केतन हत्या प्रकरण : सियाका भाइले गरे चेतनसँगको सम्बन्धबारे खुलासा, नयाँ तथ्यहरू सार्वजनिक
भारत : भारत महाराष्ट्रको लोनावला नजिक रहेको लोहगढ किल्लाबाट १८ जुनमा रियल स्टेट निर्देशक केतन अग्रवालको मृत्यु भएको घटनालाई अब योजनाबद्ध हत्या भएको रूपमा प्रहरीले पुष्टि गरेको छ । पुणे प्रहरीले यस मुद्दामा केतनकी हुनेवाला पत्नी सिया गोयल र उनका प्रेमी चेतन चौधरीलाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले सियाका भाइ साहिल गोयलसँग करिब १० घण्टा लामो सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा साहिलले उनलाई आफ्नी बहिनी सिया र चेतनबीचको प्रेम सम्बन्धबारे केही महिनाअघि नै थाहा भएको खुलाएका छन् । सियाको केतनसँग इन्गेजमेन्ट भइसकेको कारण उनले बहिनीलाई चेतनबाट टाढा रहन र सम्बन्ध तोड्न सल्लाह दिएको पनि उनले बताए । प्रहरीका अनुसार साहिल र आरोपी चेतनबीच सन् २०२४ मा क्रिकेट खेल्ने क्रममा मित्रता भएको थियो, जसपछि चेतनको भेट सियासँग भएको थियो ।
प्रहरी अनुसन्धानमा सबैभन्दा चकित पार्ने कारण केतनको टाउकोमा कपाल नभएको विषय रहेको खुलेको छ । स्रोतअनुसार, इन्गेजमेन्टपछि सियालाई केतनले ‘विग’ लगाउने गरेको थाहा भएपछि उनी विवाह गर्न इच्छुक थिइनन् । अर्कोतर्फ, केतनका परिवारले भने विवाह तय गर्दा नै सिया गोयल परिवारलाई केतनले हेयर प्याच प्रयोग गर्ने र उपचार चलिरहेको जानकारी दिइएको दाबी गरेका छन् । यही विषयलाई लिएर सिया र चेतनले मिलेर केतनलाई हटाउने षड्यन्त्र रचेको आरोप छ ।
च्याट डिलिट र डिजिटल प्रमाण नष्ट गर्ने प्रयास
लोनावला डिभिजनका प्रहरी उपाधीक्षक गजानन टोनपेका अनुसार, दुवै आरोपीले अपराधअघि र पछि आफ्नो मोबाइलबाट सम्पूर्ण व्हाट्सएप च्याट हिस्ट्री मेटाएका थिए । उनीहरुले प्रमाण नष्ट गर्न फोनको रिसाइकल बिन पनि खाली गरिएको पाइएको छ ।
प्रहरीले दुवैको मोबाइल फरेन्सिक साइन्स ल्याबमा पठाएर डाटा रिकभरी गर्ने प्रक्रिया सुरु गरेको छ । हिरासतमा रहेका दुवै आरोपी एकअर्कामाथि दोष लगाइरहेका छन्, जसका कारण प्रहरीले डिजिटल प्रमाण र फरेन्सिक रिपोर्टमा बढी भर परिरहेको छ ।
विशेष सरकारी वकिल नियुक्त
यो सनसनीपूर्ण घटनाले महाराष्ट्र सरकारको ध्यान पनि खिचेको छ । मुख्यमन्त्री देवेंद्र फडणवीसले मृतक केतनका पिता विशाल अग्रवालसँग भेटेर छिटो न्याय दिलाउने आश्वासन दिएका छन् । मुख्यमन्त्रीले यस घटनालाई ‘अत्यन्तै चकित पार्ने र बुझ्न कठिन’ भन्दै यसले समाजमा युवामा किन आपराधिक सोच र बदलाको भावना बढ्दैछ भन्ने विषयमा गम्भीर आत्मचिन्तन आवश्यक भएको बताएका छन् ।
सरकारले यस मुद्दाका लागि फास्ट–ट्रयाक अदालत गठन गर्ने निर्णय गरेको छ । साथै, चर्चित सरकारी वकिल उज्ज्वल निकमलाई विशेष लोक अभियोजकको रूपमा नियुक्त गरिएको छ र उनले केस लड्ने लिखित सहमति समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !