भक्तपुर-चाँगुनारायण जोड्ने पुलको पुनर्निर्माण
भक्तपुर : भक्तपुरको भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका जोड्ने एउटा ऐतिहासिक पुलको पुनर्निर्माण सम्पन्न भएको छ। भक्तपुर नगरपालिका-८ पुरानो जगाती र चाँगुनारायण नगरपालिका-९ ताथली जोड्ने ऐतिहासिक पुलको पुनर्निर्माण सम्पन्न भएको हो।
भक्तपुर नगरपालिकाको बजेटमा पुलको पुनर्निर्माण गरिएको हो। पुल पुनर्निर्माणका लागि ५३ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। त्यसमा ४४ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको जनाइएको छ। पुनर्निर्माण सम्पन्न ऐतिहासिक महत्व बोकेको पुरानो जगाती पुलको शनिबार एक विशेष समारोहबीच औपचारिक रूपमा उद्घाटन गरियो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘हाम्रो ठाउँ हामीले नै बनाउने’ भन्ने भावनाअनुसार स्थानीय स्रोत, साधन र जनसहभागिताबाट विकास निर्माणका काम गर्दा दिगो हुने बताए। उनले नेपालको पहिचान पुर्खाले छोडेर गएको कला, संस्कृति र सम्पदा भएकाले तिनको संरक्षण र मौलिक शैलीमा पुनर्निर्माण गर्नु आवश्यक रहेको उल्लेख गरे।
उनले ऐतिहासिक महत्व बोकेको पुल पुनः सञ्चालनमा आउनु सुखद भएको बताउँदै नेपाल मजदुर किसान पार्टीको जनमुखी सोचअनुसार भक्तपुर नगरपालिकाले सधैं जनताको हितमा काम गर्दै आएको धारणा राखे। सम्पदाहरूको मौलिक शैलीमा पुनर्निर्माणले नगरको पहिचान जोगाएको र प्रचारभन्दा पनि जनतालाई प्रत्यक्ष लाभ पुग्ने कामलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !