चार वर्षीया बालिकाको छातीमा लात हान्ने महिला को हुन् ? भिडियो ‘भाइरल’
भारत : भारतको मुम्बईस्थित पनवेलबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । एक चार वर्षीया बालिकामाथि गरिएको क्रूरताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आक्रोश फैलिएको छ । बाल विकास केन्द्र जान नमानेको भन्दै एक महिलाले बालिकाको छातीमा जोडले लात हानेकी थिइन् ।
महिला को हुन् ?
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै लात हान्ने महिला वाल विकास केन्द्रको कार्यकर्ता भएको दाबी गरिएको थियो । तर, प्रहरीको अनुसन्धानले उक्त दाबी गलत भएको पुष्टि गरेको छ । बालिकामाथि लात हान्ने महिला अरू कोही नभई उनकै आफ्नी आमा रहेको खुलेको छ । घटनापछि सर्वसाधारणले महिलामाथि कडा कारबाहीको माग गरेका छन् ।
सिँढीमा लडिन् बालिका
यो घटना पनवेलको नन्दगाउँ गाउँस्थित एक वाल विकास केन्द्र बाहिर भएको हो । भाइरल भिडियोमा महिलाले बालिकाको छातीमा यति जोडले लात हानेकी देखिन्छ कि उनी सिधै बाल विकास केन्द्रको गेट अगाडिको सिँढीमा पुगेर लड्छिन् । राहतको कुरा, घटनामा बालिकालाई गम्भीर चोट नलागेको र उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
आमालाई प्रहरीले नियन्त्रणमा लियो
भिडियो भाइरल भएपछि पनवेल सिटी प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो । अनुसन्धानबाट लात हान्ने महिला बालिकाकी आफ्नै आमा रहेको पुष्टि भएपछि उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
आवेगमा गल्ती भएको स्वीकार
प्रहरीसँगको बयानमा महिलाले आफ्नो व्यवहारप्रति पछुतो व्यक्त गरेकी छन् । उनका अनुसार छोरीले पटक–पटक बाल विकास केन्द्र जान अस्वीकार गरेपछि आफू अत्यधिक रिसाएकी थिइन् र आवेगमा आएर यस्तो व्यवहार गरेकी हुन् । प्रहरीका अनुसार घटना बिहीबार भएको थियो । घटनाबारे विस्तृत प्रतिवेदन तयार गरी राज्य बाल कल्याण समितिमा पठाइएको छ । अब समितिको निर्देशनअनुसार महिलाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !