जेनजी आन्दोलनमा विराटनगर जलाउने मुख्य अभियुक्तलाई थुनामा राख्न आदेश
विराटनगर : जेनजी आन्दोलनको आवरणमा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतको आदेशपछि उनलाई शुक्रबार जिल्ला कारागार मोरङ चलान गरिएको छ।
न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अन्सारीलाई नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसँग सम्बन्धित आपराधिक उपद्रव मुद्दामा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। लामो समयदेखि फरार रहेका अन्सारी शुक्रबार आफैं अदालतमा उपस्थित भएका थिए। अदालतमा बयान लिइएपछि सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस सम्पन्न भएको थियो। त्यसपछि इजलासले उनलाई कारागार पठाउने आदेश गरेको हो।
सरकारी वकिल कार्यालयले अन्सारीविरुद्ध विराटनगरस्थित नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा भएको आगजनी तथा तोडफोडका घटनासम्बन्धी छुट्टाछुट्टै दुई आपराधिक उपद्रव मुद्दा अदालतमा दर्ता गरेको थियो। नापी कार्यालयसँग सम्बन्धित मुद्दामा थुनामा राख्ने आदेश भए पनि सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडसम्बन्धी मुद्दामा भने अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटीबापतको रकम अन्सारीले बुझाएका छैनन्।
गत २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन विराटनगरमा व्यापक आगजनी, तोडफोड र लुटपाट भएको थियो। घटनाका क्रममा कोशी प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, उच्च अदालत, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, विराटनगर महानगरपालिका, वडा कार्यालयलगायतका विभिन्न सरकारी कार्यालय, भाटभटेनी सुपरमार्केट तथा निजी घरहरूमा समेत क्षति पुर्याइएको थियो।
प्रतिक्रिया दिनुहोस !