।

पारदर्शिताको युग र एआई प्रयोगको आत्मस्वीकारोक्ति
आजको आधुनिक प्राज्ञिक विश्वले एआईको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दैन, बरु यसको पारदर्शी र नैतिक उपयोगको माग गर्छभन्दा अत्युक्ति नहोला। अन्तर्राष्ट्रिय जर्नलहरू र विश्वविद्यालयहरूले अब ‘एआई प्रयोगको स्पष्ट घोषणा’ अनिवार्य गरेका छन्। अनुसन्धानकर्ताले आफ्नो शोधप्रबन्ध वा लेखमा एआई कुन हदसम्म प्रयोग गरेको हो ? चाहे त्यो ‘आइडिया जेनेरेसन’मा होस्, व्याकरण सुधारमा होस् वा संरचना निर्माणमा नै किन नहोस्– त्यो स्पष्ट रूपमा खुलाउनुपर्छ र प्रयोग गरिएका ‘प्रम्प्ट’हरूको लिंकसमेत समावेश गर्नुपर्छ। यो पारदर्शिता नै आधुनिक प्राज्ञिक नैतिकताको नयाँ कसी हो।

नेपालको सन्दर्भमा हेर्ने हो भने विश्वविद्यालयहरू (जस्तै त्रिभुवन विश्वविद्यालय वा अन्य भगिनी संस्थाहरू) अझै पनि परम्परागत लेखन र प्रविधिको संक्रमणकालीन मारमा छन्। एकातिर अन्तर्राष्ट्रिय स्तरका ‘डिजिटल डेटाबेस’हरूमा नेपाली विद्यार्थी र प्राध्यापकहरूको सहज पहुँच छैन भने अर्कोतिर बजारमा उपलब्ध ‘एआई टुल्स’को दुरुपयोग गरी थेसिस वा शोधपत्रहरू तयार पार्ने विकृति भित्रभित्रै सल्किइरहेकै छ। ‘एन्टी–प्लेजियारिज्म सफ्टवेयर’हरू केवल शब्दको ‘म्याचिङ’मात्र हेर्छन्, तर एआईले कतिपय अवस्थामा सफ्टवेयरलाई समेत झुक्याउने गरी भाषा परिवर्तन गरिदिन्छ। यस्तो अवस्थामा नेपालका शोधकर्ताहरूमा उच्च तहको आलोचनात्मक चेत र नैतिक स्व–नियमन झनै बढी आवश्यक भएको पाइन्छ।

‘मानव मति र यन्त्रको सन्तुलन नै अबको बाटो’
अन्ततः, प्राज्ञिक लेखन र अनुसन्धान भनेको मानव सभ्यताको चेतनालाई जीवन्त राख्ने एउटा पवित्र कृत्य हो। प्रविधि आफैंमा खराब वा असल हुँदैन, यसको प्रयोग कसरी गरिन्छ भन्ने कुराले यसको मूल्य निर्धारण गर्दछ। ‘जेनेरेटिभ एआई’लाई कुशल र सहयोगी ‘सारथि’का रूपमा स्वीकार गर्न सक्छौं, तर आफ्नो मस्तिष्कको ‘मति’ र ‘निर्णय क्षमता’ उसैलाई सुम्पिनु हुँदैन। एआईले हामीलाई शब्दहरूको थुप्रो दिन सक्छ, तर ती शब्दभित्र लुकेको अर्थ, सामाजिक संवेदनशीलता र आलोचनात्मक चेत केवल मानव मस्तिष्कले मात्र भर्न सक्छ।

डिजिटल युगको यो कुहिरोभित्र मौलिकताको दियो बालिरहन नेपाली विश्वविद्यालयहरूले विद्यार्थीलाई कण्ठ गर्ने शिक्षा होइन, बरु ‘डेटाबेस’हरू खोतल्ने, ‘सीआरएएपी टेस्ट’मार्फत सत्य र भ्रम छुट्याउने र एआईको नैतिक प्रयोग गर्ने सीप सिकाउनु पर्छ। जब हामी प्रविधिको छहारीमा बसेर पनि आफ्नो मौलिक विचारको मियोलाई बलियोसँग पक्रिन सक्छौं, तब अक्षरको यो खेती कहिल्यै ओइलाउने छैन। जसले समाजलाई सधैं आलोकित गरिरहनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.