इरानको ‘गोप्य पर्वत’ ट्रम्पको निशानामा, किन मानिन्छ यो अत्यन्तै खतरनाक ?

इरानको ‘गोप्य पर्वत’ ट्रम्पको निशानामा, किन मानिन्छ यो अत्यन्तै खतरनाक ?
सुन्नुहोस्

इरान : मध्यपूर्वमा तनाव झन् बढ्दै गएको छ । इरान र अमेरिका एकअर्कालाई कडा जवाफ दिने चेतावनी दिइरहेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजर इरानको ‘गोप्य पर्वत’ अर्थात् पिक्याक्स माउन्टेनमा परेको छ । यहीँ रहेको भूमिगत संरचना (अन्डरग्राउन्ड कम्प्लेक्स) इरानको गोप्य युरेनियम सम्वर्धन केन्द्र वा हतियारस्तरको युरेनियम सुरक्षित राख्ने स्थल हुन सक्ने अनुमान गरिएको छ ।

सोमबार ट्रम्पले स्पष्ट चेतावनी दिँदै भने, ‘हामी पिक्याक्स माउन्टेनलाई समाप्त गर्नेछौं ।’ यो पर्वत इरानको जाग्रोस पर्वत शृंखलामा रहेको ‘कुह–ए कोलाङ गाज ला’ नामक गोप्य भूमिगत संरचना हो । द ह्यु हेविट शोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘इरानीहरूलाई तयार रहन भनिदिनुहोस्। हामी त्यहाँको गतिविधिलाई नजिकबाट नियालिरहेका छौं । अहिले कुनै विशेष गतिविधि देखिएको छैन, तर आवश्यक परे हामी यसलाई ध्वस्त पार्नेछौं।’

यसअघि पनि ट्रम्पले गत वर्ष जुनमा भएको अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रम समाप्त पारिसकेको दाबी गर्दै आएका थिए । तर त्यसपछि पनि पिक्याक्स माउन्टेन अहिले अमेरिकाको प्रमुख निगरानी र प्राथमिकतामा परेको छ ।

बंकर–बस्टर बमले समेत भेदन गर्न नसक्ने गहिराइ
रोयटर्स र द वासिङ्टन पोस्टका अनुसार पिक्याक्स माउन्टेनमुनि बनाइएका विशाल सुरुङहरू यति गहिरा छन् कि हाल अमेरिकासँग रहेका बंकर–बस्टर बमले पनि तिनलाई भेदन गर्न सक्दैनन् । अनुमान अनुसार ती भूमिगत हलहरू २०० फिटभन्दा बढी माटो र चट्टान वा करिब २० फिट बाक्लो कंक्रिटको तहले ढाकिएका छन् । केही कक्षहरू त सतहबाट २६० देखि ३३० फिटसम्म गहिराइमा रहेको अनुमान छ, जुन इरानको फोर्डो युरेनियम संवर्धन केन्द्रभन्दा पनि गहिरो मानिन्छ ।

यो स्थल नतान्ज आणविक केन्द्रबाट करिब दुई किलोमिटर दक्षिणमा अवस्थित छ । यहाँ सन् २०२० देखि उत्खनन कार्य भइरहेको छ । इरानले यसलाई नयाँ सेन्ट्रिफ्युज निर्माण कारखाना भनेको भए पनि विशेषज्ञहरूका अनुसार सुरुङको आकार र गहिराइ हेर्दा यो गोप्य युरेनियम सम्वर्धन केन्द्र वा उच्च सम्वर्धित युरेनियम सुरक्षित राख्ने स्थान हुन सक्छ ।

आक्रमणपछि पनि निर्माण कार्य जारी
सन् २०२५ को सेप्टेम्बरमा द वासिङ्टन पोस्टले प्रकाशित गरेको स्याटेलाइट तस्बिरका आधारमा अमेरिकी–इजरायली आक्रमणपछि पनि उक्त क्षेत्रमा तीव्र रूपमा निर्माण कार्य भइरहेको देखिएको थियो । हालका तस्बिरहरूमा थप सुरक्षा पर्खाल, बलिया सुरुङका ढोका, नयाँ उत्खनन गरिएको माटोका थुप्रा तथा भारी निर्माण उपकरण देखिएका छन् । विशेषज्ञहरूका अनुसार इरानले सम्भावित आक्रमणबाट जोगिन तथा संवेदनशील आणविक सामग्री सुरक्षित स्थानमा सार्न यस्तो गतिविधि गरिरहेको हुन सक्छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले यस सुविधाको अहिलेसम्म निरीक्षण गरेको छैन । इरानसँग रहेको ६० प्रतिशत शुद्धताको युरेनियम भण्डार कहाँ राखिएको छ भन्ने विषयमा पनि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । धेरै विशेषज्ञहरूका अनुसार यो सामग्री पिक्याक्स माउन्टेनजस्ता गोप्य भूमिगत स्थलमा सारिएको हुन सक्छ। सम्भवतः यही कारणले यो स्थान ट्रम्पको मुख्य निशानामा परेको हो ।

मध्यपूर्वमा आक्रमण र प्रतिआक्रमण जारी
ट्रम्पको चेतावनीबीच अमेरिकाले लगातार तेस्रो रात करिब पाँच घण्टासम्म इरानका सैन्य अखडाहरूमा व्यापक आक्रमण गरेको जनाएको छ । त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा पलटवार गर्दै संयुक्त अरब इमिरेट्सका दुई तेल ट्याङ्करमाथि मिसाइल प्रहार गरेको तथा बहराइन क्षेत्रतर्फ पनि नयाँ आक्रमण गरेको दाबी गरिएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार राति जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाले इरानी मिसाइल तथा ड्रोन अड्डा, तटीय रक्षा प्रणाली र नौसैनिक क्षमतालाई निशाना बनाएको जनाएको छ । बन्दर अब्बास र बुशहर बन्दरगाह आसपासका क्षेत्र पनि आक्रमणमा परेको उल्लेख गरिएको छ ।

ट्रम्पद्वारा आक्रमणको पुष्टि
अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणको पुष्टि गर्दै यसको उद्देश्य हर्मुज जलडमरूमार्गमा व्यापारिक जहाजलाई धम्की दिने इरानको क्षमता कमजोर पार्नु रहेको बताएका छन् । उनले गत साता अमेरिकी कांग्रेसलाई ‘वार पावर एक्ट’ अन्तर्गत औपचारिक जानकारी दिँदै जुलाई ७ देखि इरानविरुद्ध सैन्य अभियान पुनः सुरु भएको जानकारी गराएका थिए ।

यस कानुनअनुसार अमेरिकी रक्षा मन्त्रालयले कांग्रेसको छुट्टै स्वीकृतिबिना ६० दिनसम्म सैन्य अभियान सञ्चालन गर्न सक् छ । द हिल का अनुसार ट्रम्पले सांसदहरूलाई पठाएको दुई पृष्ठको पत्रमा आक्रमणहरू सीमित, योजनाबद्ध र अत्यन्तै लक्षित रहेको तथा अमेरिकी स्थलसेना प्रयोग नगरिएको उल्लेख गरेका छन् । साथै नागरिक हताहत न्यूनतम हुने गरी अभियान सञ्चालन गरिएको दाबी पनि गरेका छन् ।

नौसैनिक नाकाबन्दी र सुरक्षा शुल्कको घोषणा
ट्रम्पले मंगलबार साँझ ४ बजेदेखि इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने घोषणा गरेका छन् । उनका अनुसार अमेरिका हर्मुज जलडमरूमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूको सुरक्षा गर्नेछ र ती जहाजबाट २० प्रतिशतसम्म सुरक्षा शुल्क लिन सकिनेछ । एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘हामी सबै जहाजलाई आवतजावत गर्न दिनेछौं, तर इरानसँग व्यापार गर्ने जहाजहरूलाई भने अनुमति दिइने छैन ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.