वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ बस्ने बारा घर भएका ४१ वर्षीय गगन बहादुर स्याङतान, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही घर भएका २८ वर्षीय निर्जल बस्नेत र काठमाडौं टोखा नगरपालिका-५ बस्ने दाङ घर भएका ३२ वर्षीय बल बहादुर चन्द ठकुरी रहेका छन्।
पक्राउ मध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख ३० हजार रुपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९० हजार रुपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गगन बहादुरलाई काठमाडौं महानगरपालिका-३ बाट बिहीबार तथा निर्जललाई ललितपुर महानगरपालिका-३ बाट र बल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो।
पक्राउ मध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !