‘पोख्रेली सिसाकलम’मा महिला सिर्जना

सीप र सिर्जना

‘पोख्रेली सिसाकलम’मा महिला सिर्जना

‘पोख्रेली सिसाकलम’ केवल एउटा सिसाकलम होइन। यो फालिएको पत्रिकाले पाएको दोस्रो जीवन हो।

पहिले घरको कुनामा थन्किने पुराना पत्रपत्रिका अहिले पोखरा र आसपासका बालबालिकाको हातमा सिसाकलम बनेर पुगिरहेका छन्। फालिने कागजलाई आम्दानीको स्रोतमा बदल्ने पोखराका पाँच महिलाको प्रयासले फोहोर व्यवस्थापन, महिला उद्यमशीलता र वातावरण संरक्षणलाई एउटै सूत्रमा बाँधेको छ। नेपालका अधिकांश सहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कागजको बढ्दो प्रयोगसँगै पुनः प्रयोग गर्न सकिने सामग्री ठूलो परिमाणमा फोहोरमा परिणत भइरहेका छन्। यस्तै अवस्थामा पोखराका पाँच महिलाले पुराना पत्रपत्रिकालाई वातावरणमैत्री सिसाकलममा रूपान्तरण गर्दै फोहोर व्यवस्थापनलाई आयआर्जन र रोजगारीसँग जोडेका छन्।

पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापन तालिमबाट जन्मिएको यो उद्यम अहिले महिला आत्मनिर्भरता र स्थानीय उत्पादन प्रवद्र्धनको उदाहरण बनेको छ। ‘पोख्रेली सिसाकलम’ले दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्नुका साथै समुदायमा फोहोर व्यवस्थापनप्रति सकारात्मक सन्देश पनि फैलाएको छ। पुराना पत्रपत्रिका तथा कागज पुनः प्रयोग गरेर वातावरणमैत्री सिसाकलम उत्पादन गर्ने यो अभियान पोखरा महानगरपालिका वडा नम्बर २ मा बसोबास गर्ने शान्ति अधिकारी, विमलादेवी भण्डारी अधिकारी, सिर्जना तिवारी, गीता सुवेदी र पद्मा पौडेल आचार्यको सामूहिक प्रयासबाट अघि बढिरहेको छ।

तालिमबाट उद्यमसम्म

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक र प्राविधिक सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा रिसाइक्लिङ र अपसाइक्लिङ परियोजनाअन्तर्गत फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो। उक्त तालिममा महानगरपालिकाका ३३ वटै वडाका १ सय ३६ टोल विकास संस्थाका ४ हजार ८० सहभागीलाई विसं २०८१ पुसदेखि चैतसम्म तीन चरणमा प्रशिक्षण दिइएको थियो। null

यही क्रममा शान्ति अधिकारीले प्रस्तुत गरेकी ‘पेपर टु पेन्सिल’ अर्थात् पुराना पत्रिकाबाट सिसाकलम बनाउने व्यावसायिक अवधारणा उत्कृष्ट व्यावसायिक योजनाका रूपमा छनोट भयो। त्यसपछि पाँच महिलाले मिलेर गत वर्ष जेठको पहिलो सातादेखि ‘पोख्रेली सिसाकलम’ उत्पादन सुरु गरे। उद्यम सञ्चालनका लागि कोइकाले करिब ७ लाख ३० हजार रुपैयाँबराबरको रोलिङ मेसिन, साइज कट मेसिन र ड्रायर उपलब्ध गरायो भने पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रबाट ७० हजार रुपैयाँ सहयोग प्राप्त भयो। यसका अतिरिक्त महिलाले आफ्नै श्रम, समय र व्यक्तिगत लगानी पनि व्यवसायमा खर्च गरेका छन्।

सिसाकलम बन्ने प्रक्रिया
सिसाकलम उत्पादनका लागि आवश्यक पुराना पत्रपत्रिका विद्यालय, संघसंस्था, समुदाय र कबाडीबाट संकलन गरिन्छ। घरघरमा पढेर थन्किएका पत्रिका पनि उनीहरूले खरिद गर्छन्। संकलित पत्रिकालाई निश्चित आकारमा नापेर काटिन्छ। त्यसपछि दुई मिलिमिटर मोटाइको लिड राखेर पत्रिकालाई सावधानीपूर्वक बेरिन्छ।

एकै पटक १० देखि १५ वटासम्म सिसाकलमको लिड बेर्न सकिन्छ भने एक जनाले दैनिक करिब पाँच सय वटासम्म लिड तयार गर्न सक्छन्। त्यसपछि रोलिङ मेसिनमार्फत सिसाकलमलाई अन्तिम आकार दिई दुई दिन ओसिलो ठाउँमा र थप ३ देखि ४ दिन घाममा सुकाएपछि अन्तिम चरणमा तिखारेर आवश्यक आकारमा काटिन्छ। सामान्य बजारमा पाइने ‘सार्पनर’ले नै तिखार्न सकिने यी सिसाकलम हाल कालो र रंगीन दुवै प्रकारमा उत्पादन भइरहेका छन्।

विमलाको संघर्ष र सफलताको यात्रा
उद्यमी विमलादेवी भण्डारी अधिकारीको व्यावसायिक यात्रा संघर्ष, धैर्य र आत्मविश्वासले भरिएको छ। उद्यममा संलग्न हुनुअघि उनी सानो व्यवसाय सञ्चालन गर्थिन्। श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गएपछि उनले एक्लैले पसल सञ्चालन गर्दै छोराछोरी हुर्काइन्। पछि श्रीमान्ले जापान बोलाएपछि त्यहाँ चार वर्ष मेहनत गरेर स्वदेश फर्किइन्।

नेपाल फर्किएपछि आफ्नै देशमा केही नयाँ काम गर्ने इच्छा जागेको समयमा उनलाई ‘पोख्रेली सिसाकलम’ उद्योगसँग जोडिने अवसर मिल्यो। अहिले उनीहरू उत्पादनसँगै ब्रान्डिङ र प्याकेजिङमा पनि विशेष ध्यान दिइरहेका छन्। उद्यममा जोडिएपछि घरखर्चमा सहयोग पुगेको र आफ्नै आम्दानी हुन थालेपछि अरू माथि निर्भर हुनुपर्ने अवस्था हटेको उनी बताउँछिन्।

आर्थिक आत्मनिर्भरताको आधार
‘पोख्रेली सिसाकलम’ले वातावरणीय लाभसँगै स्थानीयस्तरमा आर्थिक अवसर पनि सिर्जना गरेको छ। साधारण सिसाकलम १० रुपैयाँमा बिक्री हुन्छ भने रंगीन तथा डिजाइनयुक्त सिसाकलमको मूल्य १२ देखि २५ रुपैयाँसम्म पर्छ। व्यक्ति वा संस्थाको नाम, लोगो तथा सन्देश अंकित सिसाकलम उत्पादन गरिने भएकाले यसको माग बढिरहेको छ।

उनीहरूले दैनिक औसत १ हजार ५ सय वटा तथा मासिक करिब १७ हजार सिसाकलम उत्पादन गर्न सक्ने क्षमता विकास गरेका छन्। उत्पादनका लागि एक वर्षमा करिब ४ सय ६० किलो पुराना पत्रपत्रिका पुनः प्रयोग गरिएको छ। हाल सिसाकलम पोखराका स्टेसनरी, विद्यालय, होटलमार्फत बिक्री हुँदै काठमाडौं, हेटौंडा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र मकवानपुरलगायत जिल्लामा विस्तार भएको छ।

करिब ५० नियमित ग्राहक छन्। उद्यममा संलग्न पाँचै जना महिलाले सामाजिक सञ्जाल र आफैं बजार पुगेर मार्केटिङ गरिरहेका छन्। उनीहरूले समुदायमा फोहोर व्यवस्थापनसम्बन्धी चेतना फैलाउँदै हरेक महिनाको दुई गते प्लास्टिकजन्य फोहोर संकलन गरेर रिसाइकलमा पठाउने र त्यसबाट प्राप्त रकम महानगरलाई तिर्नुपर्ने फोहोर शुल्कमा उपयोग गर्ने गरेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको लक्ष्य
उद्यमीहरूको अबको लक्ष्य ‘पोख्रेली सिसाकलम’लाई व्यवस्थित ब्रान्डिङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु हो। आधुनिक मेसिन र सरकारी सहयोग प्राप्त भए उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने उनीहरूको विश्वास छ। उनीहरू भन्छन्, ‘नेपाललाई पेन्सिल उत्पादनमा आत्मनिर्भर बनाउने र आयात घटाउने हाम्रो सोच छ।’ व्यावसायिक गतिविधिसँगै उनीहरूले विभिन्न विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क सिसाकलम वितरण गर्दै आएका छन्।

समाज र विद्यालयको साथ
नागरिक समाज कास्कीका संस्थापक संयोजक तथा वातावरण महाअभियानका संयोजक रामबहादुर पौडेलले यसलाई प्रशंसनीय अभियान मानेका छन्। उनी भन्छन्, ‘महिलाले समूहमा संगठित भएर सिर्जनशील काम गरेका छन्। यस्ता प्रयासलाई स्थानीय सरकार, व्यवसायी र नागरिक समाजले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्छ।’ पोखरा–२ स्थित मुना मन्टेश्वरीकी प्रिन्सिपल मौजा गुरुङले विद्यालयमा करिब एक वर्षदेखि यो सिसाकलम प्रयोग भइरहेको बताइन्। उनी भन्छिन्, ‘अभिभावकले विद्यालयमा बच्चाको अक्षर राम्रो भएको तर घरमा त्यस्तो नभएको बताउन थालेपछि हामीले घरमा पनि यही सिसाकलम प्रयोग गर्न सुझाव दिएका छौं।’

पोखरा–२१ की गीता कार्कीले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारस्वरूप सिसाकलम प्रदान गर्ने गरेकी छन्। उनी भन्छिन्, ‘विद्यार्थीले यो कहाँ उत्पादन हुन्छ भनेर चासो राख्छन्। आफूहरूले पनि प्रयोग गर्न चाहेको बताउँछन्।’ बालमन्दिर माध्यमिक विद्यालय, नदीपुरमा कक्षा ८ मा अध्ययनरत समीक्षा चापागाईंले पनि एक वर्षदेखि यसको प्रयोग गरिरहेकी छन्। उनी भन्छिन्, ‘यो सिसाकलम राम्रोसँग तिखारिन्छ र लामो समयसम्म टिक्छ।’

स्थानीय सरकारको सहयोग
पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्र तथा पर्यटन प्रवद्र्धन कार्यक्रम प्रमुख नवराज अधिकारीका अनुसार महिलाले ‘फोहोरलाई मोहोरमा बदल्ने’ अवधारणासहित सुरु गरेको अभियानले महानगरलाई उत्साहित बनाएको छ। उनी भन्छन्, ‘यो अभियानले फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ। वातावरणमैत्री उत्पादनमार्फत महिलाले उद्यमशीलताको राम्रो उदाहरण प्रस्तुत गरेका छन्।’ महानगरले ‘मेकिङ पोखरा, मेड इन पोखरा’ कार्यक्रममार्फत उनीहरूलाई सहुलियत दरमा कर्जा प्रवाह र प्रविधि हस्तान्तरणमा सहयोग गरिरहेको छ।

महिला उद्यम, रिसाइकल र दिगोपन
महिला सीप विकास संस्था पोखराकी कार्यकारी निर्देशक रामकली खड्काले यसलाई महिला आर्थिक सशक्तीकरणको सकारात्मक उदाहरण मानेकी छन्। उनी भन्छिन्, ‘उत्पादन बनाएर मात्र पुग्दैन। ग्राहकसम्म पुग्ने क्षमता, गुणस्तर, व्यवहार र निरन्तर बजार खोजी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।’

वातावरणविद् कुशल गुरुङका अनुसार ‘पोख्रेली सिसाकलम’ चक्रीय अर्थतन्त्रको व्यावहारिक उदाहरण हो। उनी भन्छन्, ‘फोहोर आफैंमा एउटा स्रोत हो। त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सकियो भने वातावरण संरक्षणसँगै आर्थिक अवसर पनि सिर्जना हुन्छ।’

पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत अर्थशास्त्री डा. लेखनाथ भट्टराई यस्ता उद्यम हरित अर्थतन्त्रका व्यावहारिक अभ्यास भएको बताउँछन्। उनी भन्छन्, ‘सहरी क्षेत्रमा बेरोजगारी र गरिबी बढिरहेका बेला यस्ता साना उद्यमले मानिसलाई उत्पादनमूलक काममा जोड्ने र परिवारको आय बढाउने अवसर दिन सक्छन्।’

प्रदेश सरकारको नीति
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विपन्न महिलाको आर्थिक सबलीकरणका लागि ‘एक महिला :  एक सीप’ कार्यक्रम सञ्चालन गरी उद्योग स्थापना र बजारीकरणमा सहयोग गर्ने नीति लिएको छ। उद्यमी शान्ति अधिकारीका शब्दमा, ‘देशमा केही छैन भनेर बिदेसिनेभन्दा आफ्नै ठाउँमा साना उद्यम गरेर पनि सफल हुन सकिन्छ।’

तथ्यांकअनुसार एक टन पत्रिका पुनः प्रयोग गर्दा १७ वटा परिपक्व रुख काटिनबाट जोगिन्छ। ‘पोख्रेली सिसाकलम’ केवल एउटा सिसाकलम होइन। यो फालिएको पत्रिकाले पाएको दोस्रो जीवन हो र आत्मनिर्भरताको एउटा अर्थपूर्ण उदाहरण पनि हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.