देहेडूमा देउडाको धड्कन

जात्रापर्व

देहेडूमा देउडाको धड्कन
सुन्नुहोस्

कर्नाली राता र दिन भाग्याको भागै छ,
रानीचणा तेरी सौंराई लाग्याकी लागै छ...।

कर्णाली अञ्चलका पाँचवटै जिल्लामा वर्षभरि चाडपर्वहरू लागि नै रहन्छन्। स्थानीय भाषामा चाडपर्वलाई ‘पैठ’ भनिन्छ। हरेक जिल्लाका पैठका विशेषता निकै रोचक लाग्ने गर्दछन्। कुनै देवतासँग जोडिएका पाउँछौं भने कुनै परम्परा, रीतिरिवाज र धामीझाँक्रीसँग पनि जोडिएका पाउँछौं ती पैठहरू। कालीकोट जिल्लाको पचाल झरना–५, बाँझकोट (बाच्कोट) मा ‘देहेडू’ (देहेणु) जात्राबारे धेरैलाई थाहा छैन। देवताका धामीसँग जोडिएको 

यो जात्राको विशेषता बडो अनौठो छ।

परापूर्वकालमा बझांगी जनताको कुलदेवता मस्टो, बझाङबाट अछामको विनायक हुँदै कालीकोटको हालको बाँझकोटमा आएर बसेछ। किमुडालीको मस्टो, राउणीको मस्टो, वान्नीमाणुको मस्टो र ढणारको मस्टो गरी चार ठाउँमा मन्दिर (माणु)हरू छन् जिल्लामा। बझाङका यी मस्टा मन्दिरमा बर्सेनि मेला लाग्ने गर्दछन्। देवता अवतारिने गर्दछन्। त्यसमध्ये ढणाणको मस्टो, जो मस्टा गाउँपालिका बझाङमा पर्दछ, तिनै देवता कालीकोटको हालको पचाल झरना–५, बाँझकोटमा आएर बसेको भन्ने किंवदन्ती रहेको जानकारी गराउँछन्, कालीकोटका पुराना संस्कृतिकर्मी नेत्रराज शाही र स्रष्टा मोतीराज बम।

मस्टा देवता दूधको दूध, पानीको पानी छुट्याउने साक्षात् देवता हुन्। शक्तिशाली यी देवताका १२ जना दाजुभाइ छन् भन्ने किंवदन्ती छ। हरेक देवताको आ–आफ्नै विशेषता छन्। कुनै देवतालाई गाईको दूध र सेता अक्षताले पूजा गरिन्छ भने, कुनै देवतालाई रातो ध्वजा र रातो अक्षताले पूजा गरिन्छ। बोका भोग (भोक) दिन्छन् (गर्छन्), जसलाई दाण्या (लामालामा दाँत भएको) मस्टो भनिन्छ। देहेणु जात्रामा चल्ने देवता भनेका दूध्या मस्टो हुन्। यी देवतालाई भने बलि दिन, रातो अक्षता र रातो ध्वजा चढाउन मिल्दैन भनी यस पर्वका बारेका जानिफकार, स्थानीयवासी बम बताउँछन्।

बमका अनुसार कालासिल्ला मस्टो देवताका धामी कुनै बेला बम ठकुरी वंशका कुल देवता थिए। बम ठकुरी जातले जम्मा एक गोलो (माटाको ठूलो गाग्री) बराबरको जमिन दलित जातिको कुमाललाई बिक्री गरेछन्। त्यही कुमाल जातिको धामी कालासिल्ला मस्टो देवता हालसम्म अवतारिएको देख्न पाइन्छ। हाल देउमल कुमाल धामी देवताका रूपमा अवतरित छन्; जसले कालासिल्ला मस्टो देवताको आदेश पाएर, चामल र जौका दाना छरेर मात्र देवी–शक्तिका रूपमा अवतार लिई सबैले देख्नेगरी फलामको लौरो या डन्डी भाँच्ने गर्दछन्।

दुई टुक्रा पारिएको फलामको सो लौरोलाई स्थानीय भाषामा ‘लुवालौणी’ भाँचेको भनिन्छ। त्यस बेला त्यस ठाउँमा भव्य मेला लाग्दछ। अछाम, मुगु, बाजुरा र जुम्ला जिल्लाबाट मात्र होइन, नेपालका विभिन्न स्थानदेखि मेला भर्न आउने गर्दछन्। पछिल्ला वर्ष त भारतबाट पनि आएको पाइन्छ। देउडा गीतको रमझम एकातिर देखिन्छ भने मूल देवता अवतारिएको प्रत्यक्ष रूप अर्कोतिर देख्न पाइन्छ।

लुवालौंणो भाँचेको हेर्न, कालासिल्ला मस्टो देवता चलेको हेर्न र आ–आफ्ना मनका इच्छाहरू पूरा गरिदिऊन् भनी भाकल गर्ने भक्तजनको घुइँचोले मन्दिर भरिभराउ हुन्छ। जसलाई ‘लुवालौणो या देहेणु जात्रा’ पनि भनिन्छ। यो ऐतिहासिक जात्रा देवता र संस्कृति–परम्परासँग जोडिएकाले यसको विशेषता अझ महत्वपूर्ण रहेको बताउँछन्, देउडागीत गायक एवं संकलक उनै बम। देहेडू जात्रामा मौलिक संस्कृति बोकेका गीतहरू गाउने गरिन्छ।

महिला र पुरुषको खेल बेग्लाबेग्लै हुन्छ। यस्तो खेललाई ‘भारी खेल’ पनि भन्ने गरिन्छ। गीतमा सवाल–जवाफ हुन्छ, हार–जित हुन्छ। यस्तो रौनकता र उमंग आउँछ कि रात–दिन बितेको पत्तै हुँदैन। उक्त ऐतिहासिक पर्व र देवताको अवतारका बारेमा स्थानीयवासी भन्छन्— यो देहेणु पैठ असोज महिनाको शुक्ल एकादशी तिथिमा पर्दछ। तिथिको घटबढका कारण कहिले पर्व असोजमा त कहिले कात्तिक महिनामा पनि पर्दछ। तिनका अनुसार कालासिल्ला मस्टोको धामी आचार्य थरका ब्राह्मण थिए। देहेडूका धामी बम ठकुरी जातका थिए।

  • ‘देहेडूको जात्रामा फलाम भाँचियो, हाम्रो गाउँको धर्म सधैं साँचियो’ भन्ने भावले बाँझकोटको पहाडी रातलाई अझै रसिलो र गुञ्जायमान बनाएको पाइन्छ। कर्णाली–भेरीको सभ्यता र पुर्खाको ज्ञान बोकेको कुमाल जातिको देहेडू जात्रा आस्था र अध्यात्मको महासागर हो।
  • पूजा सकिएपछि रातभर चौरमा हातमा हात मिलाएर महिला दोहोरी देउडा र भारी खेलमा झुम्छन्। यसै देउडाको लयसँगै पूर्वको आकाश उज्यालिन्छ, अनि गाउँले पनि धर्म मनभरि राखेर फर्कन्छन्।

देहेडू कालासिल्लाको धामीलाई बम ठकुरीले काँधमा राखी पैठमा पतुर्नु (पूजा गर्नु) पथ्र्यो। ठकुरीले कुमाल जातिलाई बिक्री गरेपछि अब त्यो प्रचलन रहेन। बम ठकुरीहरूको विगत ४–५ पुस्तादेखि धामी दलित जातिको हुने तर पुजारी भने न्यौपाने थरका उपाध्याय ब्राह्मण नै रहने प्रचलन रहिआएको स्थानीय वृद्धवृद्धा बताउँछन्। काली कर्णालीका हरेक देवताका मन्दिरहरूमा एकै जात र थर भएका धामी र पुजारी रहने चलन छ। तर कालीकोटको यो ऐतिहासिक मन्दिर र देहेणुको जात्रामा नितान्त नौलो सांस्कृतिक इतिहास र परम्परा भेटिन्छ।

यसैगरी, आफ्नो शिरमा देवता राखी समाजमा मानमर्यादा र रीतिस्थिति बसाल्न पाउने बम ठकुरी जातका मानिसले त्यसबेला कुमाल जातिलाई गाग्रीबराबरको माटो बिक्री किन गरे ? देवता किन बम ठकुरी जातबाट दलित जातिमा सरे ? देहेणुको कालासिल्लाको मस्टो धामी, आचार्य थरका ब्राह्मणबाट न्यौपाने थरका ब्राह्मणमा सारेर पुजारी कसरी बन्न पुगे ? प्रश्न आफैंमा गम्भीर छ।

प्रचलनअनुसार पैठ हुने दिनमा ब्राह्मण र ठकुरी जातका व्यक्ति शुद्ध भएर दलितको घरको गाई दुहुने गर्दछन्। त्यही दूधले मात्र कालासिल्ला देवताको श्रद्धापूर्वक पूजा गरिन्छ। दूध्या मस्टा देवताको पूजा गर्नु भनेको पनि यही हो। बझाङ र बाजुरा जिल्लामा क्षेत्री थरका धामी, पुजारी र ब्राह्मणले मात्र मन्दिरमा पूजा गर्ने चलन छ। तर कालीकोटको पचाल झरना–५, बाँझकोटमा धामी देवता दलित जाति र पुजारी न्यौपाने ब्राह्मण जातिको रहनु आफैंमा नौलो र क्रान्तिकारी छ। 

अझ भनौं— समानताको सम्बन्ध देखिन्छ।
एक पटक सबै दलित मिलेर देवताका अगाडि ‘गाई हामी नै दुहुन्छौं, पुजारी पनि आफैं बन्छौं’ भनी माग गर्दा कालासिल्ला देवताले ‘म गाईको दूध दुहेको र पुजारीको काम पनि ब्राह्मणको हातले गरेको मात्र रुचाउँछु, अरूको होइन’ भन्ने वाणी दिएछन्। त्यसैले पनि कालासिल्ला देवताको पूजा र मन्दिरको पुजारी ब्राह्मण नै रहने परम्परा कायम छ। स्थानीय बुद्धिजीवीका अनुसार देहेणुको थान या मन्दिर अहिलेको ठाउँबाट अर्को ठाउँमा सार्ने भन्ने गाउँका मानिसले सल्लाह गरेछन्। सो ठाउँ उखेल्न लाग्दा एउटा बडेमानको सर्प आएर त्यही ठाउँमा हलचल नगरी बसेछ। ठाउँ सार्न दिएन।

मस्टो देवतालाई शिवजीको सन्तान (जायो) पनि भनिन्छ। सर्प शिवजीलाई मन पर्ने माला भएर पनि होला, जिल्लाकै पवित्र माटोमा शिवजीको रूप सर्प त्यही ठाउँमा आएर बसेको। ५–६ वर्ष पहिलेको यो घटना अहिले पनि त्यो ठाउँमा चर्चाको विषय बनेको छ। प्रत्येक तीन वर्षमा लाग्ने देहेडूको 
मेला र फलाम (लुहा) लौरी (लौणो) भाँच्ने जात्रा आफैंमा ऐतिहासिक र दैवीय शक्तिसँग जोडिएको पाइन्छ।

संस्कृतिकर्मी शाहीका अनुसार जिल्लाको सदरमुकाम खाँडाचक्र मान्मामा प्रत्येक साउन महिनाको पूर्णिमा (पुनी) मा भव्य मेला लाग्ने गर्दछ। त्यहाँ धौलपुरो देवताको     श्रद्धापूर्वक पूजा गरिन्छ। धौलपुरो देवता पनि कर्णाली र सेती अञ्चलका बाजुरा, बझाङ जिल्लाका धेरै गाउँठाउँहरूमा पुजिने शक्तिशाली देवता हुन्। जुम्ला र कालीकोट जिल्लामा अझ विश्वासका साथ धौलपुरो देवताको पूजा गरिन्छ।

धौलपुरो चल्दाखेरी देवता प्रकट भएर मन्दिरमा चढाएको घण्टको रालो (घण्टको भित्रको डन्डी) दाँतले काटेर छिनाइदिन्छन्। फलामको रालो छिनाउनु पनि सामान्य कुरा मानिँदैन। दैवीय शक्ति नभए सबैले देख्नेगरी फलाम दुई टुक्रा पार्न कसले सक्ला ? त्यसैले यो आफैंमा चमत्कारी विषय हो। ‘पहाडमा देवतालाई पुजी खानु, सहरमा पकाएको सुजी खानु’ भनेको त्यसै होइन। यी उखानटुक्का पनि कतिपय देवता र परम्परासँग जोडिएका पाइन्छन्।
आज उदै भोलि उदै काँ बग्छै पानीय,झलना झल्कना न लाँऊ नौला सुन् खानीय।

कर्णालीका पाँचवटै जिल्लावासी र संस्कृतिसँग साइनो जोडिएको पंक्तिकारसँग लगभग ४० वर्ष नाघ्यो। कर्णाली अञ्चल नेपाली जातिको सभ्यताको मुहान हो। कसैले पनि यो सभ्यता र यहाँको संस्कृतिप्रेमी नागरिकमाथि अन्याय नगरुन् ! बरु आदिम संस्कृतिको संरक्षण गरुन्। देहेडू जात्रा कालीकोटको मात्र होइन, सिंगो काली कर्णाली प्रदेशको अनौठो धार्मिक आस्थाको पर्व पनि हो। अब त यो देश नेपालकै गौरव बन्दैछ। यदि यसलाई विश्वजगत्मा पुर्‍याउने हो भने विश्वव्यापी अवश्य बन्नेछ।

एक सन्दर्भमा राजधानी काठमाडौंमा गत साता यो पर्व र पैठका बारेमा पंक्तिकारलाई एक अनन्य मित्रले विषय उठान गर्नुभयो। संस्कृति र सम्पदामा हरपल कलम चलाइरहने उनै स्रष्टा, वरिष्ठ सञ्चारकर्मी एवं अनुसन्धानकर्ता गोपीकृष्ण ढुंगानाले हेर्दाहेर्दै फलाम पिटिक्क भाँच्ने अनौठो पर्वबारे भनिरहँदा पंक्तिकार जिज्ञासाले भरियो। पूर्वी नेपाल झापा गौरादहका उहाँलाई त सुदूरपश्चिमको जिल्ला कालीकोटस्थित बाँझकोटको यो संस्कृति र सम्पदाले तान्यो भने म त उतैको मान्छे। उहाँले भन्नुभएथ्यो, ‘दाइ, देहेडू र देउडाबीच सम्बन्ध हुनुपर्छ। नत्र किन र कसरी देहेडू जात्राको समापनमा देउडा गाइन्छ ?’ यो लेख त्यस वार्ताको उपज हो भन्दा अत्युक्ति नहोला।

देहेडू र देउडाबीचको सम्बन्ध देखिन्छ। विशेष पोसाक र गरगहनामा सजिएका दिदीबहिनी तथा दाजुभाइहरू निद्रा र थकान भुलेर गीत–संगीतको जादुमय तालमा झुम्छन्। ‘देहेडूको जात्रामा फलाम भाँचियो, हाम्रो गाउँको धर्म सधैं साँचियो’ भन्ने भावले बाँझकोटको पहाडी रातलाई अझै रसिलो र गुञ्जायमान बनाएको पाइन्छ। कर्णाली–भेरीको सभ्यता र पुर्खाको ज्ञान बोकेको कुमाल जातिको देहेडू जात्रा आस्था र अध्यात्मको महासागर हो। धामीको विशेष नाच र फलामे लठ्ठी भाँच्ने दैविक शक्तिले यसलाई अनौठो बनाएको छ। धामीको पूजा सकिएपछि रातभर चौरमा हातमा हात मिलाएर महिलाहरू दोहोरी देउडा र भारी खेलमा झुम्छन्। यसै देउडाको लयसँगै पूर्वको आकाश उज्यालो हुन्छ, अनि गाउँले पनि धर्म मनभरि राखेर फर्कन्छन्। देहेडू र देउडाको सहयात्राले निरन्तरता पाइरहोस्, कामना ! 
सबै ज्ञान सुनिसक्याँ ज्ञान् सुन्नु गीताको,
अब दर्शन का पाइन्या छ रामचन्द्र सीताको ?    
कर्णालीका तीरै तीर गल्की पाक्या वेणु,
आज पायाँ पानीको नाउलो आजै तिर्खा मेणु।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.