बखानमा भरतपुर विद्रोह

बखानमा भरतपुर विद्रोह

व्यक्तिको जीवनीमा आधारित बखान नामको आख्यानात्मक यो कृति अनुसन्धानमूलक उपन्यास हो। मुख्यतः २००७ देखि २०४० सालसम्मका राजनैतिक घटनालाई चित्रण गरी एउटा युगलाई नै यसमा समेटिएको छ।

२०८३ असार ७ गते, आइतबार। चितवनको भरतपुरमा रास्वपाको राष्ट्रिय अधिवेशन आयोजना भयो। उद्घाटनका क्रममा एक नेताले गर्जनयुक्त मन्तव्य दिए। यसले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ। उनको मन्तव्यमा ‘भरतपुर विद्रोह’को प्रसंग जोडिएको थियो। यसले आम नागरिकको मनमस्तिष्क तरंगित बनाएको छ।

गगनको गर्जन :  नेपाली कांग्रेसका सभापति गगन थापाले ऐतिहासिक आन्दोलनको स्मरण गराए। कांग्रेसले तानाशाही शासनविरुद्ध निरन्तर आन्दोलन गरेको थियो। २०१८ सालमा चितवनको भरतपुरमा पनि आन्दोलन भयो। त्यही आन्दोलनको बलमा आज रास्वपा यहाँ छ।

रास्वपाले भरतपुरमा स्वतन्त्र रूपले निलो झण्डा फहरायो। थापाले भने त्यो ऐतिहासिक आन्दोलन नबिर्सन रास्वपालाई सुझाएका थिए। नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन विद्रोह भयो। त्यस क्रममा कांग्रेसका धेरै सदस्यले रगत बगाए। ५० भन्दा बढी नागरिकले त्यहाँ ज्यान गुमाएका थिए।

रास्वपाले त्यही ऐतिहासिक ठाउँमा कार्यक्रम गरेको हो। त्यसैले सहिदको बलिदान स्मरण गर्न उनले आग्रह गरे। यो मन्तव्य सुन्दा मलाई एउटा पुस्तकको याद आयो। त्यो थियो, वसन्त पराजुलीले लेखेको ‘बखान’ उपन्यास। गगन थापाले औंल्याएका विषयलाई यस उपन्यासले प्रस्ट्याउँछ। त्यसैले यहाँ ‘बखान’ उपन्यासको चर्चा गरिएको हो।

बखान उपन्यास :  ‘बखान’ उपन्यास बखानसिंह गुरुङको संघर्षमय जीवनमा आधारित छ। यसमा उनको बाल्यकालदेखि मन्त्री हुँदासम्मको जीवनयात्रा समेटिएको छ। साथै, उपन्यासले उनका राजनीतिक टकराव, पारिवारिक वियोग र सामाजिक गतिविधिलाई पनि विषयबद्ध गरेको छ। यस क्रममा २००७ देखि २०४० सालसम्मका प्रमुख राजनीतिक घटनाक्रम यहाँ उजागर गरिएका छन्। यो एउटा अनुसन्धानमूलक कृति हो। जसमा तत्कालीन चितवनको बहुआयामिक अवस्थाको वस्तुपरक चित्रण छ। त्यहाँको सामाजिक, राजनीतिक, ऐतिहासिक, सांस्कृतिक र आर्थिक पक्षलाई तथ्यका आधारमा प्रस्तुत गरिएको छ।

त्यसैगरी, चितवनको भौगोलिक तथा प्राकृतिक एवं पर्यावरणीय अवस्थालाई पनि मिहीन ढंगले समेटिएको छ। यसका साथै, चितवनको बस्ती, राष्ट्रिय निकुञ्ज अनि थारू र नेवार जातिको जीवनचर्या एवं संस्कृति यसमा मुखरित छ। आख्यान भएर पनि यस उपन्यासले यिनै विविध विषयको यथार्थपरक स्वाद दिन्छ। यसमा समावेश घटनाहरू काल्पनिक नभई पूर्णतः तथ्यमा आधारित छन्। त्यसैले यसलाई एउटा अब्बल र वस्तुपरक उपन्यासका रूपमा चिनिन्छ।

संरचना :  उपन्यास ५५ शीर्षकमा विभाजन गरिएको छ। ‘जाँदाजाँदै’ शीर्षक राखेर उपन्यासकारले आफ्ना कुरा राखेका छन्। ‘उपन्यासमा प्रयुक्त केही शब्दको अर्थ शीर्षक उल्लेख गरेर त्यसभित्र गुरुङ भाषा, थारू भाषा र नेवारी भाषाका केही शब्दको संकलन गरी तिनको अर्थ उल्लेख गरेका छन्। सन्दर्भसामग्री शीर्षकअन्तर्गत चौधवटा कृति उल्लेख गरिएको छ भने इतिहासविद्, पत्रकार, लेखक, पर्यटन व्यवसायी, शिक्षक, संस्कृतिका ज्ञाता, माउते, नेता आदि जोजोसँग कुराकानी गरिएको छ। ती व्यक्तिलाई ‘भेटघाट तथा कुराकानी’ शीर्षक राखेर परिचय उल्लेख छ।

उपन्यासको पृष्ठभूमि : अर्घौं कर्म भइरहेको छ। त्यो संस्कार सकिन्छ। नाति चन्द्रध्वजले बाकस खोल्छन्। त्यहाँ डायरी भेटिन्छ। डायरीमा लेखिएको थियो– बखानसिंहको डायरी। त्यसपछि तिनै हजुरबा बखानसिंहले लेखेको डायरी पढ्न थाल्छन्। हजुरबाले जीवनमा भोगेका कष्ट र खुसीका कुराहरू जानकारी लिन्छन्। जीवनमा धेरै सास्ती भोगी ८५ वर्ष पुगेका बखानसिंहले लेखेका रहेछन्, ‘थाहा छैन, यो सास कतिखेर रोकिने हो।’ डायरी पढ्दै गर्दा धेरै पटक रोए, भक्कानिए। पुर्खाले देश र जनताप्रति गरेको योगदान सम्झेर चन्द्रध्वजले आपूm पनि देश र जनताप्रति समर्पित हुने संकल्प गरे। 
यसरी उपन्यास सकिएको छ।

नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन विद्रोह भयो। त्यस क्रममा कांग्रेसका धेरै सदस्यले रगत बगाए। ५० भन्दा बढी नागरिकले त्यहाँ ज्यान गुमाएका थिए।

कथावस्तु :  तनहुँको पुलिमराङ भन्ने गाउँमा कालु गुरुङ र बाटुलीको कान्छो सन्तानका रूपमा बखानसिंहको जन्म भयो। बन्दीपुरमा प्राथमिक शिक्षा आर्जन गरेपछि बखानसिंह माध्यमिक शिक्षा आर्जन गर्न काठमाडौं गए। दरबार हाइस्कुलमा पढ्दै गरेका बेला यिनी राणाकालीन समयमा सेनामा भर्ती भए। तालिम सकेपछि यिनी भीम शमशेरको दरबारमा पदस्थापित भए। कर्तव्यनिष्ठ भएका कारण यिनी तीन वर्षकै अवधिमा त्यही दरबारमा छँदै क्याप्टन पदमा बढुवा भए। 

१९८१ सलामा विष्णुमायासँग बखानसिंहको विवाह भयो। विवाह भएको एक वर्षपछि अर्थात् १९८२ मा लालध्वजको जन्म भयो। त्यसैको एक वर्षमा धर्मध्वजको जन्म भयो। समय बित्दै जाँदा ती दुई बालक एउटा नेता बनेर भाषण गर्ने अर्को पुलिस बनेर लखेट्ने खेल खेल्थे रे। प्राथमिक शिक्षा बन्दीपुरबाट लिएपछि माध्यमिक शिक्षा आर्जन गर्ने काम दरबार हाइस्कुलबाट गरे। त्यस बेला बखानसिंह र ती दुई छोरा सुवर्णशमशेरसित संगत गरेका कारण राणाविरोधी बने। 

त्यसपछि उनी लालध्वज सेनामा भर्ती भए। धर्मध्वज पढाइ सकेर तनहुँको घरमा फर्के। त्यहाँ तिनले श्रीभद्र खनालसँग कांगे्रेसको सदस्यता लिए। त्यसपछि यिनी कांग्रेस राजनीतिमा सक्रिय भएर लागे। सयम बित्दै जाँदा लालध्वजले अमृतासँग र धर्मध्वजले हस्तकुमारीसँग बिहे गरे। धर्मध्वज र हस्तकुमारीका गर्भबाट चित्रध्वजको जन्म भयो। नाति चित्रध्वजलाई देखेर बखानसिंह हर्षविभोर भए। भीमशमसेरको दरबारकी ढोके मनकुमारीसँग बखानसिंहको दोस्रो बिहे भयो। केही समयपछि काठमाडौंबाट यिनलाई गोरखा सरुवा गराइयो। यिनका जेठा छोरा लालध्वज पनि त्यसबेला तत्कालीन नेपालको सेनामा भर्ती भई काम गरिरहेका थिए।

राणाहरूको बिगबिगी ध्वस्त पार्न नेपाली कांग्रेसले २००७ सालमा क्रान्ति सञ्चालन गर्‍यो। यिनका कान्छा छोरा धर्मध्वज त्यस क्रान्तिमा सेना बनेर त्यस युद्धमा होमिए। बन्दीपुरमा भिड्दा सेनाको गोली लागेर धर्मध्वजको मृत्यु भयो। बुहारी हस्तकुमारी विधवा भइन्। चित्रध्वज नाति टुहुरो भयो। आमा विष्णुमाया व्याकुल बनिन्। यस घटनाले विरक्तिएका बेलामा यिनलाई नेपाली कांग्रेसले क्रान्तिका निम्ति आमन्त्रण गर्‍यो अनि रक्षामन्त्री बनाइदियो। यिनले सेनाका हतियारहरू लिएर आपूmलाई क्रान्तिमा होमे। देशमा प्रजातन्त्र आयो। 

पति धर्मध्वजको मृत्यु भएका कारण हस्तकुमारी त्यो गाउँमा बस्न मानिनन्। बुहारी हस्तकुमारी र चित्रध्वज नातिलाई लिएर बखानसिंह चितौन बसाइँ गए। चितवन नारायणी किनारमा रुखमुनि बास बनाई बसे। वनफँडानी गरी आपूmसमेत अन्य जनतालाई बास बसाए। दुई वर्षपछि अरू जहान परिवार चितवन ल्याउन भनी बखानसिंह पुलिमराङ गए। त्यहाँबाट अरू मान्छे पनि ल्याएर चितवनमा बस्ती बसाले। पछि राजा महेन्द्रसँग भेट भयो। राजाले चितवनमा यिनले गरेको काम सुनेर प्रभावित तथ्य राजा स्वयंंले व्यक्त गरे। फेरि चितवन आएर २०१३ सालमा बखान रिण सहकारी संस्था खोले। बखानसिंहले चितवनमा विभिन्न जिल्लाबाट आफन्तहरू बोलाएर वन फँडानी गरी बस्ती बसालेका कारण यनलाई सरकारले वन फँडानी मुद्दा लगायो। २०१५ सालमा कांग्रेससित चुनावी टिकट माग्दा नपाएपछि दुःखी भए तर विद्रोह नगरी कांग्रेसलाई सघाए। निर्वाचन सकेपछि कांग्रेसले यिनलाई महासभामा लग्यो।

राम्रो गरेका कारण तत्कालीन सरकार लोकप्रिय बन्यो भनेर २०१७ सालमा राजा महेन्द्रले त्यो सरकारलाई अपदस्थ गरे। कांगे्रस पार्टीले चलाएको सशस्त्र आन्दोलनमा बखानसिंह सक्रय भए। यता नातिको देहावसान भयो। यस्ता पीडाका कारण बुहारी हराइन्। यता लडाइँमा लागेका जेठा छोरा लालध्वजको मृत्यु भयो। बखानसिंह व्याकुल भए। घर छाडेर निर्वासित भए। पछि सेनाले चितवनको घर जलाइदियो। बखानसिंहलगायतलाई राजाले देशद्रोही भनेर जन्मकैद घोषणा गरे, सबै सम्पत्ति जफत गरिदिए। 

यति हुँदा पनि बखानसिंहले कांग्रेसको राजनैतिक प्रशिक्षण दिँदै हिँडे। आफ्नो डढेको घर हेर्न बखानपुर गए। जलेको घर देखेर व्याकुल भए। पछि सुवर्णशमशेरले राजालाई समर्थन गर्ने भनेपछि बखानसिंह स्वदेश आए। बासको अभाव भयो। राजा महेन्द्रसँग भेट भयो। ७५ वर्षकी कान्छी पत्नी मनकुमारीको देहावसान भयो। दिक्क भएर नेपाली कांग्रेस छाडे। पञ्चायतका पक्षमा लागेर २०३८ सालको निर्वाचनमा यिनले चुनाव जिते।

पञ्चायतले यिनलाई मन्त्री बनायो। यसरी जीवनका कठिनतम आरोहअवरोह भोग्दै जीवन व्यतीत गरेका बखानको ८५ वर्षको उमेरमा देहावसान भयो। बखानसिंहका नाति चन्द्रध्वजले आफ्ना तिनै हजुर बा बखानसिंह डायरी पढिरहेका थिए। देश बनाउनका निम्ति जीवन अर्पण गरेका पुर्खा सम्झेर भावविभोर चन्द्रध्वजले आँसु पुछिरहेका थिए। यस्तै परिस्थिति सम्झँदै चन्द्रध्वजले तिनै बखानसिंहको अर्घौ गरेका छन्। 

करुणभाव :  कांग्रेसले २००७ सालमा क्रान्तिमा लाग्दा बन्दीपुरमा सेनाको गोली लागेर धर्मध्वजको मृत्यु भयो। बुहारी हस्तकुमारी विधवा भइन्। चित्रध्वज नाति टुहुरो भयो। आमा विष्णुमाया व्याकुल बनिन्। जागिर त्यागेर आपूmलाई क्रान्तिमा होमे। बुहारी हस्तकुमारी र चित्रध्वज नातिलाई लिएर बखानसिंह चितौन बसाइँबसाइँ गए। चितवनमा पुगेपछि रुखमुनि बास बनाई बसे।

सरकारले वन फँडानी मुद्दा लगायो। २०१५ सालमा कांग्रेससित चुनावी टिकट माग्दा नपाएपछि दुःखी भए तर धोका दिएनन्। परिवार छाडेर सशस्त्र आन्दोलनमा बखानसिंह सक्रीय भए। चितवनको औलोका कारण नातिको देहावसान भयो। छोरोको पनि देहावसान भएपछि बुहारी हराइन्। सशस्त्र आन्दोलनमा सेनाको गोली लागेका छोरा लालध्वजको मृत्यु भयो।

देशनिकाला भएका कारण भारतमा शरण लिए। सेनाले चितवनको घर जलाइदियो। देशद्रोही भनेर सरकारले सम्पत्ति जफत गर्‍यो। जन्मकैद घोषणा गर्‍यो। चितवनमा डढाइदिएको घर हेर्न लुकिछिपी आएर हेरे अनि पुनः भारत गए। उचित वातावरण बनेपछि स्वदेश त आए तर बास भएन। पत्नी मनकुमारीको देहावसान भयो। पछि रोगग्रस्त भए। ८५ वर्षको उमेरमा देहावसान। 

निष्कर्ष :  व्यक्तिको जीवनीमा आधारित बखान नामको आख्यानात्मक यो कृति अनुसन्धानमूलक उपन्यास हो। मुख्यतः २००७ देखि २०४० सालसम्मका राजनैतिक घटनालाई चित्रण गरी एउटा युगलाई नै यसमा समेटिएको छ। तात्कालिक घटनालाई कल्पनाको जलप लगाएर लेखिएको अनुसन्धानमूलक यस उपन्यासमा सामाजिक तथा राजनैतिक विषयवस्तुलाई नौलो ढंगले चित्रण गरिएको छ। यसमा चित्रित घटनाहरू कौतुहलपूर्ण छन्। 

आत्मपरक तथा पूर्वदीप्ति शैली अनि बिम्बमय आलंकारिक भाषाको प्रयोगले उपन्यासलाई रोचक बनाएका छन्। यसमा चित्रित घटनाले पाठकमा करुणभाव, वीरभाव र उत्साहभाव जागृत गराउँछन्। व्यक्तिलाई नायक र राणातन्त्र र पञ्चायती व्यवस्थालाई खलनायक बनाइएको यस कृतिले राजनीति तथा सामाजिक कार्य गर्ने व्यक्तिहरूलाई सत्मार्गको पाठ सिकाउँछ। त्यसैले यो उपन्यास परम्परामा कौतुहलपूर्ण एवं पठनीय नवीन कृतिका रूपमा देखा परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.