जहानियाँ जञ्जिरमा गणतन्त्रको पहिलो झिल्को

इतिहास

जहानियाँ जञ्जिरमा गणतन्त्रको पहिलो झिल्को

हनुमाननगर जेल काण्ड राणाशासनविरुद्धको एउटा यस्तो प्रतीकात्मक विद्रोह थियो, जसले तत्कालीन प्रजातान्त्रिक आन्दोलनलाई मलजलमात्र गरेन, ६–७ दशकपछि नेपालमा स्थापित गणतन्त्रको मियोसमेत बन्यो।

नेपाल र भारतबीच लगभग १ हजार ८ सय ५० किलोमिटर लामो खुला सिमाना छ। यसै खुला सिमानाका कारण नेपाली र भारतीय नागरिकहरू बिनाभिसा एकअर्काको देशमा निर्बाध यात्रा गर्न सक्छन् भने सीमावर्ती नागरिकहरू परस्पर सीमा क्षेत्रमा स्वतन्त्र रूपमा विचरण गर्न पाइरहेका छन्। सन् १९५० को शान्ति तथा मैत्री सन्धि नै यस्तो प्रगाढ पारस्परिक सम्बन्धको मूल जग बनेको छ।

नेपाल–भारतबीचको यो लामो सीमा प्रणाली सुरक्षा र रणनीतिक दृष्टिकोणबाट जति महत्वपूर्ण छ, त्यति नै महत्व दुवैतर्फका नागरिकबीचको जनस्तरको अन्तरसम्पर्कको पनि छ। दुई देशबीचको ‘रोटी–बेटी’को सम्बन्ध र सांस्कृतिक तथा धार्मिक आदानप्रदानको शृंखला राज्यले कोरेको सीमाको सतहभन्दा निकै उँचो र फराकिलो छ। विगतमा यस सम्बन्धको गहिरो राजनीतिक प्रभाव र पर्याय पनि थियो, जसको एउटा अत्यन्त महत्वपूर्ण र जीवन्त उदाहरण सन् १९४३ को सप्तरीस्थित हनुमाननगर जेल काण्ड हो।

क्रान्तिको साझा धरातल र हनुमाननगर जेल काण्ड

सप्तरीको हनुमाननगर जेल काण्ड नेपालको निरंकुश राणाशासनविरुद्धको एउटा ऐतिहासिक र क्रान्तिकारी घटना थियो। यस घटनामा नेपाली तथा भारतीय क्रान्तिकारीहरूको संयुक्त सशस्त्र दस्ताले तत्कालीन नेपाल सरकारको हिरासतमा रहेका भारतीय स्वतन्त्रता सेनानी जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायतका नेतालाई मुक्त गरेका थिए। सप्तरी जिल्लाको तत्कालीन सदरमुकाम हनुमाननगरस्थित जेलमा मध्यरातमा साहसिक आक्रमण गरी उनीहरूलाई रिहा गराएर भारततर्फ नै फर्काइएको थियो। यस ऐतिहासिक घटनाले नेपालमा भइरहेको लोकतान्त्रिक आन्दोलनलाई जबरजस्त रूपमा बलियो बनायो।

साथै, भारत र नेपालबीच जारी आन्दोलनात्मक गतिविधिमा दुवैतर्फको परस्पर सहयोगलाई थप सुदृढ गर्‍यो। यसले भारत र नेपालबीचको क्रान्तिकारी ऐक्यबद्धतालाई समर्थन मात्र गरेन, नेपालको सन् १९५१ (२००७ साल) को जनक्रान्तिलाई समेत महत्वपूर्ण आडभरोसा दिने काम गर्‍यो। त्यस समय भारतमा ब्रिटिस उपनिवेशबाट मुक्तिका लागि सन् १८५७ को सिपाही विद्रोहदेखि नै निरन्तर संघर्ष चल्दै आएको थियो। यता नेपालमा भने निरंकुश राणाशासनबाट मुक्तिका लागि भर्खरै सन् १९३६ मा प्रजा परिषद्को गठन हुँदै आन्दोलनले बिस्तारै गति लिइरहेको थियो। भारतको बिहार र नेपालका क्रान्तिकारीहरू एकअर्काका सीमावर्ती गाउँहरूमा आआफ्ना नातेदारका घरमा लुकेर बस्ने गर्थे र त्यहीँबाट क्रान्तिकारी गतिविधिहरूमा सक्रिय रहन्थे।

सन् १९४२ को समयसम्म आइपुग्दा नेपाल र भारतमा मात्र होइन, सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको भुँमरीका कारण संसारभरि नै राजनीतिक अस्थिरता व्याप्त थियो। सप्तरीको हनुमाननगर जेल काण्ड हुँदा विश्वयुद्ध आफ्नो उत्कर्षमा पुगेको थियो। बेलायत सन् १९४० देखि नै जर्मनीविरुद्ध एक महत्वपूर्ण आधारका रूपमा रहँदै आएको थियो र उसले राष्ट्रमण्डल (युरोप, अफ्रिका, एसिया) तथा मित्रराष्ट्रहरूको नेतृत्व गरिरहेको थियो। यस्तो अवस्थामा भारतीय उपनिवेशले पनि स्वाभाविक रूपमै युद्धको ठूलो भार वहन गरिरहेको थियो।

यसै सन्दर्भमा भारतीय कंग्रेसले सन् १९४२ अगस्ट ८ (१९९९ साउन २४) मा ऐतिहासिक ‘भारत छोडो’ आन्दोलनको सुरुवात गर्‍यो। त्यही वर्ष नेताजी सुभाषचन्द्र बोसले ४० हजार भारतीय स्त्री–पुरुष सम्मिलित प्रशिक्षित सेना ‘आजाद हिन्द फौज’ गठन गरे र उनी त्यस फौजको सर्वोच्च कमान्डर नियुक्त भए। यसरी भारतमा एकातिर महात्मा गान्धीको नेतृत्वमा अहिंसात्मक आन्दोलन र अर्कोतिर नेताजी सुभाषचन्द्र बोसको नेतृत्वमा सशस्त्र संघर्ष एकसाथ अगाडि बढेर गयो। यसपछि स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय नेता र कार्यकर्तालाई दबाउन अंग्रेज सरकारले कठोर दमनको नीति लियो।

त्यसै दमनको क्रममा समाजवादी नेता जयप्रकाश नारायण पक्राउ परेका थिए। जयप्रकाश नारायण भारतीय स्वतन्त्रता सेनानी र प्रखर राजनेता थिए। उनलाई सन् १९७० को दशकमा प्रधानमन्त्री इन्दिरा गान्धीविरुद्ध विपक्षी मोर्चाको नेतृत्व गर्ने नेताका रूपमा विशेष चिनिन्छ। इन्दिरा गान्धीलाई पदच्युत गर्न उनले ‘सम्पूर्ण क्रान्ति’ नामक सशक्त आन्दोलन चलाएका थिए। ‘लोकनायक’को उपनामबाट सम्मानित उनलाई सन् १९९९ मा मरणोपरान्त ‘भारत रत्न’को सर्वोच्च उपाधिबाट विभूषित गरियो। बिहारको राजधानी पटनास्थित हवाई अड्डाको नामसमेत उनकै सम्मानमा राखिएको छ।

पक्राउ परेपछि अंग्रेज सरकारले जयप्रकाश नारायणलाई भारतका विभिन्न जेलमा सार्दै राखेको थियो। राजस्थानको देवली कारागारमा रहँदा त्यहाँको अव्यवस्थाविरुद्ध अन्य कैदीसहित उनी ३१ दिनसम्म अनशन बसे। त्यसपछि अंग्रेज सरकारले उक्त जेल नै बन्द गरी त्यहाँका कैदीहरूलाई अन्यत्र सार्‍यो र त्यही क्रममा उनलाई झारखण्डको हजारीबाग जेलमा लगियो। हजारीबाग जेलमा जयप्रकाश नारायणसँगै डा. राममनोहर लोहिया, डा. राजेन्द्र प्रसाद र नेपालका बीपी कोइराला पनि थुनिएका थिए। 

बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालालाई राजनीतिक आरोपमा राणा सरकारले देश निकाला गरेकाले उनी सपरिवार भारतमा बस्दै आएका थिए। भारतमै जन्मिएका बीपी कोइराला पनि त्यही समयमा ‘भारत छोडो’ आन्दोलनमा सक्रिय रूपमा संलग्न भएका थिए।

भूमिगत संघर्ष, निरंकुशताको राप र हनुमाननगर विद्रोह

सन् १९४२ नोभेम्बर ९ तारिख, दीपावलीको रात। जेलको ड्युटीमा खटिएका प्रहरी बिदामा रहेको मौका छोपी, सीमित सन्तरीहरूलाई झुक्याएर जयप्रकाश नारायण जेलबाट भागे। उनका साथमा सुरजनारायण सिंह पनि उम्किएका थिए। अंग्रेज सरकारले जेलबाट भागेका जयप्रकाशलाई पक्रन सुरुमा पाँच हजार र पछि १० हजार भारु इनाम तोक्यो। त्यस घोषणासँगै उनी पूर्ण रूपमा भूमिगत भए।

स्वतन्त्रता संग्राममा लागेका कतिपय भारतीय नेताहरू अंग्रेज सरकारको नजरबाट बच्न नेपालमा गुप्त शरण लिने गर्थे। यसैबेला नेपाली भूमिमा प्रवेश गर्ने बिहारका क्रान्तिकारीहरूको संख्या ह्वात्तै बढेको थियो। उनीहरू अधिकांश कोशी नदीको पश्चिमी किनारमा अवस्थित सप्तरी जिल्लाका बनरझुला, कोइलाडी, बर्साइन, बनैनिया, सखडा आदि गाउँमा बस्ने गर्थे। त्यहाँ उनीहरूलाई सुरक्षित गुप्तवास, भोजन र आवश्यक सुविधासमेत उपलब्ध हुन्थ्यो। सप्तरीका जमिन्दार रामेश्वरप्रसाद सिंहको बसोबासी गाउँ बनरझुलादेखि तीन माइल उत्तरमा बर्साइन थियो। पछि नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका सिंह र उनका छोरा वरिष्ठ अधिवक्ता हिम्मत सिंह (अध्यक्ष, जेपी–लोहिया–रामेश्वर मेमोरियल ट्रस्ट, बर्साइन)को हनुमाननगर जेल काण्डको इतिहास संरक्षणमा ठूलो योगदान रहिआएको छ।

यता, नेपालको राजनीतिक अवस्था पनि उतारचढावपूर्ण थियो। ससाना राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गरेपछि उनका उत्तराधिकारीले राज्य विस्तार गरेका थिए। पछि, राजा रणबहादुर शाहको समयमा फौजी जंगबहादुर कुँवरले (जसले पछि ‘राणा’ उपाधि धारण गरे) विद्रोह गरी सम्पूर्ण राजकीय शक्ति आफूमा निहित गरे। प्रधानमन्त्री र सेनाको सर्वोच्च कमान्डरमा आफ्ना भाइहरूको रोलक्रम तोकेपछि राणाशासन क्रमशः निरंकुश र स्वेच्छाचारी बन्दै गयो। मुलुकमा बलमिच्याइँ बढेपछि सर्वसाधारण जनता 
मात्र होइन, शासनकै स्तम्भ मानिने जमिन्दार र तालुकदारहरूसमेत राणाशासनको विपक्षमा उभिन थाले।

  • सप्तरीको हनुमाननगर जेल काण्ड नेपालको निरंकुश राणाशासनविरुद्घको एउटा ऐतिहासिक र क्रान्तिकारी घटना थियो। जुन घटनामा नेपाली तथा भारतीय क्रान्तिकारीहरूको संयुक्त सशस्त्र दस्ताले तत्कालीन नेपाल सरकारको हिरासतमा रहेका भारतीय स्वतन्त्रता सेनानी जयप्रकाश नारायण, डा। राममनोहर लोहियालगायतका नेतालाई मुक्त गरेका थिए।
  • आफैं पनि ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएका बीपी कोइराला जयप्रकाशबाट निकै प्रभावित थिए। पछि कांग्रेस विभाजनको सँघारमा पुग्दा बीपी र मातृकाप्रसादबीच मेलमिलाप गराउन पनि जयप्रकाशले भूमिका खेलेको इतिहासकारहरू बताउँछन्।
  • २००० सालतिर श्री ३ जुद्धशमशेर प्रधानमन्त्री हुँदा शासनप्रति जनतामा भारी असन्तोष व्याप्त थियो भने राजपरिवारभित्र पनि गुमेको अधिकार फर्काउने कसरत चलिरहेको थियो।अर्कोतर्फ, भारतमा अंग्रेजविरोधी क्रान्तिले उचाइ प्राप्त गरिसकेको थियो। शिक्षा र व्यापारका लागि भारत जाने नेपालीहरू त्यहाँको क्रान्तिबाट निकै प्रेरित थिए।
     

२००० सालतिर श्री ३ जुद्धशमशेर प्रधानमन्त्री थिए। १९९० माघ २ गतेको महाभूकम्पमा उनले ‘भूकम्प पीडितोद्धार संस्था’ र कोष स्थापना गराई स्वयंसेवी सेवा तथा निब्र्याजी ऋणजस्ता सुविधा दिएका थिए। यद्यपि, इतिहासमा उनी विषयलम्पट, अस्थिर मनस्थिति, हीनभावनाले ग्रस्त, सिकारी, अर्थलम्पट र विवेकहीन प्रशासकका रूपमा चित्रित छन्। यस समय शासनप्रति जनतामा भारी असन्तोष व्याप्त थियो भने राजपरिवारभित्र पनि गुमेको अधिकार फर्काउने कसरत चलिरहेको थियो।

अर्कोतर्फ, भारतमा अंग्रेजविरोधी क्रान्तिले उचाइ प्राप्त गरिसकेको थियो। शिक्षा र व्यापारका लागि भारत जाने नेपालीहरू त्यहाँको क्रान्तिबाट निकै प्रेरित थिए। राणाशासन अन्त्य गर्ने उद्देश्यले सन् १९३६ जुन २ मा टंकप्रसाद आचार्य र दशरथ चन्दको अध्यक्षतामा ‘नेपाल प्रजा परिषद्’ गठन भयो। सन् १९३७ मा शुक्रराज शास्त्रीले ‘नेपाल नागरिक अधिकार समिति’ बनाए। जतिजति संघर्ष बढ्दै गयो, राणा सरकारले त्यति नै क्रान्तिकारीहरूलाई कुल्चिँदै गयो। दमनकै क्रममा सरकारले दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई फाँसी दिएपछि आम जनतामा झनै ठूलो रोष फैलियो।

यही पृष्ठभूमिमा, २००० जेठ ९ गते (सन् १९४३ मे २२) राति नेपालको इतिहासमा एक महत्वपूर्ण विद्रोह भयो। भारतीय र नेपाली क्रान्तिकारीहरूको ‘आजाद दस्ता’ले सप्तरीको तत्कालीन सदरमुकाम हनुमाननगरस्थित गारद (जेल) मा सशस्त्र आक्रमण गरी जयप्रकाश नारायण र डा. राममनोहर लोहियाजस्ता भारतीय स्वतन्त्रता सेनानीलाई मुक्त गरायो। यस साहसिक घटनाले राणा र बेलायती साम्राज्यलाई एकैसाथ चुनौती दिँदै नेपाल र भारतको साझा लोकतान्त्रिक संघर्षको ज्वलन्त नमुना पेस गर्‍यो।

हनुमाननगरको ऐतिहासिक विरासत र जमिन्दारको दुस्साहस
सप्तरीको हनुमाननगरको इतिहास कति पुरानो छ, ठ्याक्कै भन्न कठिन छ। तर, यहाँस्थित श्री हनुमान मन्दिरमा रहेको कालो प्रस्तरको मूर्ति १२औं शताब्दीको सिम्रौनगढमा निर्मित मूर्तिहरूकै समकालीन हो भन्नेमा इतिहासकारहरू एकमत देखिन्छन्। 

तत्कालीन सिम्रौनगढ राज्यको सीमा पूर्वमा सप्तरी, पश्चिममा गण्डकी, उत्तरमा चुरे–महाभारत र दक्षिणमा गंगासम्म फैलिएको थियो। प्रधानमन्त्री भीमसेन थापाले कायम गरेको जिल्ला विभाजनअनुसार हनुमाननगर पहिले सप्तरी, सिरहा र आधा सुनसरीसम्मको सदरमुकाम थियो। पछि कोशी नदीको बाढीले हनुमाननगरलाई कटान गर्दै लगेपछि नयाँ सदरमुकाम राजविराज कायम गरी बस्ती विकास (प्लटिङ) गर्न थालिएको थियो।

सन् १९४३ मे २२ को हनुमाननगर जेल काण्डपछि सरकारी अड्डाहरूसँगै केही मन्दिर र मूर्तिहरू पनि राजविराज सार्ने कार्यमा तत्परता देखियो। कम्तीमा हजार वर्ष पुरानो इतिहास बोकेको समृद्ध बजार, भारतीय नाका र महत्वपूर्ण प्रशासनिक केन्द्र हनुमाननगरमा भएको उक्त जेल काण्डले भारत र नेपाल दुवै देशका शासकहरूलाई सिधै चुनौती दिएको थियो। राणाकालीन कडा शासनका बेला भारतीय क्रान्तिकारीहरूलाई महिनौंसम्म ठाउँ–ठाउँमा ‘सेल्टर’ दिनु, प्रशासनले त्यसको सुइँकोसम्म नपाउनु, राजपुर र बनरझुलामा भारतीय क्रान्तिकारीहरूको सम्मेलन गराउनु तथा ‘आजाद दस्ता’लाई गोलीगठ्ठासहित तालिम दिनु चानचुने कुरा थिएन। अझ नगरकै बीचमा रहेको कारागारमा सशस्त्र आक्रमण गरेर जयप्रकाश नारायण र डा. राममनोहर लोहियालगायतलाई बन्दीमुक्त गराई सकुशल सीमा कटाउन सफल हुनु आफैंमा अकल्पनीय घटना लाग्छ।

पश्चिम बलान नदीदेखि पूर्व कोशी नदीसम्म र चुरे पहाडदेखि दक्षिण २५ किलोमिटरसम्म फैलिएको तराई भूमिमा महिनौंसम्म चलेको क्रान्तिकारी गतिविधि र प्रशासनिक केन्द्रमै आक्रमणजस्तो साहसिक कार्य स्थानीय राजपुत जमिन्दारहरूकै बल र स्रोतमा सम्भव भएको थियो। हनुमाननगर सदरमुकाम तथा कोशी नदी छेउछाउका बनरझुला, कोइलाडी, बर्साइन, मधेपुरा र कट्टी गाउँका निवासी ती जमिन्दारहरूको शक्ति यसमा परिचालित थियो। हनुमाननगर जेल आक्रमणकारीमध्येका एक अवध सिंहका अनुसार, आक्रमणको पूर्वसन्ध्यामा ‘घटनापछि राणा सरकारले दमन गर्ला नि !’ भन्ने आशंकामा जमिन्दार रामेश्वरप्रसाद सिंहले ‘जे होला, भोगौंला’ भन्ने जवाफ दिएका थिए। यसबाट पनि उक्त घटना कति दुस्साहसपूर्ण थियो भन्ने बुझ्न सकिन्छ।

नेपालका राजपुतहरू मध्यकालमा भारतबाट बसाइँ सरेर काठमाडौं उपत्यका, खस मल्ल राज्य, पश्चिमी बाइसे–चौबिसे राज्य र तराईका भूभागमा बसोबास गरेको पाइन्छ। १२औं शताब्दीमा भारतमा मुगल शासकहरूको बढ्दो हमलापछि उनीहरू हिमाली भेगका मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा प्रवेश गरी खस समुदायमा मिसिए। खस राज्यलाई बाइसे–चौबिसे राज्यमा टुक्र्याउन आप्रवासी राजपुतहरूको ठूलो भूमिका रहेको इतिहासकारहरू बताउँछन्। काठमाडौंका मल्ल राजाहरूले पनि गंगा मैदानबाट राजपुतहरूलाई बोलाई नयाँ भारदारी निर्माण गरेको इतिहासमा उल्लेख छ। त्यसैगरी, शाहवंशीय राजाहरूले राजपुतहरूलाई ‘तागाधारी’ र दास बनाउन नमिल्ने जातमा वर्गीकरण गर्दै शासनमा विशेष प्राथमिकता दिएर राखेका थिए।

सप्तरीमा राजपुतहरूको मुख्य बसोबास भारतीय सीमाछेउ कोसी नदी किनारका बनरझुला, बर्साइन, कोइलाडी, मधेपुरा, कट्टी र बनैनिया गाउँमा थियो। उनीहरूले जमिन्दारी प्रथाको आरम्भदेखि नै जमिन्दारी सम्हाल्दै आएका थिए। तर, राणा सरकारको स्वेच्छाचारिताबाट उनीहरू रुष्ट थिए। ठूला जमिन्दार भएका कारण शासनमा उनीहरूको पहुँच त थियो, तर राजकाज र जमिन्दारी सञ्चालनमा राणा सरकारको निरंकुशताका कारण उनीहरू त्यसको विपक्षमा उभिए। नेपाल र भारत दुवै देशमा चलिरहेको निरंकुशता र उपनिवेशविरोधी संघर्षको पक्षमा रहेका उनीहरूले क्रान्तिकारीहरूलाई हरतरहले सहयोग गरे। बनरझुला, बर्साइन, कोइलाडी, पूर्व कुशहाको कोसीटप्पु, बनैनिया, सखडा, नर्घो, नेउर र पश्चिम कुशहाको सुरुंगा पहाड क्रान्तिकारीहरूका लागि सुरक्षित सेल्टर बनेका थिए।

हजारीबाग जेलबाट जयप्रकाश नारायणसँगै भागेका सुरजनारायण सिंह बनरझुलाका जमिन्दार रामेश्वरप्रसाद सिंहका नाताले सालो पर्थे। नेपालतिर शरण लिनुपर्ने स्थिति आएपछि उनी बर्साइन आए। रामेश्वरप्रसाद भारतीय क्रान्तिकारीहरूलाई आफूकहाँ शरण दिन सहजै तयार भए। कानुनी मस्यौदा गर्नमा दक्ष सिंहले हनुमाननगर जेल काण्डबारे आफ्नो एउटा संस्मरण पनि लेखेका छन्। उक्त संस्मरणमा उल्लेख भएअनुसार, अगस्ट महिना समाप्त हुँदै गर्दा ४०–५० जना भारतीय क्रान्तिकारीहरू बनरझुला कामतमा शरण लिन आइपुगिसकेका थिए, जसमा सुरजनारायण पनि एक थिए। उनै सुरजनारायण सिंहको प्रयासमा बनरझुलादेखि १० माइल (राजविराजदेखि ५ माइल) पश्चिमस्थित राजपुर गाउँमा सय जना क्रान्तिकारीहरूको एउटा महत्वपूर्ण सम्मेलन सम्पन्न भएको थियो।

आजाद दस्ताको गठन, जेल आक्रमण र नेपालीले भोगेको सास्ती

सम्मेलनमा नेता सुरजनारायणले जयप्रकाश नारायणलाई नेपाल ल्याएर गुरिल्ला युद्धको तयारी गर्नुपर्ने प्रस्ताव राखेका थिए। सोही गुप्त योजनाअनुसार सन् १९४३ अप्रिल ३ का दिन जयप्रकाश र विजया पटवर्धन छद्मभेषमा नेपाल प्रवेश गरे। बनरझुला हुँदै सुनसरीको कुशहा (लक्ष्मीनिया) स्थित रामेश्वरप्रसाद सिंहको कामतमा पुगेर जयप्रकाश गोप्य रूपमा बस्न थाले। सन् १९४३ अप्रिल १२ देखि १४ सम्म बनरझुला कामतमै भारतीय क्रान्तिकारीहरूको महासमिति बैठक बस्यो।

महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको विकल्पमा सशस्त्र संघर्षको बाटो तय गर्दै उक्त बैठकले ‘आजाद दस्ता’ गठन गर्ने ऐतिहासिक निर्णय गर्‍यो। रामेश्वरप्रसादका अनुसार जयप्रकाश आएको एक महिना १० दिनपछि (सन् १९४३ मे १४ मा) अर्का प्रखर चिन्तक तथा समाजवादी नेता डा. राममनोहर लोहिया कटिहार–फारबिसगन्ज हुँदै कुशहा आइपुगेका थिए। (लोहिया तिनै नेता हुन्, जसलाई समाजवादी क्रान्तिका जनक मानिन्छ र जसले सामाजिक न्यायका लागि ‘सप्त क्रान्ति’को आह्वान गरेका थिए।)

सप्तरीको पश्चिम कुशहास्थित सुरुंगा पहाड (वर्तमान सुरुंगा नगरपालिका) मा आजाद दस्तालाई तालिम दिन थालियो। सुरुमा १८ जना क्रान्तिकारी सहभागी उक्त तालिममा स्थानीय वनरक्षक विष्णुभक्त प्रधानले समेत सहयोग गरेका थिए। तर, तराईमा भारतीय क्रान्तिकारीहरू भूमिगत रहेको सुइँको अंग्रेज अधिकारीहरूले पाएपछि उनीहरूले नेपालका राणा शासकलाई खबर गर्दै तिनलाई पक्राउ गरी बुझाउन आग्रह गरे। यसैबीच, राणा सरकारका एक पूर्वकर्मचारीले कोशीटप्पु क्षेत्रमा हतियारधारी सेनानीहरू लुकेको सूचना बडाहाकिमलाई दिए। बडाहाकिमको आदेशमा खटिएको प्रहरी टोलीले सन् १९४३ मे २० मा जयप्रकाश र लोहियासहित सात जनालाई पक्राउ गर्‍यो। उनीहरूलाई मे २१ मा हनुमाननगरस्थित बडाहाकिमको कार्यालयमा ल्याई भवनभित्रकै ‘गारद’ (हिरासत) मा राखियो।

हिन्दी मासिक पत्रिका ‘नयाँ संघर्ष’ (सन् १९९२ अगस्ट–अक्टोबर अंक) मा प्रकाशित अवध सिंहको संस्मरणअनुसार, हिरासतमा जयप्रकाश, लोहिया र कार्तिकनारायण सिंहसहित सात नेता–कार्यकर्ता थिए। गिरफ्तारीको खबर कार्तिकनारायणका सहयोगी शशिले सुरुमा सखडा र त्यसपछि सुरुंगा पहाडमा तालिमरत आजाद दस्तासम्म पुर्‍याएका थिए। खबर पाउनासाथ दस्ताले आफ्ना नेताहरूलाई छुटाउन हनुमाननगर जेलमा आक्रमण गर्ने योजना बनायो। सीताराम सिंह र अवध सिंहजस्ता भारतीय नेतासमेत संलग्न दस्ता रातारात बनरझुलास्थित रामेश्वरप्रसादको घर पुग्यो। भोलिपल्टै आफ्नी छोरीको बिहेको तयारीमा रहेर पनि रामेश्वरप्रसादले ‘जे होला भोगौंला’ भन्दै आक्रमणको योजनामा पूर्ण साथ दिए।

अन्ततः सन् १९४३ मे २३ (२००० जेठ ९ गते) मध्यरातमा सप्तरीको हनुमाननगर जेल काण्ड मच्चियो। आजाद दस्ताले गारदको अर्कोपट्टि रहेको फूसको घरमा आगो लगाइदियो। सन्तरीहरू आगो निभाउन त्यता दौडिएको मौका छोपी दस्ताले गारदको ताल्चा फुटायो। कैदीहरूलाई उम्काउँदै गर्दा केही सन्तरी फर्केर प्रत्याक्रमण गरेपछि दोहोरो गोली हानाहान भयो। त्यस क्रममा एक सन्तरीको ज्यान गयो भने अर्का एक घाइते भए। मुक्त भएपछि जयप्रकाश र लोहिया कलकत्तातर्फ लागे भने हनुमाननगर काण्डको आरोप लागेका डा. वैद्यनाथ झा भारतमै पक्राउ परे।

यता, भारतीय क्रान्तिकारीले सेल्टर लिएको र फौजी क्याम्प नै चलाएको पत्तो नपाएका राणाहरू जेलै फोडेर बन्दी लगेको घटनाबाट नराम्ररी रन्थनिए। अंग्रेजको विश्वास गुम्ने डरले उनीहरू थप बेचैन बने। आक्रमणकारी भारतीयहरू स्वदेश फर्किसकेका थिए, तर यसको फौजदारी मुद्दाको भारी भने नेपाली नागरिकको काँधमा पर्‍यो। क्रान्तिकारीलाई सहयोग गर्ने रामेश्वरप्रसाद सिंह, तारिणीप्रसाद सिंह, चतुरानन्द सिंह र ‘जंगली बाबु’ उपनामले प्रसिद्ध जयमंगलप्रसाद सिंह (गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका पिता) लगायत प्रमुख तारो बने। ज्यान मारेको अभियोगमा ४८ नेपाली र ११ भारतीयविरुद्ध मुद्दा चलाइयो भने अनुसन्धानका क्रममा डेढ सय नेपाली पक्राउ परे। तर, नेपाली भूमिमा कोही पनि भारतीय पक्राउ परेनन्। मुद्दा चलाइएका रामेश्वरप्रसादसहित २२ जनालाई काठमाडौं लगियो। मुद्दा चल्दाचल्दै हनुमाननगर काण्डमा पक्राउ परेका कृष्णवीर कामी र अब्दुल मियाँको जेलमै निधन भयो। बाँकी आरोपीहरूलाई अमिनी र जिल्ला अदालतको कारबाहीपछि मुद्दासहित काठमाडौं सारियो।

गणतन्त्रको भ्रूण, जनक्रान्तिको ऊर्जा र अनुसन्धानको आवश्यकता

२००१ (सन् १९४४) सालमा ब्रिटिस सरकारले एटर्नी जनरलसहितको टोली नेपाल पठायो। नेपाल सरकारलाई वादी बनाएर भारतमा जयप्रकाश नारायण र डा. राममनोहर लोहियाउपर मुद्दा चलाउन सकिन्छ कि भनेर टोलीले १५ दिनसम्म मिसिल अध्ययन गर्‍यो। तर, प्रमाण नपुग्ने निष्कर्षका साथ उनीहरू फर्किए। गारदमा गोली चलाएको आरोपमा स्वतन्त्रता सेनानीहरू सूर्यनारायण सिंह, नित्यानन्द सिंह, गुलाबी सोनार र अवध सिंहको नाम मुछिए पनि मिसिलमा त्यो पुष्टि हुने आधार थिएन। श्री ३ ले पनि मिसिललाई कारगर ठानेनन्।प्रमाण कमजोर भएकै कारण आरोपीहरू छुट्न थाले। यसैबीच अब्दुल मियाँ र कृष्णवीर कामीको जेलमै निधन भयो। 

रामेश्वरप्रसाद सिंहको संस्मरणअनुसार, वि.सं. २००२ असोज २ गते जेलमा चतुरानन्द सिंह र जयमंगलप्रसाद सिंह –जंगलीबाबु) मात्र बाँकी थिए। सन् १९४६ मा अंग्रेजले भारत छाड्ने प्रक्रिया सुरु गरेपछि मात्र उनीहरूको रिहाइ भयो। रोचक त के भने, काठमाडौं जेलमा रहेका बाबु जयमंगललाई भेट्न गएका ९ वर्षीय बालक रामराजाप्रसाद सिंहलाई पनि त्यहीँ थुनेर राखिएको थियो। जेलको त्यही उकुसमुकुसमा क्रान्तिको पाठ पढेका तिनै रामराजाले कालान्तरमा नेपाललाई गणतन्त्र बनाएरै छाडे।

हनुमाननगर जेल काण्ड राणाशासनविरुद्धको एउटा यस्तो प्रतीकात्मक विद्रोह थियो, जसले तत्कालीन प्रजातान्त्रिक आन्दोलनलाई मलजलमात्र गरेन, ६–७ दशकपछि नेपालमा स्थापित गणतन्त्रको मियोसमेत बन्यो। यो नेपालीको जहानियाँ राणाशासनविरोधी क्रान्ति र भारतीयको बेलायती हुकुमतविरोधी स्वतन्त्रता संग्राम, दुवै इतिहासको अविस्मरणीय घटना हो।

२००० जेठ ९ को यस काण्डपछि राणा सरकारले धरपकड र दमन तीव्र पार्‍यो, तर जनताले हार मानेनन्। बरु आन्दोलनले नयाँ स्वरूप लियो। सन् १९४७ जनवरी २५ मा कलकत्तामा बीपी कोइरालाले ‘नेपाली राष्ट्रिय कांग्रेस’ र १९४८ अगस्ट ४ मा सुवर्णशमशेर राणाले ‘नेपाल प्रजातान्त्रिक कांग्रेस’ स्थापना गरे। सन् १९५० अप्रिल १० मा यी दुई दल एकीकृत भई बीपीको सभापतित्वमा ‘नेपाली कांग्रेस’ बन्यो।

१९५० सेप्टेम्बर २७ को वीरगन्ज सम्मेलनले ‘मुक्ति सेना’ गठन गर्दै सशस्त्र क्रान्तिको उद्घोष गर्‍यो। लगत्तै नोभेम्बर ६ मा राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिए। नोभेम्बर ११ को मध्यरातमा मुक्ति सेनाले वीरगन्जमा आक्रमण गरी भोलिपल्टै नियन्त्रणमा लियो र पहिलोपटक ‘जनसरकार’ गठनको घोषणा गर्‍यो। मुक्ति सेनाको निरन्तरको सफलता र भारतीय दबाबपछि अन्ततः राणाशासन घुँडा टेक्न बाध्य भयो।

२००७ सालको यस क्रान्तिमा जयप्रकाश नारायण र डा. लोहियाको पनि महत्वपूर्ण भूमिका थियो। रामेश्वरप्रसादका छोरा वरिष्ठ अधिवक्ता हिम्मत सिंहका अनुसार, नेपाली कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ अँगाल्नुमा तिनै भारतीय नेताहरूको प्रभाव थियो। आफैं पनि ‘भारत छोडो’ आन्दोलनमा सहभागी भएका बीपी कोइराला जयप्रकाशबाट निकै प्रभावित थिए। पछि कांग्रेस विभाजनको सँघारमा पुग्दा बीपी र मातृकाप्रसादबीच मेलमिलाप गराउन पनि जयप्रकाशले भूमिका खेलेको इतिहासकारहरू बताउँछन्।

समग्रमा, नेपाल–भारत सम्बन्ध भौगोलिक, सांस्कृतिक र धार्मिक सहअस्तित्वका साथै संघर्ष र सहकार्यको ऐतिहासिक जगमा उभिएको छ, जसको एउटा बलियो दृष्टान्त हनुमाननगर काण्ड हो। सन् १९४१ जनवरी २३ मा प्रजा परिषद्का नेताहरूलाई फाँसी दिएपछि र १९४७ मा कांग्रेस गठन हुनुअघिको राजनीतिक शून्यतामा, सन् १९४३ मे २३ को यस घटनाले मधेसमा क्रान्तिको कत्रो ऊर्जा छ भन्ने विस्फोटक सन्देश दिएको थियो। यति महत्वपूर्ण भएर पनि द्विपक्षीय सम्बन्धका दृष्टिले यस घटनाले पाउनुपर्ने जति गरिमा र सूक्ष्म अनुसन्धान पाएको छैन। प्रकाशित सामग्रीहरूमा पनि बेमेल देखिन्छन्। त्यसैले, दुवै देशका सर्वोच्च तहसम्म पुगेका यससम्बन्धी मुद्दाका मिसिल र तथ्यहरूको गहिरो अध्ययन हुन नितान्त आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.